२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

 वातावरणीय, व्यावसायजन्य स्वास्थ्य र सुरक्षा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न

 वातावरणीय, व्यावसायजन्य स्वास्थ्य र सुरक्षा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न

  • आइतबार, पुष ७ २०८१

 

काठमाडौं । जनस्वास्थ्य तथा वातावररण प्रवर्द्धन केन्द्र (CEPHED), नेपाल ट्रेड युनियन महासङ्घ (GEFONT र नेपाल ट्रेड युनियन काङ्ग्रेस (NTUC) ले संयुक्त रुपमा दुई दिने “नेपालमा वातावरणीय, व्यावसायजन्य स्वास्थ्य र सुरक्षा (Environmental, Occupational Health and Safety-EOHS), सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी” संयुक्त रूपमा भब्यताका साथ  सम्पन्न  भऐको छ ।

जिफन्टका सचिव बेलीमाया घलेको अध्यक्षता तथा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको प्रमुख अतिथ्यतामा दक्षिण एसियाली क्षेत्रीय हबः व्यावसायजन्य सुरक्षा स्वास्थ्य तथा वातावरण फाउन्डेसन (OSHE International) र ANROEV को सहयोगमा आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेसका महासचिव अजयकुमार राई, नेपाल ट्रेड युनियन महासङ्घ उपाध्यक्ष एवं श्रम सम्बन्ध परिषद्का प्रमुख जनक चौधरी, नेपालका लागि आइएलओ कन्ट्री अफिसका वरिष्ठ कार्यक्रम अधिकृत सलोमन राजवंशी, आयोजक सस्था सिफेडका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहलगायतको उपस्थिति रहेको थियो । राष्ट्रिय स्तरका उक्त कार्यशालामा सम्बन्धित सरकारी निकायहरू श्रम मन्त्रालय, श्रम तथा व्यावसायजन्य सुरक्षा विभाग, उद्योग विभाग, राष्ट्रिय तथ्याङ्क कार्यालयरू, व्यावसायजन्य स्वास्थ्य तथा सुरक्षा केन्द्र, व्यावसायजन्य समुदायहरू, निर्माण व्यावसाय महासंघ, ग्रील तथा स्टिल व्यावसाय महासंघ, ट्रेड युनियनहरू, गैरसरकारी संस्थाहरू, व्यावसायिक संगठनहरूका प्रतिनिधीहरु र पत्रकार आदि लगायत ३५ भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यशालाको उद्देश्य वातावरणीय, व्यावसायजन्य स्वास्थ्य र सुरक्षाको बारेमा जागरूकता र क्षमता अभिवृद्धि गर्नुका साथै यससँग सम्बन्धित रणनीति र कार्य योजनाहरू निर्माण गर्नु रहेको थियो।  यसका साथै सम्बन्धित सरकारी निकायको क्षमता अभिवृद्धि गर्ने लक्ष्य पनि राखेको थियो।  ANROEV (Asian Network for Occupational and Environmental Victims) को सदस्य संगठनहरू र सहयोगीहरूले देशभरि वातावरणीय व्यावसायजन्य स्वास्थ्य र सुरक्षा  सम्बन्धि अधिकारहरू प्रवर्धन गर्नका लागि विद्यमान राष्ट्रिय व्यावसायजन्य स्वास्थ्य र सुरक्षा (ओएचएस) सन्जालको गठन र सुदृढीकरण गर्नुका साथै आगामी पाँच वर्षका लागि समयबद्ध र कार्यन्वनयोग्य संयुक्त राष्ट्रिय रणनीति र कार्य योजनाहरू तयार गर्न, वातावरणीय, व्यावसायजन्य स्वास्थ्य र सुरक्षाको अधिकार र कार्य-सम्बन्धित दुर्घटना र रोगहरूको पीडितहरूको लागि न्याय सुनिश्चित गर्न कार्यसूची तयार पार्ने लक्ष्य पनि लिऐको थियो।

कार्यशालाको उदघाटनको अवसरमा बोल्दै प्रमुख अतिथी श्रम सचिव मुकुन्द प्रसाद निरौलाले वातावरण र स्वास्थ्य एक आपसमा अन्तर सम्बन्धित रहेको बताए । उनले व्यवसायजन्य स्वास्थ्य सुरक्षाको पालना कार्यस्थलमा भए नभएको अनुगमन गर्ने गरिएको र पालना नभएमा कारवाहि गर्ने गरिएको जानकारी दिए। श्रमिकलाई पनि सचेत बनाउन प्रशिक्षण आवश्यक रहेको उनको भनाई रहेको थियो । नेपाल ट्रेड यूनियन महासंघका उपाध्यक्ष जनक चौधरीले नेपालमा वातावरण ऐन, स्वास्थ्य ऐन तथा नीतिहरुबीचमा तादात्म्यता नभएको धारणा राखे । उनले नीति कानुनमा भएका कुराहरु आम श्रमिकहरुसम्म नपुगेको बताए। यसैगरी नेपाल ट्रेड यूनियन कांग्रेसका महासचिव अजय कुमार राईले व्यवसायजन्य स्वास्थ्य र सुरक्षा सम्बन्धी नीति कार्यान्वयन हुन नसकेको धारणा राखे। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)का वरिष्ठ कार्यक्रम संयोजक सलोमन राजवंशीले व्यवसायजन्य स्वास्थ्य र सुरक्षा श्रमिकको जीवनसॅग जोडिएको महत्वपूर्ण विषय भएको बताए। कामलाई मर्यादित बनाउन व्यवसायजन्य स्वास्थ्य र सुरक्षा एउटा शर्त रहेको उनको भनाई थियो । उनले आईएलओले सरकार र ट्रेड यूनियनहरुसॅग निकट भएर काम गरिरहेको बताए । सोही अवसरमा बोल्दै जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहले स्वास्थ्य, वातावरण, राष्ट्रीय, अन्तर्राष्ट्रीय नीतिको जानकारीका साथै गर्नुपर्ने सुधारका विषयमा कार्यशालामा छलफल हुने र सोको आधारमा वातावरणीय, व्यावसायजन्य स्वास्थ्य र सुरक्षा सम्बन्धि राष्ट्रिय रणनीति र कार्य योजनाहरू तयार गरी सम्बन्धित निकाहरूबाट प्रभावकारी कार्यान्वयनको लागि पहल गर्ने बताए ।

सोही अवसरमा जिफण्टकी सचिव बेलिमया घलेले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको पालना गर्नेहरुलाई पुरस्कार र नगर्नेहरुलाई दण्ड गरिनुपर्ने धारणा राखिन । उनले हाल कार्यान्वयनमा रहेको नीतीमा रहेको कमि कमजोरीहरुको अध्ययन गरिरहेको भन्दै त्यसलाई ग्रहण गरी कार्यान्वयन गर्न श्रम मन्त्रालयबाट आग्रह पनि गरिन ।

जनस्वास्थ्य तथा वातावररण प्रवद्र्धन केन्द्र (सिफेड) का कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहले सबै सहभागीहरुलाई स्वागत गर्दै दुई दिने कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । उनले कार्यक्रममाथि प्रकाश पार्दै वातावरणीय स्वास्थ्य र सुरक्षा (Environmental Health and Safety-EHS) लाई व्यावसायजन्य स्वास्थ्य र सुरक्षा (Occupational Health and Safety-OHS) सँग एकीकृत गरी एकीकृत वातावरणीय, व्यावसायजन्य स्वास्थ्य र सुरक्षा (Environmental, Occupational Health and Safety-EOHS) बनाउन र यसलाई श्रमिकहरूको अधिकारको राष्ट्रिय एजेन्डामा मूलप्रवाहीकरण गर्न आह्वान गरे। उहाँले नीति, योजना, ऐन, नियम र वातावरणका मापदण्डका साथै व्यावसायजन्य स्वास्थ्य र सुरक्षाको प्रभावकारी कार्यान्वयनको आवश्यकता र अन्तर्राष्ट्रिय श्रम सङ्गठनबाट प्रतिपादित महासन्धिहरु (१५५ र १८७), लगायत अन्य अन्तर्राष्ट्रिय श्रम मापदण्डहरुसग सम्बन्धित महासन्धिहरु (८७, र ८१) जस्ता व्यावसायजन्य स्वास्थ्य र सुरक्षासँग सम्बन्धित सबैभन्दा महत्वपूर्ण महासन्धिहरुको शीघ्र अनुमोदनको खाँचो र बहुप्रतिक्षित मर्करी मिनामाता महासन्धिको अनुमोदनको लागी जोडदार माग गर्नुभयो।

पहिलो दिन वातावरणीय, व्यावसायजन्य स्वास्थ्य र सुरक्षा (EOHS)का विभिन्न चार पक्षः स्वास्थ्य पक्षलाई काठमाडौं मेडिकल कलेजका कम्युनिटी मेडिसिन विभागका प्रमुख प्रा.डा. सुनिलकुमार जोसीले प्रस्तुत गरेका थिए । वातावरणीय पक्षलाई सेफेडका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहले प्रस्तुत गर्नुभएको थियो ।  कार्यक्रममा जिफन्टका उपाध्यक्ष एवं श्रम सम्बन्ध परिषद्का प्रमुख जनक चौधरीले श्रम तथा व्यावसायजन्य स्वास्थ्य र सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानून तथा प्रावधानप्रस्तुत गरेका थिए भने व्यावसायजन्य स्वास्थ्य र सुरक्षाको कार्यान्वयनको अवस्था र अभ्यास एव चुनौतीहरुबारे  अन्तिम चौथो कार्यपत्र नेपाल ट्रेड युनियन काङ्ग्रेसका व्यावसायजन्य स्वास्थ्य र सुरक्षा सेलका प्रमुख सञ्जय दाहालले प्रस्तुत गरेका थिए । सबै प्रस्तोताहरुले विधमान ऐन कानुनहरुको स्थिति र कमीकमजोरीहरुको आलोचनात्मक र विश्लेषणात्मक प्रस्तुत गरेका थिए । सरकारको प्रतिक्रिया र क्षेत्रगत सुधारका लागि सम्बन्धित सरकार तथा अन्य सरोकारवाला निकायहरु लाई सुधारको लागी सुझाव र सिफारिसहरु पनि गरेका थिए ।

दोस्रो दिनमा, पहिलो दिनको प्रस्तुतीकरणहरुको निष्कर्ष र चार विशेषज्ञ प्रस्तोताहरू द्वारा प्रस्तुत गरेका वातावरणीय, व्यावसायजन्य स्वास्थ्य र सुरक्षा (EOHS)का चार फरक पक्षहरूसँग सम्बन्धित विद्यमान योजना, नीति, ऐन, नियमन र मापदण्डहरुमा पहिचान गरिएको कमीकमजोरीहरुको आधारमा र सबै सहभागीहरू द्वारा थप रूपमा पहिचान गरिएको, “राष्ट्रिय वातावरणीय, व्यावसायजन्य स्वास्थ्य र सुरक्षा (EOHS) रणनीति र पञ्चवर्षीय राष्ट्रिय कार्य योजना” बनाउन सुश्री पेम्बा लामाद्वारा सहजीकरण र घनीभुत समूहगत अभ्यास मार्फत विकसित गरिएको थियो।

अन्तमा, तीन जना सहभागीबाट प्रतिक्रिया लिई दुई दिने कार्यशालाको समापन गरिएको थियो र सबै आयोजकहरू (सेफेड, जिफन्ट र एनटियुसी) र सबै सहभागीहरूको तर्फबाट सिफेडका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहले निम्न केही महत्त्वपूर्ण कार्यहरू तत्काल गर्न गराउन जोडदार मागगर्दै कार्यशाला गोष्ठीको समापन गरेका थिए।

(क) वातावरणीय अवस्था, व्यावसायजन्य स्वास्थ्य र सुरक्षाको अवस्थाबारे नियमित रूपमा राष्ट्रियस्तरको तथ्याङ्कको खाँचो पुर्ती गर्ने।

(ख) वातावरणीय, व्यावसायजन्य स्वास्थ्य र सुरक्षासँग सम्बन्धित विद्यमान योजना, नीति, ऐन, नियमावली र मापदण्डको द्रुत र प्रभावकारी कार्यान्वयन गर्ने गराउने ।

(ग) सबै व्यक्ति तथा सम्बन्धित संस्थाहरुले वातावरणीय, व्यावसायजन्य स्वास्थ्य र सुरक्षाको अधिकार सुनिश्चित गर्न विद्यमान कानुनी तथा संस्थागत संरचनाहरुको पूर्ण पालना गर्ने दिशामा तत्काल कार्य गर्नु ।

(घ) जनचेतना, डिजिटल सञ्चार, विद्यालयदेखि विश्वविद्यालयको पाठ्यक्रममा वातावरणीय, व्यावसायजन्य स्वास्थ्य र सुरक्षा सम्बन्धि पाठ्यक्रममा समावेश, र वातावरणीय, व्यावसायजन्य स्वास्थ्य र सुरक्षा प्रमाणीकरण शिक्षा सञ्चालनको आवश्यक्ता।

(ङ) आईएलओ महासन्धिहरु( सी १५५। सी 187, सी 87, सी 81) र मर्करी मिनामाता महासन्धिहरुको शीघ्र अनुमोदनः गर्ने ।

(च) नेपालमा सान्दर्भीक, बोधगाम्य र सबै सम्भावित व्यावसायजन्य रोगहरू(Occupational Diseases-OD) को विस्तृत सूची को विकास र राजपत्रमा प्रकाशित गरी अंगीकार गर्ने ।

(छ) वातावरणीय, व्यावसायजन्य स्वास्थ्य र सुरक्षा (ईओएचएस) सग सम्बन्धित कानून र प्रावधानहरूको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकार, ट्रेड युनियन र सीएसओहरूलाई सुदृढ र सुदृढीकरण गर्ने ।

(ज) दुर्घटना तथा व्यावसायजन्य रोगहरुको एकीकृत तथ्याङ्क (अस्पताल, श्रम विभाग र प्रहरी दुर्घटना अभिलेख लाई ) एकसाथ राखी वार्षिक रूपमा राष्ट्रिय दुर्घटनाको तथ्याङ्क प्रकासन गर्ने।

(झ) जोखिमका आधारमा उद्योगहरुको वर्गीकरण गरिनुपर्ने ।

(ञ) एकीकृत व्यावसायजन्य सुरक्षा लेखापरीक्षण र श्रम लेखापरीक्षणलाई अगाडि बढाउनुपर्ने ।

(ट) प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) लाई प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित संघीय र प्रादेशीक वातावरणीय मन्त्रालयहरूको जागृत गर्न आवश्यक छ ।

(ठ) व्यावसायजन्य रोग (Occupational Diseases-OD) सँग जुध्नका लागि विशेष स्पेसलाईजेसन अस्पतालहरू र सरकारी मेडिकल कलेजहरूमा वातावरणीय, व्यावसायिक स्वास्थ्य र सुरक्षा (ईओएचएस) मा विशेषज्ञता पाठ्यक्रमहरू एव पढाई सुरु गरिनुपर्छ।

(ड) व्यावसायजन्य स्वास्थ्य तथा सुरक्षा केन्द्र (ओएसएचसी)को पुनर्संरचना गर्ने ।

(ढ) वातावरणीय, व्यावसायजन्य स्वास्थ्य र सुरक्षा (ईओएचएस) सूचकहरूको अनुपालनको आधारमा उद्योगहरुलाई पुरस्कार र सजाय गर्ने र यसता उदाहरणीय कामको थालनी सिहदरबार बाटै गर्ने ।

(ण) Plan-Do-Check-Act Cycle (योजना बनाउने, कार्यान्वन गर्ने, जाँच गर्ने र कार्य गर्ने) चक्र वातावरणीय, व्यावसायजन्य स्वास्थ्य र सुरक्षा आदिको पूर्ण सम्मानका साथ अपनाउने । आदी ।

अन्तमा, सबै आयोजकहरू (सिफेड, जिफन्ट, एनटियुसी) ले यी विकसित “नेपालका लागि वातावरणीय, व्यावसायजन्य स्वास्थ्य र सुरक्षा (ईओएचएस) रणनीति र कार्य योजना” मा थप काम गरी सरकारी योजनाहरू, नीतिहरू र कार्यक्रमहरूमा पूर्ण रूपमा समावेश गर्न सम्बन्धित सरकारी निकायहरूसँग पैरवी गर्दैजाने र यस दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठीमा सिकेका सीप र ज्ञानहरुलाई कार्यान्वयन गर्नेगराउन पनि सबै सहभागीहरुले ऐक्यबद्धता जनाउदै गोष्ठी समापन भऐको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij