– कमल पन्थी
कुनै काम हामीले पटक–पटक दोहोर्याइरह्यौं भने त्यो काम हाम्रो बानीको रुपमा विकास हुन्छ । बानी २ किसिमका हुने गर्दछन् । राम्रो बानी र नराम्रो बानी । हामी सबै व्यक्ति बानीका दास छौं अर्थात् हामी आफ्ना बानी अनुसार नै निर्देशित हुने गर्दछौं । हामीमा राम्रा बानी धेरै छन् भने हामी अनुशासित एवं गञ्तव्यमय बन्न पुग्छौं, नराम्रा बानी बढी छन् भने हामी गञ्तव्यबाट विचलित हुन पुग्छौं । एकपटक निर्माण भइसकेको बानी परिवर्तन गर्नु त्यति सहज हुँदैन, तथापि असम्भव नै हुने पनि होइन । बानी निर्माणका केही प्रक्रियाहरु छन्, हामी ती प्रक्रियालाई पालन गर्यौं भने नयाँ बानी विकास गर्न सक्छौं । भनिन्छ, शुरुवाती अवस्थामा हामीले प्रयत्नपूर्वक बानी बनाउनुपर्छ, पछि तिनै बानीले हामीलाई बनाउँछन् । बानी निर्माणका लागि सचेत जीवन अभ्यास (Concious Living Practice) धेरै महत्वपूर्ण हुन्छ ।
मानिसहरुका बानी कसरी निर्माण हुन्छन् र एकपटक निर्माण भइसकेका बानीलाई कसरी बदलेर नयाँ बानी स्थापित गर्न सकिन्छ भन्ने सम्बन्धमा लेखिएको पुस्तक हो एटोमिक ह्याबिट । अन्तर्राष्ट्रिय बजारमा चर्चित यस पुस्तकलाई ‘जेम्स क्लियर’ले लेखेका हुन् । यो प्रयोगमा आधारित पुस्तक (Work Book) हो ।
लेखकले बानी निर्माणको लागि ४ ओटा चरणहरुको बारेमा बताएका छन् । ती हुन्
१. Cue (सङ्केत)
२. Craving (आकर्षण)
३. Response(प्रतिक्रिया)
४. Reward (पुरष्कार)
यी नियमहरु नयाँ बानी निर्माण हुन र पहिले बनिसकेका बानीमा बदलाव ल्याउन दुवै कामको लागि आवश्यक रहन्छन् । कुनै पनि बानी स्थापित गर्न वा बानीबाट छुटकारा पाउनको लागि यी ४ चरणहरु पूरा हुनैपर्छ । यी चार चरण मध्ये पहिलो २ ओटा चरणहरु समस्यासँग सम्बन्धित हुन्छन् भने पछिल्ला दुईटा समाधासँग ।
लेखकका अनुसार हामीमा विकास भएको बानीले दिने प्रतिफल चक्रीय रुपमा वृद्धि हुने गर्दछ । यसकारण हामीले निरन्तर एउटै दिशा वा क्षेत्रमा काम गरेका छौं भने यसले शुरुवाती चरणमा निकै सुस्त गतिमा प्रतिक्रिया वा बदलाव अनुभव गराउन सक्छ । तथापि हामीले बानीमा सानो तर नियमित बदलाव ल्याउँदा पनि यसले ल्याउने अन्तर निकै फराकिलो हुने गर्दछ ।
लेखकले बानीले चक्रीय नियमको आधारमा काम गर्ने भएको हुनाले दैनिक १ प्रतिशत बदलाव ल्याउँदा र त्यस बानीलाई १ बर्ष सम्म निरन्तरता दिइरहँदा हामीमा ३७ गुणा बदलाव आइसक्ने कुरा उल्लेख गरेका छन् ।
अर्को नियमित बानीसँग अन्तरसम्वर्द्धता
कुनै नयाँ बानी विकास गर्नको लागि हामीले अहिले हामीले अभ्यास गर्दै आएको बानीसँग नयाँ बानीलाई अन्तरआबद्ध बनाउनु महत्वपूर्ण हुन आउँछ । यसको लागि आफ्ना सबै नियमित बानीहरु आफ्नो नोटबुकमा टिपोट गरेर कुन बानी आवश्यक छ (जसलाई निरन्तरता दिनुछ), कुन बानी अनावश्यक छ (जसलाई हटाउनुछ) र कुन बानीलाई थप गर्नुछ, हामीले अभ्यास गर्दै आएका हरेक बानी एक–एक गरेर टिपोट गरौं ।
बिहानमा
अलार्म बजेपछि बिहान ४ः३० मा ओछ्यानमा जाग्छु ।
अलार्म बन्द गर्छु ।
केही समय मोबाइलमा फेसबुकका नोटिफिकेसन चेक गर्छु ।
पुनः करिब आधा घण्टा सुत्छु ।
६ बजे तिर श्रीमतीले चिया ल्याइदिन्छिन् । त्यो ओछ्यानमै पिउँछु ।
अब ओछ्यानबाट उठेर हातमुख धुन्छु ।
शौचालय जान्छु । स्नान गर्छु ।
हल्का खाजा लिएर करिब आधा घण्टा फोन कल र इन्टरनेटमा बिताउँछु ।
खाना खान्छु ।
९ बजे घरबाट कार्यालय प्रस्थान गर्छु ।
मेरो मनमा बिहानको समयमा पूरा गर्नको लागि निम्न योजनाहरु बनेका छन्
क. ब्रह्म मूहूर्तमा उठ्ने
ख. २० मिनेट मर्निङ वाक र २० मिनेट योगध्यान
ग. २० मिनेट भागवतगिता पढ्ने
घ. दिनभरको लागि योजना बनाउने
ङ. अनलाइनमा आधा घण्टाको ट्रेनिङ-वेविनारमा सहभागि हुने
हाम्रो योजना यस किसिमको बन्नुपर्ने छ भने हामीले सबैभन्दा पहिले सबै कामहरु (अहिले बानी बनेका र नयाँ बानी बनाउनुपर्ने समेत)लाई क्रमबद्ध रुपमा मिलाउँ ।
अब त्यस सूचीमा कुनलाई निरन्तरता दिने हो, त्यसमा ठीक (राइट) चिन्ह लगाउँ, कुन–कुन बानीहरु थप्नुपर्ने हो, ती बानीहरुमा प्लस चिन्ह लगाउँ र जुनलाई घटाउनुपर्ने छ, त्यसलाई माइनस गरौं । अब आफ्ना सूचीका सचवह हेरौं ।
जस्तो कि– मैले दैनिक २० मिनेट बिहानमा योगासन गर्नुपर्ने छ । यदि त्यसो हो भने
नयाँ बानी विकास गर्नको लागि बलियो संकेत आवश्यक हुन्छ ।
हाम्रो वातावरणको समेत बानी निर्माण र छुटकारा प्राप्तिमा ठूलो भूमिका हुने गर्दछ । हामी जस्तो संगतमा रहन्छौं, त्यसै किसिमको प्रभाव पर्ने सम्भावना बढी हुन्छ ।
पुस्तकमा बानीमा परिवर्तन ल्याउने कार्य सहज नहुने भएको हुनाले साँच्ची बानीलाई सदावहार रुपमा परिवर्तन गरी नयाँ बानी विकास गर्नको लागि केवल परिणाममा मात्र ध्यान दिएर नपुग्ने बरु आफ्नो पृथक मानसिक पहिचान बारे आफूलाई विश्वस्त बनाउनुपर्ने बताएका छन् ।
यसको ब्याख्या गर्नको लागि लेखकले (Identity Based Habbit / Outcome Based Habbit) को कुरा उल्लेख गरेका छन् ।
मानौं ममा चुरोट पिउने बानी छ । म यस बानीबाट छुटकारा पाउन चाहन्छु । अर्थात् चुरोटबाट छुटकारा पाउने मेरो इच्छा छ । यस इच्छाको कारण मैले प्रयत्नपूर्वक केही दिन चुरोट पिउनबाट आफूलाई टाढा राख्न सक्छु । तथापि केही दिनको छोटो अवधिमा नै म त्यस पुरानो बानीबाट पुनः प्रभावित भइहाल्छु । जसले गर्दा लामो समयको लागि मेरो नयाँ बानी विकास गर्ने इच्छाले निरन्तरता पाउन सक्दैन ।
यसकारण यदि हामी साँच्ची आफ्नो बानी परिवर्तन गरेर नयाँ बानी विकास गर्नुछ भने आफ्नो मष्तिष्कमा नयाँ पहिचान बनाउन सक्नुपर्छ ।
अब आफूलाई ‘म चुरोट पिउँदिन’ भनेर आफूलाई आत्मसुझाव दिनुको बदलामा अब आफू कस्तो व्यक्ति बन्ने हो ? व्यक्तित्व कुन किसिमको हुनुपर्ने हो ? त्यस किसिमको तस्बीर आफ्नो मष्तिष्कमा तयार गरेर पटक–पटक त्यस तस्बीरलाई स्मरण गर्नुपर्छ । आफ्नो पहिचान बदलिएको र आफू अब माथिल्लो स्तर, वर्ग वा श्रेणीका व्यक्तिहरुसँग काम गरिरहेको (जहाँ संलग्न व्यक्तिहरु कसैले पनि चुरोट पिउँदैनन्) र आफ्नो पहिचान एवं सामाजिक प्रतिष्ठा निरन्तर माथि उठिरहेको कल्पना गर्न सक्नुपर्छ ।
नयाँ बानी विकास गर्नको लागि
Cue (सङ्केत)लाई देखिने बनाउँ । Craving लाई अझ आकर्षित बनाउँ । Response लाई सजिलो बनाउँ । Reward लाई सुखद वा आनन्ददायक बनाउँ ।
यसरी नै पुरानो बानीबाट मुक्त हुनको लागि
Cue (सङ्केत)लाई नदेखिने (अदृष्य) बनाउँ । Craving लाई अझ अनाकर्षक बनाउँ । Response लाई अप्ठ्यारो बनाउँ । Reward लाई पीडादायक बनाउँ ।
हामी वरपरको वातावरणबाट शिकार भएका छाैं भन्ने लाग्छ भने यसलाइ अलि पृथक तवरले बुझ्नुपर्छ कि हामीले चाहेको खण्डमा आफ्नो लागि उपयुक्त वातावरण हामी आफैंले निर्माण समेत गर्न सक्छौं ।
Habbit Stacking के हो ?
यदि हामीले कुनै नयाँ बानी आफूमा विकास गर्नुछ भने अहिले हामीमा भइरहेको बानीमा नै नयाँ बानीलाई जोडेर आपसमा अन्तरसम्बन्धित बनाई त्यस नयाँ बानी निर्माणको अभ्यासलाई सहज रुपमा विकास गर्न सक्छौं । यसरी नयाँ बानी विकास गर्ने प्रक्रियालाई Habbit Stacking भन्ने गरिन्छ ।
राम्रो बानी विकास गर्नको लागि
क. ह्याबिट स्कोरकार्ड (आफ्ना सबै बानीहरु लेखिएको बोर्ड वा कागज) बनाउँ र त्यसमा आफ्ना सबै बानीहरु लेखौं ।
ख. अब म आफ्नो बानी परिवर्तनको लागि नोटबुकमा म ……काम …..स्थानमा ……बजे गर्नेछु । लेखौं
ग. त्यसपछि कुन……बानी पनि अर्को कुन ……बानी त्यसमा अन्तरसम्बन्धित (ज्बददष्त कतबअपष्लन० गर्ने हो, त्यसलाई यस खालि ठाउँमा भरौं ।
घ. यसलाई व्यावहारिक रुपमा अभ्यास गरी नयाँ राम्रो बानी विकास गरौं ।
धन्यवाद ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij