२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

मैनालीलाई मदन पुरस्कार, यादवलाई जगदम्बाश्री पुरस्कार

मैनालीलाई मदन पुरस्कार, यादवलाई जगदम्बाश्री पुरस्कार

  • शुक्रबार, असोज १८ २०८१

 

काठमाडौं । मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार पत्रकार एवं लेखक मोहन मैनालीलाई प्रदान गरेको छ । यस्तै गुठीले जगदम्बाश्री पुरस्कार प्रा डा योगेन्द्रप्रसाद यादवलाई प्रदान गरेको छ ।

गुठीद्वारा विहिबार ललितपुरको रातो बङ्गला स्कुलमा आयोजित समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले मैनाली र यादवलाई पुरस्कार प्रदान गरे । गुठीको साधारणसभा बैठकले गरेको निर्णयअनुसार मदन पुरस्कार–२०८० बाट ‘मुकाम रणमैदान’ का लेखक मैनालीलाई तथा जगदम्बाश्री–२०८० बाट प्रा डा यादवलाई सम्मान गरिएको हो । पुरस्कारको राशि जनही चार लाख रहेको छ ।

गुठीका अध्यक्ष दीक्षितले नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धानका क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो योगदान गरेकोमा प्रा डा यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको जानकारी दिए।

‘मुकाम रणमैदान’ का लागि मदन पुरस्कार प्राप्त गरेका पत्रकार तथा लेखक मैनालीको यो पाँचौँ पुस्तक हो । मैनालीले यसअघि‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’,‘‘देखेको देश’ र‘आकाशमुखी’ कृति प्रकाशन गरिसकेका छन् ।

पुरस्कार ग्रहणपछि मदन पुरस्कार विजेता मैनालीले आफूले मुकाम रणमैदान मार्फत नेपाल–अङ्ग्रेज युद्धको बखान गरेको बताए। “मैले मुकाम रणमैदान ः नेपाल–अङ्ग्रेज युद्धको बखानमार्फत त्यही युद्धका २६ पर्व सुनाएको छु । नेपालको वर्तमान अवस्थालाई धेरै किसिमले डो¥याइरहेको दुई सय १० वर्षजति अघिको त्यस लडाइँबारे सिपाहीहरुले त्यतिबेलै भनेका सत्य कथाको पुनःकथन गरेको छु”, उनले भने ।

जगदम्बाश्री पुरस्कारबाट सम्मानित प्रा डा यादवले नेपालका भाषाहरुको क्षेत्रमा अध्ययन–अनुसन्धानका लागि जगदम्बाश्रीबाट सम्मानित गरेकामा कृतज्ञता ज्ञापन गरे । “विभिन्न सङ्कटग्रस्त भाषाहरुको सम्भाव्यतालाई दृष्टिगत गरी तिनको प्रयोग शिक्षालगायत सञ्चार, प्रशासन, साहित्य आदि क्षेत्रमा क्रमशः बढाउँदै जानु आवश्यक देखिन्छ । तर तिनको संरक्षण र सम्वर्द्धनको सर्वाधिक जिम्मेवारी सम्बन्धित भाषिक समुदायमा निहित हुन्छ”, उनले भने ।

गुठीले मदन पुरस्कार–२०८० का लागि पाँच पुस्तक छनोट गरेको थियो । भक्त स्याङ्तानको‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको‘भावलिपि’, मोहन मैनालीको‘मुकाम रणमैदान’ र रोशन थापा‘ ‘नीरव’ को ‘सन्त्रासका साठी दिन’ रहेका थिए । मदन पुरस्कार २०८० छनोटका लागि तीन सय चार पुस्तक प्राप्त भएकामा पाँच कृतिलाई अन्तिम छनोट गरिएको अध्यक्ष दीक्षितले जानकारी दिए ।

मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो । यो पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको‘ जनरल भीमसेन थापा’ र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई दिइको थियो ।

गुठीले २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनकै सम्झनामा जगदम्बा–श्री सम्मान स्थापना गरेको थियो । यो सम्मानबाट पहिलो पटक स्वर सम्राट नारायणगोपाल गुरुवाचार्य सम्मानित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij