२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

भोटेकोशी बाढी : बीमा दाबीका लागि फोटो, भिडियो र कागजात सुरक्षित राख्न सर्भेयर संघको आग्रह

भोटेकोशी बाढी : बीमा दाबीका लागि फोटो, भिडियो र कागजात सुरक्षित राख्न सर्भेयर संघको आग्रह

  • बिहिबार, भाद्र ११ २०८३

काठमाडौं। रसुवागढी तथा आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधन तथा भौतिक क्षति भएकोप्रति नेपाल बीमा सर्भेयर संघ (NISA) ले गहिरो दुःख व्यक्त गर्दै प्रभावित बीमितलाई बीमा दाबी प्रक्रियाका लागि आवश्यक प्रमाण सुरक्षित राख्न आग्रह गरेको छ।

संघले बुधबार जारी गरेको विज्ञप्तिमार्फत बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै बेपत्ता व्यक्तिको खोजी, प्रभावितको उद्धार तथा राहतलाई उच्च प्राथमिकतामा राख्न नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ।

संघका अनुसार बाढीबाट निजी तथा सार्वजनिक सम्पत्ति, भवन, उद्योग–व्यवसाय, सवारीसाधन, निर्माणाधीन जलविद्युत् आयोजना, मेसिनरी तथा उपकरणलगायत विभिन्न बीमित सम्पत्तिमा ठूलो क्षति पुगेको हुन सक्ने अवस्था छ।

यस्तो अवस्थामा बीमा क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै संघले क्षति भएका बीमित व्यक्ति तथा संस्थालाई सम्बन्धित बीमा कम्पनीमा यथाशीघ्र दाबी सूचना दिन आग्रह गरेको छ। क्षतिग्रस्त सम्पत्तिको अवस्था सम्भव भएसम्म सुरक्षित राख्दै फोटो, भिडियो, बिल, कागजात तथा अन्य प्रमाणहरू सुरक्षित राख्न पनि संघले अनुरोध गरेको छ।

संघले निर्जीवन बीमा कम्पनीबाट प्राप्त हुने बाढीजन्य क्षतिका दाबी दर्ता, सर्भेयर नियुक्ति तथा दाबी फर्छ्योट प्रक्रियालाई सरल, छिटो, पारदर्शी र प्रभावकारी बनाउन विशेष आग्रह गरेको छ।

नेपाल बीमा सर्भेयर संघले आफ्ना सदस्य सर्भेयरहरूलाई प्रभावित क्षेत्रमा प्राप्त हुने कामलाई उच्च प्राथमिकतामा राखी निष्पक्ष, व्यावसायिक र शीघ्र रूपमा क्षति मूल्याङ्कन गरेर प्रतिवेदन पेश गर्न आग्रह गरेको जनाएको छ। आवश्यक अवस्थामा बीमा दाबी तथा क्षति मूल्याङ्कन कार्यलाई सहज बनाउन सम्बन्धित निकाय र बीमा कम्पनीसँग समन्वय तथा सहकार्य गर्न संघ तयार रहेको विज्ञप्तिमा उल्लेख छ।

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट तथा आसपासका क्षेत्रमा बस्ती, बजार, पुल, सडक, बैंक तथा जलविद्युत् आयोजनासहित ठूलो भौतिक क्षति भएको प्रारम्भिक विवरणहरू सार्वजनिक भएका छन्। उद्धार तथा क्षतिको विवरण संकलन कार्य जारी रहेकाले क्षतिको पूर्ण आर्थिक विवरण अझै यकिन हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij