
महाभारत युद्धको क्रममा भगवान् श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश हो भागवत गीता । त्यो उपदेश अहिले हाम्रो लागि पनि त्यत्तिकै सान्दर्भिक छ । साथै विश्वमा भागवत गीता सरह ज्ञान प्रदान गर्ने अर्को पुस्तक अहिले सम्म लेखिन सकेको छैन ।
के छ त गीतामा ?
महाभारत युद्धको क्रममा सम्पूर्ण तयारी सहित दुवै पक्षका सैनिकहरु (पाण्डव र कौरव) युद्ध भूमिमा खडा भइसकेको अवस्थामा पाण्डव पक्षका धनुर्धारी अर्जुनले जब मैदानमा खडा भएका योद्धाहरुलाई देख्छन् । त्यसपछि उनको शरीर काँप्न थाल्छ । उनका रौंहरु हल्लिन थाल्छन् । उनी निराश हुन्छन् । साथै युद्ध भूमिबाट बाहिरिने निर्णयमा समेत पुग्छन् । आखिर किन त ? किनकि अर्जुनले आफूले युद्ध गर्नुपर्ने पात्रहरु अरु कोही नभएर आफ्नै गुरुहरु, आफन्तहरु र निकटस्थहरु भएको पाउँछन् । आखिर उनीहरुलाई मारेर आफूले सुखभोग गर्न नसक्ने निष्कर्ष उनको हुन्छ । यही अवस्था नै भागवत गीताको पृष्ठभूमि बन्न पुग्छ ।
भागवत गीतामा कृष्णले अर्जुनलाई उक्त युद्ध धर्म युद्ध भएको स्मरण गराउँछन् । साथै युद्धमा असत्यलाई साथ दिएका युद्धभूमिका आफ्ना विपक्षीहरुलाई मारेर कुनै पाप नलाग्ने बरु श्रेष्ठतम मानिने तर युद्ध भूमिबाट बाहिरिँदा कातर ठहरिने कुरा बताउँछन् । कृष्णले यो पनि बताउँछन् कि वास्तवमा कोही पनि मर्दैन । आत्मा सदैव जीवित नै रहन्छ । शरीर मात्रै बदलिने हो । कृष्णले शरीरलाई कपडा परिवर्तन गरेको जस्तो मात्र भएको कुरा अर्थ्याउँछन् ।
कृष्णले अर्जुनलाई आफ्नो मनमा कत्ति पनि आशङ्का नराखी कर्म दोष भगवान श्रीकृष्णलाई नै छोडिदिएर आफ्नो कर्ममा आफू केवल पात्र मात्र भएको अर्थमा बुझेर युद्ध कर्ममा अघी बढ्न हौसाउँछन् । मानिसको कर्तव्य कर्म पूरा गर्नैपर्ने र कर्मअनुसारको फल अवश्य प्राप्त कुरा श्रीकृष्णले अर्जुनलाईं सम्झाउँछन् ।
श्रीकृष्णले अर्जुनलाई आफ्नो क्षमता बारे थप विश्वस्त पार्न सम्पूर्ण जगतको श्रृष्टिकर्ता आफू नै रहेको र श्रृष्टिका सम्पूर्ण अवयवहरु आफैंमा अवस्थित रहेको मात्र बताउँदैनन्, केही क्षणको लागि आज्ञा चक्र नै खोलिदिएर आफ्नो विश्वरुप दर्शन समेत गराउँछन् । कृष्णको उक्त स्वरुपमा अर्जुनले सम्पूर्ण, देवता, ऋषि, मानव, दैत्य, जल, तेज, अग्नि, सूर्य, चन्द्र, काल, समय, ऊर्जा लगायत सम्पूर्ण ब्रह्माण्डीय यावत् तत्वहरु आफ्नै स्वरुपभित्र समेटिएको देख्छन् । जहाँ विश्वरुप श्रीकृष्णमा अनन्त आत्माहरु र शरीरहरु एकै स्वरुपमा अवस्थित छन् । त्यस भयङ्कर स्वरुपलाई देखेर श्रीकृष्ण आश्चर्यचकित मात्र पर्दैनन्, अर्जुन निकै आकुलव्याकुल समेत हुन्छन् । पाण्डवको तर्फबाट सारथीको रुपमा काम गरेका श्रीकृष्णको शक्तिको बारेमा ज्ञान भएपश्चात् र उनीबाट ज्ञान प्राप्त गरेपश्चात् युद्धमा होमिन तयार हुन्छन् अर्जुन । साथै धर्मको पक्ष लिएका हुनाले अन्त्यमा जीत समेत पाण्डव पक्षकै हुन्छ । साथै उनीहरु जिउँदै स्वर्ग जान्छन् ।
गीताको सन्देश
गीतामा कर्मलाई बढी महत्व दिइएको छ । जुनसुकै कर्म गर्दा पनि हाम्रो ध्यान के कुरामा केन्द्रित छ भन्ने कुरा बढी महत्वपूर्ण हुने कुरा गीतामा उल्लेख गरिएको छ । परिस्थिति अनुसार कुनै बेला अपराध बन्ने कर्म कुनै बेला सत्कर्म समेत मानिन सक्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij