२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नेपालको पर्यटनको मूल्य

नेपालको पर्यटनको मूल्य

अश्लेषा कार्की
पर्यटन व्यवसायी

काठमाडाैं, ५ चैतः बुद्ध धर्मावलम्बीलाई बुद्ध जन्मस्थल लुम्बिनीमा आएर विवाह गर्न पाउनुजति ठूलो सौभाग्य के हुनसक्ला । हिन्दुहरुलाई राम र सीताले विवाह गरेको जनकपुरधाममा आएर जोडी बाँधिन पाउँदा कस्तो महसुस होला ।

नेपालको पर्यटन उद्यममा युवा व्यवसायीको प्रवेश हुन थालेको छ । यो असाध्यै खुसीको कुरा हो । युवाको प्रवेशले पर्यटन व्यवसायलाई परम्परागत शैलीभन्दा फरक ढंगले माथि उठाउँछ भन्ने लागेको छ । नेपालको पर्यटनको मूल्य र महत्वलाई चिनेर, त्यसको गहिराइलाई पर्गेलेर अनि पर्यटनको बहुआयामलाई अनुभव गरेर युवा व्यवसायीले आफ्नो उद्यमशीलता प्रदर्शन गरिरहेका छन् ।
हरेक पुस्तासँगै नयाँ–नयाँ प्रविधि आइरहेको हुन्छ । व्यवसायको शैली पनि उन्नत हुँदै गइरहेको हुन्छ । मेरो बुवाको पुस्ताको पर्यटन र मैले बुझेको पर्यटनमा केही भिन्नता हुन्छ । अहिलेको समयमा हाम्रो पुस्ताले नेपालको पर्यटन बजारमा कसरी व्यवसाय गर्नुपर्छ ? भन्ने कुरा कसै न कसैले त गरेर देखाउनैपर्छ । त्यसको सुरुवात गर्नैपर्छ । नेपालको अर्थतन्त्रलाई मजबुत बनाउने क्षेत्र पर्यटन नै हो भन्नेमा कुनै दुबिधा छैन । र, यो यथाथर्तालाई सिद्ध गरेर देखाउनुपर्छ ।

मेरो नजरमा नेपालको पर्यटन
नेपालको हकमा पहिला हामीसँग एउटै ‘एड्भेन्चर टुरिजम’को अवधारणा थियो । अधिकांशमा ट्राभल एजेन्सी खोल्ने र ट्रेकिङ एजेन्सी खोल्ने सोचाइ थियो । नेपालमा हिमाल छ, ट्रेकिङ गराउँछु र पैसा कमाउँछु भन्ने थियो । हामीले बेच्न जानेकै अन्नपूर्ण पदमार्ग र एभरेस्ट ट्रेकिङ थियो, चितवनको सौराहा र पोखरा थियो । सांस्कृतिक पर्यटन हुन्थ्यो । त्यसमै पर्यटक आकर्षित गराउने र व्यवसाय चलाउने ट्रेन्ड चलिरहेको थियो । विदेशी ल्याउने, ग्रुप बनाउने, घुमाउने र फर्काउने भन्ने थियो ।

तर, यसमा धेरै परिवर्तन आइसकेको छ । पर्यटन भनेको एउटा देशको एउटा कुरामात्र होइन । हरेक देशको पर्यटन फरक–फरक हुन्छ, विविधता हुन्छ । कतिपय देशलाई प्रकृतिले उपहार दिएको छ भने कतिपयले कृत्रिम सौन्दर्य सिर्जना गरेका छन् । नेपालमा प्रकृतिले हिमाल दिएको छ । त्यहाँ एड्भेन्चरमात्र छैन, अनुपम र अद्वितीय सौन्दर्य छ । त्यसकारण मेरो बुझाइमा प्राकृतिक होस् या कृत्रिम, त्यसमा अरुलाई आकर्षित गर्नु र त्यसैमा भुलाउनु नै पर्यटन हो ।

नेपालमा ट्रेकिङ पर्यटन अभ्यास जस्तो भइसकेको छ । अब के छ त फरक ? हामीले त्यसमा चिन्तन गर्नुपर्छ । म चाहिँ नेपालमा अपार सम्भावना देख्छु । नेपालमा आध्यात्मिक पर्यटनको ठूलो सम्भावना छ । धार्मिक पर्यटनमा सम्भावना छ । देश बाहिर गएर विवाह गर्ने प्रवृत्तिका कारण नेपाल ‘वेडिङ टुरिजम’को गन्तव्य बन्नसक्छ ।

धेरै मानिसले अलि फरक भूगोलमा जाने अथवा अर्को देश भ्रमण गर्ने भनेको रिल्याक्समेन्ट (आनन्द)का लागि हो । मानिस एकछिन भए पनि ‘मसिन’ जस्तो दैनन्दिनबाट मुक्त हुन चाहन्छ । सबै कुरा बिर्सिएर आनन्दमा मग्न हुन चाहन्छ । त्यहाँ कोही चिनेको मानिस पनि नभेटियोस्, अझ भनौँ फोन सम्पर्क पनि नहोस् र स्वतन्त्र ढंगले निस्फिक्री भएर विचरण गर्न पाइयोस् भन्ने हुन्छ । त्यसकारण पर्यटन एकदमै फरक अवधारणाबाट अघि बढेको छ ।

यसको अर्थ पर्यटन अब कुनै साँघुरो घेरामा सीमित छैन, यो असाध्यै फराकिलो अवधारणा हो । ‘नेपाल भनेको हिमालै हिमालको देश हो, हिँड्नुपर्छ र त्यसका लागि तगडा हुन जरुरी छ, त्यहाँ बच्चाबच्ची अथवा बूढाबूढीको काम छैन’ भन्ने बुझाइ बनेको, बनाइएको छ, अब त्यसमा परिवर्तन ल्याउनुपर्छ । नेपाल सबैका लागि हो, सबै वर्ग र सबै उमेर समूहका पर्यटक यहाँ महिनौँसम्म रमाउन सक्छन् भन्ने सन्देश प्रवाह गर्न सक्नुपर्छ ।

यसका लागि आफ्नो देशको पर्यटनलाई पहिला आफैँले बुझ्नुपर्छ । आफ्नो देशलाई कसरी पर्यटकमय बनाउने त्यसमा घोत्लिनुपर्छ । थाइल्यान्ड यसको उत्कृष्ट उदाहरण हुनसक्छ । थाइल्यान्डमा समुद्र छ, तापक्रम उष्ण प्रकारको छ, ‘आऊ, रमाइलो गर’ भन्ने थियो तर अहिले त थाइल्यान्ड त्यत्तिका लागि मात्र होइन, सपिङ डेस्टिनेसन भयो, पार्टी डेस्टिनेसन भयो र ‘नाइट लाइफ’का लागि पनि गन्तव्य भयो ।
हामीले पनि नेपालको पर्यटनलाई कस्तो बनाउने ? के का लागि विदेशी पर्यटक नेपाल आउने ? विदेशीलाई नेपाल आउन मन लाग्ने स्थिति कसरी सिर्जना गर्ने ? भन्ने चाहिँ अबको पुस्ताको हातमा छ । अबको पर्यटन व्यवसायीको हातमा छ ।

प्राकृतिक सौन्दर्य मूल्य
नेपालको पर्यटनको मूल्य निकै माथि छ । हामी प्रिमियम मूल्यमा प्राकृतिक सौन्दर्य बेच्न सक्छौँ । त्यसका लागि त्यो प्राकृतिक सौन्दर्यसम्मको पहुँचका लागि सडक पूर्वाधार अथवा हवाई मार्ग हुनुपर्छ । त्यो पूर्वाधार गुणस्तरीय पनि हुनुपर्छ ।

त्यसपछि त्यहाँ पर्यटन व्यवसायी पुग्छन् र बस्नका लागि राम्रो र सफा होटल या रिसोर्ट बनाउँछन् । बल्न पर्यटक पुग्ने आधार तयार हुन्छ । अहिले कतैकतै भइरहेको पनि छ । उदाहरणका लागि मुस्ताङमा सुरु भएको छ । यती वल्र्ड ग्रुपको सहायक कम्पनी सेर्पा हस्पिटालिटीले सुरु गरेको ‘होटल शिन्तामणि’ले पर्यटनमा नयाँ आयाम ल्याएको छ ।

त्यो होटलमा न्यूनतम पाँच रात बस्नुपर्छ भने प्रत्येक रातको कम्तीमा सयौँ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । त्यो पनि सिजनमा भरिभराउ हुन्छ । भनेपछि हामीकहाँ प्रिमियम मूल्य तिरेर पर्यटक आउने सम्भावना रहेछ त ! हामीले चाह्यौँ र खोज्यौँ भने सकिन्छ । नेपालको सुन्दरता त्यति धेरै अमूल्य छ ।
देश–विदेशबाट मानिसहरु सयौँ डलर तिरेर बस्ने र त्यही प्राकृतिक सुन्दरता अवलोकन गर्ने हुन् । शिन्तामणिको कोठामै बसेर हिमाल हेर्न सकिन्छ । त्यहाँ ट्रेकिङको पनि व्यवस्था छ । जोमसोमको स्वच्छ हावाको आनन्द लिन सकिन्छ । त्यस्तै लुक्लामा पनि होटलहरु, भिल्लाहरु खुल्न थालेका छन् । त्यहाँ पुग्ने पर्यटकले पनि ‘माउन्टेन भ्यु’का लागि पैसा तिर्छन् । त्यसकारण त्यो स्तरका पर्यटकलाई लक्षित गरेर पूर्वाधारमा लगानी गर्न सके पर्यटनबाट नेपालले धेरै ठूलो उपलब्धि हासिल गर्न सक्छ ।
नेपालमा हिमालबाहेक रारा, से–फोक्सुन्डो, तिलिचोलगायतका ताल पनि छन् । ती तालको सुन्दरता वर्णन गरेर सकिँदैन । रारामा त पाँच तारे होटल निर्माण अघि बढिसकेको छ । यो उच्च हिमाली भेगकै कुरा भयो ।

अब तराईको कुरा गरौँ । बर्दियामा ‘बुरहान वाइल्डजोन क्याम्प’ छ । त्यहाँ कुनै सुविधासम्पन्न बिल्डिङ छैन । एक रातको डेढदेखि दुई लाख रुपैयाँ तिर्नुपर्छ । त्यहाँ पनि ८–१० जनाको प्याकेज बनाएर बर्दियाको जंगल घुमाउने र खुवाउने काम हुन्छ । जंगलको बीचमा एउटा फरकखालको अनुभव पनि दिलाउने गरिन्छ । जनावरसँग नजिक बस्न पाइन्छ । प्रकृतिलाई नजिकबाट नियाल्ने अवसर मिल्छ । होटल बाह्रैकाल खुल्दैन । तर, खुलेको समयमा प्रकृतिसँग सानिध्यताको अनुभव लिन चाहने पर्यटकले भरिभराउ हुन्छ । प्रिमियम मूल्यको नेपालको पर्यटनको यो अर्को नमुना हो ।

नेपालमा के चाहिँ छैन । बाह्रैकाल हिउँ जमिरहने पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म फैलिएको हिमशृंखला छ । ताल, खोँच, पहाड र जंगल सबै छ । बढी गर्मी भयो भने हिमालतिर उक्लिन सकिन्छ, जाडो बढी भयो भने तराई झर्न मिल्छ । अब, त्यो ठाउँमा पुग्नका लागि सडक पूर्वाधार र पाहुनालाई राख्नका लागि राम्रो व्यवस्था भयो भने पुग्छ ।

पर्यटकलाई स्वागत गर्न पोखरा सधैँ व्यस्त छ । नजिकै देखिने हिमाल र तालहरुको मनोरम दृश्यावलोकनका लागि बाह्यमात्र होइन, आन्तरिक पर्यटकको पनि घुइँचो लाग्छ । सडक र हवाई यातायातको सुगमताले त्यो सम्भव भएको हो । त्यसकारण सडक पूर्वाधार अथवा हवाई मार्ग, पर्यटकीय गन्तव्यसम्म पुग्ने माध्यम चाहिँ हुनैपर्छ र त्यसमा निजी क्षेत्रले लगानी गर्दैन । सरकारले नै गर्नुपर्छ ।

पर्यटकीय गन्तव्य
नेपाल प्राकृतिक पर्यटकीय स्थलहरु अवलोकन गर्ने गन्तव्यमात्र होइन, यो देशलाई प्राकृतिकसँगै पर्यटनका अरु गन्तव्यका हिसाबले पनि विकास गर्नुपर्छ र दोहोरो–तेहोरो लाभ लिनुपर्छ ।
नेपाललाई ‘वेडिङ’को होस्, ‘स्पिरिचुअल’ होस् अथवा ‘रिलिजन’ होस्, सबैखाले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्छ । नेपालमा त कुनै सामान्य देखिने ठाउँलाई थोरै ‘मोडिफाइ’ गर्न सक्यो भने मानिस रमाउने खालको बनिहाल्छ । अझ म त के भन्छु भने नेपाल आफैँमा यति सुन्दर छ कि ‘मोडिफाइ’का लागि लगानी नै गर्नु पर्दैन ।

अहिले नेपालमा ‘वेडिङ टुरिजम’को राम्रो सम्भावना देखिएको छ । झापाको होटल मेची क्राउनले मात्रै अहिले वर्षमा ३०–३५ वटा विवाह (भारतीय) गराइरहेको छ । विवाह दुई रात, तीन दिन अथवा तीन रात, चार दिनको हुन्छ । विवाहको अवसरमा आएका भारतीयहरु मण्डपमा सीमित रहँदैनन् । उनीहरु इलामका माईपोखरी, कन्याम, श्रीअन्तुलगायतका ठाउँ पुग्छन् ।

त्यस्तै विराटनगरको कुनै होटलमा विवाहको अवसरमा आएका पर्यटक धनकुटा, भेडेटार, वसन्तपुर र हिले पुग्छन् । भैरहवा आएकाहरु पाल्पाको रानीमहल पुग्छन् । यसकारण कनेक्टिभिटी राम्रो हुने हो भने पूरा देशलाई ‘वेडिङ डेस्टिनेसन’का रुपमा विकास गर्न सकिन्छ ।

नेपाललाई भारतमात्र होइन, चीन र थाइल्यान्डकै ‘वेडिङ डेस्टिनेसन’ बनाउन सकिन्छ । म सोच्छु, बुद्ध धर्मावलम्बीहरुलाई बुद्ध जन्मस्थल लुम्बिनीमा आएर विवाह गर्न पाउनु जति ठूलो सौभाग्य के हुनसक्ला । हिन्दुहरुलाई राम र सीताले विवाह गरेको जनकपुरधाममा आएर जोडी बाँधिन पाउँदा कस्तो महसुस होला ।
अर्को गन्तव्य नेपालको हरियालीसँग जोडिएको छ । नेपालको हरियाली विश्वको भन्दा भिन्न छ । दार्जिलिङमा पनि चिया बगान छ तर कन्यामको चिया बगानमा जुन आनन्द मिल्छ, त्यो दार्जिलिङ जाँदा मिल्दैन । कन्यामको सुवास बेग्लै छ । त्यसकारण हामी धेरै हिसाबले भाग्यमानी छौँ । पहाडी र हिमाली भेगमा जताततै प्राकृतिक क्रिसमस ट्रि, पाइन ट्रि पाइन्छ । हामीले नेपाललाई ‘क्रिसमस पर्यटन’को रुपमा विकास गर्न सक्छौँ र प्लास्टिकका ‘क्रिसमस ट्रि’मा रमाइरहेकाहरुलाई नेपाल भित्र्याउन सक्छौँ ।

दोलखाको कालिन्चोकभरि ‘क्रिसमस ट्रि’ छ, हिउँ परेका बेला त्यही ‘ह्वाइट क्रिसमस’ हुन्छ । यति सुन्दर र अपार सम्भावनाले भरिएको देश गुणस्तरीय पर्यटकीय पूर्वाधार (कनेक्टिभिटी)को अभावमा ओझेलमा परिरहेको छ ।

पर्यटन प्रवर्धन
अहिले पनि नेपालले ‘म्यानुअल्ली’ पर्यटन प्रवर्धन गरिरहेको छ । हामी ट्राभल ट्रेडको कन्फ्रेन्समा जान खोज्ने अनि स्टलहरु राखेर नेपालको पर्यटन बेच्न खोज्छौँ । त्यो पनि गर्नुपर्छ तर अब त्यसभन्दा माथि उठेर नेपालको पर्यटन प्रवर्धन गर्न जरुरी छ । प्रविधिले हामीलाई असीमित अवसर दिइसकेको छ तर त्यसको प्रयोग गर्न हामी चुकिरहेका छौँ ।

फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युबबाट प्रवर्धन गर्न हामीले जानेकै छैन । राम्रो भिडियो बनाएर सामाजिक सञ्जालमा हालेर सानो लगानीमा धेरै ठूलो प्रवर्धन हुनसक्छ । ‘भिजिट भुटान’को एक मिनेटको भिडियो प्रविधिको प्रयोगबाट गरिएको पर्यटन प्रवर्धन राम्रो दृष्टान्त हुनसक्छ । त्यस्तै सिंगापुरको ‘मरिना बे’को भिडियो कति आकर्षक छन् ।

न्यु इयरको समयमा कतिपय देशहरुले आतिशबाजी गर्छन् । त्यही आतिशबाजीको दृश्य हेर्नका लागि दुनियाँभरका मानिस एक वर्षअगाडि नै योजना बनाइरहेका हुन्छन् । तर, नेपालको पर्यटनको तुलनामा त्यो आतिशबाजी केही पनि होइन । खाली हामीबाट प्रवर्धन भइरहेको छैन, प्रविधिको उपयोग हुन सकेको छैन । सरकार र निजी क्षेत्रको सक्रिय सहभागितामा यो काम हुनसक्छ । नेपाल पर्यटन बोर्डले यसको योजना बनाउनुपर्छ । पर्यटनबाट नेपालले विश्वले नगरेको तरक्की गर्न सक्छ ।

(इमान जर्नलमा प्रकाशित अंश)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij