२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

दोस्रो जन्मदिन विशेष : प्यारी छोरी सियोनाका नाममा आमाको खुला पत्र

दोस्रो जन्मदिन विशेष : प्यारी छोरी सियोनाका नाममा आमाको खुला पत्र

  • शनिबार, असार १३ २०८३
  • सृजना पन्थी

प्यारी छोरी सियोना,
आज म तिमीलाई तिम्रो जन्मदिनको अवसरमा केही शुभकामनाका शब्दहरू लेख्दै छु। मलाई थाहा छ, अहिले तिमीले यी कुरा बुझ्दिनौ सायद र यो पत्र पढ्न पनि सक्दिनौ।

केही वर्षपछि तिमीले अक्षरहरू चिन्न सिक्नेछ्याै, भाषा बुझ्नेछ्याै र एक दिन यो सन्देश पनि पढ्न सक्नेछ्याै। तिम्रो  सम्झनाको लागि पनि म यो पत्र लेख्दैछु।

प्यारी छोरी,
असार महिनाको समय थियो। मामु अफिसको काममा निकै व्यस्त थिए । तिमी मामुको पेटमा दिनभरि चलेकी थिइनौ। हामीले परम्परा अनुसार गरिने घरेलु उपायहरू पनि सबै अपनायौँ। तर तिमी नचलेपछि हामी अस्पताल गयौँ। त्यसपछि डाक्टरको सल्लाहबमोजिम बिहानको समयमा शल्यक्रिया गरेर तिमीलाई जन्म दिनुपर्‍यो।

सियोले घोच्दा समेत चिच्याउने तिम्री आमाले त्यतिबेला दुखाईको पीडाको अनुभव गरिन, बरू तिम्रो ठूलाे चिन्ता थियो।
जब तिमीलाई मेरो शरीरबाट निकालेर मेरो छातीमा टाँसियो। खुसीका आँसु आफैँ झरे। त्यो क्षणमा मलाई लाग्यो, मानौँ मेरो शरीरभित्रको मुटु नै बाहिर निकालेर छातीमा टाँसिएको हो।

जब मैले तिमीलाई पहिलो पटक काखमा लिएँ, म आफूलाई संसारकै भाग्यमानी आमा महसुस गरिरहेकी थिएँ। लागिरहेकाे थियाे, तिमी हाम्रो जीवनमा एउटा उत्सव बनेर आएकी छ्याै । तिम्रो उपस्थितिले हाम्रो जीवनको सार्थकता अझ गहिरो बनाएको छ। त्यसैले हाम्रो लागि तिम्रो जन्मदिन केवल एउटा मिति होइन, एउटा भव्य उत्सव हो।

हो छोरी, तिमी भर्खर दुई वर्ष पुग्दै छौ। जीवनका अनेक उतारचढावका बीच पनि म तिमीलाई भरपुर समय दिने प्रयास गरिरहेकी हुन्छु। तर समय दिन नसकेको महसुस भइरहेको छ मलाई।
तिमी अझै सानी छ्याै। मामुको अफिस, घरका जिम्मेवारी र दैनिक संघर्षका कुरा तिमीले अहिले बुझ्दिनौ। तिमीसँग हरेक पल, हरेक क्षण सँगै बिताउन मन हुँदाहुँदै पनि हामीले चाहेजति समय दिन सकिरहेका छैनौँ, यसमा म दुखी छु। तर आशा छ, तिमी अलि ठूली भएपछि हाम्रो यो बाध्यता अवश्य बुझ्नेछ्याै।

प्रिय छोरी तिमीले मलाई धेरै कुरा सिकाउँदै लगेकी छ्याै।
जब म आमा बनेँ, तब मैले तिम्रो लागि हरेक त्याग गर्न सिकेँ। आफ्नो खुसीभन्दा तिम्रो खुसीलाई ठूलो मान्न थालेँ। आफ्नो भविष्यभन्दा तिम्रो भविष्य रोज्न थालेँ। आफ्ना इच्छा, रहर र चाहनाभन्दा तिम्रा साना-साना उपलब्धि र प्रत्येक नयाँ पाइला हेरेर गर्व गर्न सिकेँ।
छोरी साँच्चै, तिमी जन्मिएपछि मैले आफ्नै महत्व अझ धेरै बुझ्न सकेँ। मैले महसुस गरेँ कि यो संसारमा मलाई नै आफ्नो संसार ठान्ने एउटा अमूल्य मान्छे पनि छ।

छोरी, तिमी मैले आफ्नै शरीरको बगैँचामा फुलाएको सुन्दर फूल हौ। तिमीलाई मैले मेरो रगत, पसिना, मनमुटुभरिको माया र ममता सिञ्चेर हुर्काउँदै छु। म सधैँ आफ्नो यो फूललाई तन, मन र प्राण दिएर संरक्षण गर्नेछु।

किनकि तिमी मेरो जीवनको सबैभन्दा सुन्दर उपहार हौ। तिम्रो मुहारमा, तिम्रो मनमा र तिम्रो मस्तिष्कमा सधैँ खुसीको उज्यालो छाइरहोस्। रिस, राग, क्रोध र भय तिमीबाट सधैँ टाढा रहून्। तिमी सधैँ स्वस्थ, निरोगी, आत्मविश्वासी र उज्ज्वल जीवन बाँचिरहनू। तिम्रा हरेक सपना पूरा होऊन्, तिम्रा हरेक पाइला सफलताले भरिऊन्, र तिम्रो जीवन प्रेम, सम्मान र खुसीले सधैँ भरिपूर्ण रहोस्।

त्यसकाे अलावा तिमी स-साना असफलताबाट नआत्तिनु । हरेक असफलतालाइ नयाँ सिकाइका रूपमा लिएर अघी बढ्नु । किनकि असफलता  सँगसँगै नयाँ अवसर पनि उपलब्ध हुने गर्दछन् । दया, प्रेम, करूणा र विनम्रताजस्ता गुणहरूबाट तिमी भरिपूर्ण हुन सक । खुसी, शान्ति, समृद्धि, प्रतिष्ठा तिम्रा लागि सदैव प्राप्ति भइरहुन् । हामी तिम्राे लागि फराकिलाे आत्मविश्वास विकास गराउने माध्यम मात्र बन्न सकाैं । ताकि तिम्रा लागि चाहेका र लाभदायक हरेक लक्ष्य पूरा गर्न सक्ने  प्रेरणा र त्यसलाइ पूरा गर्न सक्ने धैर्यता, निरन्तरता र साहश प्राप्ति भइरहन सकाेस् ।

तिमीलाई दोस्रो जन्मदिनको हार्दिक तथा मंगलमय शुभकामना, प्यारी छोरी।

तिम्रो जीवन सधैँ प्रेम, उज्यालो प्रकाश, मुस्कान र सुन्दर सम्भावनाले भरिपूर्ण रहोस्।

असीम माया सहित,
मामु❤️ ।

सृजना पन्थी।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij