२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

दिग्भ्रमित शैक्षिक अवस्था

दिग्भ्रमित शैक्षिक अवस्था

–वासुदेव भट्ट


पानीको मुहान सफा, निर्मल र प्राकृत भए पिउन योग्य हुन्छ । जलको शुद्धता, स्वच्छता र निर्मलता यसको उद्गम स्थलमा निर्भर रहन्छ । स्वच्छ, शुद्ध र निर्मल जलको उपभोगले नै स्वस्थता र आरोग्यता प्रदान गर्छ । मुहान नै प्रदूषित र अप्राकृतिक भए शुद्धता र स्वच्छताको अभिलाषा राख्नु निरर्थक ठहर्छ ।

त्यसरी नै व्यक्ति, समाज र राष्ट्रको समग्र विकास र समुन्नतिको उद्गमस्थल शिक्षा हो । कुनै पनि व्यक्ति, समाज र राष्ट्रको उन्नत आधारशिला शिक्षामा निर्भर रहन्छ । तर सम्रग विकासको आधारशिला र मुहान बनेको नेपालको शैक्षिक स्थिति अन्योलग्रस्त देखिन्छ । अस्तव्यस्त छरिएर रहेका सामाग्रीजस्तै हाम्रो शिक्षा छरिएको छ । शैक्षिक मेलोमेसो मिलाउन नसकिएको बाटो बिराएर कतै हराएको यात्री जस्तो छ । सुदूर भविष्यको स्वर्णिम स्वप्न देख्ने अभिलाषा विद्यार्थीमा मरेको छ । विद्यार्थीको अध्ययनप्रतिको जिज्ञासामा मन्दता आएको छ । पढ्नेहरुमा निराशा र उदासिनताको बादल छाएको छ । भविष्यका दिशाहरु अस्पष्ट र ऊर्जाहीन बनेका छन् । अध्ययनशील विद्यार्थीको योग्यता, क्षमता र प्रतिभाको यथोचित कदर र भविष्यमा राष्ट्रभित्र स–सम्पन्न कर्म गर्ने समुचित वातावरण देखिएको छैन । आफ्नो विधामा उत्कृष्ट क्षमता प्रर्दशन गर्ने विद्यार्थी विदेश पलायन भएका छन् ।

राजनीतिक रङ्गले योग्यता र क्षमतालाई ओझेलमा पारेको छ । शासकहरुमा दूरदृष्टि र इच्छाशक्तिको अभाव देखिन्छ । प्रशासनिक निष्पक्षता, इमान्दारिता, कुशलता र कर्मनिष्ठतामा कमी देखिन्छ । विदेशी दाताका इसारामा चल्ने प्रवृति देखिएको छ । शैक्षिक नीति निर्माताहरुले यो देशको सुन्दर भविष्यको मार्गचित्र कोर्ने शैक्षिक परिकल्पना नै गर्न सकेनन् । यिनै दिशाहीन अन्योलता र अकर्मण्यताको शिकार नेपालको शैक्षिक दुर्दशा बनेको छ ।

नेपालको प्रजातान्त्रिक राजनैतिक आन्दोलन पश्चात् पनि राष्ट्रको मुख्य कार्यसूचिमा शिक्षाको आमूल परिवर्तनको खाका पर्दै परेन । गणतान्त्रिक संविधान २०७२ सम्म आइपुग्दा पनि विं.सं २०२८ सालको शिक्षा ऐनलाई नै संशोधन गर्दै अड्को पड्को तेलको धुप हाल्दै आइयो । संघीय लोकतान्त्रिक गणतन्त्रको राजनैतिक यात्रा सम्म आइपुग्दा पनि प्रणाली र पात्रहरु परिर्वतन भए तर शैक्षिक उपलब्धिमा कुनै युगान्तकारी परिवर्तन भएनन् । शिक्षामा समृद्धिको आधारशिला बनेन । लोकतन्त्र आएपछि विद्यालय भर्ना भएका सर्वसाधारण जनताका छोराछोरीहरुमा माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) पढिसक्दा पनि शिक्षाको स्तर माथि उक्लन सकेन । चप्पल लगाउनेहरुले सडकमा ओर्लिएर ल्याएको गणतन्त्रमा पनि उनीहरुका बालबालिकाहरुमा सिकाइप्रति गुणात्मक परिर्वतन पाइएन । एस.ई.ई.को प्रत्येक वर्षको नतिजाले हाम्रो शिक्षा व्यवस्थाको दयनीय चित्र देखाउँछ । अक्षराङ्कन पद्धति सुरु गरेपछि समग्र नतिजा प्रतिशत उच्च देखिएतापनि विद्यार्थीहरुको सिकाइ उपलब्धिमा झन् ह्र्रास आएको छ । प्रतिष्पर्धात्मक क्षमतामा कमी र अध्ययन प्रतिको मोह घट्दै छ ।

राजनीतिक रङ्गले योग्यता र क्षमतालाई ओझेलमा पारेको छ । शासकहरुमा दूरदृष्टि र इच्छाशक्तिको अभाव देखिन्छ । प्रशासनिक निष्पक्षता, इमान्दारिता, कुशलता र कर्मनिष्ठतामा कमी देखिन्छ । विदेशी दाताका इसारामा चल्ने प्रवृति देखिएको छ । शैक्षिक नीति निर्माताहरुले यो देशको सुन्दर भविष्यको मार्गचित्र कोर्ने शैक्षिक परिकल्पना नै गर्न सकेनन् । यिनै दिशाहीन अन्योलता र अकर्मण्यताको शिकार नेपालको शैक्षिक दुर्दशा बनेको छ ।

राज्यको प्रत्यक्ष भरणपोषणमा रहेका सामुदायिक विद्यालयको एस.ई.ई.को नतिजा निकै नाजुक देखिन्छ । तर निजी विद्यालयको त्यही एस.ई.ई परीक्षाको नतिजा भने सन्तोषजनक पाइन्छ । तुलनात्मक रुपमा निजी विद्यालयका विद्यार्थीहरुको शैक्षिकस्तर अब्बल पाइन्छ । परीक्षमा उत्तीर्ण र अनुत्तीर्ण हुने प्रणालीले विद्यार्थीमा नकारात्मक मनोवैज्ञानिक दबाब परेको भन्दै सरकारले अक्षराङ्कन पद्धतिको सुरुवात गर्यो तर बिना पूर्व तयारी अकस्मात् लागू गर्यो । यसले दूरगामी असर नेपालको शिक्षा प्रणालीमा पारेको छ ।

यसको प्रभाव अन्तर्राष्ट्रिय परीक्षा प्रणाली अनुरुप मूल्याङ्कन हुनुपर्दछ तर सर्वप्रथम हाम्रा पाठ्यक्रम र पाठ्यपुस्तक अक्षराङ्कन मूल्याङ्कनको पद्धति अनुसार व्यावसायिक, व्यावहारिक र प्रविधिक हुनुपर्दथ्यो तर त्यतातिर ध्यान नै नदिई अकस्मात् विदेशी दातृ निकायको इसारामा लागू गरियो । यसरी हाम्रो शिक्षा प्रणालीमा सतही र हचुवाको भरमा निर्णय गर्ने परिपाटीको विकास भयो ।
राज्यले सामुदायिक र संस्थागत विद्यालय बीच विभेद गरेको छ । राज्यको सम्पूर्ण लगानीमा सञ्चालित सामुदायिक विद्यालयमा उचित रेखदेख र सुपरीवेक्षण नगर्दा प्रतिफल सन्तोषजनक पाइएको छैन । राज्यको लगानी जनताको लगानी हो, यसको सदुपयोग राम्रोसँग हुनुपर्ने हो तर परिणामतः त्यस्तो पाईंदैन । राज्यले संस्थागत विद्यालयमा अध्ययन गरेका प्रतिभाशाली, जेहेन्दार र मेधावी विद्यार्थीलाई दिने छात्रवृत्तिमा निषेध गरेको पाइन्छ । यो नागरिक प्रतिको राज्यको विभेद हो । संस्थागत विद्यालयमा पढ्ने सबै विद्यार्थी सम्पन्न र हुनेखाने मात्र हुँदैनन् । यहाँ गरीब र निर्धनका छोराछोरीलाई पनि छात्रवृत्ति दिई पढाइन्छ तर राज्यको दृष्टिदोष यसमा देखिन्छ । त्यसकारण राज्यबाट प्रदान गरिने छात्रवृत्ति कस्तो विद्यालयबाट पढेको विद्यार्थीलाई दिने भन्दा पनि उसको क्षमता, आर्थिक अवस्था र प्रतिभाको आधारमा प्रदान गर्नुपर्दछ ।

शिक्षाले नै व्यक्ति, समाज र राष्ट्रलाई प्रतिबिम्बित गर्दछ । सुखी नेपाली र समृद्ध राष्ट्रको सपनालाई साकार पार्ने मुख्य आधार नै शिक्षा हो । हाम्रो शिक्षा सुध्रिएन भने व्यक्ति, समाज र राष्ट्र सुध्रिंदैन । शिक्षाको माध्यमबाट नै समृद्ध नेपालको राजपथ तयार हुन्छ । समुन्नत नेपालको राजमार्ग तयार गर्न सबैभन्दा पहिले शिक्षामा राजनीतिको अन्त्य हुनुपर्दछ । शिक्षाकर्मीहरु विशुद्ध शैक्षिक क्रियाकलापमा रम्न अभ्यस्त हुनुपर्छ । हाम्रा पाठ्यक्रम र पाठ्यपुस्तकहरु समय सापेक्ष परिवर्तन गरिनुपर्छ । सामाजिक आवश्यकता एवं राष्ट्रिय दक्ष जनशक्ति उत्पादन गर्ने र कर्तव्यपरायण नागरिक निर्माण गर्ने गतिशील पाठ्यक्रमको निर्माण हुनुपर्दछ । विद्यार्थीको कल्पनाशीलता, जिज्ञासा र क्षमताको प्रवर्द्धन गर्ने पाठ्यपुस्तकको तयार गरिनुपर्दछ । ज्ञानका असीमित सम्भावनाका ढोकाहरुलाई खुला गरिनुपर्दछ । विद्यार्थीका सिर्जनशील क्षमतालाई मलजल गरी नवाङ्कर ज्ञानका मुनाको प्रवर्द्धन गर्ने परिवेश तयार गर्नुपर्दछ । ज्ञान, विज्ञान, संस्कार र संस्कृतिको अथाह ज्ञान कुण्डमा पौडिन लालायित विद्यार्थीको जिज्ञासा मेटाउन सक्नुपर्दछ । अबको शिक्षाले सिर्जनाको उद्यानमा कर्मका सुगन्धित फूलहरु फुलाउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij