२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

दाउन्ने सडकखण्डमा एक वर्षमा ६३ पटक अवरुद्ध, बुटवल–नारायणगढ यात्रु हैरान

दाउन्ने सडकखण्डमा एक वर्षमा ६३ पटक अवरुद्ध, बुटवल–नारायणगढ यात्रु हैरान

  • आइतबार, साउन ४ २०८२

 

बुटवल, साउन ४ — बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्र पछिल्लो एक वर्षमा मात्रै ६३ पटक अवरुद्ध भएको तथ्य सार्वजनिक भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने दाउन्ने खण्डमा सन् २०८१ साउनदेखि २०८२ असारसम्म बारम्बार पहिरो र माटो झर्ने घटनाले सडक अवरुद्ध गराएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जाराका अनुसार, तीमध्ये अधिकांश घटना वर्षासँगै आएको पहिरो तथा निर्माणको क्रममा प्रयोग भएका उपकरणहरू जाम हुँदा भएका हुन्। साथै, सवारी साधनको बिग्रिएर बाटोमै रोकिँदा समेत घण्टौं यातायात ठप्प हुने गरेको जनाइएको छ।

विशेष गरी विश्वकर्मा मन्दिर, घ्युखोला, र त्रियासी मोड क्षेत्रलाई संवेदनशील मानिँदै आएको छ। दाउन्ने पहाडमा सडक विस्तारको कामसँगै भित्तो काट्ने प्रक्रिया जारी रहेकाले सडक अझ जोखिमपूर्ण बनेको बन्जाराले बताए।

गत पुस २६ गते विनयी खोला पुल भत्किएपछि यस क्षेत्रमा बनेको अस्थायी डाइभर्सन पनि पटक–पटक खोलाले बगाउँदा थप समस्या बढेको थियो। यद्यपि असार १९ गतेदेखि नयाँ पुल सञ्चालनमा आएसँगै त्यसबारेको समस्या केही हदसम्म हटेको छ।

विगत चैतदेखि वैशाखसम्म दैनिक केही घण्टा सवारी आवागमनमा रोक लगाई सडक विस्तारको काम गरिएको थियो। हाल दाउन्ने क्षेत्रमा पर्खाल, कल्भर्ट निर्माण र ढलान कार्य भइरहेको सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिए।

सडक विस्तारको काम चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ। १४ किलोमिटरको दाउन्ने खण्डसहित नारायणगढ–बुटवलको कुल ११४ किलोमिटर खण्डमा काम भइरहेको छ। १७ अर्ब रुपैयाँको लागतमा निर्माणाधीन सडकको म्याद तीनपटक थपिएको छ र हाल साउन मसान्तभित्र काम सक्ने लक्ष्य छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij