काठमाडाैं । दशैंको अवसरमा साझा यातायात सहकारी संस्थाले काठमाडौं–नारायणगढ बीच बस सेवा सञ्चालन गर्ने भएको छ। एकतर्फी यात्राको भाडा केवल ३०० रुपैयाँ तोकिएको साझा यातायात सञ्चालक समिति सदस्य कनकमणि दीक्षितले जानकारी दिए। यो दर अन्य सवारी साधनको तुलनामा झण्डै आधा सस्तो पर्छ।
ललितपुरको पुल्चोकबाट सुरु हुने बसहरु लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँ बसपार्क हुँदै कलंकीबाट नारायणगढतर्फ प्रस्थान गर्नेछन्।
कलंकीबाट पहिलो बस बिहान ७ बजे छुट्नेछ भने त्यसपछि क्रमशः ८, ९, १०, ११ र १२ बजे एक–एक घण्टाको अन्तरालमा बसहरु चल्नेछन्। नारायणगढ पुगेपछि ती बसहरु त्यहीँका बसपार्कबाट यात्रु लिएर पुनः पुल्चोक हुँदै काठमाडौं फर्किनेछन्।
यात्रुहरुले अनिवार्य रूपमा ३०० रुपैयाँ बुझाई साझा यातायातको टिकट लिनुपर्ने छ। टिकट बिना यात्रा गर्न नपाइने र यात्रुहरुलाई सिट बाहेक उभिएर वा मुढामा राखेर यात्रा नगराइने साझा यातायातले जनाएको छ।
संस्थाले टिकट बिक्री तथा यात्रु सेवा सम्बन्धी गतिविधि नियमित अनुगमन गर्ने व्यवस्था मिलाएको छ। नियम उल्लंघन गर्नेहरु विरुद्ध प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij