२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

त्रिभुवन विश्वविद्यालयको नेतृत्व संकट र सुधारको मेरिटोक्रेटिक विकल्प

त्रिभुवन विश्वविद्यालयको नेतृत्व संकट र सुधारको मेरिटोक्रेटिक विकल्प

  • मंगलबार, बैशाख १६ २०८२
  • सुमन प्रसाद अधिकारी

त्रिभुवन विश्वविद्यालय, जुन नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयको हैसियतमा उच्च शिक्षाको अग्रणी संस्था हो, पछिल्लो केही वर्ष यता निरन्तर नेतृत्व संकट, सुशासनको अभाव र दलगत हस्तक्षेपको शिकार हुँदै आएको छ। शिक्षाको स्वतन्त्रता, गुणस्तरीय शैक्षिक वातावरण र एकाडेमिक स्वतन्त्रतालाई गम्भीर क्षति पु¥याउने गरी यहाँको नेतृत्व संरचना राजनीतीकरण हुँदै जाँदा विश्वविद्यालय केवल राजनीतिक प्रयोगशाला बन्न पुगेको छ।

पछिल्लो पटक उपकुलपति (Vice Chancellor) का रुपमा नियुक्त भएका केसर जङ बरालले उपकुलपति बन्ने बित्तिकै आफूलाई दिएको सपना पूरा गर्ने अवसर, टिमको साथ र पारदर्शी वातावरण नपाएको अनुभव गरेका थिए। तत्कालीन रेक्टर खड्क केसी र रजिष्ट्रार केदार रिजालको असहयोग र नेतृत्वको कमजोर शैलीका कारण विश्वविद्यालय अझै अलमलमा फस्यो। अन्ततः बरालले स्वास्थ्य समस्यालाई कारण देखाएर राजीनामा गरे।

तर विडम्बना, यिनै नेतृत्वको असहयोगी टिम भित्रका रेक्टरलाई नै हाल निमित्त उपकुलपति बनाइएको छ भने रजिष्ट्रार पुनः यथावत रहेका छन्। यिनीहरुको कार्यशैली, निर्णय क्षमतामा अपारदर्शिता र अकर्मण्यताका कारण त्रिभुवन विश्वविद्यालय केवल पदाधिकारीहरुको लथालिंग ब्यवस्थापन र राजनीतिक स्वार्थको बन्धक बन्न पुगेको छ। विश्वविद्यालयभित्र शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक र बुद्धिजीवी वृत्तमा व्यापक असन्तुष्टि छ।

अझ विश्वविद्यालयमा कार्यरत शिक्षकहरूको समायोजन, सेवा सुविधा र अवकाश सम्बन्धी मुद्धामा सरकार र विश्वविद्यालय प्रशासनको अकर्मण्यताका कारण शिक्षक संघ–संस्थाहरु आन्दोलनमा उत्रिएका छन्। केही साताअघि शिक्षा मन्त्रीले समेत आफ्नो पदबाट राजीनामा दिनुपर्‍यो। तर शिक्षामन्त्रीले दिएको राजीनामा र विश्वविद्यालयका निमित्त पदाधिकारीहरुको पदमा बसिरहनुले शिक्षामा दलगत स्वार्थ हावी रहेको यथार्थलाई पुनः उजागर गरेको छ।

विश्वविद्यालय जस्तो शैक्षिक संस्थाको नेतृत्व सधैं योग्यता, अनुभव र दूरदर्शी नेतृत्व क्षमताको आधारमा हुनुपर्छ भन्ने मान्यता अन्तर्राष्ट्रिय अभ्यासले प्रमाणित गरिसकेको छ। तर यहाँ राजनीतिक दलहरुको भागबण्डा र नातावाद–कृपावादले योग्य उम्मेदवारको अवसर बन्द गरिरहेको छ।

प्रधानमन्त्रीको संयोजकत्वमा विश्वविद्यालय सेवा आयोग र उपकुलपति चयन समितिले विश्वविद्यालय ऐनअनुसार मेरिटोक्रेसीको आधारमा नया उपकुलपति छान्ने प्रकृया तुरुन्त अघि बढाउनुपर्छ। त्यसका लागि हाल विश्वविद्यालयमा रहेका निमित्त उपकुलपति र रजिष्ट्रारले नैतिक जिम्मेवारी बोध गर्दै तुरुन्त राजीनामा दिनु जरुरी छ।

किनकि नया उपकुलपतिले केवल भागबण्डाको टिम होइन, आफ्नो कार्यदक्ष टिम बनाउने अवसर पाउनुपर्छ। नभए फेरि पुरानै असहयोगी टिमको घेरामा परेर विश्वविद्यालयले गति लिने कुनै सम्भावना रहँदैन।

एकाडेमिक स्वतन्त्रता र शिक्षाको गुणस्तर सुधारको आधार

शिक्षा, अनुसन्धान र नवप्रवर्तनको वातावरण विश्वविद्यालयको आत्मा हो। यसको संरक्षण नेतृत्व र प्रणालीले गर्न सक्नुपर्छ। आज देश मा शिक्षक हरुको आन्दोलन हुनुको मुख्य कारण नेतृत्वको अकर्मण्यता र सरकारले शिक्षालाई प्राथमिकतामा नराख्नु नै हो। त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि देखिएको दलीय भागबण्डा, पद लोलुपता र स्वार्थ समूहहरुको प्रभाव अन्त्य गर्न सके मात्र शैक्षिक गुणस्तर सुधार सम्भव छ।

समग्रमा नेपालका विश्वविद्यालयहरूले अब विश्व शिक्षा जगतसँग प्रतिस्पर्धा गर्न सक्ने खालको संरचना र नेतृत्व विकास गर्नैपर्छ। अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयहरूमा नेतृत्व योग्यता र उत्कृष्टताको आधारमा चयन गरिन्छ। हार्वर्ड, अक्सफोर्ड वा टोकियो विश्वविद्यालयहरूमा कुलपति बन्ने व्यक्तिको मापन तिनको शैक्षिक योगदान, व्यवस्थापकीय दृष्टि र नेतृत्व क्षमताले हुन्छ। तर नेपालमा, विशेषगरी त्रिभुवन विश्वविद्यालयमा, अझै पनि दलगत सिफारिस र स्वार्थका आधारमा नियुक्ति हुने प्रवृत्तिले संस्थालाई पतनतर्फ धकेलिरहेको छ। यदि हामीले विश्वस्तरीय विश्वविद्यालय निर्माण गर्ने सपना देखेका छौं भने नेतृत्वमा मेरिटोक्रेसी सुनिश्चित गर्नैपर्छ। योग्यता, दृष्टि र नेतृत्व क्षमता नै नियुक्तिको आधार बन्नुपर्छ।

विश्वविद्यालयको नेतृत्व व्यवस्थामा पारदर्शिता, जवाफदेहिता र योग्यता आधारित छनोट प्रणाली लागू गर्नु अत्यावश्यक भइसकेको छ। शिक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सरोकारवाला निकायले समयमै जिम्मेवारी निर्वाह नगरेमा त्रिभुवन विश्वविद्यालय जस्तो शैक्षिक थलो संकटमा मात्र होइन, राष्ट्रिय शिक्षाको स्तरसमेत गिर्दै जाने निश्चित छ।

शिक्षा कुनै व्यक्तिको होइन, कुनै पार्टीको होइन, यो राष्ट्रको भविष्य निर्माण गर्ने क्षेत्र हो। शिक्षा सुधारमा इमान्दार र निस्वार्थ प्रयत्न अनिवार्य छ। विश्वविद्यालयका वर्तमान नेतृत्वले पदमा टाँसिरहनु राष्ट्रघात सरह हुनेछ। त्यसैले अहिलेको आवश्यकता हो— नेतृत्वले जिम्मेवारीबोध गर्दै राजीनामा दिनु, नयाँ नेतृत्व चयनमा पारदर्शिता र मेरिटोक्रेसी कायम गर्नु, र विश्वविद्यालयलाई पुनः एकपटक स्वतन्त्र, गुणस्तरीय र प्रतिस्पर्धी शैक्षिक थलो बनाउनु।

तसर्थ, आजैदेखि नेतृत्व परिवर्तन, मेरिटोक्रेसीको आधारमा नयाँ टिम निर्माण र एकेडेमिक स्वतन्त्रताको रक्षा गर्न सम्पूर्ण शिक्षाप्रेमी, बुद्धिजीवी वर्ग र नीतिनिर्माताहरू एकजुट हुन जरुरी छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij