२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

जोखिम व्यवस्थापन र बिमा 

जोखिम व्यवस्थापन र बिमा 

डा. रविन्द्र घिमिरे
बिमा विज्ञ

काठमाडाैं, ३ बैशाखः मानिस स्वभावैले जोखिम रुचाउँदैन । ऊ सधैँ जोखिम व्यवस्थापन गर्ने उपायको खोजीमा हुन्छ । फलस्वरुप मानव सभ्यताको विकास हुँदै आज यस अवस्थामा आइपुगेको छ । जोखिम सर्वव्यापी छ, त्यसैले मानव, प्रकृति र कृत्रिम वस्तुहरु सबैको अवस्था, जीवन र अवस्थिति सधैँ अनिश्चित छ ।

मानिसले आफू जन्मेदेखि नमरुन्जेलसम्म स्वस्थ र सभ्य रुपमा सहज ढंगबाट बाँच्न, सम्भावित जोखिमबाट जोगिन र आफ्ना आधारभूत आवश्यकता पूूरा गर्नका लागि व्यक्तिगत तथा सामूहिक रुपमा, शारीरिक तथा मानसिक श्रम गर्दछ । जोखिमको व्यवस्थापन व्यक्तिगत रुपमा भन्दा सामूहिक रुपमा गर्नु आवश्यक र भरपर्दो हुन्छ ।
कल्याणकारी राज्य सत्ता भएका देशहरुमा सामूहिक रुपमा जोखिम व्यवस्थापन गर्ने प्रणाली विकास भएको पाइन्छ । जोखिम व्यवस्थापनको संस्थागत प्रयास नै सामाजिक सुरक्षा प्रणाली हो । यसलाई आर्थिक रुपमा दिगो, भरपर्दाे र टिकाउपूर्ण बनाउने उद्देश्यले सामाजिक बिमाको जन्म भएको हो ।

आज सामाजिक बिमा र व्यापारिक बिमाले परिपूरक रुपमा काम गर्छन् । बिमाको प्रादुर्भाव र विकास जोखिम व्यवस्थापन गर्नका लागि नै भएको हुनाले बिमालाई आमजनताको पहुँचमा पु¥याउन आवश्यक छ र यसलाई कम व्यापारिक र बढी सामाजिक रंग दिनु नै श्रेयष्कर हुन्छ ।

१. जोखिमका स्रोतहरु
जोखिम त्यसलाई भनिन्छ, जसबाट मानवले कुनै क्षतिको महसुस गर्छ । मानवसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार नरहने स्थानमा भएको क्षतिलाई जोखिम भनिँदैन । हामी जति पनि जोखिमका कुरा गर्छौं, तिनको मुख्य स्रोत वा कारणहरु प्राकृतिक, कृत्रिम र सामाजिक हुन् । जोखिमका स्रोतहरु धेरै छन् तर मुख्य तीन स्रोतहरुबारे यहाँ चर्चा गरिन्छ ।

(क) प्राकृतिक कारणः भूकम्प, आँधीबेहरी, सामुद्रिक छाल तथा तुफान, ज्वालामुखी जस्ता कारणबाट हुने जनधनको क्षति । कतिपय अवस्थामा महामारी पनि यसै अन्तर्गत पर्छ ।

(ख) प्राविधिक कारणः मानव निर्मित वैज्ञानिक आविष्कार र संरचना, प्राविधिक तकनिकी आदिका कारणले हुने क्षति । उदाहरणका लागि बाँध भत्किएर निस्किएको पानीको बहावले सारा बस्ती डुवानमा पर्नु, आणविक भट्टी विस्फोट हुनु, बमवर्षक विमानबाट मानवको हत्या हुनु आदि ।

(ग) सामाजिक आर्थिक विभेदका कारणः आदिम कालमा मानव सबै समान थिए तर आज धर्म, भाषा, संस्कृति, सम्पत्ति, ज्ञान र विज्ञानका कारण मानव समाज निकै जटिल बनेको छ । विभेदका कारण आपसी झगडा, विद्रोह, हत्या जस्ता क्रियाकलापबाट ठूलो जनधनको क्षति हुने गरेको छ ।
माथि उल्लेखित ‘ख’ र ‘ग’ मानव निर्मित कारण हुन् र क्षतिको घनत्व पनि यसैमा बढी छ । जब मानिसले नै जोखिम बढाइरहेको छ भने जोखिम व्यवस्थापन गर्न सक्ने क्षमता पनि मानिससँग नै बढी छ ।

नेपालका नीति निर्माताहरु प्राकृतिक विपद्लाई मात्रै जोखिम ठान्छन् । तर, जोखिमका तीन मुख्य स्रोतहरुमध्ये प्राकृतिक विपद् जोखिम एकमात्र हो । बाँकी दुई जोखिमको पनि व्यवस्थापन हुनुपर्छ ।

२. जोखिमका प्रकारहरु
जोखिमलाई वर्गीकरण गर्न त्यति सजिलो छैन । बिमाको अवधारणाबाट जोखिमलाई बिमा योग्य र अयोग्य गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ । त्यस्तै स्रोतका आधारमा मानवीय कारण र प्रकृतिक कारण भनेर वर्गीकरण गरिएको छ । विधाका आधारमा वित्तीय, सामाजिक, इन्जिनियरिङ, मेडिकल, भौगोलिक आदि, हस्तान्तरण योग्य र अयोग्य, मूल्यांकन गर्न सकिने र नसकिने आदि इत्यादि हिसाबले पनि वर्गीकरण गरिन्छ । त्यस्तै मानवसँग सम्बन्धित र संस्थासँग सम्बन्धित भनेर पनि बिमा जोखिमको वर्गीकरण गरिएको पाइन्छ ।

मानवसँग सम्बन्धित जोखिमहरु खराब स्वास्थ्य, सम्पत्तिको नोक्सानी, आम्दानी घट्नु, बेरोजगारी, अशक्त हुनु, दायित्वको सिर्जना हुनुलगायत हुन् भने संस्थागत जोखिममा कर्मचारीको क्षतिपूर्तिको दायित्व, सम्पत्ति र आम्दानी घट्नु वा हराउनु वा नोक्सानी, दायित्व सिर्जना हुनु आदि हुन् ।

हरेक संस्थाका अलग–अलग जोखिम हुन्छन् । कतिपय जोखिमहरु सबै संस्थाका साझा हुन्छन् । अस्पतालमा हुने जोखिममा अपरेसन गर्दाको जोखिम, बिरामीको मृत्यु र त्यसले निम्त्याउने खराब परिणाम, आपूर्ति शृंखलामा आउने अवरोध, कर्मचारी असन्तुष्टि र नैतिक जोखिम प्रमुख हुन् ।

यसैगरी कुनै विशाल जलविद्युत् परियोजनाका लागि मुख्य जोखिम समयमा कार्य सम्पन्न नहुँदा उत्पन्न हुने अधिक परियोजना खर्चमा वृद्धि हुने जोखिम, उत्पादन आशातित नहुने जोखिम, पर्यावरणीय जोखिम, लाभकर्ता र सरोकारवालाहरुको हितमा धक्का लाग्दा त्यसबाट हुने अवरोधले ल्याउने नोक्सानीको जोखिम, राज्यका नियम कानुन परिवर्तन हुँदा पूर्वयोजनाअनुसार काम गर्न नसकिने जोखिम इत्यादि हुन्छन् ।

बिमा कम्पनीमा हुने खास जोखिममा एक महत्वपूर्ण जोखिम हो, नैतिक जोखिम । हरेक वर्ष दाबी भुक्तानीको नाममा ठगहरुले अर्बौं रुपैयाँ बिमा उद्योगबाट लगिरहेका छन् । फलस्वरुप नाफा घट्ने, आगामी वर्षहरुमा प्रिमियम बढ््ने, र अन्तर्राष्ट्रिय बिमा बजारमा नेपालको बद्नाम हुने सम्भावना रहन्छ । सही तरिकाबाट जोखिमांकन गर्न नसक्नु अर्को जोखिम हो । यसबाहेक कोष व्यवस्थापन, कर्मचारी दायित्व, सेवाग्राहीलाई भरपर्दो सेवा अन्य जोखिमहरु हुन् ।

नेपालमा विपद्जजन्य जोखिम व्यवस्थापनको नीति छ, जसमा लेखिएको छ ‘विपद् जोखिमबाट सुरक्षित, जलवायु अनुकूलित तथा उत्थानशील राष्ट्रको निर्माण गर्दै दिगो विकासमा योगदान पुर्याउने यस नीतिको दीर्घकालीन सोच रहेको छ ।’

३. जोखिम व्यवस्थापन र नीति
जोखिम व्यवस्थापन भन्नाले जोखिमको पहिचान गर्ने, त्यसको विश्लेषण गर्ने, नोक्सानीको संख्या र रकम अनुमान लगाउने, उपयुक्त जोखिम व्यवस्थापनका उपायहरु पहिचान गर्ने र कार्यान्वयन गर्ने तथा तिनको प्रभावकारिता मूल्यांकन गर्ने प्रक्रिया नै जोखिम व्यवस्थापन हो । यो निरन्तर भइरहने कार्य हो र हरेक पटक यसको मूल्यांकन हुन जरुरी छ । जोखिम व्यवस्थापनका दुई नीति हुन्छन्– क्षति हुनुपूर्व क्षति हुनै नदिने वा न्यून क्षति होस् भनी अपनाइने सावधानीसम्बन्धी नीति र क्षति भइसकेपछि त्यसलाई पुनःस्थापन गर्ने नीति ।

जोखिम व्यवस्थापनको मूल मन्त्रलाई एक मेट्रिक्सबाट बुझ्ने प्रयास गरौं । कतिपटक क्षतिको घटना घट्छ (Frequency) र क्षति कति हुन्छ (Severity) भन्ने आधारमा कुन उपाय अपनाउने भन्ने कुरा निर्भर गर्छ । यस मेट्रिक्समा चार अवस्थाहरु हुन्छन्ः
अवस्था १ः  क्षति न्यून हुन्छ र बारम्बर क्षति हुने सम्भावना पनि कम हुन्छ भने त्यस्तो अवस्थामा जोखिम हस्तान्तरण गर्नु वा रोकथामका उपायहरु अपनाउनुभन्दा स्वयं व्यहोर्नु उचित हुन्छ ।
अवस्था २ः क्षति अधिक हुन्छ र बारम्बर क्षति हुने सम्भावना पनि अधिक हुन्छ भने त्यस्तो अवस्थामा जोखिम हस्तान्तरण गर्नुपर्छ । वा, रोकथामका उपाय अपनाउन वा स्वयं व्यहोर्न निकै महँगो हुन्छ वा असम्भव जस्तै हुन्छ भने यस्तो अवस्थामा त्यस्तो जोखिमबाट टाढै रहनु उपयुक्त हुन्छ ।
अवस्था ३ः क्षति कम हुन्छ तर बारम्बर क्षति हुने सम्भावना भने अधिक हुन्छ भने त्यस्तो अवस्थामा जोखिम रोकथामका उपाय अपनाउनु बढी श्रेयस्कर हुन्छ किनकि बिमा गर्नु खर्चिलो हुन्छ भने रोकथाम गर्नु मितव्ययी हुन्छ ।
अवस्था ४ः बारम्बर क्षति हुने सम्भावना कम हुन्छ तर क्षति अधिक हुन्छ भने त्यस्तो अवस्थामा जोखिम रोकथामको मुख्य उपाय बिमा हुन्छ । तलको चित्रबाट यसलाई थप प्रस्ट्याउने प्रयास गरिएको छ । बिमा गर्दैमा जोखिम न्यूनीकरण उपाय अपनाउनु पर्दैन भन्ने होइन, जुनसुकै अवस्थामा यो पहिलो आवश्यकतामा पर्छ ।

दुर्भाग्यको कुरा के छ भने नेपालका नीति निर्माताहरुलाई लागेको छ कि जोखिम भनेको प्राकृतिक विपद्मात्रै हो । वास्तवमा, जोखिमका तीन मुख्य स्रोतहरुमध्ये प्राकृतिक विपद् जोखिम एक हो तर बाँकी दुई जोखिमको पनि व्यवस्थापन हुनुपर्छ ।
समग्र जोखिम व्यवस्थापन नीतिको आवश्यकता महसुस भइरहेको सन्दर्भमा केवल प्राकृतिक विपद््लाई मध्यनजर गर्दै २०७५ सालमा नेपाल सरकारले विपद् जोखिमसम्बन्धी नीति जारी गरेको छ । मानिसलाई प्राकृतिक विपद्बाहेकका पनि जोखिम हुने गर्छन् तर त्यसको बारेमा कुनै नीति, रणनीति बनाएको पाइँदैन ।
उदाहरणका लागि मानिस बिरामी भयो तर उससँग उपचार गर्ने पैसा छैन भने उसको उपचार नभईकन मृत्यु हुन्छ । हामीकहाँ स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ तर यसलाई अनिवार्य गरिएको छैन । अनिवार्य नगरिनुको कारण हो हामीकहाँ आमनागरिकको स्वास्थ्यसम्बन्धी जोखिम व्यवस्थापन कसरी गर्ने भन्ने स्पष्ट नीति नै छैन ।

नागरिक बेरोजगार भएको अवस्थामा उसलाई राज्यले कसरी सहयोग गर्ने भन्ने नीति नै छैन, वृद्धावस्थामा बेवारिस अवस्थामा रहेका नागरिकको पालनपोषणसम्बन्धी नीति छैन, अशक्त मानिसको भरणपोषणको नीति छैन । आर्थिक रुपमा सम्पन्न मानिस छ तर विविध कारणबाट उसको सम्पूर्ण सम्पत्ति क्षति भयो र ऊ कंगाल भयो भने उसको क्षतिपूर्ति कसरी गर्ने भन्ने नीति छैन ।

४. नेपालमा विपद् जोखिम व्यवस्थापन नीति
नेपालमा विपद्जजन्य जोखिम व्यवस्थापनको नीति छ, जसमा लेखिएको छ ‘विपद् जोखिमबाट सुरक्षित, जलवायु अनुकूलित तथा उत्थानशील राष्ट्रको निर्माण गर्दै दिगो विकासमा योगदान पुर्याउने यस नीतिको दीर्घकालीन सोच रहेको छ ।’

प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्नका लागि सरकारले धेरै नीति तथा कानुन बनाएको छ । दैवीप्रकोप (उद्धार) ऐन २०३९, स्थानीय स्वायत्त शासन ऐेन २०५५, भवन ऐन २०५५, राष्ट्रिय भवन संहिता २०६०, विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति २०६६, जलवायु परिवर्तन नीति २०६७, भू–उपयोग नीति २०६९, जल उत्पन्न प्रकोप व्यवस्थापन नीति २०७२, राष्ट्रिय पुनर्निर्माण तथा पुनःस्थापना नीति २०७२, राष्ट्रिय विपद् प्रतिकार्यको कार्यढाँचा २०७०, बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मार्गदर्शन २०७२, राष्ट्रिय सहरी विकास रणनीति २०७३ आदि महत्वपूर्ण कानुनी तथा नीतिगत आधार तयार भएका छन् । यसलाई बल पु¥याउनका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ पनि अस्तित्वमा छन् ।

५. जोखिम व्यवस्थापन र बिमाबीच समन्वय
जोखिम व्यवस्थापनको आवश्यकता र महत्वको बारेमा आमनागरिकमा सचेतना जगाउन आवश्यक छ । तसर्थ, बिमा कम्पनीहरुलाई भरपर्दो जोखिम व्यवस्थापकको रुपमा विकास गर्नुपर्छ र हरेक क्षेत्रमा हुने जोखिम व्यवस्थापनका लागि सहकार्य गर्न श्रेयस्कर हुन्छ ।

बिमा कम्पनीहरुले जोखिम व्यवस्थापकको काम प्रभावकारी ढंगबाट गर्न जरुरी छ । उदाहरणका लागि, मोटर बिमा पोलिसी बिक्री गरेरमात्रै बिमा कम्पनीहरुको दायित्व पूरा हुँदैन । मोटर बिमा पोलिसी डिजाइन गर्दा होस् वा सडकमा सवारी दौडाउने सवालमा ट्राफिक प्रहरीसँग मिलेर गर्ने काम होस्, सबै काम प्रभावकारी हुन आवश्यक छ ।

उनीहरुले हरेक सवारी साधन र चालक सडकमा सवारी निस्कनुअघि सही सलामत अवस्थामा भएको यकिन गर्ने प्राणालीको विकास गर्नमा सम्बन्धित सबै निकायसँग समन्वय र सहकार्य गर्न सक्नुपर्छ । नेपालमा सवारी दुर्घटनामा दैनिक झन्डै १० जनाको ज्यान जाने गरेको छ भने घाइतेको संख्या त्यो भन्दा निकै धेरै छ । त्यस्तै ठूलो परिमाणमा धनको क्षति हुने गरेको छ । यसलाई घटाउन सकिने धेरै उपायहरु छन् ।

लामो दूरीका दिवा र रात्रि बस सञ्चालन गर्नुपूर्व चालकको शारीरिक तथा मानसिक अवस्था परीक्षण गर्ने, वर्कसपबाट नै सम्पूर्ण परीक्षण गरेरमात्रै सवारी चलाउन पाउने, गति सीमित गर्ने तथा लामो दूरीमा निश्चित घण्टा सञ्चालन गरेपश्चात आराम र वैकल्पिक चालकको व्यवस्था हुनैपर्ने जस्ता नीति निर्माण गरी कार्यान्वयनमा ल्याउन आवश्यक छ ।

साथै, थोत्रा बसहरु लामो दूरीमा सञ्चालन हुन नपाउने र हरेक दिन गाडीको पूर्व परीक्षण गरेरमात्रै सञ्चालन गर्नुपर्ने नियम बनाउनका लागि दबाब दिन जरुरी छ । बाटोमा पर्याप्त ट्राफिक संकेत पाटीहरु राख्न सकिन्छ, टायमकार्ड राख्न सकिन्छ, अल्कोहल सेवन गरे नगरेको परीक्षण गर्ने उपकरणहरु ट्राफिक प्रहरीलाई वितरण गर्न सकिन्छ । यी सबै कार्य गर्ने हो भने निश्चय नै सवारी दुर्घटनाबाट हुन जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।

यो एक उदाहरणमात्रै हो, यस्ता हजारौं विषय छन् जसले मानिसको दैनन्दिनलाई प्रभावित बनाउँछन् । तिनका विषयमा पनि बिमा कम्पनी र सरकारका निकायहरुबीच समन्वय गरी एक बलियो जोखिम व्यवस्थापन प्रणालीको विकास गर्न सकिन्छ ।

( इमान जर्नलमा प्रकाशित अंश )

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij