काठमाडाैं । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा नेपाल विद्युत् प्राधिकरणले १२ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको विद्युत् भारततर्फ निर्यात गरेको छ। साउन, भदौ, असोज, र कात्तिक महिनामा प्राधिकरणले वर्षायाममा उत्पादन भई आन्तरिक खपतभन्दा बढी भएको १ अर्ब ६६ करोड युनिट विद्युत् भारततर्फ बिक्री गरेको हो।
विद्युत् निर्यातबाट औसत प्रतियुनिट ७ रुपैयाँ ६३ पैसाको आम्दानी भएको छ। प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्जको डेअहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र हरियाणा तथा बिहार राज्यसँगको मध्यकालीन सम्झौताअन्तर्गत विद्युत् बिक्री गर्दै आएको छ।
मासिक विवरण
साउन: ४ अर्ब १४ करोड रुपैयाँ (४९.५६ करोड युनिट), औसत दर ८ रुपैयाँ ३६ पैसा।
भदौ: ३ अर्ब ६७ करोड रुपैयाँ (५५.९४ करोड युनिट), औसत दर ६ रुपैयाँ ५८ पैसा।
असोज: ३ अर्ब ६ करोड रुपैयाँ (३७.९२ करोड युनिट), औसत दर ८ रुपैयाँ ०८ पैसा।
कात्तिक: १ अर्ब ८३ करोड रुपैयाँ (२३.३५ करोड युनिट), औसत दर ७ रुपैयाँ ८४ पैसा।
असोजमा आएको बाढीपहिरोले माथिल्लो तामाकोशीसहित अन्य जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि विद्युत् उत्पादन र निर्यात प्रभावित भयो। कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, काबेली करिडोर प्रसारण लाइन क्षतिले करिब २०० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। यसले चालू आवमा राखिएको ३० अर्ब रुपैयाँ निर्यात लक्ष्य प्रभावित गर्ने अनुमान गरिएको छ।
नेपालले भारतसँगको व्यापारमा ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाइसकेको छ। गत आवमा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गर्दा १७ अर्ब ६ करोड रुपैयाँको निर्यात गरेको थियो। यसबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij