
खाँडादेवी गाउँपालिका रामेछाप स्थित सुनकोशी र तामाकोशी नदीहरुको बीचमा रहेको गाउँपालिका हो । उक्त गाउँपालिकाको अधिकांश क्षेत्र सुख्खा नै रहने गर्छ । काठमाडौंबाट करिब १ सय किलोमिटरको दूरीमा रहेको उक्त पालिकालाई बाहिरबाट हेर्दा त सुगम नै ठान्ने गरिन्छ । त्यहाँको यथार्थताले भने पालिका दुर्गम भएको पुष्टि गर्छ । पालिकामा वडा ७, ८, ९ मा अलिअलि बर्षा हुन्छ । आकाशबाट पानी न्यून पर्ने वडाहरु १, २, ३ र ४ नम्बर वडाहरु हुन् ।
आर्थिक एवं भौगोलिक हिसाबले उत्पादनमूलक भूमि समेत यस पालिकामा अत्यन्तै थोरै छ । पछिल्ला दशकहरुमा मानिसको जन्मदर घटेको छ । यसले गाउँमा काम गर्न सक्ने उमेरका मानिसको सङ्ख्या पनि घटाउँदै लगेको छ । बसाईंसराई ठूलो समस्या बनेको छ । गाउँमा बसेर कृषि मजदूर हुनमा नभई शहरमा गएर औद्योगिक मजदूर हुने चाहना स्थानीय जनताहरुको बढेको छ । युवाहरु विदेश पलायन हुने क्रम तीव्र रुपमा बढ्दो छ ।
३३ हजार जनसङ्ख्या रेकर्डमा देखिए मध्ये १९ हजार मानिसहरु काठमाडौं उपत्यकामा, १३ सय मानिसहरु वैदेशिक रोजगारमा रहेको र बाँकी जनसङ्ख्या मात्रै गाउँमा बसेको स्थिति देखिन्छ । जसले गाउँमा मानिसहरु कम रहेको पुष्टि गर्छ ।
अहिले केही बालबालिका, केही वृद्ध र केही महिला मात्र गाउँमा बसिरहेको स्थिति छ । सामान्य तवरले उत्तर दिँदा हाम्रो अवस्था ठीक छ भन्नु सबैको बाध्यता हुन्छ । सोहीबमोजिम पालिका क्षेत्रको सूक्ष्म ढङ्गले कुल ग्राहस्थ उत्पादन, उत्पादनको वृद्धिदर अवस्था, स्थानीय उत्पादनले स्थानीय आवश्यकता पूरा गर्न सक्छ वा सक्दैन भन्ने प्रश्न, रोजगारी सृजना लगायतलाई समेत विचार गरिने हो भने अवस्था कमजोर भएको पुष्टि हुन्छ ।
किन काठमाडौं ओइरियो त ठूलो जनशक्ति ?
काठमाडौं उपत्यकामा बाहिरबाट मानिसहरु प्रवेश गर्नमा द्वन्द्वले ठूलो प्रभाव पार्यो । पछि अध्ययनको लागि पनि मानिसहरु प्रवेश गर्दै गए । साथै अवसरको खोजी गर्दै जाने क्रममा मानिसहरु वैदेशिक रोजगारी सम्म पुगे । जसले गर्दा गाउँमा मानिसहरुको सङ्ख्या कम बन्न पुग्यो । युवाको सङ्ख्या त अत्यन्तै न्यून भयो ।
प्राकृतिक स्रोतलाई उपयोगमा ल्याउन सकिएनः
अहिले हामीले प्राकृतिक स्रोतसाधनको सही तवरले प्रयोगमा ल्याउन सकेका छैनौं । प्राकृतिक स्रोत अन्तरगत जल, जमीन, जङ्गल, जडिबुटी, हावा लगायतका स्रोतहरु पर्छन् । यसैगरी मानव स्रोत, सीप, प्रविधि लगायतलाई उत्पादनका स्रोतहरु मान्ने गरिन्छ, जहाँ जमीन समेत समेटिन्छ ।
खाँडादेवीका सम्भावना र अबका आवश्यकता
खाँडादेवीको लागि जलस्रोतको आवश्यकता परिपुर्ति गर्ने मुख्य स्रोतहरुको रुपमा ३४०० मिटर अग्लो उचााईको सैलुङबाट वहेको पानी र २८ सय मिटर अग्लो अग्लेश्वरीबाट आएको पानीका स्रोतहरु रहँदै आएका छन् । जहाँ बर्षा भएको छ, पानीलाई त्यहीँ रोक्न नसक्दा अहिले उक्त पानी तामाकोशीमा पुगेको छ । जसले ग्रामीण डाँडाकाँडामा पानीको आवश्यकता परिपुर्ति हुन सकेको छैन ।
गाउँमा प्रयाप्त अवसर नभएको कारण युवा वर्गलाई ग्रामीण क्षेत्रमा नै उत्पादनमूलक काममा संलग्न बनाउन सकिएको छैन । बिना विकल्प युवालाई ग्रामीण क्षेत्रमा रोक्छु भनेर राम्रो तवरले युवाशक्तिको व्यवस्थापन गर्न पनि सकिँदैन ।

पालिकाका योजनाहरु
यस बर्ष खाँडादेवी गाउँपालिका भित्र १०० ओटा सुख्खा पोखरी निर्माण कार्य अघी बढाइएको छ । जसले जुन पानी बर्षात्को रुपमा जमिनमा आउँछ, उक्त पानी सङ्कलन र भण्डार गर्न सकियोस् । बढी भएको पानी त्यहीँको जमीनमा रिचार्ज हुन सकोस् । यसो भयो भने उडाड क्षेत्रमा पनि रुखविरुवा उम्रन र बढ्न सक्छन् । यसबाट पानीको स्रोत बढाउनमा समेत सहयोग पुग्छ ।
स्रोतको बहुउपयोगबारे सोच्नुपर्छ
अबका दिनमा स्रोतको बहुउपयोग बारे सोच्नुपर्ने आवश्यकता बढेर गएको छ । जसले गर्दा स्रोतसाधनको दिगो उपयोग र उच्च लाभ हासिल गर्न सकियोस् । उदाहरणको लागि चिलाउनीको जङ्गलमा प्रशस्त चिउरी उत्पादन गर्न सकियो भने त्यसबाट राम्रो आर्थिक एवं पर्यावरणीय लाभ लिन सकिन्छ । आर्थिक हिसाबले कुरा गर्दा चिउरीबाट मह, घ्यू, मदिरा, वाइन लगायतका उत्पादन निर्माण गर्न सकिन्छ । नेपालमा यस्ता थुप्रै चीजहरु छन् जसबाट दोहोरो लाभ लिन सकियोस् । विगतमा नेपाललाई हरियो वन नेपालको धन भनिन्थ्यो । अहिले सडक बिस्तार गर्ने क्रममा बिना योजना सडकहरु खनिँदा हाम्रा अधिकांश सम्पदा, वनजङ्गल र पानीका स्रोतहरु नष्ट भएका छन् । अझै पनि हामी सचेत बन्न सकेनौं भने हाम्रो अवस्था अझ कमजोर बन्दै जानेछ ।
स्वदेशी स्रोत उपयोगमा नीतिगत कठिनाईहरु विद्यमान, जीवनशैलि विलासी बन्दै
अहिले पनि नेपालमा २०२८ को कानुनबाट वनजङ्गल क्षेत्रको संरक्षण र नियन्त्रण गरिँदै आइएको छ । अन्य सबै परिस्थिति बदलिइसक्यो । राष्ट्रिय निकुञ्जहरुलाई सेनाको नियन्त्रणमा नै राखिएको छ । जहाँ रुखविरुवाहरु कुहेर नष्ट भइरहेका हुन्छन् । तर नेपालमा भइरहेका काठहरु प्रयोगमा ल्याउन बन्देज गरिएको छ । जबकि नेपालमा मलेसिया, थाइल्याण्ड हुँदै अहिले अमेरिका समेतबाट काठ र काठजन्य तयारी वस्तुहरु ल्याउन थालिएको छ । नेपालको काठ गुणस्तरमा कमजोर छैन । तैपनि राज्यले लिएको नीतिको कारण अहिले नेपालमा बाहिरबाट काठ ल्याउन सहज छ । यहाँको उत्पादन प्रयोगमा ल्याउन सहज छैन ।
नेपाली सल्लाको मूल्य १७ सय रुपैयाँ छ । अमेरिकाबाट ल्याउने सल्लाको मूल्य ३६ सय रुपियाँ छ । केही रहर र केही बाध्यताले गर्दा अहिले नेपालीहरु बढी बिलासिताजन्य वस्तुहरु उपयोगमा रमाउन लागेका छौं । स्वदेशी वस्तु राम्रो हुँदाहुँदै पनि हामी स्वदेशी प्रयोग गर्न रुचाउँदैनौं । यसले आखिर हामी आफूलाई अहिले कुन दिशातिर डोहोर्याइरहेका छौं भनेर गहिरोसँग विचार गर्नुपर्ने स्थिति सृजना भएको छ ।
अर्को जटिल प्रश्न….
हामीले सबै वस्तुहरु आयात मात्रै गरिरहेका छौं । आफ्नो देशमा सम्भव रहेका वस्तुहरु उत्पादनमा हामी केन्द्रित हुन सकेका छैनौं । नेपालका राजनीतिक दलका राष्ट्रिय नेताहरु जो देश बनाउने उद्धेश्य लिएर जिन्दगीभर लडिरहेका छन् । तर उनैका छोराहरु अहिले अमेरिका, बेलायत लगायतमा पुगेका छन् । आखिर यस्तो स्थिति किन आयो ? आफ्नै छोरा नातीलाई राष्ट्रमा आकर्षित गर्न नसक्ने व्यक्तिले के अन्य व्यक्तिहरुलाई स्वदेश प्रति मोह जगाउन सक्लान् र ?

कमजोर बनाइयो सार्वजनिक संस्थान
विगतमा नेपालमा सञ्चालनमा रहेका छाला जुत्ता उद्योग, हरिसिद्धि इटा कारखाना लगायतका ४८ ओटा उद्योगहरु अहिले अस्तित्वविहीन बनेका छन् । आखिर किन धराशयी भए यी उद्योगहरु ? यस कार्यमा जो–जो संलग्न छौं, त्यसको जस आफूले पनि लिनुपर्दैन ? कि हामीले अरुलाई मात्र देखाएर आफू उम्कन मिल्ने अवस्थाको खोजी पो गरिरहेका छौं कि ?
आर्थिक उदारीकरणको मुख्य प्रभाव
मुलुकमा प्रजातन्त्र पुनस्र्थापना पश्चात् अधिकांश समय मुलुकको नेतृत्व नेपाली काङ्ग्रेसले गर्यो । यस अवधिमा लामो समय अर्थमन्त्री बनेका रामशरण महतले नेपालमा आर्थिक उदारीकरणलाई प्राथमिकता दिनुभयो । हामी कुन अवस्थामा छौं र हामी विश्वबजारमा प्रवेश गर्दा कुन–कुन प्रक्रिया पूरा गरेर त्यस यात्रामा हामी अघि बढ्नुपर्छ भन्ने कुरा विचार नै नगरी हामी विश्व बजारमा प्रवेश गर्यौं ।
समाजवादको आधार तयार गर्दै राष्ट्रिय पुँजी निर्माण गर्ने कुरा, राष्ट्रिय व्यापार घाटा घटाउने कुरा, वैदेशिक वस्तुको उपयोग पूर्व स्वदेशी वस्तुको संरक्षण गर्ने कुरा लगायतका कामहरुमा हामीले विशेष महत्व दिनुपर्थ्याे । हामीले यी कुरालाई महत्व नदिई WTO / WHO को सदस्य बन्यौं । जसले गर्दा नेपालमा एकैपटकमा विश्वसँग हामी जोडियौं । हाम्रा चाहनाहरु बदलिए । हाम्रो सोच बदलियो । हामी प्रविधिसँग नजिक त भयौं । समस्या यो भयो कि हामीमा काम गर्ने जोशजाँगर नै हराउँदै गयो । हामी उत्पादनसँग जोडिएर नभइ गफ गरेर खाने भयौं ।
काङ्ग्रेस सरकारले नेपालका सबै उद्योगहरु बिक्री गर्यो, निजीकरण गर्यो । विश्व बजारमा नेपाललाई खुल्ला गरिएसँगै विश्व बजारका सबै महँगा उत्पादनहरु यहाँ भित्रिए । यहाँका उद्योग व्यवसायलाई कसरी टिकाउने भन्नेमा हामीले सोच्नै सकेनौं, ख्याल नै गरेनौं । यसरी विचार गर्दा नेपालमा उदारीकरणको नीति लागु गरिनुले हाम्रो स्वाधिनतालाई कमजोर बनायो भन्न सकिन्छ । जसले गर्दा हामी कमजोर बन्यौं । यसैकारण अहिले ५८ अर्ब डलर ल्याउनको लागि हामी एमसिसि सम्झौतामा हस्ताक्षर गर्न बाध्य भयौं ।
यी हुन् हामीसँग भएका सम्भावनाहरु
अहिले हामीले थाइल्याण्डबाट ल्याइएको ड्रयागन फुड खाइरहेका छौं । बेलको जरा जुन सुख्खा जमीनमा उत्पादन हुन्छ, जुन च्यावनप्रास उत्पादनको लागि प्रयोगमा ल्याउन सकिन्छ । यसको मूल्य प्रतिकिलो करिब ५ हजार रुपियाँ पर्न जान्छ । नेपालको हावापानी समेत यसको उत्पादनको लागि राम्रो छ । हामीले बिना रसायन समेत विभिन्न वस्तुहरु उत्पादन गर्न सक्छौं । यस्तो अवस्थामा अब हामी सबै नेपालीहरु राष्ट्रियता बारे थप सचेत बन्नुपर्ने बाध्यता छ । हामीले जे–जस्तो यहाँ उत्पादन हुन्छ, उपलब्ध हुन्छ, त्यही वस्तु प्रयोग गर्यौं भने मात्र हाम्रो नेपालको अवस्था सुधार हुँदै जानेछ भन्ने अपेक्षा गर्न सक्छौं । यस किसिमको चेतना सबैका विकास हुन सकोस् ।
अन्त्यमा,
हामीले नेपाललाई श्रमप्रधान मुलुकको रुपमा नै आफ्नो पहिचान कायम गर्न सक्नुपथ्र्यो । हामीसँग प्रशस्त श्रोतसाधनहरु छन् र थिए । हामीसँग मात्र पुँजीको कमी भयो । साथै हामीसँग महत्वपूर्ण निधिहरु छन् । हामीले ति चीजहरुको पहिचान नै गर्न सकेका छैनौं । हामीले हाम्रा स्रोतहरुबाट जति लाभ लिनुपर्ने थियो, त्यो लाभ लिन सकेका छैनौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij