काठमाडौँ, ३ बैशाखः पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको अनुचित प्रयोग तीव्र गतिमा बढिरहेको देखिएको छ। विभिन्न डिजिटल प्लेटफर्महरू—विशेषगरी टिकटक र फेसबुक—मार्फत एआई प्रविधिको प्रयोग गरेर अश्लील, आपत्तिजनक तथा भ्रामक सामग्री उत्पादन र त्यसको प्रचारप्रसार व्यापक रूपमा भइरहेको पाइएको छ।
विशेष गरी राजनीतिक वृत्तमा एआई प्रविधिको प्रयोग दुरुपयोग हुने क्रम बढेको छ। दलहरू तथा तिनका समर्थकहरूले विपक्षीहरूलाई बदनाम गर्न कृत्रिम भिडियो, आवाज तथा अनुहारको हेरफेर गरेर गलत सन्देश सम्प्रेषण गरिरहेका छन्। यस्ता कार्यहरूले सामाजिक सद्भावमा खलल पुर्याउने तथा द्वन्द्व उत्पन्न गराउने खतरा बढेको भन्दै विज्ञहरू चिन्तित देखिन्छन्।
हालै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’का सभापति रवि लामिछानेलाई हिरासतमा परेको भन्ने भ्रामक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जुन एआई प्रविधिबाट निर्मित हो। त्यस्तै, राजसंस्थाका समर्थक दुर्गा प्रसाईंमाथि पनि यस्तै प्रविधिबाट बनाइएका नक्कली भिडिओहरू प्रसारित भइरहेका छन्।
यसअघि, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डबाट फर्किँदा ‘सुँगुर चढेको’ देखाइएको चिपफेक भिडियो भाइरल भएको थियो। त्यस्तै, ओली र नेतृ रामकुमारी झाँक्रीका डिपफेक भिडियोहरूले सामाजिक सञ्जालमा निकै चर्चा पाएका थिए।
गायिका समीक्षा अधिकारी, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनिता डङ्गोल लगायतका व्यक्तिहरू पनि एआई प्रविधिको दुरुपयोगबाट प्रभावित भएका छन्। एआईको सहायताले कुनै व्यक्तिको अनुहार वा आवाजलाई अन्य भिडियो वा तस्विरसँग मिसाएर वास्तविकजस्तो देखिने तर पूर्ण रूपमा नक्कली सामग्री तयार पार्न सकिन्छ।
त्यस्तै, देवीदेवताहरू नाचेको, गाएको वा सवारी चढेको देखाउने भिडिओहरू समेत एआई प्रविधिबाट निर्माण गरिएका हुन्। यस्ता सामग्रीहरू सामाजिक सञ्जालमा अपलोड भई तीव्र रूपमा फैलिरहेका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्ता सामग्रीहरू जानी–नजानी शेयर गर्ने, प्रतिक्रिया जनाउने र मनपरी टिप्पणी गर्ने प्रवृत्ति बढ्दै गएको छ। अझ गम्भीर कुरा त, यस्ता डिपफेक सामग्री सजिलै छुट्याउन नसकिने हुँदा आम प्रयोगकर्ताहरू भ्रममा पर्ने र गलत सूचना फैलाउने जोखिम अत्यधिक भएको छ।
यसैबीच, नेपाल प्रहरीको साइबर ब्युरोले यस्ता क्रियाकलापले कसैको सामाजिक प्रतिष्ठामा आँच पुर्याउने खालका गतिविधि भएमा प्रचलित साइबर ऐनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले प्रविधिको प्रयोग गर्दा सोचविचार गरी, अरूको सम्मानमा आँच नपुग्ने गरी सकारात्मक रूपमा प्रयोग गर्न सबैलाई आग्रह गरेका छन्।
साथै, यस्तो समस्यालाई रोकथाम गर्नका लागि प्रभावकारी कानुनी संरचना तयार पार्नुपर्ने, डिजिटल साक्षरतामा जोड दिनुपर्ने र जनस्तरमा सचेतना अभिवृद्धि गर्नुपर्ने आवाजहरू समेत उठ्न थालेका छन् ।