
कुनै पनि उपयुक्त जलाशयमा ब्यवस्थित तरिकाले माछा हुर्काएर उत्पादन गर्ने तरिकालाई माछा पालन भनिन्छ । अन्य खेती जस्तै माछा पालन पनि एक किसिमको खेती हो । नाफा मुलक उद्देश्यले माछासँगै अरु जलीय जीव पालन गर्नु पनि माछा पालन नै हो ।
जलस्रोतको धनी देश नेपालमा खोला, नदीनाला, पोखरी, घोल, ताल, धानखेत र सिमसारको उपयोग गरेर विभिन्न जातका माछाहरु पालन गर्न सकिन्छ । नेपालको तराई र मध्य पहाडी भागको न्यानो पानी भएको क्षेत्रमा कृत्रिम पोखरी निर्माण गरि वा पुरानै पोखरीमा उचित प्रविधि अपनाएर सात जातका कार्प माछा पालन गर्न सकन्छि ।
कुनै पनि प्राकृतिक तथा कृत्रिम जलाशयहरुमा माछाका भूरा राखेर आवश्यक प्रविधि, आहारा, उपचार, सुरक्षा एवं पानीको ब्यवस्था मिलाएर माछा पालन गर्ने काम ब्यवसायिक माछा पालन हो ।
माछा पालन रोजगारी, खाद्य सुरक्षा जिवीकोपार्जन, आय आर्जन र जलाशयहरुको उपयोगका लागि पनि आवश्यक हुन्छ । हामीले माछाबाट असल पौष्टिक तत्वहरु पाउनँ सक्छौं । यसमा पाइने तत्वहरुले मानिसको स्वास्थ्यका लागि लाभदायक हुन्छन । माछामा सल्फर युक्त एमिनोएसिड र मेथायुनिनको मात्रा बढी हुन्छ । साथै यसमा क्याल्सीयम, फस्फोरस, ओमेगा, भिटामीन र फलामको मात्रा पनि पाइन्छ । त्यसैले माछा एउटा ब्यवसायको निमित्त मात्र नभइ खानको लागि पनि अति नै आवश्यक हुन्छ । अन्न बालीको खेतीबाट भन्दा माछा पालनबाट पाँचदेखि सात गुणा बढी आम्दानी हुने भएकोले माछा पालन गर्नु उपयुक्त हुन्छ ।
नेपालको हावापानी र माछा पालनको उपयुक्तताको आधारमा न्यानो पानी उपलब्ध हुने तराई, भित्री मधेस र मध्य पहाडको तल्लो भागमा सात जातका कार्प माछाहरु पालन गर्न सकिन्छ ।
सिल्भर कार्प, बिगहेड कार्प, कमन कार्प, ग्रास कार्प, रहु, नैनी र भाकुरा जस्ता माछाहरु उपयुक्त प्रविधिबाट पाल्न सकिन्छ । यसका अतिरिक्त टिलापीया, पङ्गास, माँगुर र चीसो पानीमा ट्राउट माछा पनि पाल्न सकिन्छ । सात जातका कार्प र अरु माछालाई कृत्रिम वा प्राकृतिक पोखरी निर्माण गरेर पालिन्छ ।
कार्प माछाहरुको पालन प्रविधि एकै प्रकारको हुन्छ तर ती सबै माछाको गुण फरक फरक हुन्छ । पोखरी भित्र बस्ने, खाने, प्रजनन गर्ने र बृद्घि हुने कुरामा माछाहरुको विशेषता फरक फरक हुन्छ । सात जातका कार्प माछालाई तराई र मध्यपहाडमा पालन गर्न सकिन्छ ।
माछा पानीमा बस्ने भएकाले पानीको उचित व्यवस्थापनबाट यस व्यवसायको सफलता र असफलता निर्भर हुने भएकोले पोखरीको क्षेत्रफल, गहिराई र पानीको प्रवाहको मिलाउन मूख्य रुपमा पानीको स्थायी स्रोत हुनुपर्दछ । माछा पालन गर्दा पानीका आवश्यक सबै गुणहरुको जाँच गर्नुपर्दछ । तसर्थ पोखरी निर्माण कार्य गर्नु भन्दा पूर्व पानीको स्थायी स्रोत र गुणहरुको पहिचान हुनु अनिवार्य छ ।

पोखरीको पानी अड्ने क्षमता र उत्पादकत्व माटोको बनोट माथि निर्भर हुन्छ । तसर्थ माछा पालनको लागि चिम्टयाइलो दोमट माटो राम्रो मानिन्छ । बलौटे माटोमा पानी अडिन सक्ने क्षमता नहुने भएकोले त्यस्तो माटो भएको स्थानमा पोखरी निर्माण गर्नु हुँदैन ।
खास किसिमका माछाको राम्रो बृद्धिको लागि उपयुक्त किसिमको जलवायू हुनु पर्दछ । कार्प माछा न्यानो पानीमा राम्रो फस्टाउँछ भने ट्राउट माछा चीसो पानीमा फस्टाउँछ । तसर्थ कुन माछा पालन गर्ने हो त्यसै अनुसारको स्थान र पानीको स्रोत खोज्नु पर्दछ ।
जमिनको बनोट माथि पोखरीको निर्माण खर्च तथा संचालन खर्च निर्भर गर्दछ । होचो जग्गामा पोखरी निर्माण गर्दा कम माटो काटे पुग्दछ । भिरालो परेको जग्गामा पोखरी निर्माण गर्दा पोखरीमा पानी भर्न र सुकाउन सजिलो हुन्छ । अर्थात खर्च लाग्दैन । व्यवस्थापनलाई सजिलो बनाउन र खर्च कम लाग्न बनाउन जमिनको बनोट वादी पैरो नलाग्ने,पानी सजिलै ल्याउन तथा पटाउन सकिने तथा कम माटो काटेरै पोखरी बनाउन सकिने खालको भए राम्रो हुन्छ ।
माछा पालन ब्यवसाय गर्दा यातायात, संचार, बिजुली, बजार र सुरक्षाको उचित प्रवन्ध हुनुपर्छ । उत्पादन सामाग्रीहरु ढुवानी गर्न तथा उत्पादित माछा सजिलै बजारमा लगेर बेच्न यातायात तथा बजारलाई विशेष ध्यान दिनु पर्दछ ।
माछा पालनको स्थल छनौट गर्दा सामाजिक सामन्जस्यता भएको, घरको नजिकै र सुरक्षित स्थान हुनु पर्दछ । अन्यथा विषको प्रयोग, दैनीक हेरचाहमा कठीनाइ र चोरीको सम्भावना हुन्छ । माछा पोखरी निर्माण गर्दा माउ माछा, खानेमाछा, भुरा उत्पादन र प्रजनन गर्ने खालका पोखरीको निर्माण गर्नु पर्दछ । यसका लागि प्राविधिको सल्लाह बमोजिम पोखरीहरु बनाउनु उपयुतm हुन्छ । माछालाई आवश्यक मात्रामा दाना दिनु, पानीको अवस्थाको जाँच गर्नु, पोखरी चुहिएको भए टाल्नु, माछामा रोग देखा परेमा औषधी उपचार गर्नु र खान योग्य भएपछि बिक्री गर्नु पर्दछ । माछा ब्यवसायीले वार्षिक खर्च र आम्दानीको हिसाब दुरुस्त राखेर अर्को वर्षको लागि के के गर्ने भनेर नयाँ योजना बनाउनु पर्दछ ।
माछा पालन ब्यवसाय नाफामुलक र सजिलो पनि भएकोले यसलाई अपनाएर प्रशस्त आम्दानी लनि सकिन्छ । पानीको उपयोग, गरिबी निवारण, आय आर्जन, जिवीकोपार्जन हुने खेती भएकोले माछा पालन गर्नु राम्रो मानिन्छ ।
(शन्दर्भ सामाग्रीः मत्स्य पालन श्रृङ्खला, राष्ट्रिय प्राकृतिक तथा कृत्रिम मत्स्य पालन कार्यक्रम।)
फोटो
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij