२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

आलेखः ‘देशी गाई’को महत्व जगाउन ‘जनकधाम’

आलेखः ‘देशी गाई’को महत्व जगाउन ‘जनकधाम’

  • आइतबार, फाल्गुन १८ २०८१

टीकाराम सुनार/रासस

हिन्दू संस्कारमा गाईको महत्व जन्मेदेखि मृत्युपर्यन्त छ । पञ्चगव्य अर्थात् दूध, दही, घ्यू, गहुँत (गौमुत्र) र गोबर विविध संस्कारमा प्रयोग हुने कुरा आम नेपालीका लागि नौलो विषय होइन । धर्मसंस्कार र आयुर्वेदमा मात्रै होइन, आधुनिक विज्ञानले पनि पञ्चगव्यको महत्व प्रमाणित गरिसकेको छ ।

पश्चिमा देशहरूमा विस्तारै गाईको महत्वबोध हुन थालेसँगै भएको गाईमा आधारित चिजवस्तुको प्रयोगका विषयमा थुप्रै प्रयास तथा अनुसन्धान भएका छन् । कतिपय देशले अनुसन्धानबाट प्रमाणित तथ्यलाई आत्मसात् गर्दै गोमुत्रवाट एण्टिबायोटिक, एण्टिफङ्गल, एण्टिक्यान्सरजस्ता औषधि बनाएर बौद्धिक अधिकार लिइसकेका छन् । पञ्चगव्यका अन्य तत्वहरूको उपयोगबाट थुप्रै औषधीय लाभ लिएका छन् । गाईको महिमा र पहिचान भएकै क्षेत्रमा भने यसको महत्वबोध हुनसकेको छैन । गाईपालन केवल ‘डेरी’ र ‘गाई फार्म’ संस्कृतिको अंशमा सीमित छ, त्यो पनि विकासे ‘जर्सीवाला’ । रैथाने ‘देशी गाई’ लोपोन्मुख अवस्थामा छन् ।

अभियन्ता कुशलेन्द्र झा भने यहाँको रैथाने गाई सङ्कटमा पर्दै गएकामा चिन्तित हुँदै यसको संरक्षण र महत्व प्रसारको अभियानमा जुट्नुभएको छ । विगतमा प्राकृतिक जीवन पद्धतिको आधारका रूपमा रहेको गाईपालन संस्कृति हराउँदै जाँदा त्यसको मारमा सिङ्गो जगत् पर्दै गएको आत्मबोध गर्दै उहाँ यस अभियानमा लाग्नुभएको छ । “रैथाने गाई नेपालको पहिचान र जीवनशैली नै हो । यससँग प्राकृतिक जीवनचक्र जोडिएको छ भन्ने कुरा बिर्सिँदा अचेल गाईपालन संस्कृति लोप हुँदैछ । जसकारण मानव स्वास्थ्य नै सङ्टोन्मुख छ”, उहाँ भन्नुहुन्छ ।

गाई आर्थिक, सामाजिक, सांस्कृतिक र पारिस्थितिकीय प्रणालीसँग अभिन्न रूपमा जोडिएको छ । गाई आधारित उत्पादनहरू (गाईप्याथी), आयुर्वेद, पञ्चगव्य र प्राकृतिक चिकित्सासँग पनि जोडिएकाले शरीर, मस्तिष्क र आत्माको स्वास्थ्यमा यसको अतुलनीय योगदान रहेकामा सबैजसोको मत छ । व्यावसायिक उद्देश्य मात्रै राखेर पालन गरिएका ‘विकासे गाई’ले भने यो महत्व बोक्न सक्दैनन् । “जेनेटिकल्ली मोडिफाइ गरेर जर्सी, होलिस्टिनजस्ता विकासे गाई त बनाइयो तर त्यसको कुनै पनि उत्पादन हाम्रो देशी गाईको जस्तो हुँदैन । पचास वर्ष पहिले न्युजिल्याण्डका वैज्ञानिकले त्यस्ता गाईको दूधमा मानव स्वास्थ्यका लागि लाभदायक छैन भनेर पत्ता लगाइसकेका छन् । त्यसैले धेरै दूध दिन्छ भनेर रमाउने कि स्वस्थ जीवनका लागि, यो हरेकले सोच्नुपर्ने बेला आइसकेको छ”, झाले उल्लेख गर्नुभयो ।

नेपालमा भने रैथाने गाईपालन प्रचलन निरन्तर हराउँदैछ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार पछिल्लो १० वर्षमा गाई पाल्ने किसानको सङ्ख्यामा ठूलो गिरावट आएको छ । सो तथ्याङ्कानुसार देशमा १७ लाख आठ हजार परिवारले गाई–गोरुपालन गरिरहेका छन् । २०६८ सालकोे तुलनामा पाँच लाख ७३ हजार परिवारले कम हो । त्यसताका २२ लाख ८१ हजार परिवार यसमा सङ्लग्न थिए । विवरणअनुसार विगत १० वर्षमा १८ लाख सात सय ७१ हजार गाईगोरु घटेका छन् । पछिल्लो गणनामा नेपालभर गाईगोरुको सङ्ख्या ४५ लाख ५९ हजार रहेको छ जबकि २०६८ सालमा यो सङ्ख्या ६४ लाख ३० हजार रहेको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ ले देशभर छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म रहेको तथ्य देखाएको थियो । त्यसमध्ये गाई फार्म एक हजार दुई सय ३३ थिए । उन्नत जातका गाईको सङ्ख्या ७५ प्रतिशतभन्दा बढी छ । यसले पनि नेपालमा करिब २५ प्रतिशतको हाराहारीमा मात्रै रैथाने देशी गाई रहेका देखाउँछ ।

“थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी वा जर्सी, होलिस्टिन गाई पाल्दा सजिलो मान्न थालिएको छ, जबकि यिनको दूध मानव स्वास्थ्यका लागि फाइदाजनक छैन भन्ने गरिएको छ”, अभियन्ता झाले भन्नुभयो, “तर देशी गाईको एक लिटर दूधमात्रै अमृत समान हुन्छ, त्यसको नियमित सेवनले क्यान्सर प्रतिरोधी क्षमता विकास गर्ने कुरा प्रमाणित नै छ । घरमा एउटा मात्रै यस्तो गाई भएमा धेरै रोगव्याधी र समस्या समाधान हुन्छ भनेर विज्ञानले नै भनेको छ । शास्त्रको कुरा बेग्लै हो । प्राकृतिक गाईबाट बनेका पञ्चगव्यको महत्व नै बेग्लै छ । यो कुरा बुझ्नुपर्यो ।”

यो कुरा बुझाउन सरकारी तवरबाटै पहल हुनुपथ्र्यो तर उल्टै धेरै दूध दिने गाईभैँसी पाल्न प्रोत्साहन गरिरहेको छ । नश्ल सुधारका नाममा विदेशी प्रजातिको नश्ललाई स्थानीय पशुमा वर्णशङ्कर गराउने अभियान निरन्तर चलिरहेको छ । यस्तो नीतिले स्थानीय नश्ल भने सङ्कटग्रस्त अवस्थामा पुगेका झाले बताउनुभयो । कतिपय रैथाने जातका पशुपन्छी लोप भइसकेका र कतिपय लोपोन्मुख अवस्थामा रहेका नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय पशु प्रजनन् तथा आनुवंशिक अनुसन्धान केन्द्रको अध्ययनले नै देखाउँछ । केन्द्रका अनुसार हाल नेपालमा सात प्रजातिका पशुपन्छीका २५ वटा रैथाने नश्ल नेपालमा अस्तित्वमा छन् । संयुक्त राष्ट्रसङ्घको खाद्य एवं कृषि सङ्गठन (एफएओ)मा तराई गाई, पहाडी गाई, खैला गाई, सिरी, लुलु, अछामी नौमुठे र याक गरी सातवटा नश्ल सूचीकृत गरिएका छन् ।

देशी गाईको महत्व

“इतिहास पढ्दा गाई भारत वर्षमा मात्रै थियो, विदेशमा वा पश्चिमाहरूको देशमा कुनै गाई थिएन । त्यहाँ डेढ, दुई सय वर्ष पहिले यहीँबाट गाईको महत्व विस्तार भएको हो । पछि ‘जेनेटिक मोडिफाई’ गरेर जर्सी, एचएफ बनाएर विश्वव्यापी गरिएको छ । नेपालमा रहेका अधिकांश गाई तिनै प्रजातिका छन्”, झाले भन्नुभयो ।

देशी गाई नेपाल र भारतको एक महत्त्वपूर्ण दूधको स्रोत हो । यी गाईहरूले उत्पादन गर्ने दूध स्वास्थ्यका लागि अत्यन्त फाइदाजन हुन्छ । गाईमा आधारित पञ्चगव्यको आआफ्नै वैज्ञानिक महत्व छ । आधुनिक विज्ञानले नै यी उत्पादन विभिन्नि रोगहरूमा अचुक औषधिका रूपमा प्रयोग गर्न सकिने प्रमाणित गरिसकेको छ ।

जानकारहरूका अनुसार गाई मात्र एक त्यस्तो प्राणी हो, जसले अक्सिजन ग्रहण गरेर अक्सिजन नै छोड्छ । यसको मूत्रमा सुन, तामा, क्याल्सियम, पोटासियम, सोडियम, नाइट्रोजन, फास्फेट गरी करिब २४ वटा तत्व र क्यान्सर प्रतिरोधी औषधीय गुण, दूधमा रेडियो विकीरणबाट रक्षा गर्ने शक्ति हुनाका साथै मांसपेशी, छाला तथा रगतको विकासका लागि आवश्यक तत्व र त्यसबाट बनेका घ्यू, दही, मोही आदि स्वास्थ्यका लागि लाभकारी र आयुर्वेदिक औषधिमा प्रयोग गरिने गुण रहेको बताइन्छ ।

गोबरमा नाइट्रोजन, पोटासियम, कपर, मोलिब्डेनम, बोरक्स, कोबाल्ट सल्फेट, फस्फोरस, आइरन, म्यांगनीज, बोरोन, सोडियम पाइने र यो बायोग्यास तथा प्राकृतिक मलको रूपमा प्रयोग हुने गरेछ । अभियन्ता झा त देशी गाई प्राकृतिक जीवनको मुख्य आधारको रूपमा रहेको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “देशी गाईलाई स्रोत बनाएर अगाडि बढेमा प्राकृतिक जीवज बाँच्न सकिन्छ । त्यसो नहुँदा पृथ्वी, जल, अग्नि, आकाश, वायु गरी पाँच तत्वले बनेको एकीकृत चक्र खल्बलिएको छ ।” पूर्वप्रधानमन्त्री बिपी कोइरालाले यदि नेपाल समृद्ध हुनु छभने हरेक घरमा एउटा गाई, एक हलगोरु र जोत्ने खेत भनेका थिए तर उहाँकै पार्टीले त्यो बिर्सिएको उहाँको भनाइ छ ।

एउटा सिएको गोठालो बन्ने सपना

कृषिप्रधान नेपालमा कृषिलाई नै हेय भावले हेरिन्छ । खेतीयोग्य जमिन बन्जर बन्दैछन् तर हरेक युवाका लागि विदेश अन्तिम सपना बन्दैछ । अभियन्ता झा भने आफ्नो सबै सम्भावना छोडेर चार वर्षदेखि गाईको गोठालो बन्ने सपना बुनिरहनुभएको छ ।

पेसाले चार्टर्ड एकाउन्टेन्ट (सिए) । सुविधाका हिसाबले एक सम्पन्न जीवनशैली । नपुगेको केही छैन तर उहाँ प्राकृतिक जीवन नै हरेक मानिसको अन्तिम गन्तव्य हो भन्ने निष्कर्षसहित त्यसको अभ्यास आफैँबाट सुरुआत गरिरहनुभएको छ । “हाम्रोमा जसले गाई चराउँछ त्यसलाई हेयदृष्टिले गोठालो भनिन्छ, हेला गरिन्छ”, उहाँले भन्नुभयो । पछिल्लो समय अव्यवस्थित जीवनशैली, अप्राकृतिक भोजन, माटो नछुने संस्कृति हाबी हुँदा हरेक मान्छे सुख खोज्ने नाममा रोगको सिकार बन्दैछ ।

“हामीले सनातन मान्यता छोड्यौँँ । खेतखलियान बर्सियौँ”, झा भन्नुहुन्छ, “मलाईचाहिँ यो स्वबोध भएको छ, जसले यस बाटोमा लाग्न प्रेरित गरेको छ । स्वास्थ्य हुनका लागि माटो वा प्रकृतिसँगै रम्नुपर्छ । यो संस्कारको रूपमा विस्तार गर्ने योजना छ ।”

यही स्वबोधले धनुषाको क्षीरेश्वरनाथ–८ दिगम्बरपुरमा ‘जनकधाम’ परियोजना सुरु भएको छ । बीस बिघामा फैलिएको यस धाममा हाल एक सय १० देशी गाईबाच्छा छन् । त्यहाँ २५ जनाले काम गरिरहेका छन् । गाईमा आधारित कृषि, हर्बल खेती, पञ्चगव्यको उपचार पद्धतिको विकास भइरहेको छ । रोचक त के छ भने त्यहाँ उत्पादित दूध दही बेचिँदैन । गोबर, गौमूत्र र दूधलगायत पञ्चगव्य र हर्बलको प्रयोग गरेर औषधिजन्य वस्तु उत्पादन हुन्छ । परियोजनाअन्तर्गन हाल ५० वटा गाईबाट दूघ उत्पादन सुरु भइसकेका र आगामी तीन वर्षभित्र एक हजारसम्म पुर्याउने लक्ष्य रहेको सञ्चालक झाले सुनाउनुभयो । उहाँका अनुसार यहाँ होमकेयर, प्रसनल केयर, फुड र मेडिसिन गरी चार किसिमका उत्पादन भइरहेका छन् ।

“समाज र जीवनको जति पनि तप्का र आयाम छन्, त्योसँग गाईको सम्बन्ध कसरी जोडिएको छ भनेर प्रत्यक्ष अवलोकन गर्न मिल्ने गरी हामीले जनकधामको विकास गर्दैछौँ । धर्म, रोजगारी, युवा, औषधि, स्वास्थ्य, विद्यार्थी तालिम अभ्यासस्थल, शिक्षा, जैविक उत्पादन र प्रयोग एकै ठाउँमा देख्न सकिने बनाउँदैछौँ”, व्यवसायी झाले सुनाउनुभयो, “एग्रो, मेडिकल, आध्यात्मिक पर्यटनको विकास हाम्रो लक्ष्य हो । संसारभरिबाट जनकपुर हेर्न आएका मानिसलाई एकपटक जनकधाम हेर्नैपर्ने अवस्था निर्माण गर्ने गरी अगाडि बढ्दैछौँ ।”

पहिलो चरणमा गौ, गौ आधारित पञ्चगव्य र कृषि, दोस्रो चरणमा आयुर्वेद, नेचुरोप्याथी, फिजियोथेरापी र पञ्चगव्य उपचारका लागि अस्पताल, तेस्रो चरणमा जनककालीन सभ्यता तथा मिथिला संस्कृति झल्किने अवस्था निर्माण गरी भावी पुस्ताले अध्ययन गर्ने स्थल बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । यो परियोजनाबाट कमाउनेभन्दा पनि आफू प्रकृतितर्फ फर्किने र अरुलाई पनि त्यो सन्देश दिने उद्देश्य रहेको झाको कथन छ । “घरमा एउटा देशी गाई भएमा स्वास्थ्यको बजेट शून्य हुन्छ । अचेल घरघरमा कुकुर छ तर गाई छैन । पहिले कुकुर घर बाहिर ढोकामा, गाई घरमा हुन्थ्यो तर अहिले गाई सडकमा, कुकुर ओछ्यानमा छ”, उहाँ भन्नुहुन्छ । सहरबजारका पनि आठ–दश परिवार मिलेर अलि टाढा गाई पाल्न सकिने उहाँको भनाइ छ ।

प्राकृतिक जीवनशैली र उद्यमशीलता विकासका साथै रैथाने गाई संरक्षणमा यसले उल्लेख्य टेवा पुग्ने विश्वास गरिएको छ । हाल गौशालामा एक सय १० वटा गाई छन्, दूध दिने १८ मात्रै । दूध त बोनस मात्रै हो । दूध गाईको मुख्य उत्पादन होइन, मुख्य कुरा गौमूत्र र गोबर हो । यो देखाउन जनकधाम बनेको बताइएको छ । रैथाने गाई मार्ने, दूधका लागि भनेर जर्सी गाई ल्याउने, दूध दिन छाडेपछि सडकमा फाल्ने, यो प्रवृत्तिविरुद्धको अभियानका रूपमा पनि जनकधामलाई लिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij