२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

आम्दानीको आधार बन्दै डेरी व्यवसाय

आम्दानीको आधार बन्दै डेरी व्यवसाय

५ बर्षदेखि डेरी व्यवसायमा संलग्न रहेका नुवाकोटका विनोद घिमिरे हाल गोलढुङ्गाको पैयुँटार स्थित संजिता डेरी सञ्चालन गर्दै आएका छन् । पहिले वैदेशिक रोजगारीमा रहेका उनी नेपालमा नै सानै लगानीबाट नै भएपनि व्यवसाय शुरु गर्न सकिने र विस्तारै त्यसलाई बढाउँदै लैजान सकिने देखेर नै डेरी व्यवसायमा होमिएका हुन् । अहिले उनको व्यवसाय सन्तोषजनक तवरले नै अघी बढिरहेको छ ।


विदेशबाट नेपालमा फर्किइसके पश्चात् बालाजु स्थित पुष्प डेरी फर्ममा केही बर्ष जागिर गरेका घिमिरे डेरी क्षेत्रमा आइपर्ने आवश्यक सबै कामको दक्षता त्यहीँबाट नै हासिल गरे । उनी भन्छन्, ‘पुष्प डेरीमा रहँदा नै सबै कामहरु सिकिसकेको थिएँ । त्यसले गर्दा आफैं डेरी व्यवसाय सञ्चालन गर्न सहज भएको हो ।’ यद्यपि आफू सँग ठूलो लगानी गर्न सक्ने क्षमता नरहेको कारण अहिले ठूलो लगानीमा उद्योग खोल्न नसकेको उनी बताउँछन् । आर्थिक हैसियत हुने र राम्रो तवरले व्यवस्थापन गर्न सक्ने अवस्था भएमा उद्योग खोल्न सक्ने आफ्नो क्षमता रहेको उनी बताउँछन् ।
अहिले उनको पसलमा पनिर, दूध, दही, घ्यू लगायतका डेरीजन्य सबै सामानहरु उपलब्ध छन् । यी सामानहरु उनी आफैंले नै तयार गर्दै आएका हुन् । विगतमा नेपालबाट वैदेशिक रोजगारीको निम्ति मलेसिया गएका घिमिरे नेपालबाट उड्ने क्रममा सोफाको कामको निम्ति भनेर नेपालबाट उडे पनि मलेसियामा भने नेपालमा भनेको काम भन्दा फरक क्षेत्र अर्थात फर्निचरमा काठ चिर्ने काम परेछ ।निकै दुःखले ३ बर्ष मलेसियामा काम गरेर नेपाल फर्कने क्रममा लेबी बापतको रकम सम्बन्धित कम्पनीमा बाँकी नै छोडेर नेपाल आउनुपरेको गुनासो छ ।
उनी नेपाल फर्कने क्रममा विदेशबाट पठाएको रकमले एउटा घर बनिसकेको थियो भने आफ्नो साथमा करिब २ लाख रुपियाँ थियो । त्यसकारण तत्कालको बटेज बमोजिम करिब ३÷४ लाखको लगानीमा पसल शुरु भएको पसलमा अहिले ग्राहकलाई राम्रो सेवा दिन सकेको कारण मानिसहरुको सधैंजसो भीड कायम रहेको देखिन्छ ।

 

दूधको गुणस्तर ः

हाल घिमिरे आफूलाई आवश्यक पर्ने दूध नुवाकोटका कृषकहरुबाट संकलन गर्दै आएका छन् । जाडोयाममा दूध विग्रने सम्भावना कम भए पनि गर्मी याममा भने दूध छिटो बिग्रने सम्भावना बढी हुने उनी बताउँछन् ।
दूध सामान्यतया दुहिसके पश्चात् २ दिन सम्म टिकाउन सक्ने अवस्था रहन्छ । यद्यपि गाऊँबाट पठाउने क्रममा तताएर राख्ने हो भने त्यो फाट्ने क्रम कम हुन्छ । ग्रामीण क्षेत्रबाट आउने दूध काठमाडौं आउने क्रममा शुरुमा नै केही पानी मिश्रण गरिन्छ । तर पानी कुन परिमाणमा राखिएको छ र दूध कुन गुणस्तरको छ भन्ने कुरा हेरेर नै पत्ता लगाउन सक्ने क्षमता विकास भइसकेकोे बताउने घिमिरेले दूधको गुणस्तर चेकजाँचको निम्ति अहिले सम्म कुनै उपकरणहरु भने राखेका छैनन् ।

दूध कस्तो खाने ः

खुला दूध सामान्यतया राम्रो मानिन्छ । खुल्ला दूधमा यसको उपभोग्य मिति उल्लेख गरिएको हुँदैन । उपभोग्य मिति मात्रै सबै कुरा होइन । काठमाडौंका उद्योगहरुबाट उत्पादित दूधलाई राम्रो बट्टामा प्याकिङ गरेर उपयोग्य मिति लामै समय राखिएको हुन्छ । यद्यपि यसको दूध नबिग्रने बनाउनको निम्ति केही रसायनहरु पनि राख्नुपर्ने हुन्छ । यसको अलावा पछिल्ला केही बर्ष देखि नेपालमा व्यावसायिक तवरले गाई पाल्ने क्रम पनि बढेको  छ । तर यसरी पालिएका गाईहरुबाट प्राप्त हुने दूध भनेको दानामा आधारित हुने हो । सामान्य रुपमा गाईले दिने दूधको तुलनामा ती गाईले दूधको मात्रा त बढाउँछन् । तर ती गाईबाट उपलब्ध हुने दूध कुन गुणस्तरको छ भन्ने सम्बन्धमा भने अहिले सम्म कसैले अध्ययन गरेको छैन । ग्रामीण क्षेत्रमा घाँसपातबाट प्राप्त हुने दूध र काठमाडौंका दानामा आधारित दूधको गुणस्तर कस्तो हुँदोरहेछ भन्ने सम्बन्धमा अहिले सम्म कसैले पनि विचार गर्न सकेको पाईंदैन ।

दूधको गुणस्तर सम्बन्धमा राज्य नै जागरुक हुनुपर्छ ः

सामान्य रुपमा उपभोक्ता आफैंले कुन गुणस्तरको दूध सेवन गरिरहेका छौं भन्ने सम्बन्धमा सचेत हुन सक्ने कुनै भरपर्दो माध्यम देखिँदैन । यसको काम राज्यको नै गर्नुपर्ने हो । राज्य आफ्ना नागरिकको स्वास्थ्यलाई ख्याल गर्ने हो भने दूधको गुणस्तर कायम राख्ने किसिमले विशेष ध्यान दिनु जरुरी रहने घिमिरेको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij