
हामी निरन्तर कृतज्ञता अभ्यासको क्रममा छौं । आज हामी हाम्रो जीवनका प्रेरक व्यक्तिहरु प्रति कृतज्ञता भाव प्रकट गर्दैछौं । अहिले हामी जुन अवस्थामा छौं, यस अवस्थामा आइपुग्नुमा हाम्रा अग्रजहरु, गुरुहरु, परिवार, आफन्त, साथीहरु, कुनै क्षेत्रका विज्ञ वा अग्रज, लेखक, डाक्टर लगायतका जीवित व्यक्तिहरुको अलावा कुनै घटना वा परिस्थिति लगायत धेरै कुराहरु जिम्मेवार भएका हुन सक्छन् ।
आज आफ्नो जीवनलाई राम्रो बनाउनको लागि प्रेरणा दिने व्यक्तिहरु मध्ये आफूलाई बढी प्रभाव पारेका ३ जना व्यक्तिहरुको नाम डायरीमा लेखौं । हामी उनीहरुबाट कसरी प्रभावित भयौं ? त्यो प्रभाव पार्ने कारण के थियो ? त्यस समयमा हामी कुन अवस्थामा थियौं ? गहिरो सँग त्यस अवस्थाको स्मरण गरौं ।
यो पनि विचार गरौं कि कठिन अवस्थामा रहँदा हामीलाई प्रेरणा र सही मार्गदर्शन प्रदान गर्नको लागि हामीलाई ठूलो ज्ञान नै चाहिन्छ भन्ने हुँदैन । जतिबेला हामी सही गलत निर्णय लिन नसक्ने अवस्थामा हुन्छौं, सही मार्गदर्शन पाइरहेका हुँदैनौं, त्यतिबेला प्राप्त गरेको साधारण सल्लाहले पनि हाम्रो जीवनलाई ठूलो प्रभाव पारेको हुन्छ ।
एउटा प्रयोग
आज हामीलाई साँच्चै प्रभावित गरेका र हाम्रो जीवनलाई नयाँ दिशा देखाएका ३ जना व्यक्तिहरुलाई स्मरण गरौं र उनीहरुको नाम डायरीमा टिपोट गरौं । हाम्रो जीवनलाई साँच्ची प्रभावित पार्ने व्यक्ति कुन उमेरका थिए ? हामी कुन उमेरमा थियौं भन्ने कुराले केही फरक पार्दैन ।
अब आँखा बन्द गरेर एक पटकमा ती ३ जना मध्येका १ जना व्यक्ति आफ्नो साथमा रहेको सम्झेर काल्पनिक रुपमा भलाकुसारी गरौं । साथै ऊहाँहरुबाट आफूले अहिले पनि अदृष्य रुपमा त्यसरी नै मार्गदर्शन निरन्तर प्राप्त गरिरहेको समेत कल्पना गरौं । आफू ऊहाँहरुको साथमा रहँदा निकै खुसी प्राप्ति भइरहेको महसुस गरौं ।
अब पहिले हामीले ऊहाँबाट सहयोग प्राप्त गर्दाको तत्कालिन विषय, परिवेश र घटनालाई सूक्ष्म रुपमा स्मरण गर्ने प्रयत्न गराैँ ।
म कहाँ थिएँ ?
त्यो समयमा म कुन अवस्थामा थिएँ ?
मलाई के कामको लागि सहयोग चाहिएको थियो ?
मैले ऊहाँबाट कस्तो सहयोग÷सल्लाह पाएको थिएँ ?
त्यस सहयोगले मेरो आफ्नो जीवन- शिक्षा -सुझबुझमा कसरी सहयोग पुर्याएको थियो ?
साथै त्यस सहयोगले बाँकी जीवनलाई माथि उठाउनमा कसरी सहयोग पुर्याउँदै आयो ? भन्ने लगायतका हरेक प्रश्नलाई सूक्ष्म रुपमा अनुभव गरेर उत्तर खोजौं ।
क्रमिक रुपमा तिनै जना व्यक्तिहरुसँग यस्तो अभ्यासलाई पालोपालो गरी निरन्तरता दिउँ । ऊहाँहरुको सहयोगको लागि हृदय देखि नै कृतज्ञता प्रकट गरौं । साथै कृतज्ञता प्रकट गर्नुको कारण समेत उल्लेख गरौं । जसबाट हाम्रो कृतज्ञता भावलाई अझ गहिराईमा पुर्याउन सहयोग पुग्नेछ ।
साथै एउटा सानो सहयोग वा सल्लाह पनि जीवन निर्देशनको आधार कसरी बन्न सक्दो रहेछ भन्ने बुझेर आफैं दङ्ग परौं ।
प्रेरणाका साधारण अभ्यास
यदि हामीले आफ्ना लागि ठूलो प्रेरणा प्रदान गर्ने व्यक्तिहरु भेट्न सकेनौं भने पनि केही फरक पर्दैन । हामीले बाल्यकालमा नै अभिभावक, शिक्षक वा आफन्तजन लगायतबाट आफूले सहयोग पाएको व्यक्तिलाई धन्यवाद व्यक्त गर्नुपर्र्ने, संस्कारी बन्नुपर्ने, अनुशासनमा रहनुपर्ने, जिम्मेवारी वहन गर्नुपर्ने, सहयोगी बन्नुपर्ने लगायतका कुराहरु सिक्यौं । हाम्रो जीवन निर्देशनका लागि हामीले सिकेका यस्ता कुराहरु अनेकौं छन् । यस्ता शब्द वा सीपलाई एक–एक गरेर टिपोट गर्यौं भने पनि हामी आफूमा कृतज्ञता भाव जागृत गर्न सक्छौं ।
आजको संकल्प
एउटा सानो शब्द, सहयोग वा मार्गदर्शन पनि कठिन अवस्थामा रहेको व्यक्तिको लागि तत्कालका लागि र सिङ्गो जीवन निर्देशनको लागि कसरी माध्यम बन्न सक्ने रहेछ भन्ने कुरा हामीले बुझिसक्यौं ।
– आजबाट हामी कसैलाई पनि कुनै किसिमले सचेत रुपमा गिज्याउने वा ठेस लगाउने काम नगर्ने प्रतिज्ञा गरौं ।
– सकिन्छ भने अवस्था हेरेर आफ्नो तर्फबाट सक्दो सहयोग नै उपलब्ध गराउँ । कृपा र करुणाले आफू र उ दुवैलाई सहयोग पुग्छ भन्ने बुझौं ।
– हामीले राम्रो प्रगति गर्न नसक्नुमा हाम्रो समाजमा तिमी आफ्नो लक्ष्यमा अघी बढ, तिमी त्यस काम (आफ्नो सोच बमोजिम)को लागि सक्षम छौ भनेर बताउने मानिसहरुको सङ्ख्या अत्यन्तै न्यून हुनु पनि एक रहेछ भन्ने बुझौं । यसकारण अब हामी समाजका पात्रहरुको लागि सकारात्मक प्रेरणाको माध्यम बन्नुपर्ने संकल्प सहित अघी बढौं ।
– तिमीले त्यो काम गर्न सक्दैनौ, तिमी असफल हुनेछौ, समाजले तिम्रो खिल्ली उडाउनेछ । ठूलो सोच्न र गर्नको लागि तिमीले नै किन चासो लिनुपर्यो ? एकजनाले राम्रो गर्न चाहेर पनि के हुन्छ र ? भन्ने जस्ता वाक्यांशहरुले केही नयाँ गर्न चाहने व्यक्तिहरुलाई सहयोग गर्नुको बदला हतोत्साही र निरुत्साहित गर्ने प्रचलन बढी छ । अब हामी आफूलाई सीमित पार्ने यस्ता विचारहरुबाट प्रभावित नभई आशाको सानो सम्भावनालाई पनि प्रेरणाको दिशामा अघी बढ्ने माध्यमको रुपमा अघी बढाउनेछौं ।
कृतज्ञताको शक्ति
– कृतज्ञता भावले पहिलो कुरा त आफूलाई दुखी, चिन्तित, निराश हुनबाट रोकेर खुसी र आनन्द भावमा पुर्याउँछ ।
– सुखदुख, आरोहअवरोह हरेक अवस्थामा हामीलाई आत्मसंयमित बनाउँछ ।
– अझ महत्वपूर्ण कुरा त निरन्तरको यस्तो अभ्यासले हाम्रो जीवनमा एक पछि अर्को सकारात्मक घटना, वस्तु वा परिस्थिति आकर्षित गर्दै लैजान्छ । जसबाट हामीले आफ्नो जीवनमा चमत्कार घटित भइरहेको महसुस गर्न सक्नेछौं ।
दृष्टिकोण बदलौं
यदि हामी आफूलाई कमजोर आर्थिक अवस्था भएको र साधारण कृषक परिवारमा जन्मिएको कारण आफूलाई असक्षम मानेका छौं भने त्यस भावले हामी आफैंलाई अनन्त सम्भावना खोजी गर्नबाट सीमित बनाएको छ ।
यदि यस्तो हो भने आफूलाई प्रयाप्त शिक्षा उपलब्ध गराई बुबाआमाले आफ्नो जीवनलाई सही आकारमा हिँडाउनको लागि स्वतन्त्रता प्रदान गरेकोमा ऊहाँहरुलाई हृदय देखि नै कृतज्ञता व्यक्त गरौ । साथै सही बाटोमा हिँड्न कहिल्यै ढिलाई नहुने सम्झेर नयाँ ऊर्जा सहित कर्मपथमा निरन्तर अघी बढौं । सोचाईका सीमित विचार र भावनाहरुलाई आत्मनिरीक्षणको माध्यमबाट एक–एक गरेर भत्काएर आफ्नो लागि नयाँ गञ्तव्य तय गरौं ।
दृष्टिकोणमा साधारण बदलाव ल्याउँदा पनि हाम्रो जीवनमा असाधारण उपलब्धि हासिल हुने मानेर यस्तो अभ्यासमा आत्मा देखि नै संलग्न बनौं ।
आजको अभ्यास
१. आज यस अघि कृतज्ञता प्रकटको लागि डायरीमा टिपोट गरेका आफू भित्रका सबै सकारात्मक बुँदाहरु पढौं ।
२. त्यो सूचीमा कृतज्ञता प्रकटको लागि थप १० ओटा सकारात्मक बुँदाहरु थपौं । ती सबैलाई कम्तीमा एक पटक पढौं र हामी कृतज्ञ रहनुका कारणहरु सहित धन्यवाद व्यक्त गरौं ।
३. अघिल्लो दिन देखि हामीले दैनिक रुपमा प्रयोग गर्दै आएका हरेक वस्तुहरु प्रति सचेत रुपमा कृतज्ञता प्रकट गर्न शुरुवात गरेका छौं । यसलाई निरन्तरता दिउँ ।
४. दिन भर पनि सम्भव रहे सम्म आफूले प्रयोग गर्ने हरेक वस्तु प्रति कृतज्ञ रहने प्रयत्न गरौं ।
५. आज हामीले आफ्नो जीवनमा बदलाव ल्याउन प्रेरणा प्रदान गर्ने ३ जना व्यक्तिहरुलाई स्मरण गरौं । उहाँहरुको सहयोगले आफ्नो जीवनलाई अहिले सम्म आइपुग्नुमा कसरी सहयोग पुग्यो ? सूक्ष्म रुपमा विष्लेषण गरौं ।
६. सानो सहयोगले पनि व्यक्तिको जीवनमा दीर्घकालमा ठूलो प्रभाव पार्दो रहेछ भन्ने बुझेर अब कसैलाई हतोत्साहित नगर्ने बरु सक्दो प्रेरणा प्रदान गर्ने संकल्प लिउँ ।
७. कृतज्ञता अभ्यास सँगै दृष्टिकोण परिवर्तनलाई समेत आफ्नो जीवनको अभिन्न अङ्गको हिस्सा बनाउँ ।
८. राती ओछ्यानमा सुत्नु भन्दा पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका दिनभरका हरेक सुखद यादहरु (कम्तीमा १० ओटा)लाई सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।
हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिन यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित । धन्यवाद ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij