काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रक्राउ परी प्रहरी हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले अमानवीय व्यवहार गरेको आरोप लागेको छ ।
गत २ कात्तिकमा काठमाडौँबाट पक्राउ परेका रविलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्कीमा बयान लिएर बुटवल, काठमाडौँ र चितवनमा पनि बयान लिइसकिएको छ । चितवनको बयान सकेर पोखरा लैजाने क्रममा प्रहरीले उनीमाथि गम्भीर मानवअधिकार उल्लंघन भएको बताइएको छ ।
लामिछानेलाई गत १९ मंसिर (बुधबार) मा रातारात पोखरा पुर्याएपछि यो विषय बहसमा आएको हो । अनुसन्धानका लागि काठमाडौँबाट चितवन लगिएका उनलाई त्यहाँको बयानपछि बिहीबार बिहान पोखरा पुर्याउने भनिएकामा राति नै स्थल मार्गबाट पोखरा पुर्याइएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ । भोलिपल्ट लगिने भनिएकामा मध्यराति सवा १२ बजे स्वास्थ्य परीक्षणसमेत नगरी पोखरा लगिएको थियो ।
आइतबार म्याद थपका लागि अदालतमा उपस्थित भएका लामिछानेले इजलासमक्ष चितवन प्रहरीले आफूलाई अमानवीय व्यवहार गरेको र स्वास्थ्य अवस्थासमेत ख्याल नगरेको बताए । लामिछानेले आफ्नो ब्लड प्रेसर हाई भएको अस्पतालको रिपोर्टसमेत पेस गरेका थिए ।
‘मलाई चितवनमा प्रहरीले अमानवीय व्यवहार गर्यो, मेरो टाउको दुखेको थियो, चक्कर लागेको थियो । मलाई अस्पताल लगिदिनुस् भन्दा पनि सुनुवाइ भएन । मलाई राति साढे १० बजे माथिको आदेश भनेर झुक्कलझाक्कल गरेर मध्यरात पोखरा ल्याइयो,’ रविले इजलासमा भने ।
आफूमाथि मिडिया ट्रायल भइरहेको भन्दै ठाउँठाउँमा उजुरी हाल्न लगाएको उनको आरोप थियो । ‘अदालतले म्याद थपेको थप्यै छ, परिवारलाई, वकिललाई खबर गर्न दिइएको छैन । यी सबै कुराले प्रभावले पनि स्वास्थ्य अवस्था बिग्रिएको थियो होला,’ इजलासमा उनले भनेका थिए, ‘पोखरामा ल्याएर पनि बोलेको भरमा मेडिकल जाँच गर्न लाग्दा मेरो प्रेसर पनि चेक गरिदिनुहोस् न भनेपछि मात्रै चेक भयो ।’
परिवार, वकिल र पार्टीलाई समेत जानकारी नदिई रातारात अपहरण गरेको शैलीमा आफूलाई पोखरा ल्याइएको भन्दै लामिछानेले भने, ‘यसले पनि प्रष्ट हुन्छ, यो मुद्दामा कति दबाब छ भन्ने । मैले लेखेका चिजहरू, डायरीहरू हराएको छ । फिर्ता नपाए त्यो फेरि लेख्न सक्छु ।’
रातारात प्रहरीले पोखरा पुर्याएपछि मानवअधिकारका हिसाबले पूर्वप्रधानमन्त्रीदेखि विभिन्न पार्टीका शीर्ष नेताहरू पनि लामिछानेको पक्षमा खुल्न थालेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लामिछानेलाई कास्की प्रहरीको हिरासत कक्षमै पुगेर भेटेका थिए भने भेटेपछि लामिछानेमाथि अन्याय भएको प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, ‘अहिले उहाँलाई एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ । यो प्रतिशोधपूर्ण भयो भन्ने मेरो बुझाइ छ ।’ यही विषयलाई लिएर शनिबार राष्ट्रिय मानअधिकार आयोगका पदाधिकारीहरू पनि लामिछानेलाई भेट्न कास्की हिरासत पुगेका थिए । भेटमा लामिछानेले प्रहरीले आफूमाथि अमानवीय हर्कत गरेको बताएका थिए ।
त्यस्तै, शनिबार नै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले लामिछानेलाई भेटेका थिए । भेटपछि चितवन प्रहरीले आफूलाई अमानवीय हर्कत गरेको भन्दै लामिछानेले गुनासो गरेको शाहीले बताए । शाहीले त मानवअधिकारको उल्लंघन गर्नेहरूलाई कानुनी कारबाही नगरिए आफूहरूले सडकदेखि सदनसम्म जबाफ माग्ने चेतावनीसमेत दिए ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि लामिछानेलाई रातारात चितवनबाट पोखरा लानुमा आफ्नो आपत्ति रहेको र त्यस्तो काम अमानवीय भएको बताएका छन् । यस विषयमा कोइरालाले भने, ‘रविजीको विषयमा अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको छ । त्यसमा मेरो केही भन्नु छैन । तर राति १२ बजे उठाएर लैजाने भन्ने कुराचाहिँ अमानवीय काम हो । यो रविजीको मात्रै कुरा होइन, कसैलाई पनि गर्न हुँदैन ।’
मानवअधिकारकर्मी तुलसी थापाले पनि लामिछानेमाथि राज्यले मानवअधिकारको ठाडो उल्लंघन गरेको भन्दै त्यसलाई गम्भीरताका साथ हेर्न आग्रह गरे । नेपालको कानुन र अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी कानुनका आधारसमेत उल्लंघन भएको उनको दाबी छ ।
‘मध्यरातको समयमा जुनसुकै अपराध गरेको व्यक्ति भए पनि ल्याउन पाइँदैन । समय हुँदाहुँदै रातिको समयमा ल्याइनु अमानवीय कुरा हो । त्यो नेपालको संविधान र अन्तर्र्राष्ट्रिय मानवअधिकार कानुनको मान्यताविपरीत छ । त्यो मानवअधिकारको उल्लंघन हो,’ उनले भने ।
मानवअधिकार आयोगमा उजुरी
थुनुवालाई सुत्नसमेत नदिई मानवअधिकार हनन गरेर रातारात चितवनबाट पोखरा पुर्याइएको भन्दै त्यसबारे मानवअधिकार आयोगको ध्यानाकर्षण गराउँदै २१ मंसिरमा रास्वपाले आयोगमा उजुरी दिएको छ । साथै, लामिछानेले हिरासतमा लेखेको डायरीसमेत प्रहरीले गायब बनाएको भन्दै त्यसले नागरिकको मौलिक हक तथा गोपनीयताको हकविरुद्ध रहेको रास्वपाले जनाएको छ ।
रास्वपाले दिएको उजुरीमा भनिएको छ, ‘मंसिर १९ गते दिनभर चितवनस्थित सरकारी वकिल कार्यालयमा बयान गराइएको थियो । उहाँलाई २० गते बिहान ११ बजे हवाईजहाजमार्फत् कास्की लगिने बताइएको थियो । तर, १९ मंसिर राति सुतिरहेकै बेला अचानक उठाएर मध्यरातमा चितवनबाट सडकमार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइयो ।’
मानवअधिकार हनन नगर्न अदालतको आदेश
जिल्ला अदालत कास्कीले आइतबार लामिछानेको मानवअधिकार हनन हुने कुनै पनि कार्य नगर्न आदेश दिएको छ । अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादीहरू रवि लामिछाने र छविलाल जोशीको उच्च रक्तचापको समस्या रहेको भन्ने देखिएको हुँदा चिकित्सकबाट जाँच तथा आवश्यक उपचार गराई उपचारसँग सम्बन्धित कागजातको प्रतिलिपि यस अदालतमा पेस गर्नू र अनुसन्धानका क्रममा हिरासतमा राख्नका लागि म्याद थप गरिएका व्यक्तिहरूको मानवअधिकारको उल्लंघन हुने कुनै कार्य नगर्नू, नगराउनू भनी जिल्ला प्रहरी कार्यालय कास्कीलाई लेखी पठाउनू ।’
थप ४ दिन हिरासतमा राख्न अनुमति
रास्वपा सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा ५२ दिनदेखि हिरासतमा राखेर अनुसन्धान भइरहेका लामिछानेलाई न्यायाधीश हिमलाल बेल्बासेको इजासलले उनलाई थप ४ दिन समय दिएको हो । प्रहरीले भने थप १३ दिनको म्याद मागेको थियो । रविसँगै पूर्वडिआइजी छविलाल जोशी, गीता पछाई र रामबहादुर खनाललाई पनि ४ दिन म्याद थप भएको छ ।
चितवन प्रहरीले गर्यो आफ्नो बचाउ
चितवन प्रहरीले रविलाई रक्सी खाएको प्रहरीले सुतेको बेला उठाएर अपहरण शैलीमा पोखरा लगेको भन्ने आरोपको खण्डन गर्दै आफ्नो बचाउ गरेको छ ।
विज्ञप्तिमार्फत् प्रहरीले भनेको छ, ‘बयान सकिएपछि हिरासतमा पनि नलगी आफन्त भेटघाट कक्षमा लामिछानेले आफन्त तथा शुभचिन्तकहरूसँग भेटघाट गरेपछि त्यहीँबाटै सुरक्षा सतर्कता अपनाएर जिम्मेवार प्रहरी अधिकृतको कमान्डमा कास्की लगिएको थियो ।
सुतेको बेलामा उठाएको, दुव्र्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरीका कर्मचारीले मादक पदार्थ सेवन गरेको भन्ने जस्ता भ्रामक विचारहरू सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij