२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

राज्यकै नीतिकाे कारण सबैकाे पहुँचमा पुग्न नसकेकाे अटाेमाेबाइल क्षेत्र

राज्यकै नीतिकाे कारण सबैकाे पहुँचमा पुग्न नसकेकाे अटाेमाेबाइल क्षेत्र

  • राज्यले जुन उद्देश्यले सो रकम लिएको हो, त्यस बमोजिम सही ठाउँमा त्याे रकम खर्च गर्न सकेकाे छैन ।
  • नेपालमा सवारीसाधन निकै नै महँगो हुनु भनेको राज्यले यस क्षेत्रलाई राजस्व प्राप्तिको मुख्य माध्यम बनाएको र अधिक राजस्व लगाएको कारणले गर्दा हो ।
  • जसरी सवारीसाधनको अायातमा वृद्धि भएको छ, त्यसै बमोजिम यस क्षेत्रको व्यवस्थापन हुन सकेको छैन ।

अन्जन श्रेष्ठ
अध्यक्ष, नाडा अटोमोबाइल डिलर्स एसोसिएसन

नेपालमा पछिल्ला बर्षहरुमा सवारीसाधन प्रति मानिसहरुको रुचि अत्यन्तै बढेको छ । अहिलेको अवस्थामा आइपुग्दा सवारीसाधन मानिसको रुचिको वस्तु मात्र नभएर अनिवार्य आवश्यकताको साधन पनि बन्न पुगेको छ । यसैकारणले गर्दा प्रत्येक बर्ष सवारीसाधनको विक्री पनि बढ्दै गएको छ । तर जसरी यसको वृद्धि भएको छ, त्यसै बमोजिम यसको व्यवस्थापन भने हुन सकेको पाईंदैन ।
अहिले सम्म नेपालमा सवारी साधन उत्पादनको काम शुरु हुन नसकेको कारणले गर्दा नेपालमा सवारीसाधनहरुको कारोवार आयातमा नै निर्भर छ । राज्यले सवारीसाधनलाई नेपालको परिप्रेक्ष्यमा विलासिताको वस्तुको रुपमा लिएको भएपनि अहिले सवारीसाधन अनिवार्य आवश्यकताको वस्तु बन्न पुगेको छ । भारतीय बजारको तुलनामा नेपालमा सवारीसाधन निकै नै महँगो हुनु भनेको राज्यले यस क्षेत्रलाई राजस्व प्राप्तिको मुख्य माध्यम बनाएको र अधिक राजस्व लगाएको कारणले गर्दा हो ।
हुनतः यातायात क्षेत्रलाई विकासको निम्ति एक महत्वपुर्ण पूर्वाधारको रुपमा लिने गरिन्छ । यसै कारणले गर्दा नेपालमा राज्यको विनियोजन बजेटको मुख्य हिस्सा नै सडक विस्तारको निम्ति खर्च हुने गरेको पाइन्छ । तर अहिले सम्म पनि नेपालका सबै क्षेत्रमा सडक सञ्जाल विस्तार हुन सकेको छैन । सडक क्षेत्रको निमित्त खर्च गरिने बजेट पनि सही ठाउँमा सही तवरले खर्च हुन सकेको छ कि छैन ? भन्ने कुरा पनि महत्वपुर्ण हुन आउँछ ।
काठमाडौंको अवस्था नै हेर्ने हो भने पनि यहाँका सडकहरुमा बाह्रै महिना हिँड्न निकै नै कठिन छ । बर्षायाममा हिलो, सुख्खायाममा धुलो यहाँको पहिचान नै बनेको छ । राज्यले कम मूल्यमा नै ठेकेदारलाई सडक विस्तारको जिम्मा दिने तर त्यसको गुणस्तरमा भने कत्ति पनि ध्यान दिन नसकेको कारणले गर्दा यस्तो समस्या आएको हो ।
कूल राजस्वको १५-२० प्रतिशत हिस्सा ओगटेको अटोमोबाइलको क्षेत्रबाट राज्यले राजस्व मात्र लिएको तर यस क्षेत्रलाई व्यवस्थित गर्नको निम्ति पहल नगरेको कारणले गर्दा नेपालमा यस्तो समस्या आएको हो । सडकको सुधार र स्तरोन्नतिको निम्ति भनेर राज्यले व्यवसायीहरुबाट विगतमा सडक मर्मत सम्भार दस्तुरको रुपमा ५ प्रतिशत रकम लिंदै आएको थियो । यस बर्षको बजेटमा त्यसलाई बढाएर ७ प्रतिशत पु¥याइएको छ तर राज्यले जुन उद्देश्यले सो रकम लिएको हो, त्यस बमोजिम सही ठाउँमा खर्च भने गरेको छैन ।
यातायातको क्षेत्रमा सँगै जोडिएर आउने अर्को महत्वपुर्ण क्षेत्र हो अटो पार्टस । अहिले नेपालमा भित्रिइरहेका अटो पार्टसहरु कुन गुणस्तरका छन् भन्ने सम्बन्धमा भने न उपभोक्ता जागरुक छन् न त राज्य नै । यसले गर्दा कमसल सामानहरु नेपालमा भित्रिइरहेका छन् । सडक दुर्घटना बढाउनको निम्ति सवारीसाधनहरुमा प्रयोग गरिने पार्टसपुर्जाले पनि महत्वपुर्ण भूमीका निर्वाह गरेको हुन्छ ।
व्यवसायीहरुले आफ्नो निजी स्वार्थबाट मात्र प्रेरित भइ विक्री गर्ने यस्ता कमसल सामानहरुको कारण व्यवसायीलाई तुलनात्मक रुपमा बढी मुनाफा त होला तर यसले अन्य सबै क्षेत्रमा भने नोक्सान मात्र पुर्याउने हुन्छ । यस्तो काम नेपालमा हाल बुझेर वा नबुझिकन गरी दुइ किसिमले हुने गरेको पाइन्छ । व्यवसायीहरु आफैं पनि सचेत हुन नसकेको कारणले गर्दा पनि कतिपय अवस्थामा यस्तो समस्या आएको हुनुपर्छ । समय समयमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेर पनि यस किसिमको समस्यालाई केही हद सम्म कमी आउने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij