२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

राज्यको प्राथमिकतामा किन परेन शिक्षा क्षेत्र ? एनप्याब्सनका अध्यक्ष शाहीसँगकाे अन्तरवार्ता

राज्यको प्राथमिकतामा किन परेन शिक्षा क्षेत्र ? एनप्याब्सनका अध्यक्ष शाहीसँगकाे अन्तरवार्ता

हाल नेपालका निजी शैक्षिक संस्थाहरूकाे सङ्गठनकाे रूपमा रहेकाे एनप्याब्सनले नेपालमा शिक्षा क्षेत्रकाे सुधारकाे निम्ति विगत लामाे समय देखि विभिन्न कार्यहरू गर्दै अाएकाे छ । अहिले यस संस्थाकाे नेतृत्व लिएका छन् टेक्सास स्कुलका प्रिन्सिपल कर्ण बहादुर शाही । उनी अबका दिनमा नेपालमा निजी क्षेत्रलार्इ वेवास्ता गरेर शिक्षा क्षेत्र अघी बढ्न नसक्ने ठाेकुवा गर्छन् ।

“अहिले शिक्षा ऐन शंसोधन भएको छ । ऐन संशोधन भएर आए पश्चात् संस्थागत विद्यालय मैत्री हुने किसिमले ऐन नियमावली र निर्देशिका अाउनु जरूरी छ । अब नेपालमा संस्थागत विद्यालयलाई वेवास्ता गरेर शिक्षा पद्धति अघी बढ्न सक्दैन । यसैकारण अबको ऐन पनि संस्थागत विद्यालयमैत्री हुने किसिमले बनाउनुपर्छ । यदि संस्थागत विद्यालय मैत्रि नियम वनाइयो भने मुलुकको आवश्यकता बमोजिमको शिक्षा प्रदान गर्न सक्छौं । हामी पनि यसै सोच बमोजिम अघी बढेका छौं ।”

कर्णबहादुर शाही
अध्यक्ष, एनप्याब्सन

प्रस्तुत छ उनै शाहीसँग सेताेघर डट कमले लिएकाे संक्षिप्त अन्तर्वाता ः

शिक्षालाई सबैको पहुँचमा पुर्याउन कसरी सम्भव हुन सक्छ ?
सबैको पहुँचमा शिक्षालाई पुर्याउनको निम्ति राज्यको प्राथमिकताको क्षेत्रमा शिक्षा पनि पर्नुपर्छ । अहिले नेपाल सरकारले प्राथमिकताका र ७ ओटा विषयवस्तुलाई समेटिएकोमा शिक्षा क्षेत्र भने समेटिएको छैन । शिक्षा क्षेत्र नसमेटिनु दुखको कुरा हो । हामीले शिक्षालाई शान्ति क्षेत्र भन्दै आएका छौं । तर हामीले शिक्षालाई शान्तिको क्षेत्र बनाउन सकेका छैनौं । यसको कारण पनि शिक्षा क्षेत्र राज्यको प्राथमिकतामा नपर्नु नै हो । भन्दा नेपालमा शिक्षालाई शान्ति क्षेत्र नै भनिएको छ तर विद्यार्थीले निर्धक्कले पढ्न सक्ने अवस्था भने छैन ।

नेपालमा शिक्षाका क्षेत्रमा राज्यको धारणा कस्तो पाउनुभएको छ ?
राज्यले शिक्षाको क्षेत्रमा गरेको लगानी घटाएको छ । शिक्षा सबैको नैसर्गिक अधिकार हो । यसैकारण नेपालमा जन्मेका सबैले स्तरीय शिक्षा पाउनुपर्छ । विश्वका सबै क्षेत्रमा पुगेर नेपालीले आफ्नो क्षमता देखाउने अवसर पाउनुपर्छ । यसको निम्ति शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिको निम्ति विशेष पहल गर्नु जरुरी छ । तर अहिले यो अवस्था छैन । शिक्षाको क्षेत्रमा राज्यले गरेको लगानी १७ प्रतिशतबाट घटाएर अहिले ११ प्रतिशतमा झारिएको छ ।

 

– निजी शिक्षामा आकर्षित ती व्यक्तिहरु पनि छन्, जसले बाहिरबाट हामीलाई गाली गरिरहेका छन् । नीतिनिर्धारण तहमा रहेका, सरकारी विद्यालयमा नै अध्यापन गर्दै आएका, राजनीतिक दलको अग्रपंक्तिमा नै रहेर नेतृत्व गर्दै आएका व्यक्तिहरुले समेत निजी विद्यालयमा नै विद्यार्थीहरुलाई पढाउनुको पछाडि पनि रहस्य त अवश्य होला नि ?

– शिक्षाको क्षेत्रमा राज्यले गरेको लगानी १७ प्रतिशतबाट घटाएर अहिले ११ प्रतिशतमा झारिएको छ ।

– समग्रमा शिक्षा क्षेत्रलाई माथि उकास्नको निम्ति समुद्रमा शिक्षारुपी डुङ्गामा यात्रा गरिरहेका हामी सबै सकुसल यात्रा गर्नु जरुरी छ । अहिलेको अवस्थामा शिक्षारुपी समुद्रमा हामी सरकारी र निजी दुवै सँगै यात्रा गरिरहेका छौं

नेपालमा शिक्षाको विकासमा निजी क्षेत्रको योगदान कस्तो छ ?
नेपालमा निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयहरुले राज्यबाट कत्ति पनि रकम नलिई विद्यार्थीका अभिभावकहरुबाट मात्र शुल्क लिएर शिक्षा प्रदान गर्दै आएका छन् । यसरी हेर्ने हो भने स्वदेशी पुँजी र स्वदेशी लगानीबाट नै राज्यको दायित्व तथा जिम्मेवारी पूरा गरिदिने काम निजी संस्थागत विद्यालयहरुले गरेका छन् । नेपालमा अहिले पनि संस्थागत विद्यालयको भूमीकाबाट प्रभावित भइ राज्य यस्ता संस्थागत विद्यालयहरुलाई प्रोत्साहित गर्नुपर्नेमा राज्यले अझ निरुत्साहित गरेको हामीलाई अनुभव भएको छ ।

सरकारी र निजी दुवै क्षेत्रबाट शिक्षालाई समान बनाउन कसरी सम्भव होला ?
सबैको पहुँचमा शिक्षालाई पुर्याउनको निम्ति सफल कथा र त्यसका रहस्यहरुलाई खोतल्ने काम हुनुपर्छ । यसले नयाँ आउन चाहनेलाई समेत ऊर्जा मिल्छ । राम्रो व्यवस्थापन भएको कारण अहिले नेपालमा नै तुलनात्मक रुपमा राज्यको भन्दा कम लगानीमा नै निजी विद्यालयहरुले स्तरीय शिक्षा प्रदान गर्न सकिएको अवस्था छ । तुलनात्मक रुपमा नेपालमा निजी शिक्षा कसरी सफल भयो भन्ने कुरा राज्यले निजी विद्यालयहरुबाट सिक्नु जरुरी छ । त्यसै बमोजिम राज्यबाट प्रदान गरिएको शिक्षालाई पनि व्यवस्थित गरिने हो भने राज्यको लगानीको शिक्षा पनि स्तरीय हुन नसक्ने भन्ने नै हुँदैन । संसारका थुप्रै देशहरुमा सरकारी र निजी दुवै क्षेत्रबाट विद्यालयहरु सञ्चालनमा छन् । तर नेपालमा भने निजी विद्यालयलाई झड्केलो छोराको रुपमा व्यवहार भएको छ ।

नेपालमा निजी व्यवस्थापनमा सञ्चालित विद्यालयहरु कसरी चलेका छन् नि ?
निजी शिक्षामा राज्यको कुनै पनि लगानी नभएको कारण हामी निजी क्षेत्रबाट विद्यालय सञ्चालन गर्ने व्यक्तिहरुले बैंकबाट कर्जा लिने प्रक्रिया पनि निकै नै गाह्रो छ । विद्यालय सञ्चालन गर्न चाहने व्यक्तिले अहिले आफ्नो खल्तीको पैसा लगानी गरेर नै निजी शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आएका छन् । तर यसरी कहिले सम्म चल्ने ? यसको दीर्घकालिन समाधान खोजिनु जरुरी छ । पछिल्लो समय जग्गाको मूल्य ह्वात्तै बढेको छ । पूर्वाधारको लगानी पनि निकै बढी छ । यस्तो अवस्थामा शिक्षा प्रदान गर्नु निकै नै गाह्रो छ । त्यसमाथि राज्यले प्रोत्साहन गर्ने अवस्था नरहेको कारण विद्यालयका सञ्चालकहरु निकै समस्यामा छन् ।
राज्यले निजी विद्यालयहरुले विद्यार्थीबाट लिने शुल्कको सीमा तोकिदिएको छ । शिक्षकलाई दिनुपर्ने न्यूनतम तलब तोकिदिएको छ । अभिभावक र विद्यालय व्यवस्थापन बीचको सुमधुर सम्बन्धलाई खल्बल्याउने किसिमले राजनीतिकरण गरिने प्रयास राज्यबाट नै भएको हुँदा राज्य पुरातन सोचमा नै अल्झिएको हामीले महसुस गरेका छौं । राज्यको बृहत्तर परिभाषा भित्र निजी क्षेत्र अन्तरगतको निजी शिक्षा समेत आउने हुनाले निजी क्षेत्रलाई पेलेर अबको आधुनिक गभर्मेन्स अघी बढ्छ जस्तो मलाई लाग्दैन ।
नियमनकारी निकाय भएको हुनाले नियमन गर्ने काम त राज्यको जिम्मेवारी भित्र नै पर्छ होला नि ?
हामीले नियमन नगर्नुस् भनेर त कुनै दिन पनि भनेका छैनौं । तर नियमनको नाममा बन्देज वा निस्तेज गर्ने काम त स्वीकार्य हुँदैन नि । मुख थुनिदिएर कुनै चीज खानको निम्ति दिनु वा हातखुट्टा बाँधिदिएर पौढाउनु कत्तिको उपयुक्त होला ? हाम्रो प्रश्न राज्यलाई ।
हामी निजी क्षेत्रबाट शिक्षाको प्रवद्धनमा लागेका व्यक्तिहरुले सबै शुल्क हामीले नै लगानी गर्न सकिने अवस्था त रहँदैन । कि त राज्यले पनि नेपालमा निजी शिक्षामा लगानी गर्नुपर्यो । होइन भने राज्यले निजी शिक्षा सञ्चालनको क्रममा सीमा तोकिदिनु भनेको त हातखुट्टा बाँधिदिनु जस्तै होइन र ? हामीले अब कसरी काम गर्ने प्रश्न गम्भिर छ ।

निजी क्षेत्रमा पनि पूर्ण रुपमा स्वच्छ तवरले काम भएको त पाईंदैन नि ?
हामीले पनि सबै विद्यालयहरुले राम्रै किसिमले काम गरेका छन् भनेका छैनौं । हरेक क्षेत्रमा केही न केही समस्याहरु त रहन सक्छन् । तर समग्र क्षेत्रलाई नै २-४ जना व्यक्तिले गलत काम गरेको कारण अप्ठ्यारो पार्ने काम भने गरिनुहुँदैन । निजी क्षेत्रमा आकर्षित ती व्यक्तिहरु पनि छन्, जसले बाहिरबाट हामीलाई गाली गरिरहेका छन् । नीतिनिर्धारण तहमा रहेका, सरकारी विद्यालयमा नै अध्यापन गर्दै आएका, राजनीतिक दलको अग्रपंक्तिमा नै रहेर नेतृत्व गर्दै आएका व्याक्तिहरुले समेत निजी विद्यालयमा नै विद्यार्थीहरुलाई पढाउनुको पछाडि पनि रहस्य त अवश्य होला नि ?
हामीले नेपालमा प्रदान गरेको शिक्षा प्रति ऊहाँहरुको विश्वास नै हुने थिएन भने किन निजी क्षेत्रबाट प्रवद्धित विद्यालयहरुमा ऊहाँहरुले आफ्ना छोराछोरी पठाउनुभयो ? यदि खर्चको नै कुरा गर्ने हो भने नेपालमा अहिलेको अवस्थामा राज्यबाट सञ्चालनमा रहेका विद्यालयहरुमा पनि ठूलो रकम खर्च भएको छ । प्रति विद्यार्थी लागत अझ बढी छ । तर ऊहाँहरुले बढी रकम खर्च गरेर पनि परिणात त आउन सकेको छैन नि ? यस कुरामा पनि विचार गर्नुपर्छ कि पर्दैन ?

नेपालमा शिक्षा क्षेत्रमा निजी क्षेत्रको हिस्सा कति छ ?
अहिले नेपालमा प्लस टु र मन्टेश्वरीलाई समेत जोड्ने हो भने हामी निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुले करिब ३० प्रतिशत हिस्सा ओगट्छौं । करिब ७० प्रतिशत शिक्षा मूलधारको नै छ । यसको अलावा समग्रमा शिक्षा क्षेत्रलाई माथि उकास्नको निम्ति समुद्रमा शिक्षारुपी डुङ्गामा यात्रा गरिरहेका हामी सबै सकुसल यात्रा गर्नु जरुरी छ । अहिलेको अवस्थामा शिक्षारुपी समुद्रमा हामी सरकारी र निजी दुवै सँगै यात्रा गरिरहेका छौं ।

सामुदायिक विद्यालय बलियो हुँदा निजी शिक्षालाई कस्तो प्रभाव पर्छ ?
सामुदायिक विद्यालयको अवस्था बलियो हुने हो भने मात्र नेपालमा समग्र शिक्षा क्षेत्र बलियो हुन सक्छ ।उदाहरणको लागि समग्र पाठ्यक्रम र परीक्षा प्रणाली बलियो भयो मात्र नेपालमा शिक्षा क्षेत्र बलियो हुने हो । हामीले निजी क्षेत्रको शिक्षा राम्रो हुनको निम्ति सरकारी शिक्षा कमजोर हुनुपर्छ भनेका छैनौं । आपसमा यस किसिमको नकारात्मक सोच राखेर कहिल्यै पनि सफल हुन सकिँदैन । यसैकारण हामी आपसमा सहकार्यको माध्यमबाट दुवै क्षेत्रको विकास सोच्नु जरुरी छ ।
हामीले सामुदायिक शिक्षा बलियो भयो भने हामी अन्य विकल्प समेत खोज्न सक्छौं । हामीले वैकल्पिक शिक्षाको माध्यम खोज्न सफल हुन सक्ने अवस्था अवस्था रहने हुनाले निजी शिक्षाको चिन्ता गर्नुपर्ने जरुरी रहँदैन । संसारमा सफल हुनेहरुको मात्रै इतिहास लेखिने हो । यसैकारण हामीले सफल हुनको निम्ति पर्यत्न गर्नु जरुरी छ ।

अन्तराष्ट्रिय अभ्यास चाहिँ के छ त ?
विश्वका हरेक क्षेत्रमा निजी क्षेत्रलाई पनि अघी बढाइएको छ । विश्वका अन्य कतिपय देशहरुमा निजी शिक्षामा राज्यको पनि जिम्मेवारी देखिन्छ । हामीले भारतमा नै हेर्ने हो भने त्यहाँका विद्यालयहरु ट्रष्टको रुपमा चलेका छन् । जसले गर्दा निजी क्षेत्रले नेपालमा जस्तो जोखिम वहन गर्नुपर्ने अवस्था छैन । यस्तो अवस्थामा नेपालमा पनि सार्वजनिक र निजी शिक्षालाई अबका दिनमा कसरी अघी बढाउने भन्ने सम्बन्धमा साझेदारीका मोडलहरु खोज्नु जरुरी रहन्छ । यसका निम्ति राज्य पक्ष नै खुल्ला हृदयले आउन सक्नुप¥यो । हामी त सधैं तयार नै छौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij