काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीका बारेमा काठमाडौँ उपत्यकाका क्याम्पस प्रमुखसँग छलफल गरेको छ। त्रिविले स्ववियु निर्वाचन तयारीका लागि उपत्यकाका २० क्याम्पसका क्याम्पस प्रमुखसित मंगलबार छलफल गरेको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले बताए।
उनले छलफलका क्रममा केही क्याम्पस प्रमुखले क्याम्पसमा तालाबन्दी रहेको अवस्थामा निर्वाचन गर्न सम्भव नहुने बताएको जानकारी दिए। ‘६–७ वटा क्याम्पस प्रमुखले ताला लगाएको अवस्थामा निर्वाचन गराउन सम्भव नभएको तर हामीले नआत्तिन भनेका छौँ,’ उनले भने।
निर्वाचन कार्यतालिका एक–दुईदिन फरक भएपनि केही फरक नपर्ने उनको भनाइ छ। ‘हामी सरकार, राजनीतिक दल र विद्यार्थी संगठनसँग निर्वाचन सम्पन्न गर्ने विषयमा वातावरण बनाइरहेका छौं,’ उनले भने।
यही फागुन १ गतेदेखि स्ववियु निर्वाचन प्रक्रिया सुरु भएको छ। तर अहिलेसम्म त्रिविका ६० मध्ये ३५ क्याम्पसमा मात्र निर्वाचन प्रक्रिया अघि बढेको छ। नेपाल विद्यार्थी सङ्घका असन्तुष्ट पक्षले उमेरको हदबन्दीको विषयमा र नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले निर्वाचन प्रक्रिया र फर्जी भर्ना रोक्न माग गर्दै क्याम्पसमा तालाबन्दी गरेका छन्।
त्रिविले ८ वर्षपछि गर्न लागेको यसपटकको स्ववियु निर्वाचन २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा गर्दैछ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij