२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

उद्योग सञ्चालनको लागि राज्यबाट नीतिगत सहजीकरण आवश्यक छः उद्यमी पाैडेल

उद्योग सञ्चालनको लागि राज्यबाट नीतिगत सहजीकरण आवश्यक छः उद्यमी पाैडेल

भीमलाल पौड्याल, कार्यसमिति सदस्य, नेपाल चेम्बर अफ कमर्स

भीमलाल पौड्याल लामो समय देखि औद्योगिक एवं व्यावसायिक क्षेत्रमा समर्पित एक प्रतिष्ठित व्यक्ति हुनुहुन्छ । रोयल शुजका अध्यक्ष रहनुभएका पौड्यालले आफ्नो लगानी जलविद्युत, होटल, सिमेन्ट, पाइप उद्योग, औषधी उद्योग, बैंकिङ, शिक्षा लगायतका विभिन्न क्षेत्रहरुमा विविधिकरण गर्दै आउनुभएको छ । लामो समय देखि नेपाल चेम्बर अफ कमर्समा आबद्ध ऊहाँ विभिन्न सामाजिक गतिविधिहरुमा पनि संलग्न रहँदै आउनुभएको छ । राजनीतिमा समेत लामो समय देखि संलग्न पौड्याल हाल नेकपा (एमाले)को केन्द्रीय लेखा आयोग सदस्य समेत हुनुहुन्छ । पौड्याल आफू आवद्ध रहेका सबै उद्योगहरुमा गरी ४ हजार भन्दा बढी व्यक्ति प्रत्यक्ष रुपमा रोजगाररत रहेको बताउनुहुन्छ ।

चेम्बर अफ कमर्समा अघिल्लो कार्यसमितिमा लुम्बिनी प्रदेश अध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएका पौडेल यसपटक नेपाल चेम्बर अफ कमर्समा उद्योग समितिको सभापतिको भूमिकामा हुनुहुन्छ । यसका अलावा विभिन्न सामाजिक क्रियाकलापमा निरन्तर क्रियाशिल पौड्याल आफू कक्षा १ मा अध्ययनरत रहँदा कक्षाको मनिटर भई साथीहरुको नेतृत्व गर्ने जिम्मेवारी लिएपश्चात् सदैव कुनै न कुनै रुपमा नेतृत्वदायी भूमिकामा नै रहँदै आएको बताउनुहुन्छ ।

सफलताका आधारहरु
सफल उद्योगी पौडेल नेपालमा नै अवसर खोज्नुपर्छ भन्ने मान्यताले व्यावसायिक गतिविधिमा संलग्न हुनुभएको हो । आफ्नो व्यावसायिक शुरुवात ट्रेडिङबाट नै भएपनि बिस्तारै ऊहाँले उत्पादनमूलक उद्योगले मुलुकको अर्थतन्त्रलाई माथि उठाउन महत्वपूर्ण सहयोग पुर्याउने ठानेर आफूलाई उद्योग तर्फ केन्द्रित गराउँदै लैजानुभयो । नेपाल जस्तो देशमा राम्रो र दिगो विकास नीति अवलम्बन गर्न नसकिएको अवस्थामा उद्योग सञ्चालन भन्दा ट्रेडिङ नै सहज हुने भएपनि उद्योग स्थापनाले दिगो विकास र स्थायित्वमा सहयोग पुर्याउने पौडेलको धारणा छ । सोही मान्यताले आफू पनि ट्रेडिङबाट उद्योग तर्फ सिफ्ट भएको पौडेलले बताउनुभयो । राज्यले सम्भव रहेसम्म ट्रेडिङलाई भन्दा पनि उत्पादनलाई लक्षित गरेर नीतिहरु निर्माण गर्नुपर्ने र यसबाट हामीले चाहेको समृद्धिको सपना साकार हुन सक्ने ऊहाँको धारणा छ ।

व्यावसायिक क्षेत्रमा संलग्न रहँदा आउन सक्ने विभिन्न उतारचढावहरुलाई साधारण रुपमा नै लिन सक्नुपर्छ । यद्यपि बाह्य परिस्थिति, मुलुकका नीति, राजनीतिक परिस्थिति, विश्व परिवेश लगायत विभिन्न पक्षहरुले व्यावसायिक वातावरणमा प्रभाव पार्न सक्ने स्थिति रहने हुनाले सबै पक्षको ज्ञान उद्योगलाई सही दिशामा अघी बढाउनको लागि आवश्यक मानिन्छ । उद्योग स्थापना लामो समयको लागि गरिने लगानी भएकोले तत्कालिन स्थितिको अलावा दीर्घकालिन सम्भावनालाई समेत विचार गर्न सक्नुपर्छ । उद्योगी र व्यापारी दुवैको मुख्य उद्देश्य लगानीको तुलनामा मुनाफाको सुनिश्चितता नै हुने भएकोले सम्भावित जोखिमको तुलनामा प्राप्त हुने प्रतिफललाई पनि सटिक विष्लेषण गर्न सक्नुपर्छ । बिना जोखिम प्रतिफल अवश्य प्राप्त हुँदैन । यद्यपि जोखिम वहन गर्ने क्रममा जोखिम कुन प्रकारको (साधारण वा असाधारण) हो भन्ने कुरा यकिन गर्न सक्नुपर्छ । सामान्य परिस्थितिबाट विचलित नभई दिगो योजना सहित अघी बढेको खण्डमा उद्योग सञ्चालनबाट राम्रो प्रतिफल समेत प्राप्त गर्न सकिन्छ ।

साथै उद्योग सञ्चालनबाट प्राप्ति हुने सन्तुष्टि र सामाजिक प्रतिष्ठा उद्योग सञ्चालनको अर्को महत्वपूर्ण पक्ष हो । अहिले आफू आवद्ध रहेका उद्योगहरु मार्फत नियमित रुपमा ४ हजार भन्दा बढी व्यक्तिहरु स्वदेशमा नै रोजगारी प्राप्त गर्नुले समेत आफूलाई अलग्गै सन्तुष्टि प्राप्त हुने पौडेलको धारणा छ । जुन सन्तुष्टि ट्रेडिङ व्यवसायबाट प्राप्त हुन नसक्ने समेत पौडेल बताउनुहुन्छ ।

रोयल शुज सञ्चालनको औचित्यता
‘मेरो व्यावसायिक शुरुवात भैरहवामा अध्ययनको क्रममा रहने समय देखि नै भएको हो । पछि म व्यवसायकै उद्धेश्यले काठमाडौं प्रवेश गरेँ । त्यसपश्चात् म निरन्तर रुपमा व्यावसायिक क्षेत्रमा संलग्न छु । व्यावसायिक शुरुवातका दिनहरुमा नेपाली बजारमा चीनबाट जुत्ताचप्पलहरु भित्र्याएर नेपालमा देशभरका सप्लायर्सहरुलाई हामीले उपलब्ध गराउँथ्यौं । हाम्रो व्यावसायिक शुरुवातका दिनहरुमा स्वदेशी उत्पादनमा गर्व गर्न सक्ने अवस्था बनिसकेको थिएन । बिस्तारै नेपालीहरुले स्वदेशी उत्पादन मन पराउन थाले । यहाँका उद्योगहरुले आफ्नो गुणस्तरलाई अभिवृद्धि गर्दै लगेसँगै नेपालमा जुत्ता उद्योगको सम्भावना राम्रो हुने ठानेर हामीले रोयल शुज इण्डष्ट्रिज सञ्चालनमा ल्याएका हौं । यद्यपि रोयल शुज शुरु गर्नुभन्दा पहिले देखि नै म औद्योगिक क्षेत्रमा संलग्न भइसकेको थिएँ’ पौडेलले रोयल शुज स्थापनाको औचित्यता बारे प्रष्ट पार्नुभयो ।

मुलुकको दिगो विकासको लागि राजनीतिक स्थिरता प्रमुख सर्त बन्ने गर्छ । लामो समयको अभ्यास पछि हामीले विश्वकै उत्कृष्ट संघीय गणतान्त्रिक मुलुकको रुपमा नेपाललाई व्यवस्था परिवर्तन मार्फत ल्याएपश्चात् यहाँ राजनीतिक रुपमा स्थायित्व कायम हुनेमा हामी आशावादी थियौं । यद्यपि यस व्यवस्थाबाट समेत अझै पनि जनताहरुका सपना हामीले सार्थक बनाउन सकेका छैनौं । केही राजनीतिक दलहरु सदैव मुलुकलाई अस्थिर बनाइरहने खेलमा विगत देखि अहिले सम्म सक्रिय रहँदै आएका छन् । जसले गर्दा हामीले मुलुकलाई सही दिशामा हिँडाउन सकेनौं ।

सामाजिक संस्थाको रुपमा विश्वभर सञ्जाल फैलिएको लायन्स क्लबका विभिन्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका पौडेलले राजनीतिक यात्रालाई पनि सँगसँगै अघी बढाउनुभएको छ । आफूलाई पार्टीले उचित ठहर्याई अवसर प्रदान गरेको खण्डमा आफ्नो क्षेत्र (गुल्मी जिल्लाको क्षेत्र नम्बर १)बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन आफू तयार रहेको समेत ऊहाँ बताउनुहुन्छ ।

पौडेलको राजनीतिक र सामाजिक यात्रा
पौडेल नेपाली राजनीतिमा वि.सं २०३५ देखि निरन्तर रुपमा क्रियाशिल रहँदै आउनुभएको छ । आफ्नो राजनीतिक संलग्नताको प्रमुख उद्देश्य नै समाजसेवा रहेको ऊहाँ बताउनुहुन्छ । त्यसबेला देखि आफू निरन्तर रुपमा राजनीतिमा संलग्न रहँदै आएको भएपनि आफूले अहिले सम्म राजनीतिक रुपमा लाभका कुनै पनि पद एवं जिम्मेवारी नलिई विशुद्ध सामाजिक भावले नै आफू संलग्न रहँदै आएको ऊहाँ बताउनुहुन्छ । सामाजिक, व्यावसायिक एवं राजनीतिक गरी ३ क्षेत्रलाई एकसाथ अघी बढाउने कार्य साधारण मानिसहरुको लागि असम्भव जस्तै देखिने भएपनि उचित व्यवस्थापनको माध्यमबाट आफूले त्यस कठिन कार्यलाई सफल बनाउन सकेको पौडेलको धारणा छ । लायन्स क्लब सामाजिक संस्था भएको र सामाजिक गतिविधिहरु (स्वास्थ्य, शिक्षा, बाढीपहिरो, रक्तदान, आगजनी लगायत)मा क्रियाशिल रहन पाउँदा आफूलाई भित्रै देखि सन्तुष्टि महसुस हुने, उद्योग सञ्चालनबाट सामाजिक प्रतिष्ठा प्राप्त हुने र राजनीतिबाट चेतनास्तरलाई फराकिलो बनाई सही अर्थमा सामाजिक रुपान्तरण गर्न सकिने भएकोले यी सबै क्षेत्रलाई आफूले एकसाथ अघी बढाएको पौडेलको धारणा छ ।

कोभिड–१९ पश्चात्को नेपालको व्यावसायिक वातावरण
नेपालमा कोभिड–१९ पश्चात् व्यावसायिक वातावरणले अझै सही दिशा लिन सकेको छैन । अहिले अझै पनि अधिकांश व्यावसायिक क्षेत्र समस्यामा नै छन् । बैंकको उच्च ब्याजदर, कर्जायोग्य रकमको अभाव, कामदारको समस्या लगायत विभिन्न समस्याहरुले गर्दा नयाँ उद्योग स्थापना एवं सञ्चालनमा रहेका उद्योगको निरन्तरता अहिले पनि निकै चुनौतीपूर्ण छ । विश्व बजारमा पेट्रोलियम पदार्थ एवं औद्योगिक कच्चा पदार्थमा भएको उच्च मूल्य वृद्धि लगायतका कारण समेत अहिले उद्योग सञ्चालनको लागि ठूलो चुनौतीका विषय बनेका छन् ।

राजनीतिक स्थिरता आवश्यक
मुलुकको दिगो विकासको लागि राजनीतिक स्थिरता प्रमुख सर्त बन्ने गर्छ । लामो समयको अभ्यास पछि हामीले विश्वकै उत्कृष्ट संघीय गणतान्त्रिक मुलुकको रुपमा नेपाललाई व्यवस्था परिवर्तन मार्फत ल्याएपश्चात् यहाँ राजनीतिक रुपमा स्थायित्व कायम हुनेमा हामी आशावादी थियौं । यद्यपि यस व्यवस्थाबाट समेत अझै पनि जनताहरुका सपना हामीले सार्थक बनाउन सकेका छैनौं । केही राजनीतिक दलहरु सदैव मुलुकलाई अस्थिर बनाइरहने खेलमा विगत देखि अहिले सम्म सक्रिय रहँदै आएका छन् । जसले गर्दा हामीले मुलुकलाई सही दिशामा हिँडाउन सकेनौं ।

मुलुकलाई राजनीतिक रुपमा अस्थिर बनाएर सदैव आफ्नो केही सीमित स्वार्थ पुर्ति गर्ने चाहना कायम रहेसम्म हाम्रो अवस्थामा सुधार हुन सक्दैन । यसको अलावा हामीले नेपालमा समग्र अर्थतन्त्रलाई माथि उठाउनको लागि उपयुक्त हुने गरी आर्थिक नीति, उद्योग नीति, युवा नीति तय गरी सफल कार्यान्वयन गर्नु महत्वपूर्ण पक्ष हुनेछ । विगतमा हामी उद्योगीहरु समेत अब नेपालमा उद्योगमैत्री वातावरण बन्ने भयो भनेर निकै आशावादी थियौं । यद्यपि अहिले भने हामी उद्योगीहरु अहिलेको अवस्थालाई देखेर निकै चिन्तित छौं । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरु स्वयम् यतिबेला आन्दोलनमा उत्रिनुपर्ने अवस्था छ । यसले हाम्रो अवस्थामा राम्रो सङ्केत गर्दैन । यद्यपि हरेक परिस्थितिमा आशावादी भएर हामी अघी बढ्नुपर्छ । यहीँ सङ्घर्ष गर्नुछ । हामी भित्रका कमीकमजोरी हामीले नै सुधार्दै जाने हो ।

जलविद्युतलाई प्रोत्साहन गरौं
पछिल्लो समय नेपालमा जलविद्युतको उत्पादन बढ्दो छ । विगत ५–७ बर्ष पहिले सम्म नेपालमा विद्युतको अभावको कारण हामीले लोडसेडिङको सामना गर्नुपर्ने स्थिति थियो । अहिले नेपालमा लोडसेडिङ हटेको छ । विगतमा उद्योग सञ्चालनको लागि डिजेलबाट जेनेरेटर चलाउनुपर्ने कारणले अत्याधिक मात्रामा पेट्रोलियम पदार्थ भित्र्याउनुपर्ने अवस्था थियो । अहिले त्यो समस्या हटेको छ । यद्यपि हामीले अझै पनि विद्युतको खपत बढाउनको लागि विद्युतीय चुलो र विद्युतीय गाडीलाई प्रोत्साहन गर्नु जरुरी छ । यसै पनि विद्युतीय गाडी उत्पादन हुने अवस्थामा नै महँगा छन् । ती विद्युतीय गाडीमा करको दर उच्च बनाइयो भने नेपालमा त्यस्ता साधन प्रयोगको लागि प्रोत्साहन मिल्दैन । यसकारण विद्युतीय गाडीहरुको प्रयोग बढाउन सहुलियत कायम राखिनुपर्छ । पेट्रोलियम पदार्थलाई एकैपटकमा पूर्ण रुपमा विस्थापन गर्न सम्भव हुँदैन । यद्यपि ग्यासको ठाउँमा विद्युतले विस्थापन गर्ने वातावरण बनाउँदै लैजानुपर्छ ।

व्यावसायिक क्षेत्रमा संलग्न रहँदा आउन सक्ने विभिन्न उतारचढावहरुलाई साधारण रुपमा नै लिन सक्नुपर्छ । यद्यपि बाह्य परिस्थिति, मुलुकका नीति, राजनीतिक परिस्थिति, विश्व परिवेश लगायत विभिन्न पक्षहरुले व्यावसायिक वातावरणमा प्रभाव पार्न सक्ने स्थिति रहने हुनाले सबै पक्षको ज्ञान उद्योगलाई सही दिशामा अघी बढाउनको लागि आवश्यक मानिन्छ । उद्योग स्थापना लामो समयको लागि गरिने लगानी भएकोले तत्कालिन स्थितिको अलावा दीर्घकालिन सम्भावनालाई समेत विचार गर्न सक्नुपर्छ

नेपालमा प्रयाप्त मात्रामा रहेको जलस्रोतको दिगो उपयोगलाई जोड दिँदै विद्युत उत्पादनलाई बढाउँदै लगेर हाम्रो आन्तरिक आवश्यकता परिपुर्ति गरेर बाह्य बजारमा समेत बिक्री गरेर हामीले राम्रो लाभ हासिल गर्न सक्छौं । हाम्रो ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्छ । अहिले नेपालमा आयात हुने वस्तुहरु मध्ये पेट्रोलियम पदार्थ आयातकै लागि हामीले सबैभन्दा बढी रकम (खर्बौं) खर्चंदै आएका छौं । यसलाई न्यूनीकरण गर्नको लागि अल्पकालिन एवं दीर्घकालिन योजना सहित हामी अघी बढ्नु जरुरी छ ।

कस्तो हुनुपर्छ शिक्षा प्रणाली ?
हामीले साँच्ची दिगोपनमा जोड दिने हो भने हाम्रो शिक्षा प्रणालीमा पनि परिमार्जनको आवश्यकता छ । अहिले हामीले जुन शिक्षा प्राप्त गरिरहेका छौं, यो हाम्रो आवश्यकता बमोजिम छ कि छैन ? भन्नेमा पनि ध्यान दिनुपर्छ । अहिले सम्म हामीले हाम्रो आवश्यकता बमोजिम दक्ष जनशक्ति उत्पादन गर्न सक्ने शिक्षा नै पढाउन सकेनौं । गल्ती यहीँ भयो ।

हामीले राज्यको आवश्यकता सम्बोधन हुने गरी सोही किसिमको शिक्षा पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने आवश्यकता छ । हामी उद्योगीहरुले हाम्रा उद्योगको लागि जनशक्ति पाउन सकेका छैनौं । यहाँका उद्योगमा बाहिरबाट कामदार ल्याउनुपर्ने आवश्यकता छ । हाम्रा युवाहरु श्रमको लागि विदेशिइरहेका छन् । यसैगरी हाम्रा उच्च शिक्षा स्तरका शैक्षिक कार्यक्रम सञ्चालन गरेका कलेजहरुले यहाँ विद्यार्थी पाएका छैनन् । नेपालबाट बर्षेनी करोडौं डलर शिक्षाको लागि बङ्गलादेश, पाकिस्तान, भारत, चीन लगायतमा बाहिरिइरहेको अवस्था छ । तैपनि यहाँ मेडिकल कलेज सञ्चालन गर्न अवरोध पुर्याईंदै आइएको छ । यस्तो अवस्थामा यहीँ त्यस्ता शैक्षिक कार्यक्रम सञ्चालन गर्न हामी तयार हुनुपर्छ । यहाँका उद्योगहरुसँग सरसल्लाह गरी व्यावहारिक शिक्षा कार्यक्रम सञ्चालन गर्न सकेको खण्डमा नै हामीले हाम्रो आवश्यकता बमोजिमका जनशक्ति तयार पार्न सक्छौं । नेपालीहरुले विदेशमा कमाइरहेको बराबरकै रकम अहिले नेपालका उद्योगहरुबाट श्रमको लागि बाहिरिइरहेको छ । के यसलाई राज्यले सम्बोधन गर्नु पर्दैन ?

आशा गर्ने ठाऊँ छ
जबसम्म हामी रेमिट्यान्समा निर्भर रहन्छौं, तब सम्म हाम्रो अवस्थामा सुधार हुन सक्दैन । यद्यपि विगतमा ट्रेडिङमा भएका हामी लगायत थुप्रै व्यक्तिहरुले अहिले उद्योग सञ्चालन गरिरहेका छौं । आयातमा संलग्न व्यक्तिहरु अहिले उत्पादनमा जोडिएका छौं । अझ राम्रो नीतिगत सुनिश्चितता सहित उपयुक्त वातावरण बन्न सकेको खण्डमा उद्योग तर्फ आउनको लागि थुप्रै व्यवसायीहरु लालायित समेत हुनुहुन्छ । यो सकारात्मक पक्ष हो । यसको लागि राज्यले नीतिगत सहजीकरण मार्फत औद्योगिक वातावरण निर्माणमा सहयोग गर्नु जरुरी छ ।

राज्यले गर्नुपर्ने सुधार
अहिले नेपालमा कच्चा पदार्थको आयात र तयारी वस्तुको आयातमा भन्सारदर एकै किसिमको छ । यसले उत्पादनलाई प्रोत्साहित गर्दैन । साथै उद्योगमा उत्पादन भएका सामानहरुको उचित बजार व्यवस्थापन हुन सकेको छैन । यसलाई राज्यले उचित समाधान दिनुपर्छ । यसो हुन सकेको खण्डमा आयातमा निर्भर हाम्रो अर्थतन्त्रलाई स्वदेशी सामानबाटै आवश्यकता पुर्ति गरेर निर्यातमुखी समेत बनाउन सक्छौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij