
कुनै बेला नेपालमा आफूलाई कुनै अवसर नै नभएको ठानेर वैदेशिक रोजगारमा जान हौसिएका व्यक्ति हुन् वेद पन्त । अहिले उनलाई लाग्छ, अवसर त नेपालमै रहेछन् । वैदेशिक रोजगारीको लागि आवेदन दिएर लामो समय पर्खाइमा बसेका पन्तलाई वैदेशिक रोजगारीको लागि अवसर नै जुटेन । वैदेशिक रोजगारी सफल बन्न नसकेका पन्तले आखिर नेपाललाई नै कर्मभूमि बनाएर सामाजिक प्रतिष्ठा र प्रशस्त आर्थिक ऊपार्जन यहीँ प्राप्त गर्न सक्ने हैसियतमा आफूलाई विकसित गरेका छन् । आखिर वैदेशिक रोजगार भन्दा पनि राम्रो प्रगति त यहीँ गर्न सकिँदो रहेछ ।
पन्तलाई अहिले लाग्छ, अवसरलाई चिन्न र सम्भावनालाई पहिचान गर्न सक्ने व्यक्ति नै सफल हुँदो रहेछ, हरेक व्यक्ति भित्र कुनै क्षमता अवश्य लुकेको हुँदो रहेछ । हामी हरेकले त्यस क्षमताको पहिचान गर्नु जरुरी हुँदोरहेछ । व्यक्तिमा अन्तरनिहीत त्यस क्षमतालाई हामी सजिलै पहिचान गर्न सक्दा रहेनछौं, आफूभित्रको क्षमतालाई निखार्नको लागि राप, ताप र चाप सहनुपर्दोरहेछ ।
सीपमूलक प्राविधिक ज्ञानको आवश्यकता
नेपालबाट वैदेशिक रोजगारीमा जान इच्छुक ठूलो सङ्ख्याका युवायुवतीहरु अहिले पनि प्राविधिक सीप बिना विदेश पसिरहेका छन् । हातमा सीप र क्षमता हुने हो भने नेपालमा पनि प्रशस्त सम्भावनाहरु भेट्न सकिन्छ । हातमा सीप र क्षमता नहुने हो भने विश्वमा कहीँ पनि सफल बन्न सकिँदैन भन्ने कुरा महसुस गरेर रोजगारी चाहने व्यक्तिले आफूलाई कुनै न कुनै सीपमूलक अथवा प्राविधिक काममा अभ्यस्त बनाउनु जरुरी रहन्छ । आफूमा कुनै सीप भएको र इच्छा शक्ति समेत विकास गर्न सकेको खण्डमा अवसर हाम्रै आफ्नै वरिपरी घुमिरहेको देख्न सक्छौं ।
पन्तको व्यावसायिक क्षेत्रमा प्रवेश
वेद पन्त लामो समय देखि वार टेण्डिङ र वरिस्ता व्यवसायमा संलग्न व्यक्ति हुन् । नयाँ बानेश्वर स्थित इलाइट बार टेण्डिङ एकेडेमीका सञ्चालकका रुपमा परिचित छन् पन्त । आफूले विगत ६ बर्ष पहिले देखि सञ्चालनमा ल्याएको उक्त व्यवसायले अहिले आफूलाई दिलाएको सफलता देखेर पन्त आफैं समेत दङ्ग छन् ।
व्यवसाय बिस्तार
काठमाडौंबाट शुरुवात भएको आफ्नो बार टेण्डिङ व्यवसायलाई अहिले भक्तपुर र इटहरीमा समेत विस्तार गर्न सफल भइसकेका छन् पन्त । अब छिट्टै उक्त व्यवसायलाई चितवन र धनगढीमा पनि बिस्तार गर्ने योजनामा छन् उनी । यसको अलावा पार्टनरशिप व्यवसायको रुपमा पन्तले कार्निभल रेष्टुरेन्ट पनि सञ्चालन गरिरहेका छन् । जहाँ सुविधासम्पन्न हल सहितको अलग्गै शान्त वातावरणको अनुभुति गर्न सकिन्छ ।
सीपमूलक काममा कसरी छिरे पन्त ?
वेद पन्तले वैदेशिक रोजगारीमा जानको लागि वार टेण्टिङको सीप सिकेका हुन् । त्यति बेला सम्म नेपालमा कुनै ठूलो सम्भावनाले आफूलाई पर्खिरहेको छ भन्ने कुराको उनले महसुस गर्न सकेका थिएनन् । यद्यपि वैदेशिक रोजगारीमा जाँदा सीप सिकेको खण्डमा काममा धेरै सहज हुन्छ भन्ने मान्यताले उनी सीपमूलक टेण्डिङ टेण्डिङमा छोटो अवधिको तालिम मार्फत जोडिएका हुन् । त्यतिबेला उनलाई यही सीपले नै आफूलाई सफल उद्यमी बनाउन सक्ला भन्ने त लागेकै थिएन ।
व्यवसायको शुरुवाती अवस्था
आफूले सिकेको सीपमा टेकेर पन्त केही समय नेपालमा नै पार्टनरशिपमा बार टेण्डिङ व्यवसायमा जोडिए । त्यसपछि आफैंले इलाइट बार टेण्डिङ एकेडेमी सञ्चालन ल्याए । आफैंले इलाइट सञ्चालन गरेको पनि अहिले ६ बर्ष भइसकेछ । यस बीचमा आफ्नो एकेडेमीबाट हजारौं सङ्ख्यामा नेपाली युवाहरुलाई वरिस्ता (कफी) र वार टेण्डिङ सम्बन्धी उनले तालिम दिइसकेका छन् ।
रोजगारीका लागि छोटो अवधिका तालिम
नेपाली युवाहरुमा अहिले पनि रोजगारीको लागि विदेशिने चाहना उच्च छ । युवाहरुको त्यही चाहनालाई परिपुर्ति गर्ने उद्धेश्यले पन्तले छोटो अवधिका विभिन्न तालिमहरु सञ्चालन गरिरहेका छन् पन्त । उनले अहिले चलाइरहेका वार टेण्डिङ र वरिस्ता तालिम १५ दिन देखि २ महिना अवधि सम्मका छन् । अवधि छोटो भएपनि सम्बन्धित क्षेत्रमा विज्ञ बनाउने यस्ता तालिमहरुको माग युवा पुस्ता बीच पछिल्ला बर्षहरुमा बढ्दै गएको छ ।
विदेशमा उच्च स्थान, नेपालमा रोजगारीको ग्यारेन्टी
वैदेशिक रोजगारीमा जाँदा कुनै अनुभव र सीप बिना गएको व्यक्तिको तुलनामा सीपयुक्त जनशक्तिले राम्रो र माथिल्लो स्थान प्राप्त गर्न सक्छ । आफ्नो काम र दायित्वलाई सजिलै पूरा गर्न सक्छ । यसकारण वैदेशिक रोजगारमा जानुपर्दा छोटो अवधिकै भएपनि तालिम लिएर विदेश जानुपर्ने सल्लाह दिन्छन् पन्त । साथै अहिले सीप हरेकको लागि अनिवार्य आवश्यकता बनेको छ । हातमा सीप भएको व्यक्ति वेरोजगार बस्नुपर्दैन ।
वरिस्ता र बार टेण्डिङ सम्बन्धी काम सिकेका सबै व्यक्ति विदेश नै जानुपर्छ भन्ने छैन । नेपालमा नै बसेर पनि यस्तो सीप सिकेका व्यक्ति आफैंमा स्वावलम्बनी र आत्ननिर्भर हुन सक्छन् । साथै यस्तो सीप सिकेर यहीँ काम गर्न चाहेको खण्डमा आफ्नो एकेडेमीबाट प्रशिक्षित युवाहरुलाई इलाइट वार टेण्डिङ एकेडेमीले रोजगार विभिन्न कम्पनीहरुमा जव प्लेसमेन्टको व्यवस्था समेत मिलाइदिने गर्छ ।
काममा लाज नमानौं
‘नेपालीहरु स्वदेशमा जुन काम गर्न तयार हुँदैनन्, विदेशमा त्यो काम सहजै स्वीकार्छन् । साथै बढी उक्त काम बढी मेहनतपूर्वक गर्छन् । यसो हुनुमा स्वदेशमा काम गर्दा लाज मान्ने प्रवृत्ति नै मुख्य कारक देखिन्छ । जुनसुकै काम पनि इज्जतिलो हुने गर्छ र हुनुपर्छ । कामलाई हेय दृष्टिले हेर्ने संस्कारबाट हामी मुक्त हुनुपर्छ । कामलाई सम्मान गर्ने र गलत प्रवृत्तिहरुबाट मुक्त हुने संस्कारको विकास गर्न सक्यौं भने मात्र हामीले सुसंस्कृत र समाज निर्माण गर्न सक्नेछौं भन्ने कुरा सरोकारवाला निकायहरुले पनि मनन गर्नुपर्छ’ पन्तको धारणा छ ।
प्रस्तुतीः कमल पन्थी
(पन्त इलाइट बार टेण्डिङ एकेडेमीका सञ्चालक हुन् ।)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij