
विशेष अदालतबाट भएका केही फैसलाहरूलाई लक्षित गरी सञ्चार माध्यमहरूमा प्रकाशित समाचारहरूप्रति विशेष अदालत बार एसोसिएसनले आपत्ति जनाएको छ ।
मुद्दाको मुख्य विषयवस्तुका बारेमा सत्य तथ्य जानकारी बिना वा जानकारी भएतापनि त्यसको उपेक्षा गरी केबल उत्तेजना र सनसनी पैदा गर्ने उद्देश्यले न्यायालय र यसका सरोकारवालाहरूप्रति गरिने अपरिपक्व टीका टिप्पणी युक्त समाचारले न्यायालयलाई स्वतन्त्र रूपमा न्याय सम्पादन गर्ने कार्यमा आघात पुर्याउने र दीर्घकालीन रूपमा न्यायपालिकाको स्वतन्त्रता र लोकतन्त्रलाई नै कमजोर बनाउने कार्य हुने बार एसोसिएसनको भनाइ छ ।
एसोसिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यले न्यायपालिका प्रतिको जन-आस्था घटाउनुका साथै कानुन व्यवसायी लगायत न्यायकर्मीहरूको न्याय सम्पादनको कार्यमा असर गर्ने , वास्तविक न्याय प्राप्तिको जन अपेक्षामा समेत गम्भीर असर पर्ने हुनाले विचाराधीन रहेका एवं अन्तिम किनारा भई नसकेका मुद्दाहरूका सम्बन्धमा गरिने सतही टीका टिप्पणीयुक्त समाचारले वास्तविक न्याय प्राप्तिमा अवरोध सिर्जना गर्ने हुनाले न्यायपालिका र कुनै मुद्दा विशेषको बारेमा टीका टिप्पणी, समाचारहरूको प्रकाशन र प्रसारण गर्दा तथ्यपरक एवं व्यावसायिक आचारसंहिताको परिधिमा रही न्यायालयको स्वतन्त्रता र गरिमा प्रति संवेदनशील रहन सम्बन्धित सबै सरोकारबालाहरुलाई यस बार एसोसिएसन अनुरोध गर्दछ।’

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij