दिलमान पाख्रिन, नेता, नेपाली काङ्ग्रेस, धादिङराम्रा एजेण्डालाई सबैले स्वीकार्नुपर्छ
जहाँसम्म स्वतन्त्र व्यक्ति निर्वाचित भएको स्थिति छ, यसबाट सुशासन, पारदर्शिता र न्याय स्थापनाको पक्षमा दलका प्रतिनिधिको तुलनामा केही बढी अपेक्षा गर्न सकिएला । यद्यपि स्वतन्त्र व्यक्ति निर्वाचित हुँदैमा जनताहरुले सोचेजसरी ठूलै उथलपुथल आउने अर्थमा भने अनुमान गर्न सकिँदैन । स्वतन्त्र व्यक्तिसँग विकासका केही महत्वपूर्ण एजेण्डाहरु भएपनि नीति, विधि, विचार, पद्धति र संगठन हुँदैन । नगर वा गाउँ सभा आयोजना गर्ने क्रममा पनि नगरप्रमुखका एजेण्डाहरुलाई नगर सभाबाट पारित गर्नुपर्ने हुन्छ । आफ्ना राम्रा एजेण्डाहरुलाई पारित गर्नको लागि पनि सदस्यहरुको बहुमत पुर्याउनुपर्ने हुन्छ । जुन दलका प्रतिनिधिलाई जस्तो सहज स्वतन्त्र व्यक्तिलाई नहुन सक्छ । यद्यपि हामी सबैको चाहना भनेको समाज सुशासन, समृद्धि र न्याय स्थापना गर्नु नै हो । यसकारण मुलुक र जनताको पक्षमा दीर्घकालिन हित गर्ने एजेण्डाहरुलाई जसले उठान गरेपनि सबैले साथ दिनुपर्छ ।
संस्थागत रुपमा अघी बढ्नको लागि दीर्घकालिन विकासका आधारहरु नहुने भएको कारण स्वतन्त्र रुपमा भएको विजयले दीर्घकालिन रुपमा मुलुकको भविष्यलाई निर्देशित गर्न सक्छ वा सक्दैन भन्ने कुरा हामी सबैको लागि चासोको विषय बनेको छ । जहाँसम्म स्वतन्त्र व्यक्तिको कुरा छ, एक व्यक्तिसँग संसदीय पद्धतिको ज्ञान प्रयाप्त नहुन सक्छ । यद्यपि हरेक राजनीतिक दल संसदीय पद्धतिबाट चलेका हुन्छन् । सिङ्गो दलका प्रतिनिधिहरु कुनै महत्वपूर्ण एजेण्डा बारे निर्णय लिनुपूर्व दलभित्र व्यापक रुपमा आन्तरिक छलफल गर्छन् । सोहीअनुसार निर्णय लिन सहज हुन्छ । यद्यपि स्वतन्त्र व्यक्तिले निर्णय लिँदा संस्थागत छलफलको प्रयाप्त अभ्यास नहुन सक्छ । यसकारण कुनै निर्णय गर्नुपर्दा सबै जिम्मेवारी स्वतन्त्र व्यक्ति आफैंले लिनुपर्ने हुन्छ । कतिपय अवस्थामा एकजना व्यक्तिले धेरै विचार मन्थन नगरी लिएको उचित नहुन पनि सक्छ ।
चुनाव जित्नको लागि ठूलो रकम खर्चिनुपर्ने स्थिति
अहिले राजनीतिक दलहरुमा समेत चुनाव लक्षित गतिविधिहरु सम्बन्धमा केही विकृतिहरु बढ्दै गएका छन् । पछिल्ला बर्षहरुमा चुनाव जित्नको लागि नै ठूलो परिमाणमा रकम खर्चिने अभ्यास समेत नेपाली राजनीतिमा निकै मौलाउँदै गएको छ । हामीले सुशासन, न्याय र पारदर्शिता कायम गरी समृद्धिको अभियानमा अघी बढ्ने चाहना राख्दा चुनावको लागि ठूलो खर्च गर्नुपर्ने स्थिति समेत हाम्रो लागि चुनौतीको ठूलो पर्खाल बनेको छ । अन्य समयमा जनताबाट टाढिएका र आफ्नो गाउँशहरको साधारण परिस्थिति समेत नबुझेका व्यक्ति समेत चुनाव नजिकिँदा जसरी पनि चुनाव जित्नैपर्ने मान्यता सहित ठूलो खर्च गर्न तयार हुने स्थितिले हामीलाई राम्रो फाइदा पुर्याउँदैन ।
प्रजातन्त्र प्राप्ति हुँदै संविधान सभा पश्चात् अ्घिल्लो चुनाव सम्मको तुलनामा यसपटकको स्थानीय तह चुनावमा बढी नै खर्च भएको स्थिति यथार्थ हो । अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा स्थानीय सरकारको काम, कर्तव्य र अधिकार बारे अधिकांश बेखवर नै थिए । स्थानीय सरकार सञ्चालन ऐन बारे खासै कसैले पनि बुझेका थिएनन् । अहिले सम्म आइपुग्दा स्थानीय सरकार बलियो रहेको सबैले बुझे । यसकारण स्थानीय तह निर्वाचनमा धेरैको चासो रह्यो । यसैकारण यसपटक स्थानीय तह निर्वाचनमा आकाङ्क्षीहरु पनि धेरै भए । साथै टिकट पाएको व्यक्ति आफू जसरी पनि जित्नुपर्छ भन्नेमा लागेको कारण निर्वाचन खर्च बढेर गएको हो । यद्यपि यस किसिमको खर्च गर्नुपर्ने परिस्थितिलाई बदल्न सकेनौं भने सुशासन, पारदर्शिता र समृद्धिमा लक्षित उपलब्धि हासिल गर्न सकिँदैन ।
यसपटकको स्थानीय तह निर्वाचनमा जे देखियो
अघिल्लो पटकको निर्वाचनमा धादिङमा पनि केही गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको थियो । यसपटक भने सर्वसम्मत हुन सक्ने स्थिति नै रहेन । एउटै दलबाट १५–१६ जना सम्म आकांक्षी देखिए । यद्यपि अबको अर्को चुनावमा भने अहिलेको खर्च अनुरुप उपलब्धि नहुने कुरा धेरैले बुझ्ने भएकोले यसरी स्थानीय निर्वाचनमा ठूलो होडबाजी हुने स्थिति शायद केही कम भएर जाने अनुमान गर्न सकिन्छ ।
यसपटकको निर्वाचनमा विभिन्न ठाउँहरुमा नेतृत्व सम्हालिरहेका व्यक्ति आफू संलग्न दलबाट टिकट पाउने स्थिति नरहने भएसँगै अर्को दलमा प्रवेश गरेर टिकट लिने स्थिति समेत सृजना भयो । यो पनि एक किसिमको विकृति नै हो । केही व्यक्तिहरु नीति र सिद्धान्तबाट नभई स्वार्थबाट केन्द्रित देखिए भने अर्को तिर सही व्यक्तिलाई पार्टीले स्थान दिन सकेन । यस किसिमका समस्या निराकरणमा सबै राजनीतिक दलको नेतृत्व बढी सचेत रहनुपर्ने स्थिति छ ।
नेपालको समृद्धि सपना साकार हुने आधारहरु
नेपालले पर्यटन, जलस्रोत, कृषि र उद्योग गरी ४ क्षेत्रलाई समृद्धिका आधारको रुपमा अघी सारेको छ । अन्य विकसित देशहरु पनि प्राकृतिक स्रोतसाधनको हिसाबले नेपाल जसरी यति धेरै सम्पन्न रहेको पाउन सक्दैनौं । यद्यपि नेपाल कमजोर हुँदै जानुमा हामीले आन्तरिक उत्पादकत्व वृद्धिमा ध्यान दिन नसक्नु नै मुख्य कारणको रुपमा रहेको छ । अहिले नेपाल विप्रेषणबाट प्राप्त रकमबाट चलिरहेको छ भन्नेमा कुनै शङ्का गर्नुपर्दैन । यद्यपि हामीले रेमिट्यान्सको रुपमा बाहिरबाट जति रकम भित्र्याएका छौं, त्यस मध्ये ठूलो हिस्सा त हाम्रा आवश्यकता परिपुर्तिको लागि नै बाहिर पठाइरहेका छौं । यो स्थिति हाम्रो लागि निकै दुखद छ ।
कुनै समय हामीले यहाँ उत्पादित कृषिजन्य सामानहरु हाम्रो आवश्यकता परिपुर्ति गरेर बाहिर पठाउँथ्यौं, अहिले भने सबै सामानहरु आयात गरिरहेका छौं । अहिले पनि नेपालले निर्वाहमुखी खेती प्रणालीलाई नै अवलम्बन गर्दै आएको छ । ७५ प्रतिशत उत्पादन निर्वाहमुखी नै रहँदै आएकोमा अहिलेका नयाँ पुस्ता त कृषिबाट पूरै टाढिएका छन् । यसले गर्दा हाम्रा जग्गाहरु बाँझो बनिरहेका छन् ।
आर्थिक विकासको अर्को आधार पर्यटनको विकासको लागि पनि हामीले प्रयाप्त काम गर्न सकेका छैनौं । हाम्रा पर्यटकीय पूर्वाधार समेत कमजोर अवस्थामा छन् । हामीले बार्षिक रुपमा १२–१५ लाख पर्यटक समेत नेपालमा ल्याउन सकेका छैनौं । जबकि हाम्रै छिमेकी चीनको ल्हासामा बार्षिक रुपमा १ करोड भन्दा बढी त आन्तरिक पर्यटककै आवागमन हुने गर्छ । अहिले हरेक मानिस व्यस्त छन् । नेपालमा आउने पर्यटकहरु प्रकृतिसँग रमाउनको लागि आउने हुन् । धेरै जोखिमपूर्ण गतिविधिको लागि आउने पर्यटकको सङ्ख्या नेपालमा अत्यन्तै कम छ ।
अन्त्यमा
नेपालका हरेक राजनीतिक दलहरुले आफ्ना नीति तथा कार्यक्रमहरु निकै उत्कृष्ट तय गरेका छन् । यद्यपि ती योजना कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा भने समस्या देखिने गरेको छ । नेपालमा थुप्रै अल्पकालिन एवं दीर्घकालिन योजना र रणनीतिहरु समेत तय गरिएका छन् । यद्यपि ती योजनाहरुको कार्यान्वयन पक्ष भने अत्यन्तै कमजोर छ । हरेक पार्टीले निर्वाचनको समयमा सार्वजनिक गर्ने घोषणापत्र एवं सरकारमा रहेको दलले सार्वजनिक गर्ने नीति तथा कार्यक्रमहरु उत्कृष्ट रहँदारहँदै पनि नेपालमा सुशासनको अभावको कारण ती कार्यक्रमको कार्यान्वयन पक्ष फितलो हुन पुगेको छ । जिम्मेवारीमा रहेको व्यक्तिले जिम्मेवारी पूरा नगर्दा अहिले समस्या सृजना भएको अर्थमा बुझ्न गाह्रो पर्दैन । हुनतः नेपाल क्षेत्रफल र जनसङ्ख्याको हिसाबले विश्वका साना देशहरु मध्ये एउटा देश हो । यद्यपि उत्कृष्ट नीतिहरु सहित दिगो विकास योजना र कार्यान्वयनमा अघी बढ्न सकेको खण्डमा नेपाललाई सुशासन र पारदर्शी बनाउँदै समृद्ध मुलुक बनाउन धेरै कठिनाई हुनेछैन । साथै नेपाललाई समृद्ध बनाउने अभिभारा समेत हाम्रै काँधमा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij