![]()
पाल्पा — लुम्बिनी प्रदेश सरकारले पाल्पालाई बिहीबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको छ । पाल्पाले प्रदेशमै पहिलो भएर नमुना काम गरेको लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
प्रदेशसभा सदस्य पुरनमान बज्राचार्यले प्रदेशका तर्फबाट प्रतिनिधित्व गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् । पाल्पाका सबै स्थानीय तहले बालबालिकाले खोप पाए/नपाएको सर्वेक्षण गरेर घोषणा गरिसकेकाले जिल्ला घोषणा गरेको उनले बताए । बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्न प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको थियो । सोहीअनुसार पाल्पा पूर्ण खोप सुनिश्चित भएको जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले जानकारी दिए ।
परिवार कल्याण महाशाखा स्वास्थ्य निर्देशनालयका प्रतिनिधि शिव पौडेल र वसन्त श्रेष्ठले जिल्लाले गरेको कामको अनुगमनपछि घोषणाका लागि अनुमति दिएको बताए ।
१० स्थानीय तहका ८१ वडाका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरेपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij