ऋषिकेश तिमल्सिना, अध्यक्ष, नेपाल कस्मेटिक व्यवसायी संघकाभ्रेपलाञ्चोक जिल्लामा जन्मिएका ऋषिकेश तिमल्सिना लामो समय देखि कस्मेटिक व्यवसायमा संलग्न रहँदै आएका छन् । झण्डै २ दशक कस्मेटिक व्यवसायमा नै बिताएका तिमल्सिनाले पछिल्लो समय नेपाल कस्मेटिक व्यवसायी संघको समेत नेतृत्व गर्दै आएका छन् । साथै स्वदेशमा नै सौन्दर्य प्रशाधन सामाग्रीहरु उत्पादनको मान्यता सहित उनी अगाडि बढिरहेका समेत छन् ।
लामो समय देखि कस्मेटिक व्यवसायमा संलग्न रहँदै आएका तिमिल्सिना यसैपटक चैत महिनामा सम्पन्न संघको अधिवेशन मार्फत अध्यक्षमा चुनिएका हुन् । पछिल्लो समय उनी कस्मेटिकजन्य सामानहरु नेपालमा नै उत्पादन गर्नुपर्छ भन्ने मान्यताले मधुर हर्बल इन्डष्ट्रिज समेत सञ्चालनमा ल्याएका छन् । यद्यपि नेपालमा आफ्ना उत्पादनहरु प्रति ग्राहकहरुको प्रतिक्रिया के रहन्छ ? सोही आधारमा आगामी कदम चाल्ने भन्दै एकैपटक ठूलो क्षमतामा भने उद्योगबाट वस्तुहरु उत्पादन गरेर बजारमा पठाएका छैनन् । आफूले उत्पादन गरेको एनएस प्रोमिना ब्राण्डको मेहन्दी पूर्णतया जैविक रहेको दाबी गर्छन् तिमिल्सिना । आगामी दिनमा उक्त उद्योगमा अन्य लगानीकर्ताहरुलाई समेत जोडेर करिब १० करोड रकम लगानीको एक ठूलो स्वदेशी कस्मेटिक उद्योगको रुपमा विकास गर्ने तिमिल्सिनाको योजना छ ।
अध्यक्ष तिमल्सिनाका अनुसार नेपालमा कस्मेटिक व्यवसायको दायरा अहिले निकै फराकिलो भइसकेको छ । देशका शहरी क्षेत्रमा मात्र नभई अहिले ग्रामीण क्षेत्रहरुमा समेत कस्मेटिक सामानहरुको प्रयोग बढ्दो क्रममा छ । हाल देशमा ८–१० हजार व्यक्तिहरु कस्मेटिक व्यवसायमा प्रत्यक्ष रुपमा संलग्न रहेको संघको अनुमान छ । यद्यपि यस क्षेत्रमा संलग्न व्यक्तिहरुको यकिन तथ्याङ्क यति नै छ भन्ने सम्बन्धमा अहिले सम्म तथ्याङ्क संकलन भने हुन सकेको छैन । त्यही कारण संघ आफैंले कस्मेटिक संघ अन्तरगत अलग्गै समिति नै गठन गरेर कस्मेटिक क्षेत्रको समग्र तथ्याङ्क सङ्कलनको प्रयत्न गर्दैछ ।
आयातित सामाग्रीहरुको बजार हिस्सा ठूला
अहिले सम्म नेपालमा प्रयोग हुने अधिकांश कस्मेटिकजन्य सामाग्रीहरु बाह्य बजारबाट नै नेपालमा भित्रिने गरेका छन् । नेपालमा पनि केही कस्मेटिकजन्य सामान उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा नआएका होइनन् । न्यूलुक र सोनाटा बाहेकका अन्य कम्पनीहरुले बजार हिस्सा एवं गुणस्तरमा अझै राम्रो छाप पार्न सकेका छैनन् ।
कस्मेटिक व्यवसायका समस्याहरु
कस्मेटिक व्यवसायमा अहिले पनि विभिन्न किसिमका समस्याहरु रहँदै आएका छन् । अहिलेको लागि सबैभन्दा ठूलो समस्या भनेको यस्ता सामानहरु कम भन्सार मूल्याङ्कनमा नेपालमा भित्रिनु नै रहेको छ ।
नेपालमा अहिले सम्म कस्मेटिक सामानहरुको गुणस्तर ठ्याक्कै यही छ भनेर पहिचान हुन सकेको छैन । कस्मेटिकजन्य सामानहरु उत्पादन गर्ने क्रममा स्वास्थ्यलाई प्रभाव पार्ने कुनै तत्वहरु संलग्न भए–नभएको जानकारी उपलब्ध हुन नसक्नुले सौन्दर्य प्रशाधन सामाग्रीको प्रयोगमा आशङ्का उत्पन्न हुने अवस्था कायम रहँदै आएको छ । यसलाई समाधान गर्न विज्ञ÷विशेषज्ञ सहितको प्रयोगशाला स्थापना गर्नुपर्ने आवश्यकता छ ।
दैनिक आवश्यकता बनेका छन् कस्मेटिक सामाग्री
‘अहिले कस्मेटिकजन्य सामानहरुको कारोबार एवं उपभोग बर्षेनी बढ्दो छ । कस्मेटिक अन्तरगतका थुप्रै सामानहरुमा हाम्रो दैनिक आवश्यकताका वस्तुहरु नै संलग्न हुने गर्छन् । यद्यपि नेपालमा अहिले पनि कस्मेटिकजन्य सामानहरुलाई राज्यले हेर्ने दृष्टिकोण पृथक छ । कस्मेटिक सामानहरु पनि उपभोग्य दैनिक आवश्यकताका उपभोग्य वस्तुहरु हुन्, अब यस्ता सामाग्रीलाई विलासिताका वस्तुहरुको सूचिमा राखेर भन्सार र अन्तःशुल्क बढाउनुहुँदैन भन्ने सम्बन्धमा राज्यको ध्यान जानुपर्ने आवश्यकता छ’ अध्यक्ष तिमल्सिनाको धारणा छ ।

संघमा दायरा
विगतमा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, हेटौंडा, चितवन लगायत क्षेत्रका करिब ५ सय सदस्यहरु समेटिएको कस्मेटिक संघमा आगामी दिनमा उक्त संघलाई थप चलायमान बनाउँदै सक्रिय संस्थाको रुपमा अघी बढाउनुपर्ने जिम्मेवारी अध्यक्ष तिमिल्सिनाको काँधमा आइपरेको छ । उक्त संस्थामा आफ्नै कार्यकालमा देशभरका व्यवसायीहरुको तथ्याङ्क संकलन गरी सम्भव रहेसम्म अधिक व्यवसायीहरुलाई संघमा आवद्ध गराउने र कस्मेटिक व्यवसायीहरुको अलग पहिचान स्थापना गर्ने पहिचान सहित तिमल्सिना नेतृत्वको टीमले काम गरिरहेको छ ।
कस्मेटिक व्यवसायमा लगानी र प्रतिष्पर्धा
अहिलेको अवस्थामा कस्मेटिक व्यवसाय सञ्चालनको लागि न्यूनतम १५–२० लाख रुपियाँ त शूरुमै लगानी आवश्यक पर्छ । सबै सामानको मूल्यमा भएको वृद्धिको असरले गर्दा सानातिनो लगानीबाट कस्मेटिक व्यवसाय सञ्चालन गर्न सकिँदैन । यसको लागि ठूलै लगानी आवश्यक रहने गर्छ । साथै अहिले कस्मेटिक व्यवसायमा अस्वस्थ प्रतिष्पर्धा समेत उच्च बन्दै गएको छ । यस व्यवसायलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउनको लागि संघले काम गरिरहेको छ ।
स्वदेशमै उत्पादनको आवश्यकता
बाह्य बजारबाट नेपालमा ठूलो परिमाणबाट कस्मेटिकजन्य सामानहरु आयात हुँदै गरेकोमा आगामी दिनमा कस्मेटिकजन्य सामानहरु उत्पादन गर्नको लागि स्वदेशम नै उचित वातावरण निर्माण गर्नुपर्ने र यसको लागि आवश्यक पूर्वाधार निर्माण एवं नीतिगत सुधारको आवश्यकता छ । यसो हुन सकेको खण्डमा कस्मेटिक उद्योग मार्फत स्वदेशमा नै ठूलो परिमाणमा रोजगारी सृजना हुने, उपलब्ध स्वदेशी कच्चा पदार्थको उपयोग हुने र बार्षिक रुपमा त्यस्ता सामान आयातको लागि बाहिरिने अर्बौं रकम नेपालमा नै रोक्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि समेत कस्मेटिक क्षेत्रले ठूलो सहयोग पु¥याउन सक्छ ।

संघका आगामी योजनाहरु
नेपालमा कस्मेटिकजन्य सामानहरु उत्पादनको लागि आवश्यक पर्ने औषधीय गुणयुक्त वनस्पति एवं जडिबुटीहरु नेपालमा प्रशस्तै मात्रामा उपलब्ध छन् । यद्यपि ती वस्तुहरुको सही पहिचान र खपत नेपालमा हुन सकेको छैन । यसकारण कतिपय वस्तुहरु यत्तिकै नष्ट भइरहेका छन् भने कतिपय वस्तुहरु बाह्य बजारमा न्यून शुल्कमा निर्यात भई प्रशोधन पश्चात् उच्च मूल्यमा भित्र्याउनुपर्ने स्थिति समेत छ । यसलाई न्यूनीकरण गर्नको लागि स्तरीय प्रयोगशाला सहित स्वदेशी सौन्दर्य प्रशाधन उद्योगको स्थापना एवं दक्ष जनशक्ति नेपाली बजारमा आवश्यक छ । उदाहरणको लागि अमला, ऋठो, मेवा, सुन्तला, गाँजा लगायतका विभिन्न वस्तुहरुलाई सौन्दर्य प्रशाधन सामाग्री उत्पादनको लागि प्रयोगमा ल्याउन सकिने सम्भावना उच्च देखिन्छ ।
उच्चस्तरीय प्याकेजिङ आवश्यक
नेपालमा उत्पादित सामानको लागि अहिले सम्म फिनिसिङ अर्थात प्याकेजिङमा स्तरीयता तुलनात्मक रुपमा कमजोर देखिन्छ । यसैकारण पनि नेपालीहरु स्वदेशी उत्पादन प्रति आकर्षित हुन नसकेको अनुमान गर्न सकिन्छ । नेपालमा उत्पादन हुने कस्मेटिक सामानहरु पनि अन्तर्राष्ट्रिय गुणस्तरमै उत्पादन गर्ने सम्बन्धमा केही पहल भने अवश्य भएका छन् । तिमल्सिना आफैंले मेथी, अमला लगायतका सामानहरु भारतबाट र मेहन्दी राजस्थानबाट नेपालमा भित्र्याई ‘एनएस प्रोमिना’ ब्राण्डको मेहन्दी उत्पादन शुरु गरेका छन् ।
आगामी दिनमा राज्यबाट उचित सहजीकरण हुन सकेको खण्डमा स्वदेशी बजार सम्भावना र हाम्रो आवश्यकताको आधारमा कृषकहरुसँगको सहकार्यमा ठूलो परिमाणमा सौन्दर्य प्रशाधन सामाग्री लक्षित भई ठूलो परिमाणमा फलफूल तथा जडिबुटी खेती गर्ने आवश्यकता समेत अध्यक्ष तिमल्सिनाले महसुस गरेका छन् । अहिले विभिन्न औषधी एवं सौन्दर्य प्रशाधनको लागि आवश्यक पर्ने विशेष किसिमको माटो समेत नेपालमा भारतबाट नै भित्रिँदै आएको बताउँदै अध्यक्ष तिमल्सिना अबका दिनमा नेपालमा पनि पृथक गुणका माटो, एवं अन्य कच्चा पदार्थको उपलब्धता एवं उत्पादन सम्भावना बारे विशेष खोजी एवं अनुसन्धान गर्नुपर्ने जरुरी रहेको बताउँछन् ।
यसो हुन सकेको खण्डमा नेपालले राम्रो लाभ लिन सक्ने तिमल्सिनाको बुझाई छ । यसको लागि राज्य पक्षले अनुसन्धान एवं विकास कार्यको लागि आवश्यक लगानी गर्न समेत तयार हुनुपर्छ । एकजना व्यक्तिको पहलले तत्काल परिणाम हासिल गर्न नसकिने भएकोले निश्चित परिणाम प्राप्तिको लागि सबै सरोकारवाला पक्षसँग आपसमा सहकार्य आवश्यक रहने तिमल्सिनाको धारणा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij