२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

पोखराको ल्यान्डफिल साइट सार्न पूर्वाधार निर्माण गरिने

पोखराको ल्यान्डफिल साइट सार्न पूर्वाधार निर्माण गरिने

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलदेखि दुई किलोमिटर दूरीमा रहेको पोखरा–१४ बाच्छेबडुवास्थित ल्याण्डफिल साइडको दृश्य । तस्बिरः राधिका कँडेल÷रासस

पोखरा । पोखरा महानगरपालिकाले वडा नं. ३३ भरतपोखरीमा ल्यान्डफिल स्थानान्तरण गर्न आवश्यक पूर्वाधार बनाइने भएको छ ।स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिको बिहीबार बसेको पहिलो कार्यपालिका बैठकले भरतपोखरीमा ल्यान्डफिल साइट सार्न आगामी बजेटमा आवश्यक बजेटको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

पोखरा ३३, भरतपोखरीमा महानगरको ल्यान्डफिल साइट सार्ने निर्णय भने यसअघिकै कार्यपालिका बैठकले गरेको थियो । निवर्तमान मेयर मानबहादुर जिसीको नेतृत्वमा १६ चैतमा बसेको कार्यपालिका बैठकले पोखरा ३३, भरतपोखरीको साविक ६ र ७ वडामा नम्बर वडामा नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो । तर यो निर्णय कार्यान्वयनमा जान बाँकी थियो ।

बिहीबार कार्यपालिका बैठकले आवश्यक बजेट र पूर्वाधार निर्माण गर्ने निर्णय गरेको छ । मेयर धनराज आचार्यका प्रेस संयोजक गोविन्द सुवेदी भन्छन्, ‘अब भरतपोखरीमै ल्यान्डफिल साइट बनाउने गरी नै आधिकारिक निर्णय भएको हो ।’
हाल महानगरले पोखरा १४ बच्छीबडूवामा फोहोर विर्सजन गर्दै आइरहेको छ । महानगरबाट दैनिक करिब २ सय टन फोहोर उत्सर्जन हुँदै आइरहेको महानगर स्वास्थ्य तथा सरसफाइ महाशाखाको तथ्यांक छ ।

१५ वर्षका लागि भएको सम्झौता सकिइसकेपछि पनि विकल्प नखोजिएको भन्दै बच्छीबडूवा क्षेत्रका बासिन्दाले पटकपटक आन्दोलन गर्दै आइरहेका छन् । गत चैतमा पनि महानगरले आफूहरुसँग गरेको सम्झौता पूरा नगरेको र म्याद गुज्रिएर पनि फोहोर फालिरहेको भन्दै स्थानीयबासिन्दाले फोहोर बोक्ने गाडीलाई अवरोध गरेका थिए । महानगरपालिकाले उनीहरुको माग सम्बोधन गर्ने सहमति गरेपछि मात्रै गाडी जान दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij