केशव श्रेष्ठ, अध्यक्ष, महालक्ष्मी चेम्बर अफ कमर्स
महालक्ष्मी क्षेत्रको व्यावसायिक वातावरण
महालक्ष्मी चेम्बर अफ कमर्स ललितपुर चेम्बर अफ कमर्सको नगर स्तरीय वाणिज्य संघ हो । यस चेम्बरमा लुभु क्षेत्रमा रहेका व्यवसायीहरु समेटिएका छन् । हाल लुभुमा सबैभन्दा ठूलो क्षेत्र टेक्सटाइल व्यवसायले ओगटेको छ । लुभुमा करिब १ सय व्यवसायी टेक्सटाइल व्यवसायमा नै संलग्न छन् । ती व्यवसायमार्फत करिब १२ सय व्यक्तिहरुले टेक्सटाइल मार्फत रोजगारी पाएका छन् । लुभु क्षेत्रमा विगतमा ह्याण्डमेड वुलन सबैभन्दा बढी प्रचलनमा थियो । सन् १९९८ पछि विस्तारै हालको महालक्ष्मी नगरपालिकाको लुभुमा विगतको व्यावसायिक परिपाटीमा केही परिमार्जन भई र आधुनिक मेसिनहरु भित्र्याइयो । जसबाट कम जनशक्तिबाट पनि तुलनात्मक रुपमा बढी उत्पादकत्व (लाभ) लिन सकिने स्थिति सृजना भयो । बजारको आवश्यकता बढ्दै जाँदा र जनशक्तिको अभाव हुँदै जाँदा हाते उत्पादनले बजार माग धान्न नसक्ने स्थिति देखिएको कारण आधुनिक प्लान्टहरु भित्र्याइएको हो । अहिले लुभुमा सञ्चालित टेक्सटाइल उद्योगले प्रतिउद्योग बढी ३० ओटा सम्म प्लान्ट राखेर व्यवसाय गर्दै आएका छौं ।
टेक्सटाइल व्यवसायका समस्या
म आफैं पनि टेक्सटाइल व्यवसायमा विगत लामो समय देखि संलग्न रहने क्रममा विभिन्न समस्याहरुको सामना गर्दै आएको छु । सबै व्यवसायीहरुमा समस्या लगभग एकै किसिमका छन् । हामीले यस व्यवसायमा नयाँ पुस्ताका व्यक्तिहरुलाई जुन रुपमा संलग्न हुने वातावरण सृजना गर्नुपर्ने थियो, त्यो गर्न सकेका छैनौं । अहिले पनि यस व्यवसायमा आवश्यकता बमोजिम काम गर्ने मानिसहरुको अभाव छ । साथै हामीले यस व्यवसायलाई जुन रुपमा आधुनिक प्रविधिहरु राख्ने चाहना राखेका छौं, त्यो गर्न सकेका छैनौं । हामीले प्रयाप्त जग्गा अभावको कारण चाहेर पनि हाम्रा उद्योगको क्षमता विकास गर्न सम्भव छैन । विश्वबजारमा राम्रो माग रहेको र उत्पादन सम्भावना पनि रहेको टेक्सटाइलको उत्पादन वृद्धि गर्ने चाहना व्यवसायीहरुको भएर पनि हामीले हाम्रो उत्पादनलाई बढाउन नसक्नु दुखद विषय बनेको छ । अहिले हामी टेक्सटाइल व्यवसायीले व्यवसाय आफ्नै घरमा सञ्चालन गर्नुपरेको छ । आफ्नै घरमा उद्योग सञ्चालन गर्दा त्यसले वरपरका छिमेकीलाई आवाजले असर गरेको भनेर गुनासो समेत आउने गर्छ । यद्यपि हामीले चाहेर पनि त्यस किसिमको समस्यालाई न्यूनीकरण गर्न सक्ने अवस्था छैन ।
कच्चा पदार्थ र उत्पादन
टेक्सटाइल उद्योगले काँचो कपडा उत्पादन गर्छन् । ती कपडाको माग अन्तराष्ट्रिय बजारमा राम्रो माग छ । साथै टेक्सटाइल उद्योगले उत्पादन गर्ने कपडा नेपालकै गार्मेन्ट उद्योगहरुको लागि पनि कच्चा पदार्थको रुपमा प्रयोग हुने गर्छ । टेक्सटाइल उद्योगको लागि मुख्य कच्चा पदार्थ कटन र पोलिस्टर हुन् । जुन नेपालको स्वदेशी बजार र भारतीय बजारबाट जुटाउने गरिन्छ ।
प्रयाप्त जग्गाको अभाव
टेक्सटाइल उद्योगको लागि अहिले प्रयाप्त जग्गा नै सबैभन्दा ठूलो समस्या बनेको छ । राज्यले जग्गा उपलब्ध गराउने कार्यमा सहजीकरण गरिदिनुपर्छ । नेपालमा उत्पादन सम्भव रहेको र विदेश निर्यात गरेर समेत राम्रो आर्थिक लाभ लिन सकिने वस्तुको उत्पादन वृद्धि गराई विदेश निर्यात गरेर राम्रो आर्थिक लाभ हासिल गर्न सकिन्छ ।
औद्योगिक ग्रामको माग
हामी व्यवसायीहरुले राज्य पक्षसँग टेक्सटाइल लगायतका उद्योगहरु समेटिने गरी औद्योगिक ग्राम स्थापनाको माग गर्दै आएका छौं । सोही योजना सहित ९ जना जननिर्वाचित प्रतिनिधिहरुलाई उपस्थित गराएर हामीले कार्यक्रम आयोजना गरी औद्योगिक ग्राम स्थापनाबारे ध्यानाकर्षण पनि गरायौं । प्रपोजल पनि तयार गर्यौं । मन्त्रालयमा पनि पेश गर्यौं । मन्त्रालयका प्रतिनिधिहरुसँग छलफल गरी जग्गाको तयारी सम्ममा हामी पुग्यौं । अहिलेको महालक्ष्मी गुठीमा रहेको ८० रोपनी जग्गालाई नै औद्योगिक ग्रामको रुपमा विकास गर्न सकिने हाम्रो निष्कर्ष छ । यसो गर्न नसकिएको खण्डमा लामाटार क्षेत्रको जङ्गलमध्ये करिब ५० रोपनी जग्गा हामीलाई उपलब्ध गराएपनि हुन्छ । यी दुई विकल्प सहित हामीले प्रस्ताव राख्यौं । दोस्रो विकल्पको लागि वनजङ्गल प्राप्ति ऐन अनुसार कार्यविधि निर्माण गर्नुपर्ने अवस्था बारे सचिवज्यूले हामीलाई बताउनुभयो । पछि उक्त प्रस्ताव यत्तिकै रोकिएको छ । कुनै प्रगति हुन सकेको छैन । लामो समय पछि सचिवज्यूलाई यस विषयमा सम्झाउँदा ऊहाँले व्यवसायीहरुलाई नै ४०–५० रोपनी जग्गा किनेर काम अगाडि बढाउन भन्नुभयो ।

व्यवसायी आफैंले जग्गा किनेर औद्योगिक क्षेत्र स्थापना गर्ने कार्य अहिलेको अवस्थामा सम्भव छैन । अहिले एउटा उद्योग खोल्नको लागि नै करिब ५ रोपनी जग्गा आवश्यक पर्छ । प्रति आना न्यूनतम २५–३० लाख भन्दा मूल्य पुगेको जग्गा ४–६ आना किनेर हामीलाई पुग्दैन । ५ रोपनी जग्गा किन्नको लागि नै १५–२० करोड रकम जग्गाको लागि नै लगानी गरेर हामी उद्योग खोल्न सक्ने अवस्थामा छैनौं । यस्तो अवस्थामा राज्यले नै सहजीकरण नगर्ने हो भने हामी निजी क्षेत्रको मात्र पहलले कुनै सार्थकता प्राप्त गर्न सक्दैन । हामीले यही विषयलाई लिएर मन्त्री पम्फा भुसाललाई समेत भेटेका थियौँ ।
टेक्सटाइल उद्योगको क्षमता
अहिले लुभु क्षेत्रमा रहेको एउटा उद्योगबाट दैनिक सरदर ४० हजार मिटर कपडा तयार हुने गर्छ । जुन १० घण्टा उद्योग सञ्चालनको क्रममा उत्पादन हुने परिमाण हो । अहिले चाहेर पनि उद्योग २४ घण्टा चलाउन सक्ने स्थिति छैन ।
युवालाई लक्षित गरी तालिम सञ्चालनको आवश्यकता
अहिले टेक्सटाइल उद्योगको लागि जनशक्ति पनि ठूलो समस्या बनेको छ । यस्तो अवस्थामा नगरपालिकाले नै जनशक्तिको क्षमता विकासको लागि आवश्यकता बमोजिम विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्नु जरुरी छ ।
व्यवसायका अन्य समस्याहरु
यसको अलावा हामी टेक्सटाइल उद्योगीको लागि डाइङ, प्रिन्टिङ र साइजिङ हाम्रो व्यवसायलाई पूर्ण बनाउनको लागि ठूला समस्या हुन् । यी सबै पूर्वाधारहरु एउटै उद्योग भित्र रहने व्यवस्था गर्न सकेको खण्डमा हामीले राम्रो लाभ लिन सक्छौं । अहिले विश्वबजारमा अत्याधुनिक प्रविधिको प्रयोगबाट प्रतिघण्टा १ सय मिटर सम्म कपडा उत्पादन गर्न सकिने प्रविधि विकास भएको छ । नेपालमा भने अझै पनि उत्पादन परिमाण तुलनात्मक रुपमा निकै कम छ । उद्योगले अत्याधुनिक विकास सहित काम सञ्चालनको लागि औद्योगिक ग्राम प्रमुख सर्त बनेको छ ।
अन्त्यमा
नेपालमा टेक्सटाइलमा एकातिर नयाँ प्रविधि भित्र्याउनु जरुरी छ । अर्कोतिर उक्त प्रविधिमा काम गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता पनि छ । नेपालीहरुलााई नयाँ प्रविधिको ज्ञान नभएको अवस्थामा क्षमतावान् जनशक्ति भारत वा चीनबाट नेपालमा ल्याएर पनि काम सिकाउनुपर्ने आवश्यकता रहन्छ । यसको लागि राज्यको सहयोग बिना उद्योगी आफैंले मात्र केही गर्न सकिँदैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij