
विगत झण्डै अढाइ बर्ष पहिले देखि शुरु भएको कोरोना महामारीसँगै पछिल्लाे समय रुस र युक्रेन बीचको युद्धको कारण मुलुकको लागि अत्यावश्यक रहने पेट्रोलियम पदार्थ, खाने तेल लगायतका वस्तुहरुमा अत्याधिक मूल्य वृद्धि हुँदै आएको छ । नेपालले आयात हुने वस्तुहरु मध्ये सबैभन्दा बढी पेट्रोलियम पदार्थकै आयातको लागि खर्चने गरेको छ । यसबाट नेपालमा विदेशी मुद्रा (अमेरिकी डलर)को सञ्चिती अत्याधिक घटेको छ । विश्वकै प्रतिकूल अर्थतन्त्रसँगै नेपालको अनियन्त्रित मूल्यवृद्धि एवं घट्दो डलर सञ्चिती लगायतका कारण कतै मुलुक कतै चरम आर्थिक सङ्कटमा त पर्ने होइन भन्ने आशङ्का यतिबेला सबै वर्गसमुदायमा उब्जिइरहेको छ ।
यतिबेला आगामी वर्ष (२०७९–८०)को बजेट निर्माणको लागि गृहकार्य भैरहेको छ । यसकारण वर्तमान सन्दर्भमा आगामी बर्षको लागि समग्रमा बजेट कस्तो आउला भन्ने विषय पनि सबैको लागि चासोको विषय बनेको छ । दिनदिनै तीव्र रुपमा बढ्दै गएको महँगी एवं विविध कारणले रोजगारीमा भएको कटौती लगायतका कारण जनताको आर्थिक पक्षमा समेत निकै नै प्रभाव परेको छ । समग्रमा अर्थतन्त्र तुलनात्मक रुपमा निकै कमजोर रहेको वर्तमान सन्दर्भमा बजेट ल्याउने क्रममा राज्य पक्षले शिक्षा, स्वास्थ्य, यातायात लगायतका जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुहरुलाई त मुख्य प्राथमिकतामा राख्नैपर्छ । बढ्दो महँगीले गर्दा निजी क्षेत्रबाट सञ्चालित विद्यालय, क्याम्पस, अस्पताल लगायतबाट प्रवाह गरिने सेवा बापत नियमित रुपमा ठूलो खर्च गर्न मुस्किल हुँदै जान थालेको छ ।
भर्खरै सम्पन्न हुँदै गरेको निर्वाचन बाट वनेको स्थानीय सरकारले आ–आफ्नो स्थानीय तहमा शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार गरी निजी क्षेत्रसँग प्रतिष्पर्धी बनाउँदै लैजान सक्ने गरी उपयुक्त अवसर खोजी गर्नुपर्छ । यसका लागि आगामी बर्षको बजेटले कुन पक्षलाई कसरी मम्बोधन गर्नुपर्ने हो, आवश्यकता र औचितााााा पनि यी कुराहरुलाई प्राथमिकतामा राख्ने गरी गहिरिएर सम्बोधन गरिदिनुपर्छ । त्यस्तै सार्वजनिक यातायातको सेवा अनि गुणस्तर र जवाफदेहीतामा पनि बजेटले ध्यान पु¥याउनुपर्छ । अहिलेको जस्तो सडकले धान्नै नसक्ने गरी व्यक्तिपिच्छे गाडी राख्नुपर्ने स्थिति आउन नदिनको लागि हामीले निश्चित दिशा अवलम्बन गर्नुपर्ने हुन्छ ।
अर्को महत्त्वपूर्ण विषय भनेको हामी अहिले पनि नेपाललाई बाहिर कृषिप्रधान देश नै भनिरहेका छौं । तर हामीले कृषि क्षेत्रबाट आत्मनिर्भर हुने तर्फ नलागि आयातित खाद्य एवं उपभोग्य सामाग्रीको प्रयोगमा रमाइरहेका छौं । अब भाषणमा मात्र नभएर वास्तविक रुपमा हामी कृषिमा आत्मनिर्भर हुनुछ । यसको लागि कृषि क्षेत्र प्रति युवाहरुको आकर्षण बढ्ने वातावरण सृजना गर्नुपर्नेछ । युवालाई विदेश पलायन (निर्यात) तर्फ नभई उत्पादनमा जोड्नुपर्नेछ । उपलब्ध सीप, पुँजी, प्रविधि र जनशक्तिलाई यहीँ नै रोजगारीको वातावरण सृजना गर्नुपर्नेछ । उत्पादित वस्तुको सहज बजारीकरणका तौरतरिकाहरु खोजी गर्नुपर्नेछ । जसबाट दीर्घकालिन रुपमा हामीले यहाँ उत्पादन सम्भव रहने वस्तुहरुको आयातको लागि ठूलो परिमाणमा स्वदेशी पुंजी विदेश पलायन गर्नुपर्दैन । यहीँ रोजगारीका नयाँ अवसरहरु सृजना गर्न सकिन्छ । हामीले अब सम्भव रहेसम्म स्वास्थ्यवद्धक विषादी रहित खाद्य वस्तुहरुको उत्पादनमा ध्यान दिनुपर्ने जरुरी समेत छ । आगामी बजेटले यस्ता विषयवस्तुहरुलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ ।
जलविद्युतकाे उपयाेगलाइ प्रवर्द्धन गराै
जलश्रोतको धनी देश नेपालमा बिजुलीमा हामी आत्मनिर्भर हुँदैछौं भनिएको पनि धेरै समय भैसक्यो । बिजुलीमा आत्मनिर्भरताको नजिक पुगेको र जलशक्तिको प्रचूर सम्भावना रहेको नेपालमा विश्वबजारबाट उपलब्ध जलविद्युत उपयोग नगरी ठूलो घाटामा पेट्रोलियम पदार्थको आपूर्ति गरिरहनु पर्ने स्थिति पनि हाम्रो चिन्ताको विषय बनेको छ । हाम्रो पुँजी बाहिरिने प्रमुख माध्यम बनेको पेट्रोलियम पदार्थ आयातको विकल्प सम्बन्धमा पनि हामीले ढिलाई गर्नुहुँदैन । तसर्थ छिटो भन्दा छिटो विद्युत उत्पादन बढाई पेट्रोलियम पदार्थ आपूर्तिको नाममा बढ्दै गएको स्वदेशी पुँजीलाई यहीँ रोक्नको लागि हामीले ढिलाई गर्नुहुँदैन । यसको लागि प्रयाप्त विद्युत उत्पादन गरी विद्युतीय सवारी साधनको उपयोग र आधुनिक विद्युतीय चुल्होको सहज र सुपथ उपलब्धता हुनेगरी राज्य पक्षबाट आवश्यक प्रबन्ध मिलाउनु जरुरी रहन्छ । यसको लागि राज्यले चार्जिङ स्टेसन लगायतका पूर्वाधार निर्माणमा केन्द्रित हुनु जरुरी रहन्छ । हामीले आयातित ग्यास भन्दा स्वदेशमै उत्पादित विजुलीलाई लक्षित गर्नुपर्छ । सबै जनतालाई कम्तीमा सरकारको उपस्थिति भएको अनुभुति हुने गरि आवश्यक छुट एवं सहुलियत जस्ता प्रोत्साहनमूलक प्याकेज दिएर अत्यधिक घाटा भनिएको एलपि ग्यासको आयात न्यूनीकरण गहिरो छलफल चलाउनु पर्छ ।
अन्त्यमा, स्थानीय तहलाई थप जवाफदेही अनि जिम्मेवार बनाउँदै, प्रत्येक स्थानीय तह र सदरमुकाम जोड्ने सडकहरु स्तरउन्नती गर्ने , भौगोलिक स्थिति, बाह्य परिस्थिति र संभावना अनि आवश्यकताको पहिचान गर्दै ठाउँ–ठाउँमा औद्योगिक क्षेत्र स्थापना गरी लगानीकर्ताहरुलाई लगानीका नयाँ क्षेत्रमा आकर्षित हुने गरी लगानीमैत्री वातावरण निर्माणमा आगामी बजेट केन्द्रित हुनुपर्छ । यसको अलावा स्थानीय विशेषता झल्किने कृषि एवं सीपमा आधारित वस्तुहरुको उत्पादन, उत्पादकत्व वृद्धि, स्वरोजगारमूलक व्यवसाय स्थापनाको पहल एवं शिप र कलाकाे सम्मान हुने स्थितिलाई पनि आगामी बजेटले विशेष सम्बोधन गर्नुपर्ने जरुरी छ ।
(धादिङका चन्द्र थापा काठमाडाैंमा व्यवसाय गर्दै आएका छन्)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij