विकास लामा, सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका अध्यक्ष पदका उम्मेदवार
सिङ्गो नेपाललाई कसरी आर्थिक रुपमा सबल र समृद्ध बनाउन सकिन्छ भन्नेमा दीर्घकालिन योजना बुनेका विकास लामाले यसपटक सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा विकासका महत्वपूर्ण योजनाहरु सहित स्थानीय तह निर्वाचनमा आफूलाई नेपाली काङ्ग्रेसबाट अध्यक्ष पदको लागि अघी सारेका छन् ।
इन्द्रावती गाउँपालि धार्मिक पर्यटन, जलविद्युत एवं प्राकृतिक स्रोतको हिसाबले सम्पन्न पालिका रहेको र ती विभिन्न स्रोतको उपयोग गरेर स्थानीयहरुलाई आर्थिक उपार्जनको राम्रो आधार बनाउन सकिने लामाको विश्वास छ ।
हाल करिब २५ हजार मतदाता रहेको इन्द्रावती गाउँपालिकाको विकासको लागि आफूहरुले स्थानीय घोषणापत्र नै जारी गरेको बताउँदै उल्लेखित कार्यक्रमहरु असम्भव नरहेको समेत लामा बताउँछन् । सुशासन र न्यायको सुनिश्चितता सहित थुप्रै महत्वपूर्ण हाइड्रोपावर आयोजना, लिफ्ट सिफ्टिङ मार्फत खानेपानीको सहजीकरण, धान लगायत कृषि वस्तुको उत्पादकत्व वृद्धि लगायतका विभिन्न कार्यक्रमहरु लामाले आफ्ना प्राथमिकतामा राखेर यसपटक इन्द्रावती गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
गाउँपालिका क्षेत्रमा सम्भव रहेसम्म प्रत्येक व्यक्तिले सीप बमोजिमका उद्यमशिल गतिविधिहरु सञ्चालन गर्न सक्ने वातावरण सृजना गर्न साना तथा घरेलु उद्योगहरु स्थापना कार्यलाई पनि आफ्नो महत्वपूर्ण कार्यक्रममा समेटिने लामा बताउँछन् ।
अहिले नेपालमा बढ्दै गएको शैक्षिक बेरोजगारी, घट्दो उत्पादकत्व एवं आफ्नै देशमा स्रोत भएर पनि रोजगारीको लागि बाह्य मुलुकमा निर्भर हुनुपर्ने स्थितिले नेपाललाई अझ कमजोर बनाउँदै लैजाने मान्यता राख्ने विकासप्रेमी नेता हुन् सिन्धुपाल्चोकका विकास लामा । यी समस्यालाई समाधानको लागि अब स्थानीय निकायहरु नै थप जिम्मेवार बन्नुपर्ने आवश्यकता लामाले महसुस गरेका छन् ।
को हुन् विकास लामा ?
सिन्धुपाल्चोक जिल्लाको ग्रामीण भू–भागमा मध्यम वर्गीय परिवारमा जन्मिएका व्यक्ति हुन् विकास लामा । विद्यालय तहको अन्तिम परिक्षा (एसएलसी) वि.सं २०३३ मा पोखराबाट पूरा गरेका लामा उच्च शिक्षाको लागि पिएन क्याम्पसमा भर्ना भए । त्यहाँ पढ्दा अखिल (पाँचौ)बाट उनले राजनीतिक यात्रा शुरु गरे । पछि आफ्नो राजनीतिक धार परिवर्तन गरेर उनी नेपाली काङ्ग्रेसमा संलग्न हुनपुगेका हुन् ।
आफ्नो गाउँमा नजिक विद्यालय नभएकोले अध्ययन गर्नको लागि नै दैनिक ५ घण्टा खर्चिनुपर्ने स्थिति अनुभव गरेका लामाले आफ्नो अध्ययन र अनुभव बढ्दै जाँदा आफ्नो जन्मभूमि र ग्रामीण क्षेत्रको आर्थिक स्थिति कसरी मजबुत बनाउन सकिन्छ भन्नेमा पनि निकै गम्भीर बन्दै गए । अहिले लामाले आफ्नो स्थानीय तह र जिल्लाको लागि मात्र नभई सिङ्गो मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने सम्बन्धमा विभिन्न योजनाहरु तयार पारेका छन् ।
पोखराबाट नेपाली काङ्ग्रेसमा विभिन्न भूमिका हुँदै अघि बढिरहेकै समयमा उनी वि.सं २०३७ मा काठमाडौं प्रवेश गरेका हुन् । त्यसपछि उनी एलएलएम तहको अध्ययन गरे । वि.सं २०४२ मा नेपालमा आन्दोलन शुरु भएको कारण उनले एलएलएम तहको अध्ययन पूरा गर्न भने सकेनन् । तैपनि उनी आफ्नो व्यक्तित्वमा स्वअध्ययन, तालिम गोष्ठी र नेतृत्वदायी क्षमता मार्फत निरन्तर निखार गर्दै लगे । त्यसबेला देखि शुरु भएको लामाको राजनीतिक अहिले सम्म निरन्तर अघि बढिरहेको छ ।
नेविसंघका विभिन्न भूमिका (महासमिति सदस्य, क्षेत्रीय सभापति, जिल्ला सचिव हुँदै) तेह्रौं अधिवेसनबाट सिन्धुपाल्चोक जिल्ला सभापति लगायत विभिन्न भूमिका निभाउन उनी सफल भए । सामाजिक गतिविधिहरुमा पनि लामाले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
लामाको व्यावसायिक संलग्नता
विकास लामा व्यावसायिक रुपमा लामा विभिन्न जलविद्युत आयोजनाहरुमा संलग्न रहँदै आएका छन् । उनी नेशनल हाइड्रोपावर लिमिटेडका प्रवद्र्धक हुन् । आफू उक्त आयोजनाको सञ्चालक रहेको समयमा लामाले रुग्ण अवस्थामा पुगेको उक्त आयोजनालाई पुनः सञ्चालनमा ल्याई कम्पनीलाई नाफामा जाने स्थिति सृजना गर्नमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।
आर्थिक उपार्जनको लागि खानी उत्खनन् सम्बन्धमा लामाको धारणा
लामाले नेपालको लागि राम्रो सम्भावना भएको क्षेत्रको रुपमा प्राकृतिक खानी समेत भएको र यसको उत्खननको लागि एउटा पालिकाबाट मात्र नभई केन्द्रीय राज्यले नै उचित नीति लिनुपर्ने समेत बताउँदै आएका छन् ।
खानी सम्बन्धमा आफ्नो अनुभव बताउँदै लामा अहिले सम्म खानीजन्य वस्तुको परिमाण कहाँ कति छ भन्ने सम्बन्धमा अहिले सम्म कुनै अध्ययन हुन नसकेको बताउँछन् । खानी विभागले कुनै व्यक्तिलाई लाइसेन्स दिने क्रममा आफ्नोे अनुकुलता हुने गरी निश्चित सर्तमा इजाजत दिने प्रचलन रहनुले खानीबाट हामीले राम्रो लाभ लिन नसकेको लामा तर्क गर्छन् । नेपालमा साधारण देखिने गिट्टी, बालुवा, ढुङ्गा लगायतको उत्खनन् गर्नमा हामीले ध्यान नदिई विदेशी राष्ट्रहरुसँग हात फैलाइरहँदा नेपालका गिट्टी बालुवाहरु माथि विदेशी कम्पनीहरु भने निकै आँखा गाडेको लामाको तर्क छ । यसैकारण अब साँच्चै उद्यमशिल दिशामा हामीले पाइला अघी बढाउनुपर्ने लामाको धारणा छ । यसको लागि अब हामी स्पष्ट खाका सहित अघी बढ्नुपर्ने कुरामा लामा जोड दिन्छन् । जुन कार्यलाई सफल पार्न सबै स्थानीय तह जिम्मेवार भएर अघी बढ्नुपर्ने आवश्यकता रहेको लामाको ठम्याई छ ।
लामाको दृष्टिकोणमा यसरी हुन सक्छ ग्रामीण विकास
ग्रामीण साना किसानको अवस्था माथि उठाउने हो भने समुदायस्तरका व्यक्तिहरु मिलेर कम्तीमा १ मेगावाटकै भएपनि आयोजना निर्माण गनुेपर्नेमा लामाको जोड छ । जसबाट उक्त समुदायले बर्षेनी नियमित रुपमा राम्रो लाभ लिन सकिन्छ । १ मेगावाट आयोजनाको लागि बढीमा १ बर्ष लाग्न सक्छ । यसको लागि करिब १५ करोड रकम आवश्यकता पर्छ । यस्ता कार्यक्रमहरु सञ्चालनबाट स्थानीयहरुको अवस्था माथि उठाउन ठूलो सहयोग पुग्ने स्थिति सृजना हुन सक्छ ।
मुलुकको विकासमा निरन्तर चासो राख्दै आएका विकास लामा आसन्न स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाबाट अध्यक्ष पदमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार हुन् । आफ्ना योजना एवं लामो व्यावसायिक अनुभवले गर्दा आफू विजयी हुन सकेको खण्डमा सिङ्गो गाउँपालिकाको मुहार फेरिने लामा बताउँछन् ।
मुलुक कमजोर र जनता वेरोजगार किन बन्दैछन् ?
लामा नेपालको बढ्दो बेरोजगारी एवं व्यापार घाटाबाट चिन्तित छन् । रोजगारीको लागि नेपालीहरु विदेशिनुपर्ने स्थिति सृजना हुनुमा मुलुकको भावी खाका कोर्न सक्ने दूरदर्शी नेताहरुको खाँचो हुनु र कुनै पनि पाटीले क्षमतावान् व्यक्तिहरुलाई स्थान दिने परिस्थिति सृजना हुन नसक्नु रहेको बताउँछन् ।
वैदेशिक रोजगारीमा जाने युवाहरुले विदेशमा रहँदा आर्जन गरेको अधिकांश रकम सुखभोग र विलाशिताका वस्तुमा खर्च भएको र यसबाट उत्पादनमूलक क्रियाकलापहरु सञ्चालनको लागि पुँजी निर्माण गर्न नसकिने उनको धारणा छ ।
कुनै देशको विकासको लागि राज्य पक्ष दृढता सहित अघी बढ्नुपर्नेमा उनी जोड दिन्छन् । राज्यले चाहने हो भने नेपालीहरुले कमाएको रकमलाई नै नियमित रुपमा न्श्चिित रकम संकलन गर्ने संयन्त्र विकास गरेर ठूलो परिमाणमा राष्ट्रिय पुँजी संकलन गर्न सकिने उनको धारणा छ । विकास लामाले नेपाली काङ्ग्रेसमा विकासप्रेमी नेताको रुपमा आफ्नो पहिचान बनाएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij