२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

काठमाडौंको सुकुम्बासी समस्याको स्थायी समाधान दिनेछुः उम्मेद्वार मदनदास श्रेष्ठ

काठमाडौंको सुकुम्बासी समस्याको स्थायी समाधान दिनेछुः उम्मेद्वार मदनदास श्रेष्ठ

मदनदास श्रेष्ठ, नगर प्रमुख पदका उम्मेदवार, राप्रपा, काठमाडौं महानगरपालिका

मदनदास श्रेष्ठ नेपालमा लामो समय देखि कलाकारिता क्षेत्रमा संलग्न रहँदै आउनुभएका व्यक्ति हुनुहुन्छ । कलाकारिता क्षेत्रमा करिब ४ दशक बिताउनुभएका श्रेष्ठले विभिन्न सामाजिक संस्थाहरुमा लामो समय देखि योगदान समेत गर्दै आउनुभएको छ ।

शिक्षा क्षेत्रमा पनि श्रेष्ठको योगदान महत्वपूर्ण रहँदै आएको छ । गौरीसङ्कर बहुमुख्री क्याम्पसको स्तरोन्नती एवं क्षमता अभिवृद्धिमा पनि श्रेष्ठले महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । उक्त क्याम्पसमा वि.सं २०६८ मा भागवत सप्ताह आयोजना गरी करिब २ करोड रकम संकलनमा ऊहाँले योगदान पुर्याउनुभयो । गौरीसंकर सामुदायिक पुस्तकालयको लागि करिब ३० लाखको आर्थिक व्यवस्थापनमा उहाँले सहयोग गर्नुभएको छ । भूकम्प एवं बाढिपहिरो लगायतका भवितव्यमा पनि उहाँले आर्थिक स्रोत जुटाएर सहयोग गर्न निरन्तर क्रियाशिल हुनुहुन्छ । विलय हुन लागेको दोलखामा चल्दै आएको १२ बर्षमा निस्कने हरिसिद्धीदेवी नाचलाई १ सय ५० बर्ष पछि पुनः सञ्चालनको लागि कोषाध्यक्षको भूमिकामा संकलन गरेर सम्पन्न गर्नुभयो । डिल्लीबजार घट्टेकुलो सामुदायिक प्रहरी भवन निर्माण एवं निर्माणाधिन ज्येष्ठ नागरिक भवन निर्माण कार्यको समेत श्रेष्ठले नेतृत्व गर्दै आउनुभएको छ । विभिन्न सामाजिक गतिविधिहरुमा संलग्न रही आफ्ना गतिविधिहरु सञ्चालन गर्ने क्रममा जनताबाट पाएको माया सद्भाव र प्रेरणाले आफूलाई यसपटक काठमाडौं महानगरपालिकामा नगरप्रमुख पदमा उम्मेदवारी दिन आकर्षित गरेको श्रेष्ठ बताउनुहुन्छ ।

आफ्नो उम्मेदवारी राष्ट्र र राष्ट्रियताको लागि भएको समेत श्रेष्ठ बताउनुहुन्छ । नेपालमा बहुदलीय व्यवस्था आएपश्चात् अस्तित्वमा रहेका अन्य दलहरुले जनतालाई आफूले वचनबद्धता जनाएका कामहरु पूरा नगरी भ्रममा पारेको बरु राजनीतिलाई नै दलहरुले पेशाको रुपमा अपनाएको स्थितिले असन्तुष्ट बनेर आफूले यसपटक काठमाडौं महानगरपालिकामा राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी)बाट मेयरको लागि उम्मेदवारी दिएको श्रेष्ठ बताउनुहुन्छ ।

आफ्नो उम्मेदवारी सम्बन्धमा श्रेष्ठको यस्तो छ धारणा:
म लामो समय देखि कलाकारिताको अलावा सामाजिक अभियन्ताको रुपमा पनि क्रियाशिल छु । मेरो विचारमा राजनीति पनि एक किसिमको सामाजिक सेवा नै हुनुपर्ने थियो । तर अहिले राजनीतिक दलहरुमा यस किसिमको प्रवृत्ति देखिएको छैन । राष्ट्र र राष्ट्रियताको हितमा काम गर्नको लागि कुनै स्वार्थ नभएका व्यक्ति राजनीतिमा आउनुपर्ने मान्यताले मैले यसपटक काठमाडौं महानगरको लागि मेयर पदमा उम्मेदवारी दिएको हुँ ।

काठमाडौं महानगरपालिकामा अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी ठूलो शक्तिको रुपमा उदय भइरहेको छ । वर्तमान नेतृत्वका माननीय राजेन्द्र लिङ्देन नेतृत्वका योजना र प्रतिबद्धता प्रति मानिसहरुको आकर्षण बढ्दै गएको छ । अहिले यस पार्टीले आम मानिसका समस्याहरु समाधानको अलावा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता एवं सनातन हिन्दू धर्म र राजसंस्था लगायतका विभिन्न एजेण्डाहरु बोकेको छ । सोहीबमोजिम ती एजेण्डाहरु जनतालाई बुझाउन र हाम्रा विकासका योजनाहरु पस्कँदै हाम्रो पक्षमा जनमत सृजना गर्नको लागि अहिले हामीले घरदैलो कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । यद्यपि हाम्रा कार्यक्रमहरुमा काठमाडौं महानगरबासीहरुलाई विश्वास दिलाउन हामीलाई गाह्रो परेको छ । अन्य राजनीतिक दलहरुले अहिले सम्म जनताहरुलाई भुलभुलैयामा भुलाएका छन् । जनताका नाममा आफूले भने मोजमस्ती गरिरहेका छन् । राजनीतिलाई अहिले एक किसिमले व्यापारिक सिण्डिकेट जस्तो बनाएका छन् । जसले गर्दा जनताहरु शोषित भइरहेका छन् । राष्ट्र ऋणमा डुब्दै गएको छ । मुलुकमा आर्थिक सङ्कट सृजना हुन सक्ने स्थिति देखिएको छ । यो अवस्था आखिर कसरी आयो त ? अहिले श्रृलङ्कामा आर्थिक सङ्कट सृजना हुनुमा त्यहाँको परिवारवाद र आफन्तवादको आडमा राज्य चलाएको कारण पुष्टि भएको छ । त्यहाँ कागज किन्न नसकेर विद्यार्थी परिक्षा दिनबाट वञ्चित हुनुपर्यो । पेट्रोलियम पदार्थ आयात गर्न नसक्दा कलकारखानाहरु बन्द गर्नुपरेको छ । नेपालमा पनि जेठ १ देखि हप्तामा २ दिन बिदा दिने नियम ल्याईंदैछ । आखिर यस्तो अवस्था किन सृजना भयो त ? हाम्रो व्यवस्था नराम्रो त होइन । तर त्यो व्यवस्थामा बसेर राज्यसत्ता हाँक्ने व्यक्तिहरुमा इमान्दारिता नभई सुशासन कायम हुन नसकेको कारण अहिले यो अवस्था आएको मेरो बुझाई छ ।

काठमाडौंबासीहरुले धेरै चाहना राखेका छैनन् । स्वस्थ वायु, ढल र दुर्गन्धको समाधान, पार्किङ, स्वच्छ खानेपानी, काम गरेर खाने वातावरणको खोजी यहाँका बासिन्दाले गरेका छन् । यी साधारण समस्या नै हुन् । जुन समाधान गर्न गाह्रो पर्दैन । अन्य दिगो महत्वका योजनाहरु पनि सार्थक पार्नुछ ।

भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह
हामीले राप्रपाको नारा नै तय गरेका छौं कि भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु बराबर हो । यसैगरी हामीले पार्टीमा आर्थिक लोभ, लालच र स्वार्थसिद्धिको भावले पार्टीमा आउन चाहने व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छौं । अहिलेका हाम्रा सबै एजेण्डाहरु सम्पूर्ण नेपाली जनताका एजेण्डाहरु हुन् ।

विकासका एजेण्डाहरु
काठमाडौंबासीहरुले धेरै चाहना राखेका छैनन् । स्वस्थ वायु, ढल र दुर्गन्धको समाधान, पार्किङ, स्वच्छ खानेपानी, काम गरेर खाने वातावरणको खोजी यहाँका बासिन्दाले गरेका छन् । यी साधारण समस्या नै हुन् । जुन समाधान गर्न गाह्रो पर्दैन । अन्य दिगो महत्वका योजनाहरु पनि सार्थक पार्नुछ ।

काठमाडौंको नाम परिवर्तन गरौं
काठमाडौं शहरको नाम परिवर्तन गर्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु । यस शहरको नाम परिवर्तन गरेर सांस्कृतिक नाम कान्तिपुर कायम गरौं न त । यो प्राचीन नाम हो । कान्ति शब्दले नै उज्यालो, सुन्दर, कञ्चन भन्ने अर्थ बुझाउँछ । भक्तपुरले आफ्नो नाम अहिले पनि सोही भक्तपुर नै राखेको छ । विदेशमा पनि बम्बइलाई मुम्बई बनाइएको छ । कलकत्तालाई कोलकता राखिएको छ । यसरी नै कान्तिपुर हाम्रो पहिचान जोडिएको नाम समेत हो ।

सुकुम्बासी समाधान
सुकुम्बासी समस्या अहिले पनि ठूलो समस्याको रुपमा रहेको छ । सुकुम्बासीहरुलाई लालपुर्जा सहित अपनत्व हुने गरी सार्वजनिक जग्गामा बसोबासको व्यवस्था गर्नुपर्ने जरुरी छ । अहिले सुकुम्बासीमाथि राजनीति हुँदै आएको छ । यस किसिमको आफ्नो स्वार्थको लागि सुकुम्बासीलाई सडकमा पटक–पटक उतार्ने चलन प्रति मेरो असन्तुष्टि छ ।

काठमाडौं महानगरपालिका प्राधिकरण स्थापना
सबै विषयका विज्ञहरुको सहकार्य र समन्वयमा काम हुने गरी काठमाडौं महानगरपालिका प्राधिकरणको मैले परिकल्पना गरेको छु । महानगरपालिकामा रहँदै आएका प्रशासनिक झण्झटहरुलाई समाधान गर्नुपर्नेछ । महानगरपालिका भित्र हुने कुनै विकास योजनाहरु वडा–वडामा स्थानीय जनतासँग छलफल र राय सहित योजना कार्यान्वयन मेरो योजनामा रहन्छ ।

अन्त्यमा
हामीले इमान्दारीपूर्वक काम गर्यौं भने महानगर लगायत सिङ्गो राष्ट्रमा सृजना भएका सबै किसिमका विकृतिहरु हटाउन सक्छौं । भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्ने हो भने त्यो काम महानगरपालिकाबाट नै शुरुवात गर्नुपर्छ ।

फोहोर माथिको राजनीति अन्त्य गरौं
महानगरमा फोहोरको स्थायी रुपमा समस्या समाधान गर्नुपर्ने आवश्यकता छ । अहिले फोहोरको समस्या समाधान नहुनुमा फोहोर भित्र गरिएको फोहोरी राजनीतिले मुख्य भूमिका खेलेको छ । हुनतः शहरको परिकल्पना गर्ने समयमा नै ढलको समस्यालाई पहिले नै विचार गरेर यसको लागि उपयुक्त विधि हामीले अपनाउनुपर्ने थियो । त्यसो गरेनौं । अब जसरी हुन्छ, यसको वैकल्पिक समाधान निकाल्नुछ । हामीले बाग्मती सरसफाई अभियानमा करोडौं अरबौं खर्च गर्यौं । तर बाग्मती आखिर कहाँ सफा भयो ? हामीले साँच्चै कुनै स्वार्थ नराखी बाग्मती सफाई गर्ने हो भने भारतको यमुना नदी सफा भएजसरी दत्तचित्त भएर स्थायी समाधान निकाल्न तर्फ लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij