चन्द्रागिरी नगरपालिका मूलतः ५ सम्प्रदायका बस्तीहरु रहेकाे र विभिन्न मन्दिर एवं पीठहरु रहेकाे नगरपालिका हाे । काठमाडौं उपत्यका भित्र रहेर पनि वातावरणीय प्रदूषणबाट अहिले सम्म कम प्रभावित भएको नगर क्षेत्रको रुपमा समेत चन्द्रागिरीलाई चिन्न सकिन्छ । सांस्कृतिक बस्ती भएको चन्द्रागिरीको मुख्य आयस्रोतको रुपमा कृषि नै रहँदै आएको छ । कृषिबाट मानिसहरु अन्य क्षेत्रमा विविधिकरण हुँदै गएर पेशागत विशिष्टीकृत हुँदै गएसँगै अहिले कृषि क्षेत्रको योगदान भने घट्दो छ । अहिले यस नगरपालिकामा करिब ४७ हजार मतदाताहरु रहेका छन् ।
चन्द्रागिरीमा विकास सम्भावना
काठमाडौं हुँदै चितवन निस्कने राजमार्गको काठमाडौंबाट बाहिरिने मुख्य खण्ड यही चन्द्रागिरी नगरपालिका हुँदै जाने गर्छ । उक्त राजमार्गलाई आर्थिक विकासको बलियो आधारको रुपमा उपयोग गर्न सकिने प्रबल सम्भावना हुँदाहुँदै पनि अहिले सम्म ५० मिटर सडकको प्रावधानको कारण स्थानीय विकास र रोजगारी एवं औद्योगिक विकासमा चाहेबमोजिम योगदान पुर्याउन सकिएको छैन । उम्मेदवार राउतका अनुसार अहिले सम्म सरकारले ५० मिटर सडकलाई न त अधिकरण गरेर लिन नै सकेको छ, न त निर्माण कार्य रोक्न नै सकेको छ । समस्या यसै कारण सृजना भएको छ । हाम्रो पहिलो प्राथमिकता नै यही सडकको व्यवस्थापन हुनेछ । अहिले आर्थिक सामाजिक परिवर्तनको माध्यमबाट यस क्षेत्रमा जुन रुपमा आर्थिक विकास हुनुपर्ने थियो, हामीले त्यो गर्न सकेका छैनौं ।
बल्खुखोला सभ्यता
बल्खुखोला हाम्रो सम्भताको आधार हो । विगतमा पानी पिउन योग्य रहेको र जन्म देखि मरण सम्मका हरेक क्रियाकलाप बल्खुखोलामा हुने गरेकोमा अहिले प्र्रदूषणको कारण यो खोला नराम्ररी प्रभावित भएको छ । यसलाई पहिलेकै स्वरुपमा ल्याउन मेरो उम्मेदवारी महत्वपूर्ण हुनेछ । जसबाट बल्खुलोखाको सभ्यतालाई पुनर्जागृत गर्न सहयोग पुग्नेछ । साथै राउतले सस्पेन्डेड मोनोरेल बल्खुखोलामा निर्माण गर्ने योजना समेत बनाउनुभएको छ । जहाँ खोलामाथि तारको माध्यमबाट झुण्डिएर यात्रा गर्न सकिनेछ । राउत भन्नुहुन्छ, मेरो उम्मेदवारी केवल जितको लागि मात्र हुनेछैन । स्थानीयहरुको आर्थिक सामाजिक रुपान्तरण, वातावरणीय प्र्रदूषण नियन्त्रण, व्यवस्थित बसोबास र शहरीकरण लगायत महत्वपूर्ण एजेण्डाहरु मेरो प्राथमिकतामा छन् । चन्द्रागिरी अन्तरगत विभिन्न ठाउँमा रहेका विगतका पानीका स्रोतहरु अहिले सुक्दै गएका छन् । ती स्रोतहरुलाई पहिलेको अवस्थामा नै फर्काउनुपर्ने छ । अहिले विभिन्न प्रयोजनको पानीको लागि हामी बोरिङ गरेर निकालेको पानी प्रयोग गरिरहेका छौं । यो अवस्था कायम रहेको खण्डमा हाम्रो अवस्था अझ डरलाग्दो बन्दै जानेछ । अहिले नै समस्या समाधानको लागि उचित विकल्प निकाल्न नसकेको खण्डमा भावी दिनमा अवस्था निकै नै जटिल र भयावह हुनेछ ।
चन्द्रागिरीको औद्योगिक वातावरण
चन्द्रागिरीमा अहिले केही मात्रामा उद्योगधन्दाहरु त खुलेका छन् । यद्यपि एकातिर उद्योगको सङ्ख्या नै कम छ । जसबाट कम परिमाणमा मात्र रोजगारी सृजना हुन सकेको छ । अर्कोतिर ती उद्योगहरु पनि टे«डमा आधारित छन् । स्वदेशी कच्चा पदार्थ र स्थानीयलाई ठूलो मात्रामा रोजगारी सृजना हुने आधारका रुपमा उद्योगहरु स्थापित हुन सकेका छैनन् । मेरो उम्मेदवारी चन्द्रागिरी नगरपालिकामा वातावरणीय प्रदूषण कम गर्ने र ठूलो मात्रामा रोजगारी सृजना गर्ने क्षमताका उद्योगहरु स्थापनाको लागि सही वातावरण निर्माणमा केन्द्रित हुनेछ ।
शिक्षा र स्वास्थ्य
चन्द्रागिरीमा शिक्षा र स्वास्थ्यमा पनि ठूलो समस्या छ । यहाँका सामुदायिक विद्यालयको अवस्था अझै पनि नाजुक नै छ । भर्खर शिक्षा क्षेत्रले केही फड्को मार्ने स्थिति सृजना हुँदैछ । निजी क्षेत्रको क्रियाशिलतामा खुलेका आवासीय विद्यालयहरुको अवस्था पनि धेरै स्तरीय छैन । सङ्ख्यात्मक हिसाबले पनि विद्यालयहरु कम छन् । शिक्षा सुधारको लागि गुणात्मक एवं परिमाणात्मक दुवै सुधार आवश्यक छन् ।
चन्द्रागिरीमा एमालेको अवस्था
अघिल्लो पटकको निर्वाचनमा नगरप्रमुखमा नेपाली काङ्ग्रेस, उपप्रमुखमा नेकपा (एमाले) सहित ९ ओटा वडाअध्यक्ष एमाले, ५ ओटा वडाअध्यक्ष काङ्ग्रेस र १ ओटा वडाध्यक्ष माओवादीले जितेको नगरपालिका हो चन्द्रागिरी । यसपटकको निर्वाचनमा एमालेलाई गठबन्धनका अन्य ५ दलहरुको ठूलो दबाब छ । यद्यपि एमालेको अवस्था तुलनात्मक रुपमा राम्रो छ । यसको अलावा एमालेले आफ्नो घरदैलो कार्यक्रमलाई निकै प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ । जनताबाट राम्रो प्रतिक्रिया आइरहेको अवस्था छ ।
राउतका स्थानीय विकास लक्षित प्रमुख एजेण्डाहरु
आफ्नो विजय पश्चात् सबैभन्दा महत्वपूर्ण एजेण्डाको मेयरका उम्मेदवार राउतले यहाँको हाइवेलाई नै प्राथमिकतामा राखेर विकास कार्य अघी बढाउने योजना बनाउनुभएको छ । आफ्नो कार्यकालमा हाइवेलाई इकोनोमिक ग्रोथ करिडोरको रुपमा विकास गर्ने मुख्य सपना बोकेर राउत मेयर पदको लागि यतिबेला घरदैलोमा जुट्नुभएको छ । इकोनोमिक ग्रोथ करिडोरको लागि आफूले नगरपालिकामा सोहीबमोजिमको नीति तय गरी अघी बढ्ने र यसबाट व्यापक मात्रामा रोजगारी सृजना गर्न सहयोग पुग्ने राउतको धारणा छ ।
स्थानीयलाई आयआर्जनका नयाँ माध्यम खोज्छौंः
चम्पादेवी देखि चन्द्रागिरी, कालु पाँडे समाधि लगायतका क्षेत्रलाई पर्यटन मार्फत आयआर्जनको मुख्य आधार बनाउने राउतको योजना छ । अहिलेको व्यवस्था अनुसार आयआर्जन क्रियाकलापमा केही निश्चित व्यक्ति वा समूह मात्र लाभान्वित हुने गरेकोमा ई. राउत असन्तुष्टि व्यक्त गर्नुहुन्छ । पर्यटन उद्योग सञ्चालनको क्रममा व्यवस्थापनमा जो भएपनि त्यसको लाभ समुदायलाई जानुपर्ने कुरामा राउत जोड दिनुहुन्छ । सोहीबमोजिम ऊहाँले हरेक स्थानीयको शेयर प्रतिनिधित्व हुने गरी दिगो विकास अवधारणामा आधारित पर्यटन उद्योग स्थापना गरी समुदायलाई लाभ पुर्याउने योजना समेत बनाउनुभएको छ । यसको अलावा डाँडाका फेदहरुमा बर्षात्को पानी संकलन गर्न पोखरीहरु निर्माण गर्ने र पानीका मुहानहरु रिचार्ज गर्ने सम्मका योजनाहरु लिएर राउत चुनावी मैदानमा उत्रिनुभएको छ ।
शिक्षा
शिक्षा क्षेत्रको सुधारको लागि अहिले देशभर ५ हजार ४ सय विद्यालय भवनहरु निर्माणको काम हुँदैछ । जहाँ ४५ हजार कक्षाकोठाहरु निर्माण हुनेछन् । जसबाट शिक्षा प्रदान गर्न भौतिक पूर्वाधारको समस्या हटेर जानेछ । त्योसँगै अब नगरपालिकाले सफ्टवेयरमा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्ने राउत बताउनुहुन्छ । ऊहाँ भन्नुहुन्छ, ‘हामीले हरेक बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउनेछौं । हाम्रो अहिलेको चुनावी मूल एजेण्डा नै यो छ कि तपाईं हामीलाई भोट मार्फत विजयी गराउनुस्, हामी तपाईंहरुका सन्तानलाई निःशुल्क असल र चरित्रवान् बन्न उचित व्यावहारिक शिक्षा प्रदान गर्नेछौं ।’
स्वास्थ्य
आफूले जितेसँगै स्वास्थ्य क्षेत्रको विकासले गुणात्मक फड्को मार्ने राउत बताउनुहुन्छ । उहाँले ज्येष्ठ नागरिक स्वास्थ्य घरदैलो कार्यक्रम सञ्चालन गर्ने र त्यसलाई नियमित बनाउने योजना बनाउनुभएको छ । स्वास्थ्य घरदैलो कार्यक्रम अन्तरगत हरेक घरमा ज्येष्ठ नागरिकहरुको मासिक रुपमा नियमित स्वास्थ्य जाँचको व्यवस्था मिलाइनेछ । बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्यको व्यवस्था गरिनेछ ।
फोहोर व्यवस्थापन
अहिले सम्म काठमाडौंमा फोहोर व्यवस्थापनको लागि उचित पहल हुन सकेको छैन । एक ठाउँमा थुप्रेको फोहोरलाई अर्को ठाउँमा विसर्जन गरिन्छ । यसलाई लिनियर सिष्टम भन्न सकिन्छ । जुन दीर्घकालिन समाधान होइन । साथै यस प्रणालीमा फोहोरबाट आर्थिक उपार्जनको त परिकल्पना नै गर्न सकिँदैन । अब हामीले जहाँ फोहोर संकलन हुन्छ, त्यहीँ नै पुनप्रयोग र नष्ट हुने व्यवस्था गर्नेछौं । यसबाट नगरपालिकाले ठूलो आर्थिक लाभ समेत हासिल गर्नेछ । जसलाई सर्कुलर मोडल भन्न सकिन्छ ।
एकद्वार प्रणालीबाट तालिम सञ्चालन
भोकेसनल तालिमलाई प्रभावकारी बनाउन एकद्वार प्रणालीबाट तालिमको व्यवस्था गर्ने राउतको योजना छ । अहिले विभिन्न वडाहरुमा तालिमको लागि भन्दै बजेट मात्र खर्च गर्ने तर उपलब्धि भने न्यून रहने स्थितिलाई समाधान गर्ने उहाँको योजना छ । राउत भन्नुहुन्छ, ‘तालिमका क्रममा देखिएका अनियमितताहरु हामीले हटाउनेछौं । नगरपालिकाको आफ्नो अलग्गै तालिम केन्द्र स्थापित गर्नेछौं ।’
सुशासन कायम गर्नमा विशेष योगदान
‘शुसासन बिना नगर, जिल्ला, देश, वडा, परिवार केही पनि राम्रोसँग चल्न सक्दैन । यसकारण हामीले शुसासनलाइ विशेष जोड दिनेछौं । यसको लागि पब्लिक अडिट र जवाफदेहिता एवं अनुगमनलाई प्रभावकारी बनाउनेछौं । सुशासनको लागि हामीले यस भन्दा पहिले भएका फाइलहरु खोलेर सोहीबमोजिम उचित तवरले हाम्रा कार्यक्रमहरु अघी बढाउनेछौं । राम्रो गर्नेलाई पुरष्कार र गलत गर्नेलाई दण्डको व्यवस्था गर्नेछौं’ राउतले भन्नुभयो ।
हाल इन्जिनियर राउत नेपाल इन्जिनियर्स एसोसिएसन, आर्किटेक्चरहरुको संस्था सोना, नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न संस्थामा आजिवन सदस्यको रुपमा रहनुभएको छ । यसको अलावा राउत वडा नागरिक मञ्च, विष्णुदेवी क्षेत्र संरक्षण मूल समिति लगायतमा समेत कार्य गरिसक्नुभएको छ ।
आफू वडाअध्यक्ष रहँदा नगरपालिकाबाट तलबभत्ता लगायतका कुनै पनि सेवासुविधा नलिई निःस्वार्थ काम गर्नुभएका राउत आफ्नो पारिश्रमिक बापतको सम्पूर्ण रकम वडाअध्यक्ष शैक्षिक विकास कोषमा संकलन गरी योगदान गर्नुभयो । जुन संंस्थाले पारदर्शी रुपमा खर्च हुनेगरी ५२ विद्यार्थीहरुलाई अध्ययन गराइरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij