भैरहवा । स्थानीय निर्वाचन नजिकिँदै जाँदा कुन उम्मेदवार बलियो र कसले चुनाव जित्ला भन्ने आँकलन सुरु भएको छ ।
यहि बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा सिद्धार्थनगर नगरपालिकामा कसले चुनावमा बाजी मार्ला भन्ने गफगाफ हुँदै गर्दा को उम्मेदवार कस्तो भन्ने टिकाटिप्पणी समेत हुन थालेको छ ।
अन्य पार्टीका भन्दा नेकपा (एमाले)का उम्मेदवारहरु जीवनमा कुनैपनि दाग नलागेका उम्मेदवार भएका कारण सजिलै चुनावी माहोल आफ्नो पक्षमा आउने एमालेको दाबी छ ।
नेकपा (एमाले)बाट नगर प्रमुख पदमा डाक्टर राम प्रसाद बस्याल र उपमेयरकी उम्मेदवार उमा अधिकारी छन् । ऊनीहरु जीवनमा कुनै दाग नलागेका उम्मेदवारहरु हुन् । जीवनभर बिरामीको सेवा गरेका डाक्टर राम प्रसाद बस्याल नरम स्वभाव भएका सबैको भलो चाहने राम्रो व्यक्तिगत छवि भएका पात्र हुन् ।
उपमेयरकी उम्मेदवार उमा अधिकारी बिद्यार्थी राजनीति गर्दै नेकपा एमालेको जिल्ला सदस्य अनेमसंघकी केन्द्रीय सदस्य एवं कुशल नेतृ हुन् । अधिकारी एमालेका कुशल नेता धनपति उपाध्याय र पुष्पाञ्जली उपाध्यायकी बुहारी समेत हुन् ।
नेपाली कांग्रेस र नेकपा माओवादीबाट गठबन्धनका उम्मेदवार इस्तीयाक अहमद खाँन संयुक्त गठबन्धनबाट मेयरका उम्मेदवार हुन् । इस्तीयाक अहमद खाँनले पैसामा टिकट किनेको भनेर सञ्चार माध्यममा समेत आएको थियो । खाँनले कांग्रेसका नेता तथा गृहमन्त्री खाँडलाई पैसा दिएर टिकट लिएको भनेर नेपाली कांग्रेसमा तिब्र असन्तुष्टि रहेको छ । पैसाले बलिया पात्र भएतापनि खाँनको छवि भने राम्रो छैन । ४।५ वर्ष अंगाडी गलत काम गरेको भन्दै खाँनलाई गोली प्रहार समेत भएको भैरहवा बजारभर गाइँगुई समेत हुन थालेको छ ।
गठबन्धनबाट माओवादी पार्टीकी उपमेयरकी उम्मेदवार कमला थापा राजनीनिक रुपमा र सांगठनिक रुपमा कमजोर उम्मेदवार हुन् । त्यसमाथि नेपाली कांग्रेसका उम्मेदवारले माओवादीको हँसिया हथौडामा भोट नदिने समेत बताइरहेको हुँदा कमलाको चर्चा खासै बजारमा छैन । कांग्रेसका असन्तुष्ट समुहले मेयरमा कुनै हालतमा खाँनलाई नदिने मेयरमा डाक्टर बस्याललाई दिने स्रोतको दाबी छ । उता उपमेयरमा कांग्रेसले भोट नदिने हुँदा एमालेकी उमाले स्वतः चुनाव जित्ने जनताको आँकलन रहेको छ ।
राप्रपा पार्टीलाई भैरहवामा मण्डले भनेर सबैले चिन्छन् । राजाको समयदेखि भैरहवामा गुण्डागर्दीबाट राजनीतिमा अवसर खोज्ने राप्रपाका मेयरका उम्मेदवार सागर प्रताप राणा मात्रै राप्रपा पार्टीबाट आजीवन उम्मेदवार हुन् । उनको सधंै मेयर मोहका कारण यसपटक समेत एमालेले सजिलै हराउने चर्चा छ । गत निर्वाचनमा एमालेका हरि अधिकारीले सागरलाई धुलो चटाएका थिए ।
राप्रपा पार्टीबाटै उपमेयरकी उम्मेदवार विनिता गुप्ता खासै बजारमा जनताले नदेखेकी र नचिनेकी नयाँ पात्र भएका कारण उनको कुनै चर्चा नै छैन ।
भैरहवामा गर्मीसँगै चुनावी माहोल व्यापक तातेको छ । सदैव नेता तितरबितर हुने एमालेमा यतिबेला नेताहरु एकमत भएर चुनावी अभियानमा होमिएका छन् । सांसद घनश्याम भुसाल, एमालेका नेताहरु भरत पोख्रेल, हितराज पन्थी, राजेन्द्र पन्थी र नारायण प्रसाद भण्डारीहरु चुनावमा आ–आफ्नो जिम्मेवारी सहित एमालेलाई जिताउन सक्रिय रुपमा लागेका छन् । मेयर हरि अधिकारी त डाक्टर बस्याललाई जिताउन नाच्दै जनतासँग मत मागिरहेका छन् ।
उता गठबन्धनबाट माओवादी र काँग्रेसबाट आ–आफ्ना अध्यक्षका उम्मेदवार भएको हुँदा व्यापक धोका हुने आँकलन गरिएको छ, भने राप्रपाबाट राजतन्त्र देखि गणतन्त्रसम्म सदैव मेयरका उम्मेदवार सागर राणालाई जनताले सदैव एकै व्यक्तिलाई मत नदिने बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij