२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

राजमार्गलाई इकोनोमिक ग्रोथ करिडोरको रुपमा विकास गर्नेछुः ई. राउत

राजमार्गलाई इकोनोमिक ग्रोथ करिडोरको रुपमा विकास गर्नेछुः ई. राउत

ई. उत्तम बहादुर राउत, नगरप्रमुख पदका उम्मेदवार, चन्द्रागिरी नगरपालिका, नेकपा (एमाले)

यसपटक नेकपा (एमाले)बाट चन्द्रागिरी नगरपालिकामा नगरप्रमुख पदमा उम्मेदवारी दिनुभएका ई. उत्तम बहादुर राउत स्थानीय बासिन्दाहरु बीच सामाजिक एवं राजनीतिक रुपमा एक परिचित व्यक्ति हुनुहुन्छ । अघिल्लो कार्यकाल वडाअध्यक्षको रुपमा कुशल नेतृत्व गर्नुभएका राउत यसपटक शुसासन सहित समृद्धिको योजना लिएर नगरप्रमुख पदमा उम्मेदवारी दिनुभएको छ ।

यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त राउत आफू नगरप्रमुख पदमा विजयी भएर जिम्मेवारी ग्रहण गरेपश्चात् सबैभन्दा पहिलो र महत्वपूर्ण एजेण्डाको रुपमा राजमार्गलाई इकोनोमिक ग्रोथ करिडोरको रुपमा विकास गर्ने र बल्खुपुल माथि सस्पेन्डेड मोनोरेल चलाउने लगायतका महत्वाकांक्षी योजना सहित घरदैलो अभियानमा जुट्नुभएको छ । यसको अलावा नगरपालिकामा व्यापक मात्रामा रोजगारी सृजना हुने गरी उद्योगहरु स्थापना गर्ने र शिक्षा, स्वास्थ्यमा सहज पहुँचको अलावा संस्कृतिको संरक्षण र पर्यटनको प्रवद्र्धन पनि राउतका महत्वपूर्ण योजनामा समेटिएका छन् ।

प्राविधिक इन्जिनियरिङ शिक्षा हासिल गरी पूर्वाधार निर्माण र शिक्षा क्षेत्रमा लामो समय संलग्न भई अनुभव बटुल्नुभएको कारण राउत आफू व्यवस्थित र दिगो विकासबाट जनताको समृद्धि चाहना पूरा गर्न सक्षम हुनेमा पूर्ण विश्वस्त हुनुहुन्छ । व्यवसाय र सामाजिक यात्राको अलावा राजनीतिक गतिविधिमा पनि राउतको संलग्नता निकै पुरानो छ ।

विद्यार्थी काल देखि अनेरास्ववियु (अखिल)को राजनीति हुँदे ऊहाँ अघी बढ्नुभएका राउतले समावेशी दिगो विकासको पक्षमा आवाज बुलन्द पार्दै आउनुभएको छ । समाज रुपान्तरणको लागि निःस्वार्थ भावले समर्पित रहनुपर्ने मान्यताका राउतले आफ्नो वडाअध्यक्ष रहँदा वडा कार्यालयबाट प्राप्त हुने तलबभत्ता नलिई निरन्तर वडाबासीको सेवामा सक्रिय रहनुभयो । वि.सं २०७४ मा भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षको रुपमा निर्वाचित भएर आइसकेपछि निर्वाह गरेको कुशल नेतृत्व एवं विकास योजनाहरुलाई अझ फराकिलो क्षेत्रमा बिस्तार गर्ने आवश्यकता महसुस गरेर यसपटक उहाँले नगरप्रमुख पदमा उम्मेदवारी दिनुभएको हो ।

नम्र स्वभाव, तत्काल निकट व्यक्तिसँग घुलमिल हुन सक्ने क्षमता, प्राविधिक एवं व्यावसायिक कार्यदक्षता, अनुभव, सैद्धान्तिक ज्ञान, दूरदर्शिता र जिम्मेवारी प्रतिको लगनशिलता लगायतका विशेषताले राउतलाई यसपटक चन्द्रागिरी नगरपालिकाको नेतृत्व सम्हाल्ने हौसला र क्षमता प्रदान गरेका छन् । आफू नगरप्रमुख हुँदा चन्द्रागिरीलाई उपत्यकामै नमुना नगरपालिकाको रुपमा स्थापित गर्ने योजनामा हनुहुन्छ राउत ।

ई. उत्तम बहादुर राउत लामो समय देखि पूर्वाधार विकास तथा इन्जिनियरिङ क्षेत्रमा संलग्न रही काम गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ । आर्किटेक्चर (वास्तुकला इन्जिनियरिङ)मा स्नातक तहको शिक्षा हासिल गर्नुभएका उहाँले अर्वान डेभलपमेन्ट र आर्कियोलोजी विधामा स्नातकोत्तर तहको शिक्षा हासिल गर्नुभएको छ ।

पूर्वाधार निर्माण र परामर्शदाताको रुपमा लामो समय काम गर्नुभएका राउतले शिक्षण सेवामा पनि लामै समय व्यतित गर्नुभयो । एभरेष्ट इन्जिनियरिङ कलेजमा उहाँले ५ बर्ष प्रिन्सिपलको भूमिकामा समेत रही कार्य सम्पादन गरिसक्नुभएको छ ।

अहिले राउत व्यावसायिक रुपमा कंक्रिटजन्य ह्युमपाइपहरु उत्पादन कार्यमा संलग्न हुनुहुन्छ । नेपालमा भर्टिकल भाइब्रेटेड कंक्रिट उत्पादनको लागि पहिलो प्रविधि ऊहाँले नै भित्र्याउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij