ललितपुर । ललितपुर चेम्बर अफ कमर्सको दोस्रो बार्षिक साधारणसभा विहिबार सम्पन्न भएको छ । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री पम्फा भुसाल, विशिष्ट अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, ललितपुर उद्योग वाणिज्य महासंघका महासचिव रुपकमान महर्जन, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन लगायतले आफ्नो मञ्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव हरिहर अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा वक्ताहरुले मुलुककाे विकासमा निजी क्षेत्रकाे भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरेका छन् ।
बार्षिक साधारणसभाको अवसर पारेर ललितपुर चेम्बरले २ जना पत्रकारहरु अशोक दुलाल र सरोज ओझालाई सम्मान समेत गरेको छ । कार्यक्रमकै अवसर पारेर २०७९ को भित्तेपात्रो विमोचन समेत गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उर्जा मन्त्री पम्फा भुसालले आफूहरु व्यवसायीहरुमा समस्या समाधानमा सदैव तयार रहने बताउनुभयो । सरकारी निजी साझेदारीबाट मात्रै हामीले चाहेको समृद्धि हासिल गर्न सक्ने बताउँदै माननीय मन्त्रीज्यूले निजी क्षेत्रको विकास बिना मुलुकको समृद्धिको परिकल्पना गर्न नसकिने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले नेपाली उत्पादनहरु बिना प्रशोधन विदेश निर्यात भइरहेकोले नेपालले चाहे बमोजिम प्रयाप्त लाभ लिन नसकेको बताउँदै अब उपलब्ध कच्चा पदार्थ सिधै नभई केही प्रशोधन गरेर निर्यात गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । जमीन बाँझो हुने क्रम बढ्दै गएको र कृषिप्रधान देशमा अर्बौंको खाद्यान्न आयात गर्नुपर्ने स्थिति दुखद रहेको उहाँको तर्क छ । यस्तो अवस्थामा आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी सवल बन्नको लागि निजी क्षेत्रसँगको सहकार्य निकै महत्वपूर्ण रहने मल्लको धारणा छ । साथै अध्यक्ष मल्लले सरकारबाट हस्तकला ग्रामको लागि प्रतिबद्धता व्यक्त भएकोमा खुसी व्यक्त गर्दै कपडा बुन्ने विशेष क्षेत्रको निर्माण गरी नयाँ तवरले अघी बढ्नुपर्नेमा जोड दिनुभयो ।
ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले विगतमा राम्रो रहेको ललितपुरको व्यापार कोभिड पछि निकासी घटेको र पर्यटक आगमन न्यून रहेको कारण समस्यामा रहेको बताउनुभयो । साथै विगत केही दिन देखि उद्योग क्षेत्रमा अघोषित लोडसेडिङको अवस्था सृजना भएकोले यसले व्यावहारिक कठिनाई निम्त्याएको र अन्य समस्याहरु समेत सृजना हुँदै जाने तर्फ माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा धारणा राख्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले मुलुक चरम सङ्कटमा पुग्न लागेको र राष्ट्र बैंक नै ६ महिना भन्दा बढी समयलाई आयात धान्न सकिने स्थितिमा नरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो । साथै ६८ लाख मेट्रिकटन धान आवश्यक रही ५९ लाख मेट्रिक टन धान नेपालमा नै उत्पादन भइ धानमा आत्मनिर्भरताकाे निकट रहेको अवस्थामा बार्षिक ४० अर्ब बराबरको चामल भारतबाट आयात हुनु अत्यन्तै दुखद रहेको उहाँको तर्क छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij