२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

व्यवसायीले सामाजिक दायित्व पनि निर्वाह गर्नुपर्छ: व्यवसायी महर्जन

व्यवसायीले सामाजिक दायित्व पनि निर्वाह गर्नुपर्छ: व्यवसायी महर्जन

रत्नकाजी महर्जन, सञ्चालक, होम वाटर प्रुफिङ

रत्नकाजी महर्जन नेपालमा लामो समय देखि व्यावसायिक क्षेत्रमा संलग्न रहँदै आएका व्यक्ति हुन् । उनी आफ्नो व्यावसायको क्रममा लामो समय निर्माणजन्य क्षेत्रको नजिक रहेर बिताएका छन् । वाटर प्रुफिङ व्यवसायमा बढी संलग्न रहेका उनी घर निर्माण तथा फिनिसिङका विभिन्न कार्यहरुमा समेत संलग्न रहँदै आएका छन् । सामाजिक गतिविधिहरुमा समेत क्रियाशिल हुन रुचि राख्ने महर्जन आफ्नो क्षमताले भ्याए सम्म विभिन्न संघसंस्थालाई आवश्यकता बमोजिम आर्थिक, भौतिक एवं सेवामूलक सहयोग उपलब्ध गराउनुमा नै सन्तुष्टि महसुस गर्छन् । व्यावसायिक क्रियाकलापमा संलग्न हरेक व्यक्ति सदैव लाभको उद्देश्यबाट मात्र परिचालिन हुनुहुँदैन, सामाजिक योगदान पनि पुर्याउनुपर्छ भन्ने महर्जनको धारणा छ ।

समाजमा सबैको अवस्था एकै किसिमको नहुने भएकोले क्षमतावान् व्यक्तिबाट तुलनात्मक रुपमा कमजोर अवस्थाका व्यक्ति वा सामाजिक गतिविधिमा क्रियाशिल संघसंस्थाहरु मार्फत आफ्नो तर्फबाट सक्दो सहयोग उपलब्ध गराएर सबैलाई बाँचौं र बचाऔं, प्राकृतिक सन्तुलन कायम गरौं भन्ने मान्यता हरेक व्यक्तिमा जागृत हुनसके हाम्रो समाजमा हुने विभेद, विकृति, विसङ्गतिहरु हटेर सभ्य समाज निर्माणमा योगदान पुग्न सक्ने कुरामा महर्जन जोड दिन्छन् । यही भावनालाई हृदयङ्गम गर्दै महर्जन आफूले पनि समाजका विभिन्न आवश्यकता अनुसार सक्दो सहयोग उपलब्ध गराउँदै आएका छन् । कहिले आर्थिक, कहिले भौतिक त कहिले सेवामूलक । पछिल्लो समय उनले निर्माण भइरहेको गुठीलाई सहयोग पुर्याउने उद्धेश्यले ८ लाख बराबरको वाटर प्रुफिङ सिष्टम निःशुल्क जडान गरिदिएर आफ्नो तर्फबाट योगदान गरेका थिए ।

मानिस पृथक बन्ने आधार नै चेतनास्तर
महर्जन मानिस सामाजिक प्राणी भएको र चेतनास्तरले नै मानिस अन्य प्राणी वा जीवजन्तु भन्दा पृथक बन्न पुगेको बताउँछन् । साथै मानिसको रुपमा जीवन बाँचिरहँदा आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पनि सामाजिक योगदानलाई नै बाह्य दुनियाँले मूल्याङ्कनको आधार बनाउने भएकोले सहज असहज हरेक स्थितिमा अरुको लागि सहयोग गर्न तयार हुनुपर्ने कुरामा महर्जन जोड दिन्छन् । सकिन्छ भने अरुको कल्याण नै गर्नुपर्छ, सकिँदैन भने कुभलो कसैको गर्नुहुँदैन भन्ने कुरालाई जीवनको मूल मन्त्र बनाउन सके हामीले अपेक्षाकृत रुपमा आफ्नो जीवनलाई सफल बनाउन सकिने कुरामा महर्जन जोड दिन्छन् । बाहिरबाट बुझ्दा व्यावसायिक, सामाजिक र आध्यात्मिक जीवन पृथक देखिने भएपनि सर्वाङ्गिण विकासको लागि यी सबै पक्षको अन्योन्याश्रित सम्बन्ध रहने कुरालाई सदैव मनन गर्दै आफ्ना सामाजिक एवं व्यावसायिक गतिविधिहरु सञ्चालन गर्नुपर्नेमा महर्जनको जोड छ ।

उनी भन्छन्, ‘हामीले बाँच्ने जीवन सफल वा असफल कस्तो बनाउने भन्ने कुरा हाम्रो अरुप्रतिको व्यवहार र हाम्रा गतिविधिहरुबाट झल्किन्छन् । व्यावसायिक गतिविधिहरुमा संलग्न रहँदा पनि हामीले प्रवाह गर्ने सेवाको गुणस्तरले सेवाग्राही र सेवाप्रदायक दुवैलाई सन्तुष्टि मिल्न सक्नुपर्छ ।’

सामाजिक र आध्यात्मिक चेतना स्तरले नै हामीलाई अन्य भन्दा पृथक बनाउँछ । एकैपटक सामाजिक रुपमा प्रतिष्ठित र व्यावसायिक रुपमा सफल बन्नको लागि समेत हाम्रो चेतनास्तरले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हामी निश्चित आयु लिएर जन्मेका हुन्छौं । अजम्बरी कोही हुँदैनौं । हामी सबै जना जन्मिइसकेपछि एक दिन त अवश्य मर्नुपर्छ नै । जे गरेपनि बाँचुञ्जेल मात्र हो । हामी बाँच्ने क्रममा हामीले अरुको इष्र्या डाहा गर्छौं वा सामाजिक पुण्य र परोपकारमूलक काम जे गर्छौं त्यसमा नै हाम्रो श्रेष्ठता झल्कन्छ ।

हामी हरेक समय भित्री रुपमा कुनै विचार वा भावनाबाट निर्देशित भइरहेका हुन्छौं । जुन कुरा ढिलोछिटो हाम्रो कार्यव्यवहारबाट प्रकट हुन्छ । अरु प्रति प्रस्तुत हुँदा भलाई हुने किसिमले काम गर्यौं वा सहयोगको कामना गर्यौं भने हामी सुपात्र बन्न सक्छौं, अरु प्रति खराब आचरण प्रकट गर्यौं भने हामी सामाजिक रुपमा वहिष्कार पनि पर्न सक्छौं । हामीले अरुप्रति जस्तो व्यवहार गर्छौं, हामीले पनि अरुबाट त्यस्तै व्यवहार भएको पाउनेछौं । यसकारण समाजमा सबैको सहअस्तित्व स्वीकार्न सकेमात्र सबैको कल्याण हुन सक्छ, महर्जनको धारणा छ ।

व्यावसायिक जीवनमा महर्जन
महर्जन मूलतः वाटर प्रुफिङ व्यवसायमा क्रियाशिल रहँदै आएका छन् । हाल खासगरी काठमाडौं उपत्यकालाई नै आफ्नो कार्य क्षेत्रको रुपमा अपनाउँदै आएका महर्जनले आफूले जिम्मेवारी लिएको कामलाई गुणस्तरीय ढङ्गले सम्पन्न गर्दै आएका छन् । हाल महर्जन वाटर प्रुफिङको अलावा फल्स सिलिङ र ट्रस निर्माण लगायतका निर्माणजन्य कामहरु समेत सँगसँगै गर्दै आइरहेका छन् । विगतमा आफूले वाटर प्रुफिङ सम्बन्धी मात्रै काम गर्ने क्रममा वाटर प्रुफिङसँगै आवश्यक पर्ने अन्य कामहरुको लागि मिस्त्री ल्याउँदा आफूले पहिले जडान गरेकोे वाटर प्रुफिङ सिष्टमलाई पनि असर पर्ने पाएको कारण वाटर प्रुफिङसँगै अन्य कामहरुलाई पनि सँगसँगै अघी बढाउन सकिएको खण्डमा यस किसिमको समस्या समाधान हुने देखेर महर्जनले वाटर प्रुफिङको अलावा टायल, ट्रस, आल्मुनियम, छाना लगायतका कामहरु समेत आफैंले गर्ने मनसाय सहित आवश्यक कामको लागि दक्ष मिस्त्रीहरुलाई काममा खटाउन शुरु गरेका हुन् ।

राम्रो आर्थिक उपार्जनको क्षेत्र
वाटर प्रुफिङ आफैंमा प्राविधिक काम हो । यस कामबाट राम्रो आर्थिक उपार्जन समेत हासिल गर्न सकिन्छ । यो व्यवसायलाई प्लम्बिङ, ग्रिल, आल्मुनियम, इलेक्ट्रिसिटी लगायतका घर निर्माणका अन्य क्षेत्रसँग समेत जोडेर हेर्न सकिन्छ । यी र यस्ता ती सबै क्षेत्रमा क्रियाशिल व्यक्तिहरुसँग एकजना व्यक्तिले सम्पर्क स्थापना गरी काम लिन सकेको खण्डमा एउटै कामबाट बहुपक्षीय लाभ हासिल गर्न सकिन्छ । महर्जन आफूले वाटर प्रुफिङको काम लिँदा अन्य व्यक्तिहरुलाई पनि आफ्नै समूहको रुपमा काममा लगाउने गरेका छन् ।

ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै सोहीबमोजिमका स्तरीय सेवा दिनसके आफूले कामको अभाव व्यहोर्नु नपर्ने बरु काम नै आफैंंलाई खोज्दै आउँदो रहेछ भन्ने महसुस गरेका महर्जन हरेक व्यवसायीले आफ्नो कामको गुणस्तरलाई विशेष महत्व दिनुपर्ने कुरामा जोड दिन्छन् । अहिले पनि प्राविधिक कामको लागि नेपालमा आवश्यकता बमोजिम दक्ष जनशक्ति प्राप्त गर्न नसकिएको स्मरण गर्दै आफ्नो जिम्मेवारीमा रहेको कामलाई बढी महत्व दिई कामलाई सम्मान गर्ने व्यक्तिले नेपालमा नै रहेर राम्रो आर्थिक उपार्जन गर्न सक्ने महर्जनको बुझाई छ । महर्जनका अनुसार नेपालमा कुनै प्राविधिक काम सिकेर एउटा फर्म दर्ता गरेर आफैंले चलाउने हो भने पनि जागिर वा वैदेशिक रोजगारीको तुलनामा निकै राम्रो आर्थिक लाभ हासिल गर्न सकिन्छ ।

म व्यवसायमा किन लागेँ
‘तपाईं व्यवसायमा किन लाग्नुभयो ?’ भन्ने प्रश्नको जवाफमा महर्जन भन्छन्, ‘मैले कला क्षेत्रको एउटा तहको अध्ययन पूरा गरिसकेपछि नेपालमा जागिरको लागि विभिन्न कम्पनीहरुमा आवेदन दिएँ । निकै धेरै ठाऊँ भौंतारिएँ । तर पनि मैले म आफूलाई उचित लाग्ने जागिर पाउन सकिनँ । त्यसैकारण मलाई मेरो जीवनको बाटो बदल्नुपर्छ कि भन्ने सोच आयो । त्यसैकारण मैले व्यवसायमा संलग्न हुनुपर्ने बारेमा सोचेँ । मेरो अध्ययनको विषय प्राविधिक शिक्षा त थिएन । तैपनि विभिन्न उतारचढाव पार गर्दै अहिले म प्राविधिक क्षेत्रमा संलग्न छु । म अहिले यस व्यवसायमा सन्तुष्ट छु । आर्थिक उपार्जन पनि राम्रै हुन्छ । सबै कुरा राम्रै चलिरहेको छ । मानिसको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको आत्मसन्तुष्टि हो । हामी जहाँ सन्तुष्ट हुन सक्छौं, त्यही क्षेत्र नै हाम्रो लागि सबैभन्दा उत्कृष्ट क्षेत्र हुने गर्छ ।’

हामी हरेक समय भित्री रुपमा कुनै विचार वा भावनाबाट निर्देशित भइरहेका हुन्छौं । जुन कुरा ढिलोछिटो हाम्रो कार्यव्यवहारबाट प्रकट हुन्छ । अरु प्रति प्रस्तुत हुँदा भलाई हुने किसिमले काम गर्यौं वा सहयोगको कामना गर्यौं भने हामी सुपात्र बन्न सक्छौं, अरु प्रति खराब आचरण प्रकट गर्यौं भने हामी सामाजिक रुपमा वहिष्कार पनि पर्न सक्छौं । हामीले अरुप्रति जस्तो व्यवहार गर्छौं, हामीले पनि अरुबाट त्यस्तै व्यवहार भएको पाउनेछौं ।

वाटर प्रुफिङको बजारः विगत र अहिले
वाटर प्रुफिङ प्रति विगतमा मानिसहरुमा खासै चासो देखिँदैनथ्यो । यसको बजार पनि सानो थियो । अहिले भने शहरी क्षेत्रमा बन्ने अधिकांश घरका घरधनीहरु वाटर प्रुफिङ सिष्टम जडान गर्न निकै नै आकर्षित हुने गरेका छन् । अहिले हरेक घरको छतमा पानीको ट्याङ्की राख्ने प्रचलन छ । जुन आवश्यकता र बाध्यता दुवै हो । घरको छतमा राखिएको पानीको ट्याङ्कीको तौल अर्थात घनत्व र चापले थिच्दा वाटर प्रुफिङ नभएको घरमा पानी चुहिने समस्या सृजना हुने गरेको पाइन्छ । नेपालमा विभिन्न किसिमले वाटर प्रुफिङ गरिँदै आइएको पाइन्छ । भूकम्प भन्दा पछि नेपालमा पानीको ट्याङ्कीमा कपडाको प्रयोग गरेर वाटर प्रुफिङ कार्य गरिँदै आइएको छ । जुन लचकदार हुने गर्छ । अहिले रुफ गार्डेन, स्विमिङ पुल, अण्डरग्राउण्ड लगायत सबै ठाउँमा यसरी कपडाको प्रयोग गरेर वाटर प्रुफिङ गरिने प्रचलन बढेको छ ।

व्यवसायमा लगानी र मेरो अनुभव
सामान्यतया जुनसुकै व्यवसाय गर्ने क्रममा पनि लगानी महत्वपूर्ण पक्ष नै बन्ने गर्छ । लगानी भन्दा महत्वपूर्ण कुरा भनेको अहिलेको समयमा इच्छाशक्ति हुँदो रहेछ । भित्रैबाट इच्छाशक्ति जागृत हुन सकेको खण्डमा हामीले तुलनात्मक रुपमा बढी लाभ हासिल गर्न सक्दा रहेछौं, आफूले अङ्गालेको काम प्रति विश्वास, इच्छाशक्ति, निरन्तरता र कमीकमजोरी सुधार्ने प्रतिवद्धता हुनसकेको खण्डमा हामीले न्यून लगानीबाट पनि आफूलाई अब्बल बनाउँदै लैजान सक्छौं । म विगत ३५ बर्ष देखि वाटर प्रुफिङ व्यवसायमा संलग्न भएका हँु । मेरो आफ्नो व्यावसायिक शुरुवातका दिनमा मेरो व्यवसायको प्रचारको लागि टोल–टोलमा पुगेर भित्ताहरुमा आफैंले पम्पलेट टाँस्ने काम गर्थें । केही असजिलो महसुस त अवश्य हुन्थ्यो । तैपनि मैले आफ्नो कामलाई निरन्तरता दिँदै गएँ । शुरुमा मैले सानो लगानीमा नगरपालिकामा फर्म दर्ता गराएर व्यवसाय सञ्चालन गरेको हुँ । मेरो काम प्रतिको विश्वास र गुणस्तरको कारण पछि आफ्नो क्षमता भन्दा निकै बढी कामहरु समेत आउन लागे । त्यसैकारण कर्मचारीहरु बढाउँदै गयौं । मेरो व्यवसायको ख्याति पनि विस्तारै बढ्दै गयो । विस्तारै विभिन्न सरकारी प्रोजेक्टका कामहरु समेत हामीले पाउन लाग्यौं ।

वाटर प्रुफिङमा मेरो संलग्नता
म वाटर प्रुफिङमा आउनु भन्दा पहिले केही समय आफैंले हार्डवेयर व्यवसाय पनि सञ्चालन गरेको थिएँ । एकदिन मेरो पसलबाट ४–५ लाख रकम सहितको झोला चोरी भयो । त्यस बेलाको त्यो रकम निकै महत्वपूर्ण थियो । आफू एक्लै पसलमा बस्ने काम सहज हुँदो रहेनछ भन्ने महसुस गरेर म हार्डवेयर व्यवसायबाट बाहिर निस्किएँ । अर्को कामको खोजी गर्न लागेँ । त्यही समयमा मैले पत्रिकामा वाटर प्रुफिङमा काम गर्न मार्केटिङको लागि जनशक्ति आवश्यकता रहेको विज्ञापन देखेँ । म त्यस कम्पनीमा अन्तरवार्ताको लागि गएँ । त्यहाँ मैले सजिलै जागिर पाएँ । त्यस जागिरसँगै मेरो जीवन नयाँ गतिमा अघी बढ्यो । शुरुका दिनमा त म आफूलाई कसरी बजारमा प्रस्तुत गर्ने भन्ने कुराको ज्ञान थिएन । यद्यपि बजारीकरणमा खटिएको केही समयमा नै म आफूलाई सबैभन्दा अब्बल कर्मचारीको रुपमा सावित गर्न सकेँ । व्यवसायमा पनि मानिसहरुको व्यवहार हेरेर निर्णय लिर्नुपर्दोरहेछ भन्ने कुरा मैले सिकेँ । मानिसको मनोविज्ञान व्यावसायिक सफलताको लागि पनि महत्वपूर्ण हुने कुरा महसुस गर्न सकेको कारण नै म सफल बन्न सकेको हुँ भन्ने मलाई लाग्छ । मैले जागिर गर्ने त्यस समयमा मैले तलब बापत मासिक २ हजार रुपियाँ र पेट्रोल बापत मासिक ५ सय रकम कमाउँथे । बजारमा मेरो एक किसिमको प्रचार हुँदै गयो । बजारबाट राम्रो अर्डर समेत आउन थाल्यो । काम गर्दै जाने क्रममा मेरो पहिलेको कम्पनीका साहुजी व्यवसायबाट बाहिरिनुभयो । त्यसपछि म आफैंले नयाँ फर्म सञ्चालन गर्ने योजनामा पुगेँ । नयाँ कम्पनीको लागि एकजना ओभरसियर राजेश यादबसँगको सहकार्यमा मैले व्यवसाय शुरु गरेँ । २ जना कर्मचारी पनि हामीले राख्यौं । मेरो व्यवसायले एक किसिमको उचाई लिइसकेको थियो । पछि पार्टनर यादब व्यवसायबाट अलग्गिए । त्यसपछि सम्पूर्ण व्यवसाय मेरै भयो । अहिले मेरो व्यवसायमा नियमित रुपमा २५–३० जना व्यक्तिहरु रोजगारी गर्दै आएका छन् । अप्रत्यक्ष रुपमा ७०–८० भन्दा बढी लाभान्वित हुँदै आएका छन् । मलाई लाग्छ, हरेक व्यक्ति व्यावसायिक रुपमा सफल हुनको लागि इच्छाशक्तिसँगै मानिसमा विश्वास र धैर्यता हुनुपर्ने रहेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij