
काठमाडौं । नेकपा (एमाले) गुल्मी काठमाडौं सम्पर्क मञ्चको अधिवेशन सम्पन्न भई रेमलाल पन्थीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिको शनिवार पूर्ण वैठक बसेको छ । परिचयात्मक भेलाको रुपमा सम्पन्न भएको पहिलो वैठकले नजिकिँदै गरेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी विभिन्न निर्णयहरु गरेको छ । प्रकाशन एवं प्रचारप्रसारका अलावा नेकपा (एमाले)लाई गुल्मीमा पहिलो पार्टीको रुपमा स्थानीय तह निर्वाचनमा स्थापित गर्नको लागि पार्टीले लिनुपर्ने कदम एवं रणनीति सम्बन्धमा पनि वैठकमा व्यापक छलफल भएको छ ।
सम्पर्क मञ्चका अध्यक्ष रेमलाल पन्थीले अध्यक्षतामा शनिबार बसेको वैठकको सञ्चालन सचिव तारा प्रसाद न्यौपानेले गर्नुभएको थियो । काठमाडौंमा सम्पन्न भएको उक्त वैठकमा नेकपा (एमाले)मा आवद्ध जिल्ला, अञ्चल तथा भूगोलमा क्रियाशिल नेतृत्व वर्गको उपस्थिति रहेको थियो ।
नेकपा (एमाले) गुल्मीका सहइन्चार्ज जङ्ग नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वैठकमा अतिथिको रुपमा अञ्चल सम्पर्क कमिटी सदस्य टीकाराम सापकोटा, सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष श्रीकुमार पाण्डे, नेता शुशिल कुमार भट्टराई, नेता फर्सुराम पाण्डे, पूर्व सचिव राज शाह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
गुल्मी काठमाडौं सम्पर्क मञ्चको नयाँ कार्यसमितिको अध्यक्षमा रेमलाल पन्थी, उपाध्यक्षमा खिमराज अधिकारी र मिना ज्ञवाली (अनुषा), सचिवमा तारा प्रसाद न्यौपाने, उपसचिवमा लक्ष्मीकान्त ज्ञवाली र विमला भट्टराई एवं कोष प्रमुखमा दुर्गा प्रसाद ज्ञवाली लगायत ६० सदस्यीय नयाँ कार्यसमिति मञ्चको ११औं सम्मेलनबाट गठन गरिएको छ ।
कमिटीमा इन्जिनियर, चार्टड एकाउन्टेन्ट, कानुनी परामर्शदाता, शिक्षक, कर्मचारी, सञ्चारकर्मी, उद्योगी, व्यवसायी लगायतका विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरु समेटिएका छन् ।
पूर्ण वैठकलाई सम्बोधन गर्दै अतिथि टिकाराम सापकोटाले नवगठित मञ्चका सदस्यहरुलाई आफ्नो नियमित अध्ययन एवं पेशाव्यवसायमा उत्कृष्टता हासिल गर्नुको अलावा क्षमता अभिवृद्धिमूलक क्रियाकलापमा पनि केन्द्रित हुन र पार्टी प्रति सदैव बफादार रहन निर्देशन दिनुभयो । साथै देशभरका सम्पर्क मञ्च मध्ये वौद्धिक र प्राज्ञिक व्यक्तिहरु समेटिएको अहिलेको मञ्चका गतिविधिहरु पनि सधै उत्कृष्ट रहन सकुन् भन्दै उहाँले शुभकामना समेत प्रकट गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं पार्टीका जिल्ला सहसंयोजक जङ्ग नेपालीले नेकपा (एमाले)को नेतृत्वका स्थानीय तहहरुले जनताका आधारभूत आवश्यकता सम्बोधन हुने गरी खरको छाना विस्थापन, प्रत्येक घरमा खानेपानीको पहुँच विस्तार, सबै स्थानीय तहहरुमा प्राविधिक शिक्षालय, बाटोघाटो निर्माण लगायतका थुप्रै महत्वपूर्ण उपलब्धिहरु हासिल भएको बताउनुभयो । साथै एमालेको नेतृत्वमा सम्पन्न भएका जनमुखी गतिविधिहरु नै पार्टीका उपलब्धिहरु भएकोले ती एजेण्डाकै आधारमा गाउँबस्ती प्रवेश गर्न एमालेलाई सहज स्थिति रहेको समेत बताउनुभयो । विशेष रणनीति सहित कदमहरु चाल्नसके गुल्मीका सबै स्थानीय तहमा एमालेको विजय सुनिश्चित रहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा धारणा राख्दै अन्य वक्ताहरुले मञ्चबाट नियमित रुपमा कुनै न कुनै रचनात्मक क्रियाकलापहरु सञ्चालन भइरहनुपर्ने, आफ्नो पदीय जिम्मेवारीलाई स्वीकार्दै इमान्दारितापूर्वक भूमिका निर्वाह गर्नुपर्ने, व्यक्तिको योगदानलाई सम्मान गर्ने गरी मूल्याङ्कनको नयाँ प्रणाली विकास गर्नुपर्ने लगायत विषयवस्तुहरुमा जोड दिएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij