काठमाडौं । काठमाडौं उपत्यका भौतिक विकास समितिले उपत्यकामा नयाँ शहर निर्माणका लागि रोक्का रहेको एक लाख रोपनीमध्ये ४४ हजार रोपनी जग्गाको कित्ताकाट फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा बिहीबार बसेको भौतिक विकास समितिको १७औं बैठकले काठमाडौं र भक्तपुरका पाँच नगरपालिकाभित्र पर्ने ४४ हजार रोपनी जग्गाको कित्ताकाट फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।
समितिले एक लाख रोपनीमध्ये ५६ हजार रोपनीमा नयाँ शहर निर्माण गर्न सकिने भएकाले जग्गा कित्ताकाट रोक्का यथावत नै राखेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं जिल्लाका कागेश्वरी मनोहरा नगरपालिका र शंखरापुर नगरपालिका, भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिकाको नयाँ नगर विकास योजना स्वीकृत गर्ने सिफारिस गरेको छ। प्राधिकरणले पाँच वटा नगरपालिकाभित्र निर्माण हुने नयाँ शहरको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ ।
नयाँ शहरका लागि रोक्का राखिएको एक लाख रोपनीमध्ये ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको मन्त्री झाँक्रीले जानकारी दिइन् । ‘वर्षौदेखि रोकिएको जग्गाको कित्ताकाटको विषय यसरी रोकेर राख्नु हुँदैन भनेर मन्त्रिपरिषदमा पठाउने निर्णय लिएका छौं,’ उनले भनिन्, ‘जनतासँग जोडिएको विषयलाई यसरी वर्षौसम्म रोकेर राख्न मिल्दैन । मन्त्रिपरिषदमा पेश भएपछि पनि यस विषयमा छलफल हुने थुप्रै ठाउँ छन् ।बरु त्यहाँ राखेर बहस र छलफल गर्न सकिन्छ ।अघि बढ्नै नदिने काम गर्नु हुन्न भनेर यो निर्णय लिएका हौं ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij