गैरआवासीय नेपाली संघ एनरआएनएको विगत ६ महिनायता जारी विवाद अन्ततः समाधान भएको छ । सहमतिको प्रयासस्वरुप गएराति अबेरसम्म भएको दुई पक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति गरेर विवाद टुङ्ग्याइएको गैरआवासीय नेपाली संघका नेता शनि कुमार ओलीले रातोपाटीलाई जानकारी दिए । ‘विवाद टुङ्ग्याइएको छ । दुई अध्यक्ष र महत्त्वपूर्ण पदहरू थपेर अघि बढ्ने भन्ने सहमति भएको छ’, उनले भने, ‘अब विधान संशोधन गरेर आवश्यक व्यवस्था गरिन्छ ।’
एनआरएनएलाई जोगाउन दुवै पक्षमा छलफलमा बसेर सहमति जुटाइएको भन्दै अब शेष घले पक्षले मार्च २४ र २५ मा गर्ने भनिएको छुट्टै महाधिवेशन रोकिने छ । साथै चुनाव तोकिएकै समय २४ र २५ तारिकमा र त्यसपछिको महाधिवेशन एकताको महाधिवेशनको रूपमा गरिनेछ ।
सहमतिअनुसार कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने बताइएको छ । जसमा पहिलो १ वर्ष कुल आचार्यले बैठकको अध्यक्षता गर्ने र त्यसपछि बद्री केसीले गर्ने समझदारी भएको दाबी गरिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij