सञ्जय महतो, सहकोषाध्यक्ष पदका उम्मेदवार
नेपाल इन्जिनियर एसोसिएसन गैरनाफामूलक संस्था हो । यस संस्थाले सदस्य इन्जिनियरहरुको हकहित, व्यावसायिक क्षमता अभिवृद्धि, जनचेतनामूलक गतिविधिहरु सञ्चालन एवं राज्य पक्ष सँग नीतिगत परिमार्जनको लागि आवश्यकता बमोजिम परामर्शदाता (सल्लाहकार)को भूमिका समेत निर्वाह गर्दै आएको छ ।
यसपटकको ३३ औं कार्यसमिति निर्वाचनको लागि ई. सञ्जय कुमार महतोले सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
लोकतान्त्रिक इन्जिनियर समूहबाट उम्मेदवारी दिएका महतोसँग गरिएको संक्षिप्त कुराकानीका क्रममा महतो आफ्नो उम्मेदवारीको औचित्यता प्रष्ट पार्दै भन्छन्:
यो संस्था सबै इन्जिनियरहरुको साझा संस्था भएकोले यसलाई कसैले पनि राजनीतिबाट प्रभावित हुन दिनुहुँदैन । संस्थाको नेतृत्वमा रहने व्यक्ति व्यक्तिगत लाभबाट नभई सामुहिक भलाईको उद्देश्यबाट क्रियाशिल रहनुपर्छ । नीति, विधि र पद्धतिलाई राम्रोसँग बुझेको र अवलम्बन गर्न सक्ने, शिघ्र निर्णय लिन सक्ने, समूहलाई निश्चित उद्देश्य प्राप्तिको लागि परिचालन गर्न सक्ने अतिरिक्त प्रतिभा भएको व्यक्ति संघको नेतृत्वमा आउनसके संस्थाले अघी सारेका कार्यक्रमहरु सहज रुपमा सम्पन्न हुन सक्छन् ।
लामो समय देखि इन्जिनियरिङ सेवामा कार्यरत रहँदा साथै विभिन्न सामाजिक गतिविधिहरुमा क्रियाशिल रहँदा मैले प्राप्त अनुभवलाई सामुहिक हितमा योगदान गर्न उपयुक्त हुने ठानेर यस पटक मैले सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।
म विगत १५ बर्ष पहिले देखि इन्जिनियरिङ अन्तरगत भ्यालुएसन तथा बिल्डिङ कन्स्ट्रक्सन लगायत काममा संलग्न छु । मैले नेपाल भ्यालुयर्स एसोसिएसनमा सचिव र उपाध्यक्ष लगायतका पदमा रही जिम्मेवारी निर्वाह गर्दा संस्थागत तौरतरिकाहरु सिक्ने मौका पाएको छु । संस्था परिचालनको क्रममा आउने आरोहअवरोहहरुलाई नजिकबाट महसुस गर्ने अवसर मैले पाएको छु ।
नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा मैले कुनै प्रलोभन वा स्वार्थबाट प्रेरित भएर उम्मेदवारी दिएको होइन । सबै इन्जिनियरहरुको साझा प्लेटफर्मको रुपमा यस संस्थाको गरिमालाई अझ उचाईमा पुर्याउनमा मेरो पनि केही योगदान रहोस् भन्ने मान्यताले मैले यस संस्थामा उम्मेदवारी दिएको हुँ ।
मलाई आशा छ, ई. दिलीप कुमार झा नेतृत्वको लोकतान्त्रिक इन्जिनियर समूहबाट प्रतिनिधित्व गर्ने अध्यक्ष, उपाध्यक्ष, म (सञ्जय महतो) लगायतका उम्मेदवारहरु सबैको भूमिका नेपाल इन्जिनियर्स एसोसिएसनको लागि महत्वपूर्ण सावित हुनेछ ।
संस्थागत सुधार, इन्जिनियरको क्षमता अभिवृद्धिमूलक कार्यक्रम, संस्था मातहत प्रविधिको प्रयोग, एसोसिएसनको चुस्तदुरुस्त आर्थिक व्यवस्थापन लगायत क्रियाकलापहरुलाई मैले आफ्नो प्राथमिकतामा राखेको छु । साथै समयक्रम अनुसार इन्जिनियरहरुका आवश्यकता के छन् भन्ने कुरा पहिचान गरेर सोहीबमोजिम समाधान वा सहजीकरण गर्ने कार्यमा म सदैव क्रियाशिल रहनेछु ।
सबै मतदाताहरुलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनुहोला भन्ने आग्रह समेत गर्दछु ।