काठमाडाैं । इन्जिनियर ऋषि कोइराला विधागत इन्जिनियरहरुका एजेण्डालाई प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिएका छन् । इन्जिनियरिङ अन्तरगत पृथक विधा मानिने धितो मूल्याङ्कनबाट अघि बढ्दै गरेका कोइरालालाई सबैजसो विधागत इन्जिनियरहरुको साथ र सहयोग छ ।
कोइराला समस्यामा रहेका इन्जिनियरहरुको हकहितको लागि पूर्ण समर्पित भई निश्चित उद्देश्य प्राप्तिको लागि पूर्ण समर्पित भई लामो समय देखि क्रियाशिल रहँदै आएका पात्र हुन् ।
व्यावसायिक रुपमा मूल्याङ्कन कार्यलाई अपनाई मूल्याङ्कन क्षेत्रलाई अहिलेको अवस्था सम्म ल्याइपुर्याउनमा कोइरालाको योगदान महत्वपूर्ण छ ।
विभिन्न प्रयोजनले स्थिर सम्पत्तिको मूल्याङ्कन गर्ने प्रचलन नेपालमा समेत पुरानै रहेपनि यस क्षेत्रलाई निश्चित दायरामा ल्याउन नसकिँदा विगतमा यस क्षेत्रलाई व्यावसायिक रुपमा अपनाइएको इतिहास भने त्यति पुरानो छैन ।
नेपालमा मूल्याङ्कन कार्यलाई कानुनी दायरामा ल्याई नियामकीय निकायको नियमनमा राख्ने प्रचलन विकास नहुँदा विगतमा मूल्याङ्कन क्षेत्रलाई व्यावसायिक रुपमा अपनाएका इन्जिनियरहरुले विभिन्न समस्या सामना गर्नुपर्ने स्थिति थियो । यस्तो अवस्थालाई सहजीकरण गर्दै मूल्याङ्कन क्षेत्रको आफ्नै विशिष्ट पहिचान स्थापना गर्ने कार्यमा ई. ऋषि कोइरालाको योगदान महत्वपूर्ण छ ।
विगतमा मूल्याङ्कन कार्यविधिको अभावमा मूल्याङ्कन पद्धतिमा एकरुपता ल्याउन नसकिएको र मूल्याङ्कनकर्ताहरु समेत आपसमा संगठित हुन नसकेको स्थितिमा पेशागत प्राविधिक मूल्याङ्कनकर्ता इन्जिनियरहरु बिना कसुर जेल जानुपर्ने र आफ्नो इन्जिनियरिङ फर्म कालोसूचीमा पर्ने प्रचलन पटक–पटक दोहोरिने गरेको कारण त्रासदीपूर्ण वातावरणमा पेशागत जिम्मेवारी वहन गर्नुपर्ने स्थिति थियो ।
सोही किसिमका विविध पक्षहरुलाई विचार गरी मूल्याङ्कन कार्यमा संलग्न केही व्यक्तिहरुले यस्ता समस्या समाधानमा साझा मञ्चको आवश्यकता महसुस गरी नेपाल भ्यालुयर्स एसोसिएसन स्थापना गरेका हुन् । स्थापनाको छोटो समयमा नै देशभर आफ्नो सञ्जाल विस्तार गर्न, ५ सय भन्दा बढी संस्थागत सदस्यहरु आफ्नो सञ्जालमा जोड्न र मूल्याङ्कन क्षेत्रलाई विशिष्ट पहिचान दिलाउँदै नीतिगत व्यवस्था परिमार्जन गर्नमा अहिले यस संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।
पछिल्लो समय आफ्नो नेतृत्वको नेपाल भ्यालुयर्स एसोसिएसन मातहत यस कार्यमा संलग्न इन्जिनियरहरुको क्षमता अभिवृद्धिमा समेत कोइरालाले जोड दिँदै चरणबद्ध रुपमा स्थायी सम्पत्ति मूल्याङ्कन सम्बन्धी तालिमहरु समेत प्रदान गर्दै आएका छन् । साथै पछिल्लो समय धितो मूल्याङ्कनका अन्तर्राष्ट्रिय पद्धतिहरु नेपालमा अवलम्बन गर्ने कार्यमा समेत उनी क्रियाशिल बन्दै गएका छन् ।
स्मरण रहोस्, नेपाल इन्जिनियर्स एसोसिएसन अन्तरगत अहिले नेपाल भ्यालुयर्स एसोसिएसन एउटा वस्तुगत संघको रुपमा रहँदै आएको छ । यसरी नै नेपाल इन्जिनियर्स एसोसिएसन अन्तरगत आर्किटेक्चरल, स्ट्रक्चरल इन्जिनियरिङ, जिओलोजिकल, इलेक्ट्रोनिक्स लगायतका विभिन्न विधागत संघसंस्थाहरु आवद्ध छन् । यद्यपि सबै संघसंस्थाका गतिविधिहरु राम्रोसँग चलायमान हुन सकेका छैनन् । विधागत रुपमा सबैका समस्याहरु एकै किसिमका छैनन् । यस्तो अवस्थामा आफूले नेपाल इन्जिनियर्स एसोसिएसन अन्तरगत सबै विधागत इन्जिनियरहरुका समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने सङ्कल्प लिएर यतिबेला ई. कोइराला चुनावी मैदानमा छन् ।
नेपाल इन्जिनियर एसोसिएसनमा ई. ऋषि कोइरालाको विजय एक व्यक्तिको नभई सम्पूर्ण विधागत इन्जिनियरहरुको विजय सावित हुने कुरालाई दृष्टिगत गर्दै विधागत इन्जिनियरहरु उपाध्यक्ष पदमा ऋषि कोइराला सहित ई.दिलीप कुमार झा नेतृत्वको समूहलाई विजयी गराउन माहोल बनाइरहेको बताइन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij