
काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन नेपालका सम्पूर्ण इन्जिनियरहरुको छाता सङ्गठन हो । पछिल्लो समय यस संस्थाको ३३ औं कार्यसमिति चयनको लागि हुन लागेको निर्वाचनको लागि फागुन २९ गतेलाई निर्वाचन मिति तय गरिएको छ । उक्त संस्थाको नेतृत्वको लागि यतिबेला उम्मेदवारहरु विभिन्न प्यानल मार्फत चुनावी दौडधुपमा छन् ।
विगतमा इन्जिनियर्स एसोसिएसनको चुनावमा राजनीतिक दलनिकट संगठनको माध्यमबाट उम्मेदवार खडा गराई निर्वाचनमा संलग्न हुने प्रचलनले प्राथमिकता पाउँदै आएको यस संस्थाको निर्वाचनमा यसपटक गैरदलगत व्यावसायिक प्यानलको रुपमा लोकतान्त्रिक इन्जिनियर समूहले समेत उम्मेदवारी दर्ता गराएको छ । ई. दिलिप कुमार झा नेतृत्वको लोकतान्त्रिक इन्जिनियर समूहको उक्त उम्मेदवारीलाई विशेष अर्थबाट हेरिएको छ ।
केन्द्रीय उपाध्यक्षको लागि ऋषि कोइरालाको उम्मेदवारी
लोकतान्त्रिक इन्जिनियर समूहको उपाध्यक्षमा ई. ऋषि कोइरालाले उम्मेदवारी दिएका छन् । लामो समय देखि मूल्याङ्कन क्षेत्रमा संलग्न रही काम गर्दै आएका, स्वच्छ छवि कायम गरेका, युवा इन्जिनियरहरुको प्रतिनिधित्व गर्ने कोइरालाको उम्मेदवारीलाई यतिबेलाको निर्वाचनमा विशेष महत्वको साथ हेरिएको छ । उनी हाल नेपाल भ्यालुयर्स एसोसिएसनका अध्यक्ष समेत रहँदै आएका छन् । समयको माग, परिस्थिति र शुभचिन्तकहरुको आग्रहले आफूलाई एसोसिएसनको निर्वाचनमा उम्मेदवारी दिन बाध्य गराएको कोइराला बताउँछन् ।
देशभरका मूल्याङ्कनकर्ताहरुको हकहितको लागि काम गर्ने उद्देश्यले स्थापित नेपाल भ्यालुयर्स एसोसिएसनको अलावा अन्य विभिन्न संघसंस्था एवं आफ्नो व्यावसायिक अभ्यासबाट खारिएका कोइरालाले नेपाल इन्जिनियर्स एसोसिएसनलाई विधागत इन्जिनियरहरुको साझा प्लेटफर्मको रुपमा स्थापित गर्न चाहन्छन् ।
आफूहरुको सञ्जाल देशभर रहेको, युवा, विधागत एवं वरिष्ठ इन्जिनियरहरुको साथ आफूलाई प्राप्त भएको र इन्जिनिरहरुका खास मुद्दा आफ्नो लोकतान्त्रिक इन्जिनियर समूहले सम्बोधन गरेको साथै व्यक्तिगत रुपमा समेत आफू सबैसँग परिचित रहेको लगायतका कारणबाट आफू निर्वाचन प्रणालीबाट निर्वाचित भई एसोसिएसनको नेतृत्वको लागि योग्य हुनेमा कोइराला विश्वस्त छन् ।
संस्थालाई दलगत (गुटगत) स्वार्थ भन्दा माथि राखी सबैलाई विश्वासमा लिई सामुहिक लाभका क्रियाकलापमा संस्था समर्पित हुनुपर्ने कुरामा कोइरालाको मुख्य जोड छ । साथै शिघ्र निर्णय क्षमता र नेतृत्वदायी क्षमताका व्यक्तिको आवश्यकता रहेको, आफूले सबै इन्जिनियरहरुका समस्यालाई नजिकबाट बुझेको र संस्थालाई थप चलायमान बनाउँदै आवश्यक रुपान्तरण गर्ने सम्मका कार्यक्रमहरु विभिन्न भेलाहरुमा पस्कँदै आएको र प्राप्त प्रतिक्रियाहरुले आफूलाई ठूलो हौसला एवं ऊर्जा प्रदान गर्दै आएको कारण समेत आफू निर्वाचनमा होमिएको कोइराला बताउँछन् ।
कोइरालाले सबै इन्जिनियरहरुको साझा प्लेटफर्मको रुपमा एसोसिएसनलाई विकास गर्नुपर्ने, गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि लविङ गर्नुपर्ने, इन्जिनियरहरुको क्षमता अभिवृद्धिको लागि एसोसिएसन मातहत निरन्तर तालिम, स्टाफ कलेजको स्थापना, एसोसिएसनलाई प्रविधिमैत्री बनाउनुपर्ने लगायत महत्वपूर्ण कार्यक्रमहरुलाई यथार्थमा साकार पार्ने कार्यक्रमहरु समेत पस्कँदै आएका छन् ।
आफ्नो उम्मेदवारीको औचित्यता बारे प्रष्ट्याउँदै कोइराला भन्छन्, ‘अहिले सम्म नेपाल इन्जिनियर्स एसोसिएसन सबैको साझा संस्थाको रुपमा स्थापित हुन नसकेको अवस्थामा यसलाई सबै इन्जिनियरहरुले आफ्नो संस्था भनेर गर्व गर्न सक्ने वातावरण निर्माण गर्न मेरो महत्वपूर्ण पहल रहनेछ । जुन ३३औं कार्यसमितिको लागि सबैभन्दा महत्वपूर्ण कदम समेत हुनेछ भन्नेमा म विश्वस्त छु ।
विगतका कमीकमजोरीलाई सच्याउँदै नयाँ तवरले काम गर्न सक्ने नेतृत्वको आवश्यकता महसुस गरेर नै आफूले उम्मेदवारी दिएको बताउने कोइराला नेपाली इन्जिनियर समुदायका एक परिचित व्यक्ति हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij