विशाल खड्का (राम कुमार)दोलखा गौरीसङ्कर गाउँपालिकाका विशाल खड्का लामो समय देखि मौरी पालन व्यवसायमा संलग्न व्यक्ति हुन् । उनले मौरीपालनबाट राम्रो आम्दानी गर्दै आएका छन् । उनी मौरीबाट उत्पादित मह मात्र बेच्दैनन् । मौरीका घारहरु पनि बिक्री गर्छन् । अहिले १ फ्रेम मौरी १ हजार रुपियाँमा बिक्री हुने गरेको र एक घार मौरीमा १० ओटा सम्म फ्रेम हुने गरेको उनी बताउँछन् ।
दोलखाको गौरीसङ्कर नगरपालिका अन्तरगत सुरीका स्थानीय बासिन्दा रहेका विशालले अहिले आफ्नो क्षेत्रका अन्य किसानहरुलाई पनि मौरी पालनमा लाग्नको लागि उत्प्रेरित गर्दै आएका छन् । बार्षिक रुपमा आफूले करिब ५० घार मौरी बिक्री गर्दै आएको खड्का बताउँछन् । मौरी पालन व्यवसाय कम लगानी र कम मेहनतमा राम्रो आम्दानी लिन सकिने क्षेत्रहरु मध्ये एक रहेको बताउँछन् खड्का । मौरी पालन व्यवसायमा लाग्नको लागि ठूलो रकम लगानी गर्नुपर्दैन । साधारण लगानीबाट पनि यस कार्य-
व्यवसायमा संलग्न हुन सकिन्छ ।
विगतमा नेपालमा रोजगारी र कमाईका अवसर नदेखेर वैदेशिक रोजगारीमा ३ बर्ष बिताएका खड्का अहिले भने आफैं स्वरोजगार बनेका छन् । आफ्नो परिवारको जिवीकोपार्जन मात्र उनले गरेका छैनन् । अन्य थुप्रै व्यक्तिहरुलाई पनि स्वरोजगार बन्न उत्प्रेरित समेत गरिरहेका छन् । दोलखाको सुरी क्षेत्रमा नै राम्रो आर्थिक अवसरको माध्यमको रुपमा मौरी पालन व्यवसायलाई अपनाएका खड्का फर्निचर व्यवसायमा समेत संलग्न छन् ।
वैदेशिक रोजगारीबाट फर्किएपनि परम्परागत तवरले हुँदै आएको कृषि कार्यमा नै उनी संलग्न भए । पछि काष्ठ व्यवसायमा संलग्न भए उनी । संयोगले जुरेको मौरीपालन सम्बन्धी तालिमले उनलाई मौरीपालन व्यवसायमा डोहो¥याएको हो । उनले चितवनको भण्डाराबाट मौरीपालन सम्बन्धी तालिम हासिल गरेका हुन् ।
मौरी पालन व्यवसायमा खड्का वि.सं २०७० देखि संलग्न भएका हुन् । शुरुमा उनले परीक्षणकै रुपमा २–३ घार मौरी राखेर प्रवेश गरेका खड्काको व्यवसाय फस्टाउँदै गयो । अहिले गाउँ छिमेक सबैजसोले धेरै थोरै मौरीघार राखेर मौरीपालन कार्य गर्दै आएका छन् । सबैजसोलाई खड्का आफैंले मौरी उपलब्ध गराउँदै आएकाछन् । अन्य व्यावसायिक क्रियाकलापमा समेत संलग्न रहँदै आएका खड्काले मौरीपालन व्यवसायलाई पनि सँगसँगै अघी बढाउन सकेकोमा गर्व महसुस गर्छन् । अहिले मौरीपालनबाट नै बार्षिक करिब ५ लाख रकम कमाई गर्न आफूलाई कुनै कठिनाई नहुने दाबी गर्दै खड्का भन्छन्, ‘अवसरहरु ठम्याउन सक्ने हो भने नेपालमा नै राम्रा अवसरहरु भेट्न सकिन्छ । केवल धैर्यता र निरन्तर आशावादी रुपमा आफू संलग्न भएको काममा खटिइरहनुपर्छ ।’
मौरीबाट उत्पादन हुने महको विशेष महत्व छ । नेपालमा मागको तुलनामा निकै कम परिमाणमा उत्पादन हुने भएकोले बजार खोज्न धेरै दुखः गर्नपर्दैन । आफ्नो घरमा नै मह किन्ने ग्राहकहरु आउने गर्छन् । यी कुराहरुलाई हेर्दा नेपालमा मौरीपालनको भविष्य समेत निकै राम्रो देखिन्छ । यसैकारण अन्य क्षेत्रका सफल व्यवसायीहरु समेत मौरीपालनमा संलग्न भएको पाइन्छ ।
शुरुको अनुभव
जुनसुकै व्यवसाय पनि शुरुका दिनमा कष्टकर हुन सक्छ । यसलाई अस्वभाविक रुपमा लिन नहुने खड्काको धारणा छ । शुरुमा खड्काले पनि केही तालमेल मिलाउन नसक्दा मौरीपालनबाट राम्रो लाभ लिन सकेनन् । अहिले त्यही कामले व्यावसायिक रुपमा नै उनले सञ्चालन गरेका छन् । यही मौरीपालन व्यवसायमा राम्रो गरेबापत खड्काले विश्व खाद्य दिवसको अवसरमा दोस्रो उत्कृष्ट पुरस्कार समेत प्राप्त गरेका छन् । अहिले आफ्नो व्यवसाय मार्फत ३ जना व्यक्तिलाई रोजगारी सृजना गर्न सफल छन् खड्का ।
मौरीपालन सम्बन्धी जान्नुपर्ने कुरा
नेपालमा अहिले मेलिफेरा र सेरेना गरी २ प्रजातिका मौरीहरु उपलब्ध छन् । मेलिफेरा तराई क्षेत्रमा उपलब्ध हुन्छ भने पहाडी क्षेत्रमा सेरेना प्रजातिको मौरीको वर्चस्व रहँदै आएको छ । पछिल्लो समय मौरीको लागि चरन क्षेत्रको अभाव हुँदै गएको छ । मौसम परिवर्तन, आगलागी, कृषिजन्य उत्पादनबाट विमुख हुँदै गएको नेपाली परिपाटी लगायतले मौरीपालनको लागि चुनौतीहरु थपिँदै जाने क्रम बढ्दो छ । मौरीपालन नेपालभरी नै गर्न सकिने भएपनि यसलाई राम्रो चरनयुक्त क्षेत्र उपयुक्त हुन्छ ।
सामान्यतया बर्षमा २ पटक (मंसिर र जेठमा) मौरीबाट मह संकलन गर्न सकिन्छ । छोटो अवधिको तालिममा संलग्न भई मौरीको रेखदेख र स्याहारसुसारका विधिहरु सिकेर परम्परागत घारको तुलनामा आधुनिक घार निर्माण गरी मौरी पालन गर्दा तुलनात्मक रुपमा बढी आम्दानी लिन सकिन्छ । मौरीको घार निर्माणको लागि टुनीको काठ उपयुक्त मानिन्छ । परम्परागत तवरले मह उत्पादन हुँदै आएको मौरीपालनमा नयाँ प्रविधि भित्र्याउन सकेको खण्डमा नेपालमा यस क्षेत्रबाट राम्रो आम्दानी हासिल गर्न सकिन्छ । यद्यपि आफू मौरीपालनमा संलग्न भएपश्चात् मौरीको लागि उपयुक्त वातवरण भने सृजना गराउनु निकै जरुरी रहन्छ ।
अन्त्यमा
अहिले राज्यबाट उपलब्ध गराउने कृषि कर्जा वास्तविक कृषकको पहुँचमा पुग्न नसक्दा कृषि सम्बन्धी विभिन्न क्रियाकलापमा संलग्न वास्तविक कृषकले यसको लाभ पाउन नसकेको बताउँछन् खड्का । आगामी दिनमा राज्य पक्षले यस कुरालाई विशेष महत्व दिनुपर्नेमा उनको जोडध छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij