२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

पर्यटन प्रवद्धर्नका निम्ति सरकारले ठोस योजना ल्याउनुपर्छः उप्रेती

पर्यटन प्रवद्धर्नका निम्ति सरकारले ठोस योजना ल्याउनुपर्छः उप्रेती

प्रशान्त उप्रेती, पर्यटन व्यवसायी

प्रशान्त उप्रेती पर्यटन क्षेत्रका एक सुपरिचित व्यक्ति हुन् । जसले धेरैलाई सेवा दिँदै आफू पनि समाजमा स्थापित हुन सफल भएका छन् । उप्रेतीको जन्म तेहथुममा भए पनि कर्मथलो उनले काठमाडौंलाई बनाएका छन् । सबैसँगको हार्र्दिकता एवं सुख–दुःखमा सहकार्य गरेकै कारण आज उप्रेतीले अन्य अग्रजहरूलाई समेत पछि पार्दै व्यावसायिक क्षेत्रमा आफू माथि उठ्न सफल भएका हुन् । उनले विद्यालय तहको अध्ययन झापाको गौरादहबाट पूरा गरेका हुन् । नेपाल ट्राभल्स एण्ड टुर्स मार्फत पर्यटन क्षेत्रमा जागिरेको रुपमा यात्रा शुरु गरेका उप्रेतीले त्यहाँ राम्रो अनुभव प्राप्त गरेपश्चात् नेपाल ट्राभलमा काम गरे । यसरी नै अन्य विभिन्न ट्राभल एजेन्सीमा ६ वर्ष काम गर्ने क्रममा टा«भल्स व्यवसाय र यससँग सम्बन्धि कामहरुलाई नजिकबाट बुझ्ने मौका पाए । सन् २००१ देखि उप्रेती आफैंले ट्राभल एजेन्सी सञ्चालन शुरु गरेका हुन् ।
––––––––––––––––––––––‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍––––––––––––––––––––––‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍––––––––––––––––––––––‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍

नेपालमा पर्यटकीय सम्भावना
नेपाल सबै किसिमका विविधताले भरिएको देश हो । ती विविधताको सही रुपमा सदुपयोग गर्न हामीहरुले सकिरहेका छैनौं । यहाँ समथर तराई भूमि देखि उच्च पहाडी भूमी हुँदै सगरमाथा लगायतका सर्वोच्च हिमशिखरहरु रहेका छन् । समयक्रम अनुसार यहाँको हावापानी परिर्तनशिल छ । चारै सिजनमा नेपालमा विदेशी पर्यटकहरु भित्र्याएर उनीहरुलाई हाम्रो मौसम र हावापानीमा हुने विविधिकरणको अनुभुति दिलाउन सकिन्छ । नेपालको हावापानी स्वच्छ छ । धार्मिक तथा सांस्कृतिक रुपमा समते विविधिकरण रहेको नेपालमा हाम्रा छिमेकी मुलुकहरुबाट सोही बमोजिम विभिन्न प्रयोजनको लागि विदेशी पर्यटकहरु भित्र्याउन सक्ने अवस्था छ । यहाँको हावापानी ठिक्क छ, अर्थात न गर्मी सिजनमा बढी गर्मी हुन्छ, न जाडो सिजनमा समेत बढी जाडो । नेपालको हावापानी राम्रो रहेका कारण बाह्य रुपमा एसि जडान गर्नुपर्ने आवश्यकता रहँदैन । यहि भएर नै विदेशी पर्यटकहरु नेपालमा विभिन्न खालको मनोरञ्जन गर्न आएका हुन् । नेपालमा आउने पर्यटकहरुलाई उनीहरुको रोजाइ अनुसारका विभिन्न गतिविधिहरु सञ्चालन गर्ने हो भने नेपालमा आएका विदेशी पर्यटकहरुको नेपालमा बसाई अवधि बढाउन सहयोग पुग्नेछ भने थप पर्यटकहरुलाई समेत नेपालमा भित्र्याउन सकिन्छ । नेपालमा आउने पर्यटकहरु विभिन्न प्रयोजनले नेपालमा आउने गर्छन् । कुनै पर्यटकहरु महत्वपूर्ण स्थान वा मन्दिरको भ्रमणको लागि आउने गर्छन् भने कुनै विशेष जोखिमपूर्ण गतिविधिमा रमाउनको लागि पनि आउने गर्छन् । यसरी नेपालमा विभिन्न उद्धेश्यले आउने पर्यटकहरुलाई हामीले उनीहरुको चाहना बमोजिम स्तरीय सेवा प्रवाह गर्न सकेको खण्डमा मात्र नेपालको पर्यटन क्षेत्रलाई राम्रो तवरले माथि उठाउन सकिने अवस्था रहन्छ ।

व्यवसायीहरू इमान्दार बन्नुपर्छ
पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायी पनि इमान्दार हुनु जरुरी छ । साथै जागरुक पनि हुनु जरुरी रहन्छ । आगामी दिनमा बजार कता जाँदैछ भने कुरालाई पहिले नै विचार गर्नसके राम्रो प्रगति गर्न सकिने अवस्था रहन्छ । बजारका माग बमोजिमका सेवासुविधा प्रवाह गर्न पर्यटन व्यवसायी निरन्तर रुपमा नै तल्लिन रहनुपर्छ । आफ्ना सरोकारवाला निकायसँग राम्रो सम्बन्ध कायम राख्दै व्यवसायमा अघी बढेको खण्डमा अवश्य सफल भइन्छ । कहिलेकाहीँ आउन सक्ने विभिन्न समस्याहरुलाई सहजै सामना गर्न समेत तयार हुनुपर्छ । साथै हरेक समस्या कुनै नयाँ सम्भावना बोकेर आएको हुन्छ भन्ने कुरामा पनि व्यवसायीले विचार गर्दै कठिन अवस्थामा पनि त्यसलाई स्वभाविक रुपमा लिन तयार हुनुपर्छ । उद्यपि अहिलेको बजारमा भएका विविध खालको सम्भावना र चुनौतीको बारेमा भने सचेत हुनैपर्छ ।

पर्यटनमा अबको सम्भावना
नेपालमा पर्यटन क्षेत्रको राम्रो सम्भावना रहेको छ । तर यति धेरै सम्भावना हुँदाहुँदै पनि विश्वमा नै आएको कोभिड–१९ को कहरले गर्दा केही मात्रामा सुस्त रूपबाट यो क्षेत्र अघि बढिरहेको छ । यस क्षेत्रको विकासका लागि विदेशी लगानी समेत भित्र्याउन जरुरी छ । नेपालमा अहिले सम्म पर्यटकीय गतिविधिहरु कोभिड–१९ ले निकै नै प्रभावित भएका छन् ।

अन्य क्षेत्रहरू भन्दा पर्यटन क्षेत्र विशेषगरी विदेशीसँग नै केन्द्रीत रहने गर्छ । यसो भएकाले यस क्षेत्रमा धेरै नै असर पुगेको छ । शहरी क्षेत्र भन्दा धेरै टाढाका पर्यटकीय गञ्तव्यहरुमा अझै पनि आवश्यकता बमोजिम होटल तथा रिसोर्टहरु सञ्चालनमा आउन सकिरहेका छैनन् । राम्रो पर्यटकीय सम्भावना भएका सबै क्षेत्रहरुमा आवश्यकता बमोजिम होटल तथा रिसोर्टहरु निर्माण गर्न जरुरी छ । रूग्ण रहेका केही होटलहरूलाई सरकारले केही मात्रामा थोरै भएपनि राहत स्वरूप विभिन्न खालको सहुलियत दरमा थप कर्जाको व्यवस्थापन गरिदिने हो भने अझै पनि ती पाँचतारे होटलदेखि अन्य साना होटल र रेष्टुरेण्टहरू सञ्चालनमा आउने थिए ।

छिमेकी मूलुकबाट पर्यटक भित्र्याउन आवश्यक छ
पर्यटन क्षेत्रलाई माथि उठाउन हामीले राम्रो संस्कारयुक्त वातावरण तय गर्नु जरुरी छ । यस कार्यमा हाम्रा जनशक्तिलाई राम्रो तालिम समेत प्रदान गर्नु जरुरी रहन्छ । अहिले हामीले नेपालमा आएका पर्यटकहरुको बसाइको अवधि बढाउनको लागि उनीहरुको चाहना बमोजिमका सेवाहरु प्रदान गर्न विशेष जोेड दिनु जरुरी रहन्छ । योगदान महत्वपूर्ण छ । पर्यटनको भविष्य समेत राम्रो छ । हामीले अब छिमेकी मूलुकहरुबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याएर नेपालको सबै धार्मिक क्षेत्रहरूमा परिचालन गर्न सकियो भने अवश्य पनि पर्यटन क्षेत्रले नेपालमा चाडै फड्क्यो मार्न सक्छ । नेपालमा पर्यटन क्षेत्र आर्थिक विकासको प्रमुख आधार स्तम्भका रुपमा रहेको छ । पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र समग्र आर्थिक विकासमा टेवा पुयाएको छ । सांस्कृतिक, ऐतिहासिक पुरातात्विक सम्पदाको संरक्षण र भौतिक पुर्वाधारको विकासबिना पर्यटन प्रबद्र्धन सम्भव छैन । नेपाललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जैविक विविधता एंव प्राकृति सौन्दर्यको अध्ययन अवलोकनमा ध्यान दिनु आवश्यक छ ।

पर्यटनको विकासको लागि हिमाली क्षेत्रमा पर्यटकीय पदमार्ग निर्माण गर्नु आवश्यक छ । नेपालमा आगामी १० वर्षमा ५० लाख पर्यटक भित्रयाउने योजना अगाडि सारिएको विदितै छ नेपाल आउने पर्यटकमध्ये २० लाख प्रदेश नं .४ मा ल्याउनसके मात्र यस क्षेत्रको पर्यटन राम्रोसँग प्रर्वद्र्धन हुन सक्छ । पर्यटनको पूर्वाधारको निर्माण सडक सञ्जाल विस्तार र विमानस्थलहरुको सुधार नगरेसम्म पर्यटक बढाउने लक्ष्य हासिल गर्न सकिन्छ । काठमाडौँ–तराई जोड्न फास्ट ट्रयाक छिटो निर्माण गर्नु जरुरी छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई व्यवस्थित गरे चीन, जापान, सिंगापुर, थाइल्यान्ड, म्यानमारलगायतका मुलुकबाट १ करोेड धार्मिक पर्यटक ल्याउन सकिन्छ । पशुपतिनाथ, बौद्धनाथ, जनकपुरधामलाई व्यवस्थित गरी भारतलगायत देशबाट उल्लेख्य मात्रामा धार्मिक पर्यटकहरु नेपालमा भित्रयाउन सकिन्छ ।

नेपालमा पर्यटन आकर्षणका माध्यमहरु
नेपालको सामाजिक आर्थिक रूपान्तरणमा पर्यटन व्यवसायको अत्यन्त ठूलो भूमीका रहेको देखिन्छ । हामीकहाँ भएको प्राकृतिक सौन्दर्य, हिमाल, पहाड, तराई र विभिन्न खालको ताल–तलैया र झर्ना, उकाली ओराली पर्यटकहरूका आकर्षणका केन्द्र विन्दु हुन् । विभिन्न जातजातीको बसोबास, चाडपर्व भाषा र संस्कृति एवं यहाँको धार्मिक विश्वास मठ मन्दिर र विभिन्न खालका धार्मिक स्थलहरूः पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी हलेसी, पाथिभरा, दोलखाको भिमसेन, कालिन्चोक स्वर्गद्वारी लगायत हुन् । अबः पर्यटनलाई एउटा उद्योगका रूपमा, व्यवसायका रूपमा विकास गरियो भने नेपालमा रहेको गरिबी र बेरोजगारीको न्यूनिकरण र राष्ट्रिय आयमा वृद्धि गर्दै जनताको जीवनस्तर उकास्ने राम्रो सम्भानाहरू रहेको सन्दर्भमा यस उद्योगलाई लिन सकिन्छ । नेपालमा रहेको गरिबी, बेरोजगारीको न्यूनीकरण र राष्ट्रिय आयमा वृद्धि गर्दै जनताको जीवनस्तर उकास्ने सम्भावनाहरू रहेको सन्दर्भमा पनि यस क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउन सक्छ भन्न सकिन्छ ।

नेपाल पर्यटन व्यवसायका निम्ति उर्वर भूमी हो । नेपालमा पर्यटन विकासको चर्चा गर्दा केही तथ्यहरू अगाडी राखेर हेर्न सकिन्छ । कुनै बेला चीनबाट हुयान साङ र कुएन चेको नेपाल भ्रमण, नेपालको छोरी भृकुटीको तिब्बतका नरेश-राजकुमारसँग विवाह, चीनबाट मञ्जुश्रीको नेपाल प्रवेश, काश्मिरी मुसलमान व्यापारीहरूको प्रवेश, मल्लकालमा क्रिस्चियन पादरीहरूको आगमन र किराँती राजाहरूको भ्रमणबाट कुनै न कुनै ढङ्गले पर्यटन उद्योगको विकास पहिले देखि नै भएको पाइन्छ । उदाहरणको रूपमा राणा प्रधानमन्त्रीहरू क्रमशः जंगबहादुर राणा (१८५०) र चन्द्र शमशेर (१८०८) को बेलायत भ्रमण र शिवरात्रि पर्वमा भारतीय तीर्थयात्रीहरूको आगमनले पनि पर्यटनलाई थप ऊर्जा दिएको प्रमाणित हुन्छ । प्रजातन्त्रको उदयपछि सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक एडमन्ड हिलारीको सफल सगरमाथा आरोहण, एयरलाइन्स कमर्सियल (१९५३) कम्पनीको स्थापना र हवाईसेवा, हालको त्रिभुवन विमानस्थल त्यसबेलाको (सानो गौचरन) हवाई मैदानमा डेकोटा जहाजको (१९५१) को अवतरण र थोमस कुक एन्ड सन्स ट्राभल एजेन्सीमार्फत ६० विदेशी पर्यटकको सन् १९५५ मा आगमन, तत्कालिन शाही नेपाल वायुसेवा निगमको शुरूवात (१९५८) ले नेपाललाई बाहिरी मूलुकसँग चिनाउँदै र पर्यटकीय विभिन्न खालको क्रियाकलापहरू अगाडी बढाएको देखिन्छ ।

ग्रामीण पर्यटनको आवश्यकता
ग्रामीण पर्यटन नेपालको सन्दर्भमा नौलो अवधारणा हो । प्राकृतिक विविधता, जातीय, भाषिक, धार्मिक एवंम सांस्कृतिक अनेकता मात्र नभई गाउँ नै गाउँले बनेको नेपालको सामाजिक एवं आर्थिक रूपान्तरणका लागि अत्यन्त महत्वपूर्ण योजना र कदम हो । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि विभिन्न खालका होमस्टेहरूको सञ्चालन र व्यवस्थापनको क्रममा लमजुङको घलेगाउँलाई सार्कस्तरको नमूना गन्तव्य बनाएपछि केही मात्रामा यसको प्रचारप्रसार भयो । तत्पश्चात् १ सयदेखि ५ सयसम्म विभिन्न खालका नमूना होमस्टेको निर्माण गर्ने योजना अघि बढाउने काम भयो । नेपालको बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र विशेषतालाई मध्यनजर राख्दै जातजातीका परम्परा, भेषभूषा, रहनसहन अनुसारका जीवित संस्कृतिग्रामहरूको निर्माण गर्नु आवश्यक छ । विभिन्न खालको पर्यटकीय होटल, बाटोघाटो, खानेपानीलगायतका पूर्वाधारहरूको राम्रो र व्यवस्थित रूपबाट निर्माण गर्ने, मेगा भिलेज, सांस्कृतिक गाउँहरू थप्दै जाने आवश्यक महसुस गरियो । ग्रामीण बस्तीहरूको पर्यटन प्रवद्र्धनका लागि कृषिलाई पर्यटनसँग जोड्नु पर्ने आवश्यक हुन्छ ।

पर्यटन क्षेत्र र अर्थतन्त्रको सम्बन्ध
देशको समग्र आर्थिक क्षेत्रलाई नियाल्दा पर्यटनलाई गतिलो पाटोको रूपमा लिन सकिन्छ । पर्यटन विकासको लागि महत्वपूर्ण र भरपर्दो माध्यम भनेको एयरपोर्ट हो । दोस्रो नेशनल क्यारिएर, यसले आफैं विजनेश गरेको हुँदैन । यो भनेको एउटा क्षेत्रबाट अर्को पक्षमा जोडिन्छ । पर्यटन भनेको व्यापारको मध्यस्थकता हो भन्दा पनि हुन्छ । जस्तै नेपाल एयरलाइन्सले घाटामा व्यापार गरिरहेको हुन्छ । जसको कारणले मूलुकलाई २ अर्बभन्दा बढि नोक्सानी भएको भएपनि त्यसले अन्य क्षेत्रलाई भने फाइदा पुर्याइरहेको हुन्छ । उदाहरणको लागि ग्रामेन्ट, ट्रेडिङ, होटल व्यवसाय, कपडालगायत क्षेत्रहरु लाभान्वित हुन सक्छन् ।

वित्तीय क्षेत्रले नछोएको पर्यटनको पीडा
सरकारले मात्र होइन, नेपालमा रहेका विभिन्न खालका बैंक तथा वित्तीय संघसंस्थाहरूले समेत पर्यटन क्षेत्रको महत्व र मर्मलाई अझै बुझ्न सकिरहेका छैनन् । कुनै पनि बैंक र लघुवित्त कम्पनीहरूले पर्यटन क्षेत्रमा काम गर्नका निम्ति सहज रुपमा क्रण दिन तयार हुँदैनन् । यो व्यवहार सच्याउन जरूरी छ

एक वर्षमा डेढ लाख पर्यटक नेपाल भित्रिए
नेपालको पर्यटनमा बाह्य पर्यटकको हिस्सा ठूलो छ । तर पर्यटकको आवागमन भने न्यून छ । कोरोना माहामारीको प्रभावले सन् २०२१ मा डेढ लाख पर्यटक नेपाल भ्रमणमा आएका छन् । अघिल्ला वर्षको तुलनामा यो संङ्या न्यून हो । सन् २०२० मा २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । कोरोना र लकडाउन अघि भने पर्यटक आवगमनको सङ्ख्या उत्साहित थियो । सन् २०१९ मा नेपाल भित्रने विदेशीको संख्या ११ लाख ९७ हजार १ सय ९१ थियो । महामारीपछि अन्य क्षेत्र सामान्य अवस्थामा फर्किसकेका छन् । यद्यपि पर्यटन क्षेत्र भने अझै चलायमान बन्न सकेको छैन । पछिल्लो समय देखिएको ओमिक्रोन भाइरसका कारण पनि पर्यटकीय क्षेत्रमा प्रभाव देखिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । यस वर्ष नेपाल आउनेमध्ये सबैभन्दा बढी भारतीय छन् । ६४ हजार ६ सय ७३ जना भारतीय पर्यटक नेपाल आएको बोर्डको तथ्यांक उल्लेखित रहेको छ । भारतपछि सबैभन्दा बढी अमेरिकाबाट २२ हजार ८ सय ५३ जना पर्यटक आएका छन् । यस्तै संयुक्त अधिराज्य (बेलायत)बाट ८ हजार ६ सय ८० जना, उत्तरी छिमेक चीनबाट ६ हजार १ सय ९६ जना र बंगलादेशबाट ५ हजार ४४ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

(प्रस्तुतीः गिता खड्का)

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij