२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

व्यवसायमा सफल हुन पृथक सोच आवश्यक रहन्छः उपाध्यक्ष डाँगी

व्यवसायमा सफल हुन पृथक सोच आवश्यक रहन्छः उपाध्यक्ष डाँगी

मोहन बहादुर डाँगी

उपाध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान नेपाल)

प्रबन्ध निर्देशक, तेह्रथुम पावर कम्पनी लिमिटेड

विगत १२ बर्ष देखि जलविद्युत क्षेत्रमा संलग्न रही हाल स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान नेपाल)का उपाध्यक्षको भूमिकामा रहँदै आउनुभएका मोहन बहादुर डाँगी मूलतः जलविद्युत उद्यमीको रुपमा परिचित व्यक्ति हुनुहुन्छ । विभिन्न आयोजनाहरु निर्माण गर्दै आफ्ना गतिविधिहरु अघी बढाउँदै आइरहनुभएका डाँगीको रुचि सानै उमेर देखि नै व्यापार व्यवसाय प्रति रहँदै आएको थियो । व्यापार अपार हुन्छ भन्ने मान्यता राख्ने डाँगी तेह्रथुमबाट काठमाडौं आउनुको मुख्य उद्देश्य त अध्ययन नै थियो । बि.कम तह अध्ययनको लागि काठमाडौं आउनुभएका ऊहाँ काठमाडौं प्रवेशको केही बर्षमा नै व्यावसायिक क्षेत्रमा संलग्न हुनुभयो ।

व्यवसाय सञ्चालन गर्ने मानसिकता हुँदाहुँदै पनि कुन क्षेत्रमा संलग्न हुने भन्ने विषय धेरै व्यक्तिहरुको लागि अनिर्णयको विषय बन्ने गर्छ । यद्यपि व्यावसायिक सफलता व्यक्तिको निर्णय क्षमता र जोखिम लिन सक्ने स्थितिमा समेत निर्भर गर्छ भन्ने कुरामा डाँगी दृढनिश्चयी हुनुहुन्थ्यो । यसैकारण व्यवसायमा जोडिनुपूर्व आफ्नो केही समय ऊहाँले व्यावसायिक वातावरण बुझ्नमा खर्चिनुभयो । व्यवसाय प्रवेशका थुप्रै विकल्पहरु हुन सक्थे । उत्पादन क्षेत्र, सेवा क्षेत्र, ट्रेडिङ लगायत । यद्यपि यी क्षेत्रहरु भन्दा पृथक तवरले व्यापार गर्नसके राम्रो मुनाफा लिन सकिन्छ भन्ने डाँगीलाई लाग्थ्यो । सोहीकारण उहाँ प्राविधिक र सेवा दुवैको सम्मिश्रण भएको क्षेत्रतर्फ आकर्षित हुनुभयो । जहाँबाट तुलनात्मक रुपमा अझ राम्रो मुनाफा हासिल गर्न सकिन्छ भन्ने डाँगीलाई महसुस भयो । सोहीबमोजिम एकजना धातुको काम गर्ने व्यक्तिको सीप र आफ्नो ज्ञानबीच सहसम्बन्ध स्थापित गरी ‘मेटा आर्ट कन्सर्न’ नामक कम्पनी मार्फत व्यावसायिक रुपमा साझेदार गर्दै उहाँ अघी बढ्नुभयो ।

हुनतः डाँगी आफू व्यावसायिक क्षेत्रको लागि नयाँ हुनुहुन्थ्यो । तैपनि नेपालमा त्यतिबेला सम्म शुरुवात नै हुन नसकेको क्षेत्रमा संलग्न हुने जोखिम ऊहाँले उठाउनुभयो । त्यतिबेला सम्म धातुका मेडल, प्रमाणपत्र लगायत नेपालमा उत्पादन हुँदैनथे । यही क्षेत्रलाई आफ्नो राम्रो सम्भावना क्षेत्रको रुपमा पहिचान गरी आफूलाई राम्रो ज्ञान नभएको क्षेत्रमा सम्बन्धित क्षेत्रको प्राविधिक ज्ञान भएका सहकर्मीसँगको सहयात्रा डाँगीको लागि निकै महत्वपूर्ण सावित हुन पुग्यो । पहिलो कामको रुपमा नै उहाँले ठूलो परिमाणमा नेपाली सेनाको लागि नेमप्लेट बनाउने कामको जिम्मेवारी पाउनुभयो । यसरी नै क्रमिक रुपमा अन्य कामका जिम्मेवारीहरु पाउँदै अघी बढ्ने क्रममा आफ्नो व्यवसायलाई सफलताको शिखरमा पुर्याउन निकै ठूलो सहयोग पुग्यो ।

डाँगीले नेपालमा नेमप्लेट बनाउन शुरु गर्नुभन्दा पहिले सम्म नेपाल प्रहरीको नेमप्लेटमा व्यक्तिको नाम नभई सङ्केत नम्बर लेखिएको हुन्थ्यो । जुन नेपालमा नभई भारतमा तयार गरिन्थ्यो । मोहन डाँगीले आफ्नो पहिलो ठूलो कारोबारको रुपमा टेण्डर विडिङ गरी जिम्मेवारी लिएको उक्त योजना अन्तरगत करिब ५६ हजार नेमप्लेटहरु निर्माण गर्नुभएको थियो । ती नम्बरहरुलाई उहाँ आफैंले नाममा परिणत गराउनुभयो । जुन पहिलो महत्वपूर्ण कदम थियो । त्यतिबेला डाँगीको फर्मले प्रति नेमप्लेट १४ रुपियाँको दरले विड गरेको थियो ।

अहिले डाँगीले आफ्नो लगानी विभिन्न क्षेत्रहरुमा विविधिकरण गर्नुभएको छ । कृषिको व्यावसायिकरणमा सहयोग पुर्याउने उद्धेश्यले सञ्चालित सितल थोपा सिँचाई कम्पनीमा पनि ऊहाँ संलग्न हुनुहुन्छ ।

व्यवसायमा संलग्न हुने प्रोत्साहन
पाँचथरबाट आइ.कम अध्ययन गरेपश्चात् काठमाडौं प्रवेश गर्नुभएका डाँगीको स्नातक तहको अध्ययन गर्ने क्रममा एकजना मारवाडी समुदायका साथीसँग घनिष्ठ मित्रता कायम भयो । ती साथीका बुबा त्यस समय (वि.सं २०४७)मा मारवाडी सेवा समितिका कोषाध्यक्ष समेत हुनुहुँदोरहेछ । उक्त संस्थामा लेखापाल पदको लागि जागिर मिलाइदिन डाँगीले आग्रह गर्नुभयो । तर साथीका बुबाले डाँगीलाई जागिरमा नलागी आफ्नै पहिचान स्थापना हुने गरी कुनै व्यावसायिक क्रियाकलापमा संलग्न हुन सल्लाह दिनुभयो । त्यस पश्चात् व्यवसायमा होमिन डाँगीलाई अझ थप ऊर्जा प्राप्त भयो ।

कुनै व्यक्ति व्यावसायिक क्षेत्रमा संलग्न हुने क्रममा शुरुको व्यवसाय छनौट तथा त्यसमा सफलता प्राप्त गर्न तुलनात्मक रुपमा बढी गाह्रो हुने गर्छ । यद्यपि कुनै एउटा व्यवसायमा सफल भएपछि अर्को व्यवसायमा अघी बढ्न भने तुलनात्मक रुपमा निकै सहज हुने गर्छ । व्यावसायिक वातावरण, तौरतरिका एवं लगानी व्यवस्थापन, टीमवर्क लगायतका विषयवस्तुहरुमा ज्ञान हासिल गरिसकेपछि एउटा व्यवसायलाई स्थापित गरी त्यसमा न्यून संलग्नता रहने गरी अर्को व्यवसायमा संलग्न हुन सकिँदोरहेछ भन्ने कुरालाई नजिकबाट बुझ्न सकेकै कारण डाँगी विभिन्न व्यावसायिक क्षेत्रमा लगानी विविधिकरण गर्न सफल हुँदै आउनुभएको हो । आफ्नो अहिलेको सफलताको आधार पनि यही रहेको डाँगी बताउनुहुन्छ ।

व्यावसायिक विविधिकरण
शुरुमा मेटा आर्ट कन्सर्न नामक कम्पनीबाट शुरु भएको डाँगीको व्यावसायिक यात्रा विगत १२ बर्ष देखि उनी हाइड्रोपावर तर्फ समेत मोडिएको छ । जलविद्युत क्षेत्रमा संलग्न भएपश्चात् आफ्नो निजी फर्म मेटा आर्ट कन्सर्नमा डाँगी प्रत्यक्ष रुपमा संलग्न हुनुहुन्न, तैपनि त्यसको लाभ डाँगीले लिइरहनुभएको छ । डाँगीको उक्त फर्म अहिले पनि राम्रैसँग चलिरहेको छ । हाल प्रत्यक्ष रुपमा १५ व्यक्तिहरुले उक्त फर्ममार्फत काम गरिरहेका छन् । यसैगरी हाल डाँगी प्रत्यक्ष रुपमा अप्रत्यक्ष रुपमा पूर्ण वा आंशिक स्वामित्वका अन्य दर्जनौं व्यावसायिक संस्थाहरुमा समेत आबद्ध छन् ।

उतारचढावमय व्यावसायिक यात्रा
मानवीय जीवनचक्र जसरी व्यावसायिक क्षेत्रमा पनि आरोहअवरोहलाई सामान्य रुपमा नै लिने गरिन्छ । यो अनुभव डाँगीले पनि गर्नुभएको छ । निरन्तरको व्यावसायिक यात्राको क्रममा आफ्ना शुरुवाती दिनमा सानातिना उतारचढावहरुले समेत आफूलाई केही निराश बनाउने भएपनि पछिल्लो समय त्यस्ता उतारचढावहरुले आफ्नो लागि कुनै न कुनै रुपमा जीवनोपयोगी शिक्षा प्रदान गरेको डाँगीको अनुभव छ । आफ्नो व्यावसायिक यात्राको क्रममा लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख रहँदाको समयमा फाइनान्सियल क्लोजर नभएको कारण देखाउँदै आफूमातहत सञ्चालित हाइड्रोपावरको इजाजतपत्र खारेजी हुनु आफ्नो व्यावसायिक जीवनको लागि सबैभन्दा ठूलो र दुखद घटना भएको डाँगीको अनुभव छ । यद्यपि क्याबिनेट मिटिङबाट आफ्नो इजाजत पुनर्वहाली तथा नवीकरण गराउन सफल हुनुभएका डाँगीलाई त्यो उपलब्धि आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको महसुस हुने गर्छ ।

व्यवसाय विविधिकरण र लगानी व्यवस्थापन
कुनै व्यक्ति व्यावसायिक क्षेत्रमा संलग्न हुने क्रममा शुरुको व्यवसाय छनौट तथा त्यसमा सफलता प्राप्त गर्न तुलनात्मक रुपमा बढी गाह्रो हुने गर्छ । यद्यपि कुनै एउटा व्यवसायमा सफल भएपछि अर्को व्यवसायमा अघी बढ्न भने तुलनात्मक रुपमा निकै सहज हुने गर्छ । व्यावसायिक वातावरण, तौरतरिका एवं लगानी व्यवस्थापन, टीमवर्क लगायतका विषयवस्तुहरुमा ज्ञान हासिल गरिसकेपछि एउटा व्यवसायलाई स्थापित गरी त्यसमा न्यून संलग्नता रहने गरी अर्को व्यवसायमा संलग्न हुन सकिँदोरहेछ भन्ने कुरालाई नजिकबाट बुझ्न सकेकै कारण डाँगी विभिन्न व्यावसायिक क्षेत्रमा लगानी विविधिकरण गर्न सफल हुँदै आउनुभएको हो । आफ्नो अहिलेको सफलताको आधार पनि यही रहेको डाँगी बताउनुहुन्छ ।

व्यवसायमा आउने व्यक्तिले कस्तो व्यवसाय छनौट गर्ने ?
व्यवसाय गर्ने हरेक व्यक्तिको उद्देश्य उच्च हासिल गर्ने नै रहेको हुन्छ । यद्यपि व्यवसायमा प्रवेश गर्ने सबै व्यक्तिले त्यो सफलता हासिल गर्न सक्षम नहुन सक्छन् । आफू कस्तो प्रकृतिको व्यवसायमा संलग्न हुँदैछु भन्ने सम्बन्धमा राम्रोसँग विचार नगरी सिधै व्यवसायमा संलग्न भएर सफल हुन सकिन्छ भन्ने हुँदैन । आफ्नो लागि सबै किसिमले उपयुक्त हुने व्यवसाय छनौट गरी राम्रो टीम निर्माण गर्न सक्ने र सम्बन्धित व्यवसाय सञ्चालनको क्रममा आउने हरेक उतारचढावलाई सहजै स्वीकार्दै जुन सोच र उद्देश्यले आफू व्यवसायमा संलग्न भइएको छ, सोही बमोजिम अघी बढ्न सकेको खण्डमा मात्र आफू सफल बन्न सकिँदोरहेछ भन्ने कुरा डाँगीले महसुस गर्नुभएको छ । ऊहाँ भन्नुहुन्छ, ‘व्यवसायमा संलग्न हुने व्यक्ति सानातिना आरोहअवरोहबाट आत्तिनुहुँदैन । कहिलेकाहीँ ठूलै वाधाव्यवधानहरुको पनि सामना गर्नुपर्ने स्थिति आउन सक्छ । व्यवसायबाट जब सम्म प्रतिफल प्राप्त हुन सक्दैन, तब सम्म निरन्तर लागि नै रहनुपर्छ । व्यवसाय गर्ने व्यक्ति कदापि थाक्नु हुँदैन, आफू नथाकी जब सम्म आफ्नो कामबाट प्रतिफल आउने स्थिति बन्दैन तबसम्म निरन्तर रुपमा लागि नै रहनुपर्छ । अन्त्यमा प्रतिफल दिन व्यवसाय आफैं बाध्य हुन्छ ।’

डाँगीले किन रोज्नुभयो मेटल आर्ट क्षेत्र ?
नेपालमा ताम्रपत्र, व्याच, टाई, मेडल, प्रमाणपत्रहरु बन्ने स्थिति सृजना नभएको कारण यस क्षेत्रमा काम गर्न सकेको खण्डमा एकातिर आफ्नो व्यावसायिक भविष्य उज्ज्वल हुने डाँगीले महसुस गर्नभयो । अर्कोतिर यसबाट यी सामानहरु खरिद गर्नको लागि विदेशिने हाम्रो पैसा नेपालमा नै रहन सक्थ्यो । सोहीबमोजिम वि.सं २०४७ मा डाँगीले नेपालमा शुरु गरेको यो व्यवसाय अहिले निकै व्यापक रुपमा विस्तार भइसकेको छ । शुरुका दिनमा न्यून प्रतिष्पर्धा रहेको यस प्रकृतिको व्यवसाय मार्फत अहिले करिब २ हजार परिवारको जीवनस्तर धानिइरहेको डाँगी अनुमान गर्नुहुन्छ ।

व्यवसायमा आउन चाहने व्यक्तिलाई डाँगीको सल्लाह
व्यक्तिको व्यावसायिक सफलताको लागि आफूलाई कुनै जानकारी नै नभएको अर्थात आफ्नो काबु भन्दा बाहिर रहने ठूलो व्यवसाय सञ्चालनको रुचि राख्नु भन्दा पनि आफ्नो सीप र क्षमताले भ्याउने सानै व्यवसायले पनि राम्रो सहयोग पुर्याउन सक्छ भन्ने कुरा विशेष महत्वपूर्ण हुने गर्छ । अन्य व्यक्ति सफल भएको देखेर आफू पनि त्यही क्षेत्रमा संलग्न हुने व्यक्ति सफल हुने अपेक्षा सही नहुन पनि सक्छ भन्ने कुरा व्यवसायमा आउन चाहने हरेक व्यक्तिले विचार गर्नुपर्ने आवश्यकता रहन्छ । साधारणतया कुनै व्यक्ति वा कम्पनी सफल भएपश्चात् मात्र चर्चामा आउने गर्छन् । यद्यपि उक्त व्यक्तिको विगतको अनुभव एवं व्यावसायिक जीवनका उतारचढावहरु समेत पछिल्ला सफलताका आधारशिला थिए भन्ने कुरामा अधिकांशले विचार गर्न सकेको पाईंदैन ।

पहिलो व्यवसायबाटै मिलेको सफलता

सामान्यतया कुनै व्यवसायमा संलग्न हुनुपूर्व आफूलाई सम्बन्धित कामको सबैजसो जानकारी हुनुपर्ने आवश्यकता रहन्छ । यद्यपि कतिपय अवस्थामा सम्बन्धित क्षेत्रको ज्ञान भएका व्यक्तिहरुसँग सहकार्य गरेर पनि आफू उक्त व्यवसायको स्वामित्व ग्रहण गर्न सकिन्छ । डाँगीले पनि यसै गरेर नै आफूलाई सफल बनाउनुभएको हो । आफूलाई मेटल आर्ट सम्बन्धी राम्रो प्राविधिक ज्ञान नभएपनि आफूले बाह्य व्यवस्थापन सम्हाल्ने र प्राविधिक कार्यको जिम्मेवारी आफ्ना अर्का सहकर्मीले लिने सर्त सहित जिम्मेवारी विभाजन गरेर सहकार्यमा व्यवसाय अघी बढाएको कारण केही बर्ष पछि अर्का सहकर्मी व्यवसायबाट बाहिरिएपनि डाँगी आफ्नो व्यवसायलाई राम्रोसँग सञ्चालन गरि नै रहनुभयो । त्यसपछि डाँगीलाई झन् आफ्नो फर्मको पूर्ण स्वामित्व नै प्राप्त भयो ।

आफ्नो शुरुकै व्यवसायबाट राम्रो लाभ लिन सफल डाँगीले अब भने व्यवसायको महत्व अझ राम्रोसँग बुझिसक्नुभएको थियो । सामान्य कर्मचारीले मासिक करिब ७ सय तलब प्राप्त गर्ने त्यस समयमा डाँगी र अर्का सहकर्मीले पहिलो लटमा नै प्रतिव्यक्ति ४०-५० हजारको दरले फाइदा लिन सफल हुनुभएको थियो । आर्थिक लाभको हिसाबले पनि त्यो ठूलो उपलब्धि थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij