
२०३३ भाद्र १४ गते जन्मिएका किरण थापा मगर एक सफल युवा उद्यमी हुन् । उनी राजनीति एवं विकास गतिविधिहरुमा पनि त्यत्तिकै सक्रिय रहँदै आएका पात्र हुन् । सूर्यविनायक नगरपालिक, वडा नम्बर ८ का अध्यक्ष समेत रहेका उनी नेकपा (एमाले) अन्तरगत पार्टी राजनीतिमा संलग्न छन् । भक्तपुरका स्थानीय बासिन्दा थापाले सिपाडोलकै सरस्वती विद्या गृहबाट विद्यालय तथा उच्च शिक्षाको अध्ययन गरेका हुन् । विद्यालय तह अन्तरगत कक्षा ९ मा अध्ययन गर्दाकै समय देखि उनी व्यवसायमा जोडिएका हुन् । शुरुमा त्यतिबेला उनले कुखुरापालन व्यवसाय गरे । उनी एउटा व्यवसायमा मात्र सीमित रहेनन् । कक्षा १० भन्दा माथिको अध्ययनको लागि आफ्नो खर्च उनी आफैंले चलाउँदै आए । क्रमिक रुपमा थापाले दाना उद्योग पनि सञ्चालन गरे । अन्य व्यवसायहरुमा पनि उनी संलग्न हुँदै गए । सानै उमेरमा व्यावसायिक वातावरणलाई नजिकबाट चिन्ने अवसर उनले पाए । जिल्ला सहकारी संघ भक्तपुरमा २०५६ देखि २०६० सम्म उनले जागिर पनि गरे ।
हाल नेकपा (एमाले)मा आवद्ध रही राजनीतिक पाइला अघी बढाइरहेका थापाले २०५३ मा २० बर्षको उमेरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, गाउँ कमिटी अध्यक्ष हुँदै राजनीतिक यात्रा अघी बढाएका हुन् । २०५४ मा गाविस अध्यक्ष बन्नको लागि उमेर नपुगेको कारण उनी वञ्चित हुनुपर्यो । तैपनि राप्रपाका विभिन्न भूमिकामा रहँदै अघि बढिरहेका किरण उक्त राप्रपामा विभिन्न आन्तरिक समस्या सृजना भई पार्टी फुट्ने स्थितिमा पुगेपछि वि.सं २०७१ पुषबाट नेकपा (एमाले)मा प्रवेश गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी, केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समिति, खानेपानी समिति, नेपाल टाइगर डो संघ (खेलकुद क्षेत्र) लगायत विभिन्न सामाजिक संघसंस्थाहरुमा किरण सक्रिय रुपमा संलग्न रहँदै आएका छन् । हाल सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्षको भूमिकामा समेत क्रियाशिल छन् थापा ।
विकासे गतिविधिमा किरण थापाकाे सक्रियता
२०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षको लागि सूर्यविनायक–८ बाट ६ जना व्यक्तिहरुले उम्मेदवारी दिएको अवस्थामा थापा एक्लैले ५७ प्रतिशत मत प्राप्त गर्न सफल भएका थिए । अहिले आफू निर्वाचित भएपश्चात् उनी निरन्तर रुपमा विकासे गतिविधिहरुमा नै अधिक समय बिताउने गरेका छन् । व्यवस्थित विकासको लागि आफ्नो वडामा किरणले निकै महत्वपूर्ण कार्यक्रमहरु अघी बढाई कार्यान्वयनको दिशामा अघी बढाइरहेका छन् । विकासको आधारभूत पूर्वाधारहरु तयार भई नागरिकका न्यूनतम आवश्यकता परिपुर्ति भएपछि मात्र विकासका अन्य औद्योगिक पूर्वाधार तयार हुने, मानिसका आयआर्जनका नयाँ क्षेत्रहरु पहिचान हुने कुरामा दृढ थापा यस पक्षलाई विशेष महत्व दिँदै आएकाछन् । लामो समय देखि औद्योगिक व्यावसायिक एवं सामाजिक क्षेत्रमा संलग्न रही काम गर्ने क्रममा स्थानीय जनताका समस्याहरुबाट पहिले नै परिचित रहँदै आएको र आफ्नो क्षेत्रको विकासको लागि वडा अध्यक्षमा निर्वाचित भइसकेपछि काम गर्ने राम्रो प्लेटफर्म आफूले पाएको कारण आफ्नो जिम्मेवारी एवं दायित्वलाई ठूलो अवसरको रुपमा लिई सोहीबमोजिम थापा क्रियाशिल हुने गरेका छन् ।
विद्यालयमा अक्षय कोष स्थापना गर्दै थापा
थापाले वडाअध्यक्षको रुपमा आफूले प्राप्त गर्ने विभिन्न सुविधाहरु व्यक्तिगत प्रयोजनको लागि लिएका छैनन् । बरु उनले आफूले पाउने पारिश्रमिकबापतको रकम एउटा विद्यालयमा अक्षय कोष निर्माणको लागि प्रयोगमा ल्याउँदैछन् । जुन अक्षय कोषको व्याजले हरेक बर्ष गरीब जेहेन्दार व्यक्तिहरुलाई निरन्तर छात्रवृत्ति प्रदान गर्न सकियोस् भन्ने थापाको मान्यता छ । नेपालका धेरै ठाउँमा विनियोजित बजेट सही तवरले प्रयोग हुन नसकी फ्रिज हुने गरेको अवस्थामा थापाले आफ्नो वडामा प्राप्त हुने सम्पूर्ण बजेट फ्रिज नहुने गरी सही तवरले विकास गतिविधिहरुमा लगाउँदै आएका छन् ।
समृद्धिको दिशामा मुलुक
केपि ओली प्रधानमन्त्री हुँदा ल्याइएको ‘समृद्ध नेपाल ः सुखी नेपाली’ नारा वास्तवमै आफ्नो वडामा कार्यान्वयन भइरहेको दाबी गर्दै समग्र मुलुक नै संघीय संरचना पश्चात् समृद्धिको दिशामा अघी बढेको दाबी गर्छन् थापा । अहिले छोटो अवधिमा नै महत्वपूर्ण भौतिक पूर्वाधारहरु विकास हुँदै गरेका, नयाँ उद्योगहरु स्थापना हुने क्रम बढेको, रोजगारीका नयाँ अवसरहरु सृजना हुने आधार तय भएको लगायतका आधारसिलालाई हेर्दा हामी सन्तुष्ट हुनको लागि प्रयाप्त आधारहरु रहेको भन्दै थापाले खुसी व्यक्त गरे । आफूले नेतृत्व गर्दै आएको सूर्यविनायक–८ (सिपाडोल)का जनताले पनि छोटो अवधिमा नै परिवर्तनको महसुस गर्न सकेकोमा आफ्ना कार्यक्रमहरुलाई सार्थक बनाउन भूमिका खेल्ने सबै व्यक्तिहरुमा उनले कृतज्ञता प्रकट गरे । साथै नेतृत्वमा रहने व्यक्ति सही हुन सकेको खण्डमा जनताका चाहनाहरु साकार बन्दै जान लामो समय कुर्नु नपर्ने समेत बताउँछन् थापा ।
लगानी सुरक्षाको वातावरण निर्माणमा जोड
सूर्यविनायक नगरपालिका अन्तरगत नयाँ स्थापना हुन चाहने उद्योगहरुको लगानी सुरक्षाको अनुभुति गर्न सक्ने वातावरण आफूहरुले सृजना गरेको थापा बताउँछन् । आफैं व्यवसायी भई काम गर्दा विगतमा भोग्नुपरेका बाधाव्यवधानका साक्षी समेत आफैं भएको कारण थापाले औद्योगिक सुरक्षाको अवधारणा अघी सारेका हुन् । जसबाट व्यावसायिक वातावरण निर्माण हुन गई स्थानीयहरुलाई रोजगारी सृजनामा पनि महत्वपूर्ण योगदान पुग्न सक्नेछन् ।
नयाँ पर्यटकीय एवं औद्योगिक क्षेत्र बन्दै सिपाडोल
अहिले वडा नम्बर ८ (सिपाडोल)ले प्रदूषणरहित उद्योग सञ्चालनलाई विशेष जोड दिँदै आएको छ । सूर्यविनायक नगरपालिकाको दिगो आम्दानीको स्रोतको रुपमा समेत हालको वडा नम्बर ८ (साविकको सिपाडोल गाविस) नै विकास हुँदै गएको छ । अहिले यो क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा समेत विकास हुँदै गएको छ । अहिले यस वडामा विभिन्न तीर्थस्थल, होटल, रिसोर्ट, पिकनिकस्पट लगायत निर्माण हुने क्रममा छन् ।
वि.सं २०६६ भाद्र ६ गते डोलेश्वर मन्दिर घोषणा भएपश्चात् साउन महिनामा हरेक बर्ष ५० हजारको हाराहारीमा अहिले तीर्थालुहरुको भीड लाग्ने गरेको छ । तरकारीको पकेट क्षेत्र मानिने सिपाडोल क्षेत्रको तरकारीले अहिले स्थानीय क्षेत्रमा नै बजार पाइरहेको छ । माथिल्लो सिपाडोलमा रहेका तामाङ बस्तीका मानिसहरुको जीवनस्तर माथि उठाउनको लागि वडा कार्यालयले प्रयाप्त पूर्वाधारहरु तयार गरिसकेको छ ।
विगतमा आराध्यदेश पशुपतिनाथमा जसरी नै केदारनाथको शिर डोलेश्वर महादेश मन्दिरमा दर्शनको लागि भारतबाट ठूलो सङ्ख्यामा तिर्थालु भक्तजनहरु आउने गरेकोमा खाना र बासको लागि उचित व्यवस्था हुन नसकेकोमा अहिले यस क्षेत्रमा भित्रिने ठूलो सङ्ख्याका भक्तजनलाई व्यवस्थित गर्न प्रयाप्त कोठा सहितका होटलहरु निर्माण भइरहेका छन् । अहिले वडा–८ भक्तपुरको नगरकोट पश्चात् दोस्रो नम्बरमा सबैभन्दा बढी खानेपानीको स्रोत उपलब्ध गराउने वडाको रुपमा समेत परिचित छ । यो क्षेत्र अहिले कृषि, पर्यटन, उद्योग व्यवसाय लगायत सबै हिसाबले राम्रो सम्भावना बोकेको क्षेत्र बन्न पुगेको छ ।
चर्चामा रहेको एमसिसिको सार्थकता सन्दर्भमा थापाकाे धारणा
‘नेपालमा लामो समय देखि मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) निकै चर्चामा रहँदै आएको छ । अहिलेकै अवस्थामा नेपालमा एमसिसि पास हुने हो भने त्यसले हाम्रो अवस्थालाई निकै नै कमजोर बनाउने निश्चित छ । नेपाल पनि एमसिसिकै कारण सोमालिया, लिबिया जस्ता देशहरु जस्तो बन्न सक्नेछ । यसलाई नेपालमा कार्यान्वयन गराउनमा विदेशी शक्तिहरुको ठूलो चलखेल रहँदै आएको छ । अहिले ठूला देशहरुको बीचमा रहेको नेपाल पृथ्वी नारायण शाहले भने जसरी नै दुइ ढुङ्गा बीचको तरुल जस्तो सावित गराउन राष्ट्रघाती कदम सृजना हुने देखिएको छ’ अध्यक्ष थापाले भने ।
उनी अगाडि थप्छन्, ‘अहिले हामीलाई प्रलोभनमा पारेर नेपाललाई दिने भनिएको ५५ अर्ब रकम सहयोगले दीर्घकालमा हामीलाई लाभ पुग्दैन । हामी यस लोभमा लाग्ने हो भने हामी अमेरिकाको गुलाम बनेर रहनुपर्ने स्थिति ढिलोछिटो भोग्नुपर्ने स्थिति आउन सक्छ । यसैकारण समय छँदै सचेत बन्नुपर्छ । मुलुकको विकासको लागि आवश्यक पर्ने रकम अन्य स्रोतहरुबाट जुटाउनुपर्छ ।’
मुलुकको अहिलेको अर्थतन्त्र
विगत केही महिना देखि अहिले नेपालको अर्थतन्त्र राम्रोसँग चल्न नसकेको अवस्था छ । विकास निर्माण ठप्प हुन पुगेको छ । विकासका पूर्वाधार तयार हुन सकेका छैनन् । कलकारखाना चल्न सकेका छैनन् । नेपालमा भ्रष्टाचार व्यापक बनेको छ । पैसावालहरुले आफूसँग पैसा लुकाएका छन् । यस्तो अवस्थामा साँच्ची अहिलेका जिम्मेवार व्यक्तिहरुले अर्थतन्त्रलाई सही दिशामा चलायमान बनाउन तयार हुने हो भने प्रधानमन्त्री, अर्थमन्त्री लगायत जिम्मेवार व्यक्तिहरुले विज्ञहरुसँग छलफल गरेर उचित कदम चाल्न ढिला गर्नुहुँदैन । नेपाल सानो अर्थतन्त्र भएको देश हो । यहाँका समस्या पनि सानै छन् । कोभिड–१९ कै कारण पनि हाम्रो अर्थतन्त्रलाई खासै असर परेको छैन । यद्यपि अर्थतन्त्रलाई सही गति दिनको लागि हामीमा सही व्यवस्थापन भने निकै नै आवश्यक छ ।
व्यावसायिक सफलताको आधार
व्यावसायिक सफलता आफूसँग भएको पैसामा मात्र निर्भर गर्दैन । विश्वासको वातावरण र सामाजिक प्रतिष्ठा पनि व्यावसायिक सफलताको लागि निकै महत्वपूर्ण हुने गर्छन् । अहिलेको समय विश्वव्यापीकरणको समय हो । नयाँ अवधारणा विकास गरेर त्यस योजनालाई सफल पार्न सही टीम छनौट पनि निकै महत्वपूर्ण हुने गर्छ । व्यावसायिक सफलतामा पनि टीम व्यवस्थापन निकै महत्वपूर्ण रहने गर्छ । टीमका जिम्मेवार व्यक्ति आफूले जिम्मेवारी लिएको जिम्मेवारी सही तवरले पूरा गर्न सकेको खण्डमा आफूले समय नबिताउँदा पनि आफ्नो मातहतका व्यवसायहरु राम्रोसँग फस्टाउन सक्छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij