नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा कृषि सम्बन्धी वृहद प्रदर्शनी आयोजना हुने भएको छ । प्रदर्शनी मेला फागुनको ६ गते देखि ८ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने बताइएको छ । मेलाको नाम भने नेपाल एग्रिटेक इन्टरनेशनल एक्सपो २०१७ दिइएको छ ।
मेलामा कृषि सँग आवश्यक उपकरण, प्रविधि तथा कृषिको क्षेत्रमा भएका उत्कृष्ट कार्यहरु, कृषकका अनुभव, विशेषज्ञहरुबाट आवश्यक जानकारी लगायतका सूचना तथा जानकारीहरु पाउन सकिनेछ । सबैको सहज प्रवेशको निम्ति प्रवेश निःशुल्क गरिएको छ । कृषि सम्बन्धी जान्न चाहने र कृषिमा नै आवद्ध हुन चाहने सोच भएका व्यक्तिहरु मात्र नभइ कृषिको क्षेत्रमा नै अनुसन्धानात्मक कार्यमा संलग्न व्यक्ति तथा सरोकारवाला सबैले मेलाबाट यथेष्ट लाभ लिने सक्नेछन् । जसले गर्दा कृषिको क्षेत्रलाई नजिकबाट बुझ्ने वातावरण मिल्ने विश्वास गरिएको र नयाँ व्यवसायीहरुलाइ समेत प्रेरणा मिल्ने आशा गरिएको छ ।
नेपाललाई कृषिप्रधान देश भनिएको र विगत लामो समय देखि अधिकांश मानिसहरु कृषिको क्षेत्रमा नै संलग्न रहँदारहँदै पनि कृषिको निम्ति उपयुक्त तरिकाहरु अपनाउन नसकेको कारण अहिले नेपालको कृषि क्षेत्रबाट युवाहरु पलायन हुनुपर्ने अवस्था छ । अहिले पनि कृषि क्षेत्रमा अन्य क्षेत्रका असफल व्यक्तिहरु मात्र संलग्न रहेको र कृषि क्षेत्रलाई पनि सम्मानित क्षेत्रको रुपमा अघी बढाउनुपर्ने आवश्यकता छ ।
नेपालमा यस्ता प्रयाशहरु पनि हुँदै आएका छन्, जसले विदेशमा सिकेको सीप नेपाली भूमीमा प्रयोग गर्ने र कृषिको क्षेत्रबाट नै राम्रो प्रगति गर्न सकिने नमुना क्षेत्रको रुपमा पनि कृषि क्षेत्र अगाडि आइरहेको अवस्था छ । विदेशी सीपलाई स्वदेशमा नै प्रयोग गर्नुपर्ने कुरामा समेत जोड दिने मात्र नभइ कृषि क्षेत्रलाई आर्थिक उपार्जनको राम्रो सम्भावना भएको क्षेत्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता पनि छ ।
नेपाल कृषि मेसिनरी संघका सचिव तथा नेपाल थोपा सिँचाईका प्रबन्ध निर्देशक खोजराज कटुवाल कृषिको क्षेत्रमा नेपाल सरकारले बर्षेनी ठूलो रकम खर्च गर्दै आएको भएपनि अहिले सम्म कृषिमा गरिएको लगानी सही ठाऊँमा खर्च हुन नसकेको गुनासो गर्छन् । आफू जस्ता कृषिको क्षेत्रमा नै समर्पित व्यवसायीहरुको सहकार्यमा राज्यले नीति निर्माण तथा बजेट विनियोजन र परिचालन गर्ने हो भने नेपालमा अहिले उत्पादन भइरहेको कृषि उत्पादनलाई २ बर्षमा नै ३ गुणा सम्म बढाउन सकिनेमा उनी विश्वस्त छन् । उनका अनुसार कृषिमा लगानी सही ठाउँमा सही तवरले उपयुक्त प्रविधिको छनौट गरेर गर्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर हुन असम्भव छैन ।
कृषिको व्यावसायिकीकरण गर्ने कुरा नेपाल सरकारले गर्दै आएपनि आवश्यक नीतिको अभाव, सहज रुपमा बिऊमलको उपलब्धता, कर्जा तथा अनुदान, कृषि बीमा, अनुगमन तथा मूल्याङ्कन लगायतको अभावमा कृषि क्षेत्र अपेक्षाकृत रुपमा अघी बढ्न सकेको भने छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij